Monday, September 08, 2008

एक हप्ता हराएर आउँदा

' हैन के भो आजभोली ? ब्लग खै अपडेट गरेको ? '

'खै खै । '

' सुन्नु न ? तपाईंलाई के भयो भन्नु न ? ब्लग किन नलेख्नु भएको ? '

' खै किन किन । '

' ओ जडित आउँदैन गणित , खै त्यो कविता लेखेको ?'

' कुन कविता ? '

' त्यो के फूलको '

' कुन फूलको ? '
'
हेरन अब थाहै नपाए जस्तो गरेको । त्यो फूलको के , बोटको छेउमा पुगेर मलाई २ लाईन सुनाको थ्यो नि , हो त्यो । खै त्यो फूलको कविता ? '

' फूलनै ओईलाईसक्यो अब के को कविता । '

' लेख्नु न यार दाई मैले मेरो साथीहरुलाई कस्तो गफ लगा'को छु , त्यो कविताको बारेमा । '

' ल ल अलिपछि लेख्छु । '

बितेको साताका पछिल्ला दिनमा फोनमा यस्तै सम्बादहरु भए केहि नजिकका मित्रहरुसंग । ब्लग किन नलेखेको भन्ने प्रश्न र किन किन भन्ने उत्तर । पहिले पहिले अरु नै कारणले ब्लग लेख्न अन्तराल हुनेगरेपनि यो पाली भने मैले एक साता मर्ने विचार गरेको थिएं । जे सुकै होस १ साता लेख्दिनं भन्ने अठोट गरेको थिएँ र पट्टक्कै लेखिनं पनि । यताउता समाचारहरु पढें , साथीभाईको ब्लगमा नजर लगाएं तर न कतै प्रतिक्रिया लेखें न कुनै रचना गर्छु भनेर एक अक्षर कोरें । ब्लग लेख्ने त कुरै भएन । लेख्ने कुरा नभएको पनि हैन , अल्छि लागेको पनि हैन , त्यसै आफैंसंग सन्केर नलेख्ने भनेर बसेको , लेखिएन आज बल्ल कैलाशको कुटीमा पसेर यौटा छोटो प्रतिक्रिया लेखें ।

माथीका सम्बादहरु मध्ये फूलको कविता खै ? भन्ने सम्बाद हु-बहु नभए पनि आज फेरी दोहोरियो । हवाईमा बस्ने भाई विज्ञानले सोधेको थियो , ' त्यो फूलको कविता कस्तो आउँछ भनेर म प्रतिक्षामा छु , कैले आउँछ ? ' बारम्बार यसरी झक्झक्याउने भाई पाउने म मान्छे त भाग्यमानी नै हुँ तर हुस्सु कहाँसम्म भएछु भने त्यो फूलको कविता २ लाईन उस्लाई के सुनाएको थिएं भनेर चैं भुसुक्कै बिर्षेछु ।
कौतुहल भयो कस्तो रहेछ त फूलको कविता भनेर र उसैलाई सोधें , ' के सुनाको थें त मैले ? सम्झाउ त । '

' ल जडितलाई गणित त आउँदैन आउँदैन अब कविता पनि आउन छाडेछ ' गतिलो ब्यंग कस्यो भाईले । कुन्नि के गर्दा उस्लाई मैले गणित नजानेर त जडित भ'को नत्र म पनि डाक्टर , ईन्जिनियर भै हाल्थें नि भनेको थिएं उस्को खेति नै भा'को छ यो कुरा ।

' बिर्षिन त पाउँछु नि यार , सम्झाउ न त के सुनाको रहेछु अनि अगाडी लेख्छु । ' केहि त सुत्र बताउला भनेर मैले जोड गरें ।

