Sunday, September 14, 2008

गजल : फूल घोप्टिएर रो'को देखेँ

बोटै मुनि मैले फूल घोप्टिएर रो'को देखेँ ।
हाँगामा हाँस्ने फूलले पनि भुईँ छो'को देखेँ ।

बिना डर खित्खित् गर्ने सुकुमार कोपिलाको ,
शिशिरको जाडो पनि झेल्दै फूल्ने धोको देखेँ ।

उभिएर बोट छेउ जगत् लाई गमिहेर्दा ,
फुकाउनै नसकिने अनेक् अनेक् पोको देखेँ ।

गोडीमेली त्यही फूल पानी सिँचि फूलाउने ,
मालीको हत्केलाभरी ठेउलाझैं फोको देखेँ ।

सुस्त बच्चा आँगनमा बोल्दैथियो ईशाराले ,
गोठ्मा नाम्ले गाई अनि थोत्रो रित्तो डोको देखेँ ।

मालीको आँङ्नामा सुस्त बच्चा थियो घस्रिरा'को ,
गोठ्मा नाम्ले गाई अनि थोत्रो रित्तो डोको देखेँ ।

फूल रुँदा दुखिदिने यै 'दीपक'को नजरले ,
हेर्दैलाँदा संसार यो आधासरै भोको देखेँ ।

आज जन्मदिन परेको भाई विज्ञानलाई जन्मदिनको शुभकामनाका साथ । यो गजल आजको मिती सम्म पुरा गर्न र आजकै मितीमा ब्लगमा राख्न अनुरोध सम्म गर्ने विज्ञान भाईलाई जन्मदिनको उपहार यो गजल ।



साथै यो गजल पुरा गर्न उत्साह थपिदिनुहुने र सुझाब सम्म दिनुहुने सबै ब्लगर मित्रहरुलाई पुर्ण गजलमा अपेक्षा अनुशार वजन दिन सकिनं भने क्षमा चाहन्छु - निक्कै सकस नै भयो मलाई यो पुरा गर्न ।

10 comments:

Anonymous said...

thank you dai this is the best present i have ever got in my birthday ever i will always remember this birthday thanbk you deepak dai i love you yaar dai

कैलाश said...

तपाईको विज्ञानलाई जन्मदिनको शुभकामना है दीपकजी।

साँच्चै यार! दीपकजीले जन्म दिनको उपहार गतिलै दिनुभो। मेरो जन्मदिनमा पनि तपाईसँग यस्तै उपहार माग्नैपर्ला भन्ने लोभ पनि जगायो नि।

दिलीप आचार्य said...

यो गजलको उठानको वारेमा यस भन्दा पहिलेकै पोष्टमा केहि भनिसकेकोले यहाँ फेरी नलेखौं ।

मलाई भने गजल लेख्न अलि गाह्रो लाग्छ, तपाईमा भने भावनालाई तुरुन्तै गजलमा उतार्न सक्ने अदभुत कला छ।

मत्ला र मक्ता बाहेक हेर्दा यो शेर चाहि सटिक छ:

गोडीमेली त्यही फूल पानी सिँचि फूलाउने ,
मालीको हत्केलाभरी ठेउलाझैं फोको देखेँ ।

पाँचौं शेर चाहि यो गजलमा अलिक प्रसंग नमिलेको हो कि जस्तो लाग्यो मलाई ( किन भनेर भन्न सक्ने ल्याकत छैन तर कता कता अलि बेमेल लागेको छ)।

दीपक जडित said...

माग मात्र राख्नुस न कैलाशजी म मेरो बुताले भ्याएसम्म गतिलो उपहार लेखिदिनेछु ।

दिलीपजी मैले तेस्रो शेरमै उभिएर बोट छेउ जगतलाई गमिहेर्दा भनेर अन्यत्र छलाङ्ग मार्ने बाटो राख्न पनि खोजेको हुँ हुनत र पाँचौं शेर मालीको आँगन र गोठको भनौं न हेर्दै सबैलाई लोभ्याउने फूलहरु फुलाउनेको ओईलिएको जिन्दगीको चित्र लेख्न खोजेको हुँ तर त्याहाँ म एक्लै मात्र पुगेछु साथमा गजल पढ्ने पाठकलाई लैजान सकेनछु - त्यहीँ कमजोरी भयो मेरो भन्ने लाग्यो । अहिले सबै शेरमा एकरुपता ल्याउने प्रयास (फूलसंग जोडेर यहिकुरा लेख्न सकिंन तसर्थ मालीसंग जोडेर) गरेको छु है

उजेली said...

हाँगामा हाँस्ने फूलले पनि भुईँ छो'को देखेँ ।

मालीको हत्केलाभरी ठेउलाझैं फोको देखेँ ।

मालीको आँङ्नामा सुस्त बच्चा थियो घस्रिरा'को

यो तीनवटा लाइन चैँ अलि मलाई पढ्न गाह्रो लाग्यो । अलि मात्रा नमिलेजस्तो मत्लब लाइनहरू अलि लामा लागे मलाई ।
भाव त एकदम गज्जबको छ दीपक दाइ । लेख्न चैँ दह्रो लेख्नुहुन्छ ।

दीपक जडित said...

