Saturday, August 30, 2008

आज त झन गजल : घर न घाटको भईयो

आज मोतीराम भट्टको १३९ औं जन्मजयन्ती , परदेशमा कहिल्यै केहि मनाउन पाएको भए त ; सँधै सबै उत्सव , जयन्तीहरु एक्लै मनाउने गर्थें , यो पाली पनि एक्लै त छु नै तर एक्लो सम्झेको छैन आफुलाई , यो पाली , दिलीपजी , वसन्तजी , कैलाशजी , आकारजी , उजेलीजी ( नियमित भेटघाट हुनुहुने साथीहरु ) साथै धाईवाजी , आरतीजी ( सबैको नाम भनेको बेलामा कहाँ आयो र खै ? ) लगायत मेरो ब्लगमा प्रवेश गर्नुहुने सबै मित्रहरुसंग मोती जयन्ती मनाउंदैछु ( मनैमा त हो ) यो गजल पेश गरेर ।

घरै भित्र पनि सँधैं भुँई न खाटको भईयो ।
पाखा लायो जिन्दगीले घर न घाटको भईयो ।

जिन्दगी पनि लौ चाख्दा रहेछन् अत्तोपत्तो कहाँ ,
अलिनै , खल्लै आफु त चना न चाटको भईयो ।

उधारो काढी बजारमा बेफ्वाँक हर्जाना तिर्दा ,
रित्तो झोला पेट रित्तै मेला न हाटको भईयो ।

न बट्नेउटो न त तोस्रो , जिन्दगी बटारिंदैथ्यो ,
गाँठैगाँठो परेर फुकाउ न बाटको भईयो ।

नपर्सिनु आफैंलाई मैले पर्सिएं पानी छर्की ,
माया लाग्यो आफ्नै आज पाल न काटको भईयो ।

जोडेर आफैंले दिएथें 'दीपक' लाई 'जडित' ,
अर्थ्याईएको देखेर राख न साटको भईयो ।

Tuesday, August 26, 2008

गजल : कसम हरायो आज

हामी विचको सबै वाचा र कसम हरायो आज ।
साईनो बिच अर्धाङ्गीनी र खसम हरायो आज ।

दुख सुखले संगै बितेका मिठा ति पलहरुमा ,
कैलेहाँसेको कैले रोएको मौसम हरायो आज ।

अब झरी छ या त आँसु छ जीवनमा सँधैभरी ,
घाम पानी र आँसु हाँसोको विषम हरायो आज ।

सहयात्रा पो टुँगियो यात्रामा एक्लै हिंड्नै छ अझै ,
रात काट्ने तर जिन्दगीको आश्रम हरायो आज ।

Sunday, August 24, 2008

कविता : म साँच्चै एक्लो भएछु

आजभोली
तिमीले जस्तै मलाई
मेरो गीतले पनि छाडेछ
गाउँछु जब
जबर्जस्ती कुनै गीत तिम्रो यादमा
गाउँदा गाउँदै मेरो गीत
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

मायालु स्पर्स दिएर
तिमीले जतन गरेको
वाँसुरी हेर्छु
त्यसले चिच्याएर मलाई
ब्युँझाउन खोजेझैं लाग्छ
टिपेर त्यसबाट
बजाउन खोज्छु
तिमीले मनपराएको धून
बज्दा बज्दै मेरो धून
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

धेरैदिन देखि
टेवलमा खुल्लै छाडेको
कलम हेर्छु
त्यसले आन्दोलित भएर
म विरुद्द उभिएझैं लाग्छ
समाएर त्यसलाई
कोर्न थाल्छु कविता
तिम्रो यादमा
कोर्दा कोर्दै मेरो कविता
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

आजभोली
तिमीले जस्तै मलाई
मेरो जिन्दगीले पनि छाडेछ
हिंडाउंछु जब
जबर्जस्ती यस्लाई अन्त्यहिन यात्रामा
हिंड्दा हिंड्दै मेरो जिन्दगी
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

असार २०५८ को मिति उल्लेख गरिएको यो कविता आज ब्लगमा राख्न मन लागेर राख्दैछु

Saturday, August 23, 2008

गजल : बोक्रो हेर्दा

कहाँ चिन्नु के को रुख थ्यो उप्किएको बोक्रो हेर्दा ।
पोचिएर चुरो पनि ढ्वाङ परेको खोक्रो हेर्दा ।

भात भान्सामा यिन्को पनि तिन्कै जस्तो पाक्दो रै'छ ,
रस निचोरी जुठेल्नामा मिल्काएको छोक्रो हेर्दा ।

छाडिएथ्यो यौटा आवाज सुनिन नै आजभोली ,
निमोठेछन घाँटी र पो , थाहा लाग्यो घोक्रो हेर्दा ।

बच्चा फेरी चोरी भएछ , शंका नजिकैमा गयो ,
अझै न्यानो भुकुल्टो र हल्लिरहेको कोक्रो हेर्दा ।

अर्जुन आए मैदानमा अघि सर्दै तिर हान्न ,
लाग्यो नक्कली झैं तर , धनुबाण र ठोक्रो हेर्दा ।

हैन माग्न आ'को भने छेउमै आई बस्दा सम्म ,
चोर्ने देखेँ नियत तर लुकाएको धोक्रो हेर्दा ।

Friday, August 22, 2008

त्राही त्राही तराई ।

सप्तकोसीको बाँध फुटेर अपार जनधनको क्षति भएको समाचार सुनेपछि त्यसै दिग्दार लागिरहेको छ । दुईदिन अघिनै यसबारे लेख्न बसेको थिएँ ब्लगमा तर कहाँबाट सुरु गरेर लेख्ने ? के लेख्ने ? केहि लेख्नै सकिनं । धेरैबेर सम्म त्यतिकै कम्प्युटरमा घोरिएर बसेपछि अन्तत यौटा कविता लेखें र त्यसैदिन ब्लगमा राखें । मन त्यसै कुँढिएको छ । अझै पनि यो विषयमा के लेख्ने कसरी लेख्ने ? भन्ने अन्यौल नै छ तर पनि आज शुरु गरें , यसरी नै भएपनि ।