"बोटै मुनि मैले फूल घोप्टिएर रोएको देखें
हाँगामा हाँस्ने फूलले पनि भुईँ छोएको देखें ।" उसलाई याद रहेछ । तुरुन्तै सुनायो । तब मलाई त्यो रात याद आयो जुनदिन मैले उसलाई यो दुईलाईन सुनाएको थिएँ । रातको लगभग एघार बजेको बेला हामी सडक किनारामा बरालिएर हिंड्दैथियौं । हिंड्दै जाँदा चुवाफूलको बोटमुनि पाँच छ वटा फूलहरु झरेर घोप्टिएको देखेथ्यौं हामीले । सडक बत्तिको प्रकाशमा मलाई ति फूलहरु घोप्टो परेर रोईरहेको प्रतित भएथ्यो । म एकैछिन टोलाएर उभिएं । चञ्चले स्वभावको त्यो भाईले मलाई धकेल्दै अघि बढ्न भन्दैथियो । त्यसैबेला मैले ए पर्खि पर्खि , मलाई यहाँ कविता फुर्दैछ भनेर सुनाएको थिएँ त्यो दुई लाईन । सबैकुरा यसरी सम्झनामा आएपछि लाग्यो मैले त्यो दुई लाईन बिर्षेको रहेनछु बल्कि सम्झनामा ओझेल मात्र परेको रहेछ ।आज यसलाई पुरा लेख्नुपर्यो भनेर निक्कैबेर घोरिएँ तर यो अन्तरालमा मेरो मस्तिष्कभरी अरुनै अनेकौं कुराहरु गुजुल्टिएछन क्यार यो गुजुल्टो फुकाएर त्यो दुई लाईनमा अरु थप्न सकिनं र पछिलाई थाँति राखेँ । लेखुँला ता नि कुनै दिन ।

त्यसपछि अघिल्लो सातातिर बनाउंदै गरेको अनलाईन कविता संग्रहमा आज पनि केहि काम गरें । अझै पुर्ण भई नसकेको भएपनि एक साता हराएर देखापर्दा साथमा यो पनि लिएर निस्किउँ न भन्ने हिसाबले तपाईंहरुको निंती कोसेली स्वरुप ल्याएको छु मेरो कविता यात्रा । यसभित्रका धेरै कविताहरु त यहि ब्लगमा पस्किसकेको छु त्यसैले यो संग्रह चैं मैले कविता भनेर लेखेसम्म सबैलाई एकै ठाउँ भेला गर्ने मेलो मात्र हो । यसको लिँक मैले मेरा अन्य ब्लगहरु भन्ने ठाउँमा पनि राखेको छु । आशा छ मेरो कोसेली तपाईँहरुले स्विकार्नुहुनेछ ।

5 comments:

Dilip Acharya said...

साँच्चै धेरै दिन हराएर झुल्किनु भो नि तपाई त!
अनि त्यो:

बोटै मुनि मैले फूल घोप्टिएर रोएको देखें
हाँगामा हाँस्ने फूलले पनि भुईँ छोएको देखें ।


लाई चाहि पुरा गरेर राख्‍नु होला, दामि शुरुवात गएको छ

Prabesh said...

मलाई तपाईँका कविता एकदम मनपर्छ ।

बोटै मुनि मैले फूल घोप्टिएर रोएको देखें
हाँगामा हाँस्ने फूलले पनि भुईँ छोएको देखें ।

रोएको र छोएको भन्ने ठाउँमा रो'को र छो'को भनेर राख्दा अलि पढ्न सजिलो हुन्थ्यो कि ? म भएको भए यस्तो लेख्थेँ -

बोटै मुनि मैले फूल घोप्टिएर रो'को देखें
हाँगाभरि हाँस्ने फूलले भुईँलाई छो'को देखें ।

मन पर्यो भने राख्नुहोला है !!!

Aakar said...

साँच्चै हराउनु नै भयो है, एक हप्ता कुनै खबरै नगरि !

Unknown said...

धन्यवाद दिलीपजी , उजेलीजी र आकारजी ।

त्यो दुई हरफलाई पक्कै लेख्छु , त्यो दुई हरफ यस्तरी उठान भयो कि त्यसमा लेख्नुपर्ने लगभग कुराहरु पहिले कतै कुनै स्वरुपमा लेखिसकेको छु अब सकेसम्म नयाँ कुरा जोहो गरेर नभए पनि प्रस्तुतिलाई नयाँ बनाएरै लेख्छु छिट्टै ।

सय , हजार त के लाखलाई पनि मान्छेहरुले गन्न छोडेको बेला उजेलीजीको सुझाव भने मलाई करोढको हुनेकुरामा शंका छैन , रोएको लाई रो'को गरेर छोट्याउने त टुङ्गै गरें है मैले ।

Anonymous said...

मैले त घुम्न जानुभएछ कि भनिराख्या।

Kumar