उजेली जी ,
बिस्मयादी बोधक शब्दले गजल ( कुनै पनि रचना ) जोख्दा ( यहाँ गजलकै प्रसंग भएकोले गजल नै भनुँ है ) छि ! गजल , ए ! गजल , अहो ! गजल र वाह ! वाह !! गजल आदी हुन जान्छन । आफैंले लेखेका पनि यि नै जोखाईमा हालिन्छ नै । यो गजललाई चैं म आफैंले आफ्नो तारिफ गर्दा ए ! गजल र अहो ! गजलको बिचबिचमा हालेको छु । तपाईंहरुको जोखाईमा त्यो भन्दा माथी नि होला तल नि होला ।
तपाईंले अप्ठ्यारो महसुस गर्नुभएको मिसराहरु मैले यस्तो भाँतिमा लेख्न खोजेको है
( हाँगामा हाँस्ने ) ( फूलले ) ( पनि भुईँ ) ( छो'को देखें )
( मालीको हत् ) ( केला भरी ) ( ठेउलाझैं ) ( फोको देखेँ )
( मालीको आङ् ) ( नामा सुस्त ) ( बच्चा थियो ) ( घस्रिरा'को )

जोतारे धाइबा said...

बोटैमुनि मैले फूल घोप्टिएर रो'को देखेँ
हाँगामा हाँस्ने फूलले पनि भुइँ छो'को देखेँ….

वाह, बडो पुन्यको काम पो भएछ हौ जडितजी ! नफुर्क्याइरहन सकिनँ । तपाईँसँगै प्रेरक भाइ विज्ञानजीलाई पनि मुरी धन्यवाद है । झक्झक्याउने र व्यङ्ग्य गर्ने मान्छे हुनुको प्रतिफल मलाई त औधि मनपर्‍यो । खासगरी तपाईँको कवि-व्यक्तित्वको सूक्ष्म दृष्टिकोणको छनक यही गजलले एकै झमटमा दियो मलाई । कता-कता आशुकविको झलक पनि ह्‍वात्तै आएको पाएँ । प्रत्यक्ष दर्शनको निकासस्वरूप आएका पंक्ति सारै जीवन्त छन् । गजल-लेखनमा गेयात्मकताको सहज प्रवाह चाहिँ अलि ख्याल गर्नुपर्ने हो कि ? भन्नाले, मात्रामा कम-बढी वा शब्द छनोटमा थोरै पेच खुस्किएमा गजलको भाव तिक्खर आए पनि पठनमा नमज्जा हुन्छ । त्यो समस्या पनि छ है तपाईँका कुनैकुनै गजलमा । आशा छ, अन्यथा लिनुहुने छैन । एउटा शुभेच्छा मात्र ।
संवेदनशील आत्मासामु सौन्दर्यको उच्च नमूनाको रूपमा कहलिँदै आएको फूलको पनि यस्तो दयनीय कथा हुन्छ भने, अनेक विसङ्गतिमा बाँचिरहेको मान्छेले आफ्नो व्यथालाई ढाडस दिनुपर्ने स्वाभाविक पाठ नपढी विकल्पै छैन । मैले त यस्तो कोणबाट पनि पो हेरेँ तपाईँका हरफहरूलाई ।

उजेली said...

दीपक दाइ, तपाईँले जसरी भाँति खुलाउनुभयो नि, मैले पनि त्यसरी नै पढेको रहेछु । पहिलो लाइनमा एउटा अक्षर कम लाग्यो मलाई । 'हाँगामा' भन्दा पनि 'हाँगाभरि' चैँ पढ्न सजिलो लाग्यो मलाई । तपाईँको पढाइको शैलीमा मिल्छ भने ठिकै छ मैले मेरो कुरा गरेको मात्रै हो । नराम्रो चैँ भन्न खोजेको होइन है !

अनि बाँकि तलका दुई लाइनचैँ नमिलेकै हुन् । मैले यस्तै एउटा शब्दलाई टुक्र्याएर वाचन गर्ने लाइन लेखेको थिएँ एकपटक र त्यसलाई मेरो बुवा, रामप्रसाद ज्ञवाली र अर्जुन पराजुलिले सच्याउन भन्नुभएको थियो । तीनजनाबाट एउटै कुरा आएपछि मैले त्यो शब्दलाई परिवर्तन गरेर नटुक्रिने शब्द हालेको थिएँ । यहि कारणले गरेर मैळे तपाईँको लाइन नमिलेका छन् भनेको हुँ, मेरो आफ्नो विश्लेषण होइन । यस्तरी शब्दलाई टुक्र्याउँदा चैँ वाचनमा धेरै अप्ठ्यारो पर्छ । श्रोतालाई कताकता नमिलेको जस्तो लाग्छ अनि शब्दको मुल भाव पनि अलि बुझ्न कठीन हुन्छ ।

अनि एउटा कुरा है दीपक दाइ, तपाईँ नेब्रास्कामा बस्ने नम्रता गुरागाईँ(आचार्य)लाई चिन्नुहुन्छ ?

दीपक जडित said...

धाईबाजी र उजेलीजी , तपाईंहरुको सल्लाह सुझाव पाउँदा मैले अन्यथा लिएँ भने त म कहाँ सुध्रिन्छु र हौ । खुशी छु म त अझै सुध्रिने मौका पाउने छु भनेर ।
उजेली जी मैले नम्रता गुरागाईँलाई नेपाली पोष्ट डटकममा केहि रचना मार्फत चिनेको हुँ - अरु चिनजान छैन ।

आकार said...

मैले चाँहि, निकै मज्जा लिएर वाचन गरेँ है ।

बोटै मुनि मैले फूल घोप्टिएर रो'को देखेँ ।
हाँगामा हाँस्ने फूलले पनि भुईँ छो'को देखेँ ।

म बुलबुल को कल्पना मा अनि बुलबुलियन कै लयमा बाचन गरिरहेछु ।

फूल रुँदा दुखिदिने यै 'दीपक'को नजरले ,
हेर्दैलाँदा संसार यो आधासरै भोको देखेँ ।