सामन्यतया तराईलाई समथर जमिन भएकै कारण सुविधा युक्त र सजिलो मान्ने गरिएको छ । मेरा पुर्खाहरुले पनि सायद त्यस्तै सोचेर पहाड छाडे क्यार । रामकृष्ण ढकालले गाएको यौटा औधी चलेको गीतमा पनि ' आफ्नो दुख पहाड भन्छन अरुको तराई ' भनेर तराईलाई सुख अर्थात कम दुख देखाईएको छ तर मलाई चैं तराई नाम नै त्राही त्राही भएर रहयो कि जस्तो लाग्छ । अहिले हेर्नुस त तराईको त्राही , नेपाल जस्तो सानो , बिपन्न मुलुकमा ५०,००० भन्दा धेरै जनसंख्या यसरी विस्थापित हुनु सानो दुर्भाग्यको कुरा त हैन । तराईको त्राही उहिले देखिकै हो भन्ने मेरो बुझाई छ , चारकोसे झाडी हुँदाको कुरा त मैले सुनेको मात्र हुँ औलोको त्राही त्राही थियो रे त्यो बेला । मैले जान्दा सम्म चैं औलो उन्मुलन गर्ने भनेर घर घर भित्ताकोरे आउँथ्यो । रातो रंगको झोल यौटा सिसीमा बोकेर त्यही झोलले घरको भित्तामा चट्टक्क परेको चार्ट बनाएर महिनै पिच्छे रगत जाँच भएको नभएको हिसाब किताब लिन्थ्यो । स्वस्थ्य कार्यकर्ता हुन पक्कै पनि तिनीहरु तर हामी केटाकेटीमा भित्ताकोरे भन्थ्यौं । औलोको त्राही त्राही भएकै समयमा तराई बाघ जस्ता ठुला जंगली जनावर देखि गोमन सर्प जस्ता साना विषालु जिवको पनि त्राही त्राही नै थियो पक्कै । गोबनको त्राही त मैले जान्दासम्म थियो र अझै छ । पछि गोबन सर्पले डसेपनि उपचार हुन थाल्यो र गोबनको त्राही ( मान्छे मर्ने खालकै ) चैं अलि कम भयो । हरेक गर्मी र बर्षातको समयमा अनेकौं रोग ब्याधी र महामारीको त्राही भएन त्यसमाथी हरेक बर्खामा भलबाडी पैह्रो आदी को त्राही त्यै तराईले बेहोर्नु पर्छ । डुबानमा पर्ने त्राही त्यै तराईलाई , हिउँदमा महिनौं सम्मको शीतलहरको त्राही त्यै तराईले भोग्नु पर्छ , हावाहुरी , हुण्डारीको त्राही उत्तिकै । दक्षिण भारतको विहारबाट गाउँ गाउँ नै लुट्न आउने डाँकाको त्राही पनि त्यै तराईले बेहोरेको छ , सिमाना पारीबाट गोरु चोर्न आउनेलाई त बिगबिगी बढेको बेला गाउँ गाउँमा पहरा नै दिनु पर्थ्यो तराईले , त्यो क्रम बढेर गयो बरु तर कहिले कमि भएन । सिमाना मिचिनुको पिँडा पनि तराईले नै धेरै भोग्नु परेको छ ।

पछिल्लो समयमा केहि राजनैतिक दलहरुको स्वार्थमा उक्सिएर तराईमा अर्को त्राही फैलियो , मधेसी मुल र पहाडे मुलका बिचको साम्प्रदायिक तनाव । यसबारेमा धेरै लेख्दा बोल्दा पनि मलाई त यो विषय उचालेझैं लाग्छ । सबैलाई थाहा नै छ के के सम्म भएन र कुन कुन नियतले क कस्ले यो विषयलाई बढावा दिए भनेर तसर्थ यो त्राहीको बारेमा भने म धेरै लेख्न चाहन्न बरु कुनैपनि मुल र समुदाय नभनेर हामी नेपालका बासिन्दा हौं , राष्ट्रियताले नेपाली हौं भने भावना सबैमा जागोस भन्ने कामना गर्दछु । 'नेपाली'लाई जातियताको दायरामा नल्याईयोस भन्ने पनि मेरो कामना हो । जे होस यसरी हरेककुराको त्राही त्राही भएर नै त्राही त्राही भन्दा भन्दै अपभ्रंस भएर तराई भएको हुनसक्छ भन्ने मेरो अनुमान हो । यो नहुन पनि सक्छ , मलाई लागेको मात्र हो । जस्तै धान हाम्रो देशको प्रमुख खाद्य बालीलाई पनि धान भनिनुको कारण सबै कुरा धान्नु पर्ने भएकोले हो कि जस्तो लाग्थ्यो र अझै लाग्छ मलाई । त्यो चैं किनभने मेरो घरपरिवारमा कुनैबेला खेतिपाती भन्दा पर अर्को आर्थिक उपार्जनको मेलो थिएन र त्यो बेला खेतिपातीमा पनि धान ले नै मेरो परिवारको सम्पुर्ण भरणपोषणको जिम्मा लिनु पर्थ्यो । वर्षभरी भात खुवाउन त्यै धान , त्यै धान बेचेर मरमसला , तरकारी , तेल , नुन , लत्ताकपडा आदी देखि लिएर साहुको ऋणको ब्याज साँवा सबै तिर धानले नै धान्नु पर्थ्यो त्यसैले धान पनि सबै कुरा धान्नु पर्ने भएर नै भनिएको हो कि जस्तो लाग्थ्यो मलाई ।

यता तराईमा यतिखेर सप्तकोसीको बाढीले फैलिएको त्राही त्राही ठ्याक्कै हटाउने सामर्थ्य त भगवान नै आए भने नि छैन , यो बाँध भत्किएको कुरा झट्ट हेर्दा अकस्मात भएझैं देखिएपनि वास्तवमा समले भने झैं यो नियमित आकस्मिकता हो । बिभिन्न कारणहरुले पुरानो हुँदै गएको बाँधको मर्मत सम्हारमा ध्यान पुर्याउन नसक्नुको परिणाम हो यो । उता रापतीमा पनि पानीको सतह बढेर बस्ती बस्ती डुबानमा परेको समाचार आईरहेको छ र त्यसमा भोली पर्न सक्ने दुर्घटनाको बारेमा सम्बन्धितहरुले अहिले सोच्दैनन् जब भोली ठुलो दुर्घटना घट्न जान्छ तब भबितब्य पर्यो भन्ने तिर लाग्छन । एक त हाम्रो चलन नै पानी नपरी को छाता ओढोस भन्ने भएको छ अर्कोतिर यस्ता विषयमा चिन्ता गर्नेहरुको चिन्ता पनि सँधै यै सप्तकोसीको भेल जस्तै बगेर जाने गर्छन । नहुनु भै सकेको परिस्थितीमा यतिखेर उद्दार कार्य र राहत संकलनको कार्य चौतर्फी भै रहेको कुरा चैं सराहनिय छ । मैले माई संसार ब्लगमा पनि तराईको वर्तमान त्राहीको निंती राहत संकलनको पहल गर्ने कुरामा जोड दिएको थिएं । माई संसार ब्लगमा हामी धेरै विदेशीएका नेपालीहरु पस्ने गर्छौं । यसको ख्यातिको कारण यहाँबाट राहत संकलन गर्ने पहल गरे थोरै भएपनि सहयोग हुन्थ्यो भन्ने मनसाय थियो तर केहि साथीहरुले माई संसारले त्यसो गर्दा विश्वसनिय नहुने कुरापनि उठाएको पाएं । हरेक कुरामा उज्यालो र अँध्यारो पक्ष त भै हाल्छ । उज्यालो हेरेर अगाडी बढ्नु पर्छ भन्ने आसय हो मेरो । हामी यदि उज्यालो लाई आफ्नो मुखतर्फ पारेर हिंड्ने हो भने अँध्यारो स्वत हाम्रो पछाडी पर्न जान्छ तर यदि उज्यालोसंग मुख मोडेर ( उज्यालोलाई पछिल्तिर पारेर ) हिंड्ने हो भने हाम्रो अगाडी अँध्यारो पर्न जान्छ ।

हामी सँधै भन्ने गर्छौं हामी नेपालीको बानी अर्काको कुरा काट्ने , अरुलाई उडाउने हुन्छ भनेर र पतिपय कुरामा हामीनै पनि अरुलाई उडाईरहेका हुन्छौं - यो मान्छेको सामान्य गुण हो तर यतिखेर भने तराईमा फैलिएको त्राहीले पुर्याएको अपुरणिय क्षतिको निंती हरेक नेपालीले आफ्नै पिँडा सम्झेर सहयोगको हात बढाउन भन्ने मेरो कामना छ । हामीलाई बिपत आईपरेको छ हामीले नै सकेको सहयोग गरौं र नेपाली हुनुमा गर्व गरौं ।

Thursday, August 21, 2008

कविता : ए ! छोरा , आउ अब त फर्केर

थुन्यौ म निस्किने
सबै ढोकाहरु र बेखबर
टाढा गयौ
चिच्याएर पुकारें धेरै पटक
ए ! छोरा ,
आउ अब त फर्केर
खोल मेरो बाटो
बग्न देउ मेरो मातृत्वलाई
म सिंचेर तिमीलाई
अझै हुर्काउन सक्छु
बर्षौं देखि थुनिएकि म
नाक नाक सम्म डुबेर
ममताको दहमा
ऐँ ऐँ भएर बाँचेकि थिएं
मेरा सपनाको त के कुरा
म संगै
तिम्रा कयौं सपनाहरु थुनिएका थिए
म जस्तै
तिम्रा कयौं चाहनाहरु डुबेका थिए
मलाई थुनिराखेर
तिमी टाढै कतै अल्मलियौ कि ?
या हेला गरेर मलाई
सोधेनौ कहिल्यै
आमा कस्तो छ तिमीलाई ?
आँखै सामु तिम्रा पनि सपनाहरु
म जस्तै डुबिरहँदा
म रोईरहेँ छोरा
तिमीलाई नै सम्झेर
थपिईरह्यो मेरो आँसुको भल
ममताको दहमा
डर थियो कहिँ
नफुटुँ म अधैर्य भएर
रोकिरहेँ वर्षौं आफुलाई
तिमिले बन्द गरेको ढोकाभित्र
बाँधेर धैर्यताको बाँध
कतिञ्जेल थेग्न सक्थें र म
यो बेदना प्रसवझैं
र फुटें म आज
भत्किएँ सप्तकोशीमा
म भत्किउञ्जेल तिमी आएनौ
यतिखेर म बग्दैछु छोरा
तल तल
अझै तल
तिमीलाई सिंच्ने सामर्थ्यले
आज आफैं बग्दैछु म
र बगाउँदैछु तिम्रा पनि
बाँकी रहेका सपनाहरु
मलाई माफ गर मेरो छोरा
आउ फर्केर झट्ट
रोक यतिखेर मलाई
म आमा हुँ तिम्री
टाढा टाढा जान चाहन्न म
बगेर तिमीबाट ।

Saturday, August 16, 2008

छोटो चर्चाको साथमा गजल : कत्तिको पुरा गर्छौ

माओवादी सरकारमा भएको यो बिल्कुलै पहिलो पटक हैन तर यसपटक सरकारको नेतृत्व माओवादीले गर्दैछ । नेपालको राजनैतिक उतारचढावलाई यतिखेर यौटा कोणबाट मात्र हेरेर यो भएन उ हुनुपर्थ्यो , त्यस्तो हैन यस्तो हुनुपर्थ्यो नभनेर विभिन्न कोणबाट नियाँल्नु पर्ने अवस्था छ । यता समाए उता चिप्लिने , उता पकडे यता खुस्किने अवस्थामा बन्दै गरेको सरकारले जनजीविकाको सवालमा कति भुमिका खेल्न सक्ने हो त्यो भन्न सकिने अवस्था छैन । सरकार बनेपछि , यो सरकार संविधान बनाउने मात्र हो भन्ने कुरै हुंदैन । सानासाना कुराहरु देखि ठुला ठुला कुराहरु सम्म जुध्नु पर्छ सरकारले तब न सहि अर्थमा सरकार हुन्छ ।

यसपटक मलाई चित्त नबुझेको कुरा सत्ता समिकरणको यत्रो ब्यायम हुँदा पनि फोरमका तर्फबाट पहिले नै उपराष्ट्रपति चुनिएका , पुत्ला पुरुषको पगरी पाएका PN JHAA को सपथ काण्डको विषयमा चुँईक्क सम्म आवाज सुनिएन । कतै यो मुद्दालाई ओझेलमा पार्न त खोजिएको हैन ? त्यसो हो भने समय क्रममा यसको मुल्य बन्दै गरेको सरकारले चुकाउन नसक्ने गरेर बेहोर्नु पर्ने स्थिति आउने छ । भागवण्डामा सञ्चार मंत्रालय फोरमलाई परेको छ । यो भाग वण्डा हुने बेलामा कम्तिमा सपथ काण्डको बारेमा छलफल गर्नुपर्थ्यो हैन र ? जुनसुकै कुरामा पनि हेरौं अब अगाडी के हुने हो भन्दै बस्नुको विकल्प हाम्रो अगाडी कहिल्यै त आउला ??

संविधान सभाको चुनाब पछाडी , पहिलो बैठक बस्ने बेला ताका हो क्यारे मेरो दिमागमा यौटा तरिका फुरेको थियो , सभाको पारदर्सिता सम्बन्धि , तरिका भन्नुहुन्छ भने , सुचनाको यौटा चुस्त संयन्त्र निर्माण गरेर प्रत्येक आउंदो सभाको निंती हरेक दलको र स्वतन्त्र सभासदको समेत सभामा छलफलको निंती उठाउने मुद्दाहरु के के छन उक्त सुचना संयन्त्र मार्फत सार्वजनिक गर्ने । यसो गर्नलाई सुचना प्रविधीमा पोख्त युवाको काँधमा जिम्मेवारी दिन सकिन्छ । सार्वजनिक भएको मुद्दाहरु मध्ये कुन प्राथमिकतामा पर्न आउंछ र त्यसको हलको उपाय के के हुन सक्छ भन्नेबारे देश विदेशमा रहेका नेपालीहरु मार्फत राय संकलन गर्ने र सभामा त्यसमाथी छलफल गर्ने । जम्मा कतिवटा मुद्दाहरु हुन सक्छन ? त्यसमध्ये कतिवटालाई प्राथमिकतामा लिने जस्ता कुराहरुको यौटा मापदण्ड तयार गर्दा सभामा कसैले हाई काढ्नु पनि पर्दैन र प्राथमिक मुद्दा ओझेलमा पनि पर्दैन । यसको लागी निर्माण गरिने सुचना संयन्त्र माई संसार मोडेलको भए पुग्दो हुने हुँदा त्यति खर्चिलो पनि हुँदैन । यो मलाई प्रभावकारी हुन्छ जस्तो लागेको कुरा हो । तपाईँहरु के भन्नुहुन्छ ? यसबाट सबैभन्दा ठुलो फाईदा कुनै पनि मुद्दामा कसैले आलोचनात्मक समर्थन छ भन्नु पर्दैन । आलोचना गर्नुपर्ने कुरालाई समर्थन नगर्ने । समर्थन सहमतिमा आएर मात्र गर्ने जस्ता स साना कुरामा ध्यान दिने हो भने , फलानाले यसो गरे , ढिस्कानाले यसो गर्न दिएनन जस्ता फोहोरी क्रियाकलापबाट बच्न सकिन्छ ।

अर्को कुरा राष्ट्र र राष्ट्रियताको सवालमा सबै दलहरु मिलेर एक ढिको हुने र एक आवाज बनाउने । सभामा नै यौटा कार्यपत्र तयार गरेर , देश भित्रका कुन कुन विषयमा विदेशी शक्तिहरुसंग राय सल्लाह लिने र क-कस्ले , कस्तो अवस्थामा विदेशी कुटनितिज्ञहरु संग परामर्श गर्ने भन्ने साझा निर्क्यौल निकाल्ने र त्यस अनुरुप चल्ने , हाम्रो देशको राजनीति हामीले नै सञ्चालन गर्ने अभिप्राय लिने न कि अगाडी के गर्ने भनेर भारत संग सल्लाह गर्न जाने , यसो गर्दा राकेश शुदहरु सित्तैको सुझाव टक्र्याउन छाड्न बाध्य हुनेछन । भारतमा अंग्रेजहरु हुँदै देखि नेपालले सुरु गरेको रिझाउने परम्परा अब त अंत्य हुनै पर्छ यदि हामीलाई हाम्रो देश प्यारो छ भने । त्यसैले विदेशी कुटनीतिक नियोग ( भारत समेत ) संग परामर्श र राय सल्लाह लिने विषयको सिमा निर्धारण गर्ने ।

राजनीतिक विषयबस्तु माथी म गहिरो प्रभाव पार्ने गरेर लेख्न सक्दिनं त्यसैले म लेख्दै लेख्दिनं भन्दा पनि हुन्छ तर यसपटक नयाँ नेपाल नै हाम्रो सपना हो भने त्यो मेरो पनि हो भन्ने मनसायले नयाँ नेपालको निंती उपयोगी हुन सक्ने दुई विचारहरु लेखेको मात्र हुँ र मलाई यो पनि थाहा छ कि मेरो यो लेखाईको मुनै महत्व हुने छैन ।

आज खासमा मैले तपाईंहरुलाई नयाँ सत्ता तयार हुँदै गरेको अवस्थाको हाम्रो आजलाई सम्बोधन गर्दै , प्रहार गर्दै र संदेह गर्दै लेखेको यौटा गजल पेश गर्न आएको थिएँ त्यसैले साथमा उक्त गजल पनि राख्दैछु । यस्लाई लेख्दा मैले कुनैपनि राजनैतिक दुराग्रह राखेर लेखेको हैन बल्कि देशको चिंता बोकेर लेखेको हुँ भन्ने स्पस्टिकरण पनि दिन चाहन्छु । लेख्दा सरकारको नेतृत्व गर्ने दललाई नै लक्षित गरेको भएपनि यो सबैलाई लेखेको हुँ , ठुल्ठुला सपनाको कुरा मात्र गर्ने तर सपना पुरा गर्न पाईला नचाल्ने तपाईं पनि पर्नुहुन्छ भने तपाईंलाई पनि लेखेको हुँ , म स्वयंलाई पनि लेखेको हुँ ।

ठुल्ठुला सपनाको कुरा गर्छौ।
हेरौं अब कत्तिको पुरा गर्छौ ।

धेरै छन नाघ्न शिखरहरु ,
आरोहण कुन चुचुरा गर्छौ ?

रोपेर अफिम घर पछाडी ,
आँगनमा नष्ट धतुरा गर्छौ ।

अजिँगर सिँगै निल्दो छ मान्छे ,
नियंत्रण चाँही खजुरा गर्छौ ।

लेखेर नीति असंभव प्राय: ,
कार्यान्वयन् चैं के अधुरा गर्छौ ?

रचेर लय शान्तीको गीतमा ,
गाउँने काम चैं वेसुरा गर्छौ ।

Tuesday, August 12, 2008

माछा नमार्दाको कुरा

चिँ मुसि चिँ
तेरो बाउ मेरो बाउ
माछ मार्न गए
माछ मारी ल्याए
ढुँगामा सुकाए
चिलले लग्यो
हा !! हा !!

स्कुल जान सुरु गर्नु भन्दा अगाडी नै हामी केटाकेटी भेला भएर एकको हातमाथी अर्कोको हातले बुढी औँला र चोर औँलाले चिमोटेझैं समाएर यो गीत गाउँदै , माछा मारिन्छ भन्ने सिकेको थिएँ मैले ।
अलि ठुलो भएर म माछा मार्न सिपालु भएको थिएँ । बल्छि र लोथा मा गँड्यौला उनेर माछा मार्न जाँदा म निक्कै माछा पार्ने गर्थें । संगै माछा मार्न गएका साथीभाईहरु डाहाले भुत्तुक्कै हुँदा पनि मेरो बल्छीमा माछा पर्न छाड्दैनथियो र म उनिहरुलाई फुर्ति देखाउंदै भन्थें , ' म मीन राशी हुँ । राशीमै माछाको चिन्ह भएपछि माछा पर्दैन त ?' त्यसबेला सम्म त म माछाको गीत पनि अर्कै गाउने भईसकेको थिएं - माछी मारन हौ दाई हौ आजलाई चटनी माछी मारन ...........। घरमा माछा गन्हाउंछस् तँ भनेर सबैले छि भन्दा पनि त्यसबेला म माछा मार्न छोड्दैनथिएं । निक्कै ठुलो हुञ्जेलसम्म माछा मार्न भनेपछि हुरुक्कै हुन्थें म । मार्ने प्रक्रियामा फरक आयो तर माछा त मारिन्थ्यो नै । त्यस्तै गाउने / गुन्गुनाउने माछाका गीतहरु पनि फरक हुँदै गए - माछि मार्न जाउँ न दाजै कालापानीमा ............... । अझ माछा मार्ने प्रक्रियालाई नै प्रतिक बनाएर मैले यौटा गीत पनि लेखेको छु र आफैंले संगीत संयोजन पनि गरेको छु -

तिम्रो माया बल्छि रै'छ
मुस्कानको चारो थाप्यौ
लोभिएर उनिएछु म
जालहारीको जाल जस्तै
तिम्रो त्यो जाली मायामा
थाहै नपाई थुनिएछु म ।

आज यहाँ पनि माछा मार्न जाने चाँजो मिलाएको थिएँ । बिहान ११ बजे तिर घरबाट निस्किएर वाल मार्टमा एकदिनको लागी माछा मार्ने लाईसेन्स लिएं । हाम्रो देशमा माछा मार्ने बहानामा हामी मनपरी गरेर खोलानालाका माछा त के अन्य जीब जनावरकै अस्तित्व नष्ट गरेर छाड्छौं । कसैलाई माछा मार्ने लाईसेन्स चाहियोस न जलाशय जोगाउने कुनै नियम कानुन होस तर यहाँ नियम भनेको नियम नै हो नेपालमा चाहिंदैन थियो भनेर भएन । त्यसपछि वालमार्ट बाटै बल्छि किनें र लागें खोलातिर । साथमा यहिँको बासिन्दा थियो ब्रायन नाम गरेको साथी । खोलामा पुगेपछि ब्रायनलाई सिकाईमाग्नु पर्यो बल्छि कसरी थाप्ने ( चलाउने हो क्यारे हामी थाप्ने भन्थ्यौं पहिले ) भनेर । नेपालमा आफैं बाँसघारीमा गएर टाँगो काटेर बल्छि बनाउने गरेको यहाँको अत्याधुनिक बल्छि न पर्यो चलाउनै अप्ठ्यारो लाग्यो निक्कैबेर । बल्छि चलाउन जानेपछि माछा निक्कै समाउंछु झै गरेर अप्ठ्यारो अप्ठ्यारो ठाउँतिर बल्छि हान्न ( हान्न पनि भनिन्छ क्यारे ) थालें । सुरुमा हामी सहरको नजिकैको खोलामा गएका थियौं त्याँहा प्रसस्तै सिल्भर सालमनहरु देखिन्थे तर मैले यौटा पनि मार्न जानिनं । अरु अरुले पनि त्यति पारेको देखिएन त्याँहा । धेरै माछाहरु देखिने ठाउँ , जहाँ ब्यारेज थियो नहर निकालीएको , मा बल्छि हान्न निषेध गरिएको थियो । अलि तलबाट खोलाको वारीपारी तार टाँगेर बल्छि खेल्न पाउने र नपाउने क्षेत्र छुट्याई एको थियो । निक्कैबेर कोसिस गर्दा पनि माछा मार्न नसके पछि हामीले अर्कै खोलामा जाने निर्णय लियौं र लगभग आधा घण्टाको ड्राईभमा अर्कै खोलामा गयौं त्याँहा धेरै मान्छेहरु बल्छि खेलिरहेका थिए । निक्कैबेर हामीले त्याँहा पनि कोसिस गर्यौ तर माछा परेन । अरु अरुले माछा पारेको रमिता हेरेर बसेपछि ब्रायनले धेरै माछा पर्ने ठाउँमा लैजान्छु तर त्याँहा माछा खान भालुपनि आउने गर्छ र कैले काँही मान्छेलाई पनि आक्रमण गर्छ , तँलाई डरलाग्छ कि लाग्दैन भन्न थाल्यो । भालुले आक्रमण नै गर्छ भनेपछि कताकता डर पनि लाग्यो तरपनि लु जाउँ न त भनेर अरु १ घण्टाको ड्राईभमा अर्कै खोलामा पुगियो ( यि सबै खोलाहरुको नाम चैं मैले याद गरिनँ है ) ।

बेलुकि ३ बजेतिर उक्त भालु आउने भनिएको खोलामा पुगेका थियौं हामी । मलाई भालु आई चैं दियोस तर आक्रमण गर्नै चैं नआओस भन्ने लागेको थियो तर साँझ ९ बजे सम्म माछा मार्दा पनि भालु आएन । ब्रायनले ३ वटा ठुल्ठुला किँग सालमन बल्छिमा पार्यो , मैले भने पट्टक्कै सकिनँ माछा पार्न । संग्लो पानीमा सालमनहरु खेल्दै गरेको प्रसस्तै देखिन्थ्यो त्याँहा पनि तर मार्न भने सकिनँ । माछा मार्ने कार्यक्रम ( मैले नमारे पनि ) सकेर फर्कँदा खोलामा आफ्नो बिरानो छुट्याउन नसक्ने गरेर अँध्यारोले पाईला टेकिसकेको थियो ।

हुनत माछा मार्ने यौटा बहाना मात्र न हो , हप्ताको एकदिन छुट्टी रमाईलो होस भन्ने चाहनाले नै धेरै काम गर्छ र रमाईलो पनि भयो र पनि माछा मार्न नसकेपछि अंत्यमा मनमनै भनें - यता अमेरिका आए देखि म मीन राशी नै रहिनं । राशी नै बदलिएर Gemini भएपछि के पर्थ्यो त माछा ?

( यो गन्थन लेख्दा माछा मार्दाको कुरा भनेर सुरु गरेको थिएँ तर अंत्यमा लाग्यो माछै नमारे पछि कसरि मार्दाको कुरा भन्नु त्यसैले माछा नमार्दाको कुरा भनेर शिर्षक लेखेको हुँ । )

Friday, August 08, 2008

गजल : नयाँ नेपाल

भनियो मात्र नयाँ नेपाल
अझै छ उहि पुरानो चाल
नेता छन मस्त, मखलेल
नसोधे भो जनताको हाल
जब सुरक्षा चाहे नेताले
बनाए ति नै जनता ढाल
न स्याल न ब्वाँसो लिच्चड ति
आए ओढेर बाघको खाल
गर्ने कस्को भरोषा हामीले
फैलिएछ विदेशी सञ्जाल
होसियार अझै हुर्केलान
देश बेच्न तम्सने दलाल
आउ कुल्चन शिर तिनको
आयो हेर राष्ट्रको सवाल ।

यो गजल पनि माई संसारमा कमेण्ट लेख्दै लेखेको थिएँ ।

Thursday, August 07, 2008

कविता : म भित्रको मेरो नेपाल

म नेपाल बोकेर छातीमा
हेर संसार घुमिरहेछु
बौलाहा झैं
कराउँछु , बर्बराउँछु संधै
सपनामा मेरो नेपाल
बिपनामा मेरो नेपाल
र घुम्छु सर्वत्र यो संसार
बोकेर मुटुभरी नेपालीपन
बाँड्दै मेरै देशको पहिचान
मेरो नेपाल
सतिदेवी हैनन मेरो शरिरमा
भौंतारिएको छु म तर
झर्न दिन्न कदापि
मेरो ह्रदयको नेपाललाई
अझै उचाल्छु
मेरो सगरमाथा
म पुगेजति हिमालहरुमा टेकेर
यहि छातीमा आज म
हिमाल उचालेर मुस्कुराउँछु
पहाड छामेर गम्भिर हुन्छु
तराई मुसारेर दुखि बन्छु
मेरो नेपाल
जननी मेरी ; जन्मभूमी
छिनाल्न सक्छु आफ्नो शिर
उनको पाउमा तर
झर्न दिन्न मेरो नेपाल
मेरो ह्रदयबाट
जहाँ कुँदेको छु
चन्द्र सुर्य
मेरै नेपालको पवित्र चित्रसंगै ।

Wednesday, August 06, 2008

गजल : कनिका हुन्छन

चौरासी ब्यञ्जन त धनिका हुन्छन ।
गरिबको मुखमा कनिका हुन्छन ।

कताको दौरा खै कहाँ हो सुरुवाल ,
आङ ढाक्ने धरो नि 'जनि'का हुन्छन ।

सुनाउँ न भन्दा नि सुन्नेलाई झर्को ,
गरिबीका कुरा नै ननिका हुन्छन ।

खाद्यान्नको अहिले पो अभाव भो रे ,
हाम्रा त रोजै छाक 'बनि'का हुन्छन ।

सरस्वती लक्ष्मी छन ठुलाकै घर ,
झुप्रा'बास त राहु , शनीका हुन्छन ।

भोकसंग लड्नेलाई देशका कुरा ,
जे सुन्यो त्यही ए ! हो त नि का हुन्छन ।

नबलेपछी गरिबलाई 'दीपक',
अँध्यारै बरु ठिक छ नि का हुन्छन ।

यो गजल लेख्ने मेसो ब्लगर साथी कैलाशको कुटीमा भोकमा भोजन नै प्यारो शिर्षकको ब्लग पढेर र त्याँहा भएका तस्विर हेरेर जुरेको हो ।

Tuesday, August 05, 2008

प्रतिक्रिया लेख्दाको कुरा

माई संसारमा प्रतिक्रियाहरु लेख्दा यदाकदा कविता , गजलहरु लेख्ने गर्थें म र त्यो रचनालाई यता ब्लगमा पनि राख्ने गर्थें । पछिल्लो पटक भने यौटा कविता लेखेर ब्लगमा राख्नु त कता कता त्यसलाई आफ्नो कम्प्युटरमा सेभ गर्न समेत भुलेको थिएं । ब्लगमा उस्तो समय दिएर केहि लेख्न नसकिरहेको बेला त्यसको उपयोग गर्ने मन आयो र आज माई संसारका पुराना पेजहरु पल्टाएर कविता खोज्न थालें । म भित्र मेरो नेपाल शिर्षक दिएर लेखेको उक्त कविता खोज्ने क्रममा मैले अर्को त्यो भन्दा पनि पहिल्यै लेखेको कविता फेला पारें , जुन कविता मैले पहिले नै ब्लगमा राखिसकेको थिएँ तर उक्त कविता लेख्दा मैले निक्कै लामो भुमिका ( नाटकको रुपमा ) तयार पारेको थिएं । त्यसलाई एकपटक दोहोर्याएर पढ्दा ब्लगमा राख्ने ईच्छा भएर आयो र राख्दैछु प्रतिक्रिया लेख्दाको कुरा शिर्षक दिएर । यसभित्र उल्लेखित सबै पात्रहरु जीवन्त पात्रहरु हुनुहुन्छ । धेरैजसो माई संसारमा प्रतिक्रिया लेख्ने साथीहरु हुनुहुन्छ भने साथमा प्रचण्ड , पारस लगायत ब्याकुल माईला , अंबर गुरुङ्गहरुलाई पनि पात्र बनाएको छु । म स्वयँ चैं गोलेदाईको भुमिकामा छु ।( म भित्र मेरो नेपाल कविता पनि फेला पारेर काँटछाँट गरेर ठिक्क राखेको छु अर्को पटकको लागी ब्लगमा खुराक । )

पर्दा खुल्यो -

सुन्दर फूलबारीको बिचैबिच फराकिलो बाटो थियो । उक्त बाटो पैदल टहल्नको लागी मात्र प्रयोग गरिने नयाँ नेपालको नियम अनुशार मैलोकालो धुँवाको मुश्लो फाल्ने सवारी त के कसैले साईकल समेत छिराउंदैन थिए । मुलबाटोको चारैतिर अन्य शाखा बाटोहरु प्रसस्तै थिए । सबैतिर नयाँ नेपालका जनताहरु नयाँ स्फुर्तीका साथ विचरण गरिरहेका थिए । प्रवेशद्वारमा एक्कासी
एकहुल युवाहरु भेलाभए । सबै बाईकमा सवार थिए । उनिहरुको पहिरन र चालचलन देख्दै लाग्थ्यो उनिहरुमा पुरानो नेपालको धङधङी अझै बाँकी छ । हुलमा यौटी आशा थिईन , अर्को भास्कर थियो , अर्कोको त नाम नै याहु आईडीमा थियो माईकलजोन७१ , अर्को राजन पुन थियो । बाँकी अरुसबै उनिहरु जस्तै हिंजोको नेपालको धङ्धङीमा लठ्ठीएकाहरु थिए । हुल मध्येको यौटा अगाडी सरेर द्वारपाल तर्फ बढ्यो । हेर्दा परबाट पुरुष झैं देखिने आशा नाम गरेकि उक्त पात्रले द्वारपाल सामु गएर भनिन ।

आशा : ए पालेदाई , हामी संधै यहाँ बाईकमा जाने गर्थ्यौ । गेट खोल ।

द्वारपाल : नयाँ नेपालको नियमानुसार सवारी साधन लान निषेध छ ।

भास्कर : ( औला उठाउंदै ) हामीलाई नयाँ नेपाल सेपाल थाछैन , गेट खोल् नत्र भत्काईदिन्छु ।

द्वारपाल : ( हात जोड्दै ) भाई यहाँ दादा देखाउन पाईदैन भित्र जानुछ भने बाईक उ त्याँहा राखेर ( पार्किङ तर्फ देखाएर ) जानुहोस नत्र फर्कनुहोस । यहाँ हल्ला गर्न पनि पाईदैन । भित्र आज नयाँ नेपालका नयाँ कविहरु छलफलको लागी आउनु भएको छ ।

माईकलजोन : ( बाईक गेट तर्फ बढाउंदै ) ह्या खोल् न भन्या ? म पनि अंग्रेजीमा कविता भन्न सक्छु ।

त्यसैबेला यौटा कार देखा पर्यो । हुलबाट राजन पुन कार तर्फ बढ्यो ।

राजन पुन : ( कारको ढोका खोल्दै ) युवराज पारस सरकारको जय ! त्यसैबेला यौटा कार देखा पर्यो । हुलबाट राजन पुन कार तर्फ बढ्यो ।

पारस :( बाहिर निस्किएर तिन छक्क परेको भावमा ) के भो केटा हो ?
तिमरु किन अझै यहाँ ?

आशा : ( अगाडी सर्दै ) अब यो गणतन्त्र बाटिका रे । हामी जान पाउदैन रे यार सर्कार ।

पारस : खै यो गेटको पुलिस ? मलाई चिनेन रे ?

गेटबाहिर उनिहरु खासखुस गर्दैथिए । द्वारपालले मोबाईलमा नम्बर मिलायो । एकैछिनमा YCL नेपाल लेखिएको शर्ट लगाएका ७/८ जना युवाहरु आए ।

तिनिहरु मध्येको यौटा : भाईहरु यहाँ केको हल्ला ? भित्र जानु छ भने । बाइक कार उता पार्क गर्ने र जाने नत्र फर्किने । ल झट्ट गर्ने ।

भास्कर : ( डराए झैं ) यार यो त अस्ति चुनाव जित्ने अनन्त भन्ने वर्षमान पुन हो । अब हाम्रो दाल गल्दैन ।

पारस : ( चस्मा मिलाउदै ) थुक्क गधाहरु । पहिले नै कुरा नबुझि मलाई बोलार । अब कहाँ जाने ?

आशा :(बाईक फर्काउंदै ) जाउं जाउं अन्तै कतै जाउंला नि । सर्कारको निर्मल निवास मै छ नि हामीलाई पुग्दो बगैंचा । त्यहीँ जाउं ।

पारस : जान्छेस त्याँ , बाउ बौलार खपिसक्नु छैन । त्यसैले त अन्तैको प्लान बनाउन लगाको तिमरु कुक्कुर हर्लाई ।
सबै फर्कन्छन ।

पर्दा खस्छ । --------------

फेरी पर्दा उठ्छ बाटिकाभित्र देखिन्छ । भित्रपट्टी -

हिड्दा हिंड्दै फुलीरहेको रातो गुलाबको छेउमा उभिएर कवि बोधार्थ :

मलाई गुलाब भन्दा
चमेली मन पर्छ
म गुलाबमा रातो देख्छु ......
......
...........
गुलाब रहीत
रक्त रहीत
रातो अनि तातो रहीत
चमेलीका बुकेहरुका साथमा
शुभकामना शुभकामना ।

तालीले बाटिका गुन्जन्छ । बोधार्थको सटिक कवितामा सही अर्थ छ भन्ने मन्तव्य दिंदै कवियत्री लुना :

सेता चमेलीका फुल !
उसले गुथेको गुच्छा !
अनि उसको सपना !
अहो त्यो महान कामना !

..............
...............
...........

शान्ती , विकाशको सपना
सेतो फुल , सेतो रंग
त्यो महान इच्छा !
त्यो महान कामना !


कवियत्री लुना कविता वाचिसक्दा चमेलीको झ्याङनेर पुगेकि हुन्छिन । तालीको गड्गडाहट फेरी आउंछ । कसैले कसैलाई निम्तो नगरेको , कुनै उदघोषण पनि नगरिएको यो बाटिकामा तेस्रो कवि निक्कैबेर निस्किएन । सबैलाई अझै धेरै कविता सुन्ने अभिलाषा थियो र पनि यहाँ ए तैंले भन कविता भन्न पाईन्नथ्यो । मानिसहरुको चहलपहल कम थिएन । सुन्दर त्यो बगैंचामा चराहरुको चिर्बिर , पुतलीको फुर्फुर र बिभिन्न फूलहरुको मनमोहक सुगन्ध यथावतै थियो । एक्कासी एकतिरबाट कवि गोले देखा परे र कविता वाच्न थाले :

फुलको रंगलाई अब हेला नगर
फुलको रंगमा जीवन फुल्छ
हेर फक्रेको हरेक फूलमा
त्यहाँ जगतको सत्य खुल्छ
रातो गुलाब संधै रगतको पर्याय होईन
यो प्रेमको पनि प्रतिक हो
विहानीको लाली रक्तिम हुन्छ
त्यसले रातको त्यो कालो धुन्छ
विहानीले रक्तिम लाली नछरी
उज्यालो दिन आउंछ कसरी ?
चमेली , बेली, सयपत्री
गोदावरी , मखमली यहीं
फुल्नु पर्छ संगैसंगै सबै
लालुपाते , गुलाब , जाहीजुही
रातो निलो सेतो पंहेलो
सबै रंगहरुले नेपाल सजाउन
फक्रिएर फूलझैं नेपाली मनले
संधै शान्तीको धुन बजाउन
फूलको रंगलाई अब हेला नगर
फूलले कठोर मनलाई पनि छुन्छ
गुलाब संधै रातोमात्र हुंदैन
ल हेर गुलाब सेतो पनि हुन्छ ।

कवि गोले कविता सक्दा सेतो गुलाबको छेउमा पुगेका थिए । ताली फेरी गुञ्जियो । अर्को कुनाबाट कवि प्रचण्ड देखा परे लामो बाहुलाको सर्ट र लुंगी बेरेका प्रचण्डको हातमा फूलमा पानी हाल्ने हजारी थियो । उनि कविता वाच्न लागे :

अब शान्तीको बिज रोपिसकिएको छ
अब बुद्धको जन्म भै सकेको छ
फलाउं फुलाउं सबैले शान्तीको बिरुवालाई
आउ हातेमालो गरेर आजै प्रण गरौं
विश्वले देख्नेछ हामी नेपालीलाई
विश्वले बुझ्ने छ हामी नेपालीलाई
यो समय एकताको हो
आउ हामी सबै एकजुट बनौं ।

फेरी तालीले वाटिका गुञ्जयमान भयो । यसबेला सम्म वरीपरीबाट सबै एकैठाउं भेला भएर हातमा हात समाईसकेका थिए । उताबाट कवि ब्याकुल माईला र संगीतकार अंबर गुरुङ देखापरे अनि सबै मिलेर गाउंन लागे --

सयौं थुंगा फूलका हामी यौटै माला नेपाली ..........
..................................
पर्दा खस्यो ।

यहाँ मैले नयाँ नेपालमा नियम कानुनको दायरा भित्र सबैलाई ल्याउने जुन कल्पना उतारेको छु के त्यो संभव होला त ? एकपछि अर्को नियम , कानुन अझ संविधानकै धज्जी उडाउने कामहरु हाम्रा नेताहरुबाट भैरहेको बेला सान्दर्भिक ठानेर आफैंले निक्कै पहिले लेखेको यौटा गजलको शेर बोनसमा राख्दैछु -

लेखे लेख्नेले किताबमा नीति कानुन सबै
तिनैले धज्जी उडाए बबुरो कानुन रोयो ।

Monday, August 04, 2008

कविता : शब्दहरु अचेल

हो त रहेछ शब्दहरु
सँधै शब्दहरु नै नरहँदा रहेछन
बान्की बान्की अक्षरहरु
कतै मात्रा धारिएर
कतै रेफ तिखारिएर
बिषालु तिखो काँढा जस्तै
छड्के फुटेको सिसा जस्तै
गाढिंदो रहेछ मनमा
वाक्यको धनुर्बाण उठाई
हरफको ताँदो चढाएर
अक्षरको तिर हान्नै नपर्ने
अक्षर आफैं गढेर मुटुमा
शब्द शब्द दुख्दो रहेछ मनमा
त्यो मन आफ्नै भए जाति
कोट्याएर अक्षरले
गढेको शब्द निकालिएला
त्यो मन पराई हुँदा
शब्द नै छट्पटिनु पर्दोरहेछ
निकाल्न नसकिने गढेको शब्द
कोट्याएर अक्षरहरुले
शब्दहरुले घोचेको घाउमा
उकुच शब्दकै पल्टिंदो रहेछ
र विषेक पार्न फेरी
मल्हम शब्दकै चाहिँदो रहेछ
कहिले एउटै मनपनि
शब्दले फुटाईदिंने
कहिले अनेक मनपनि
शब्दले जुटाईदिने
टाढालाई नजिक बनाउने शब्द
नजिकलाई टाढा गराउने शब्द
शब्दले कैले मोहनी लाउने
मोहभङ्ग कैले शब्दले गराउने
अनेक रंगमा
अनेक रुपमा
हेर त ,
तिमीले कम आँकेका शब्दहरु ?
शब्दहरु अचेल
शब्द मात्रै कहाँ रहेछन र ?