Saturday, August 16, 2008

छोटो चर्चाको साथमा गजल : कत्तिको पुरा गर्छौ

माओवादी सरकारमा भएको यो बिल्कुलै पहिलो पटक हैन तर यसपटक सरकारको नेतृत्व माओवादीले गर्दैछ । नेपालको राजनैतिक उतारचढावलाई यतिखेर यौटा कोणबाट मात्र हेरेर यो भएन उ हुनुपर्थ्यो , त्यस्तो हैन यस्तो हुनुपर्थ्यो नभनेर विभिन्न कोणबाट नियाँल्नु पर्ने अवस्था छ । यता समाए उता चिप्लिने , उता पकडे यता खुस्किने अवस्थामा बन्दै गरेको सरकारले जनजीविकाको सवालमा कति भुमिका खेल्न सक्ने हो त्यो भन्न सकिने अवस्था छैन । सरकार बनेपछि , यो सरकार संविधान बनाउने मात्र हो भन्ने कुरै हुंदैन । सानासाना कुराहरु देखि ठुला ठुला कुराहरु सम्म जुध्नु पर्छ सरकारले तब न सहि अर्थमा सरकार हुन्छ ।

यसपटक मलाई चित्त नबुझेको कुरा सत्ता समिकरणको यत्रो ब्यायम हुँदा पनि फोरमका तर्फबाट पहिले नै उपराष्ट्रपति चुनिएका , पुत्ला पुरुषको पगरी पाएका PN JHAA को सपथ काण्डको विषयमा चुँईक्क सम्म आवाज सुनिएन । कतै यो मुद्दालाई ओझेलमा पार्न त खोजिएको हैन ? त्यसो हो भने समय क्रममा यसको मुल्य बन्दै गरेको सरकारले चुकाउन नसक्ने गरेर बेहोर्नु पर्ने स्थिति आउने छ । भागवण्डामा सञ्चार मंत्रालय फोरमलाई परेको छ । यो भाग वण्डा हुने बेलामा कम्तिमा सपथ काण्डको बारेमा छलफल गर्नुपर्थ्यो हैन र ? जुनसुकै कुरामा पनि हेरौं अब अगाडी के हुने हो भन्दै बस्नुको विकल्प हाम्रो अगाडी कहिल्यै त आउला ??

संविधान सभाको चुनाब पछाडी , पहिलो बैठक बस्ने बेला ताका हो क्यारे मेरो दिमागमा यौटा तरिका फुरेको थियो , सभाको पारदर्सिता सम्बन्धि , तरिका भन्नुहुन्छ भने , सुचनाको यौटा चुस्त संयन्त्र निर्माण गरेर प्रत्येक आउंदो सभाको निंती हरेक दलको र स्वतन्त्र सभासदको समेत सभामा छलफलको निंती उठाउने मुद्दाहरु के के छन उक्त सुचना संयन्त्र मार्फत सार्वजनिक गर्ने । यसो गर्नलाई सुचना प्रविधीमा पोख्त युवाको काँधमा जिम्मेवारी दिन सकिन्छ । सार्वजनिक भएको मुद्दाहरु मध्ये कुन प्राथमिकतामा पर्न आउंछ र त्यसको हलको उपाय के के हुन सक्छ भन्नेबारे देश विदेशमा रहेका नेपालीहरु मार्फत राय संकलन गर्ने र सभामा त्यसमाथी छलफल गर्ने । जम्मा कतिवटा मुद्दाहरु हुन सक्छन ? त्यसमध्ये कतिवटालाई प्राथमिकतामा लिने जस्ता कुराहरुको यौटा मापदण्ड तयार गर्दा सभामा कसैले हाई काढ्नु पनि पर्दैन र प्राथमिक मुद्दा ओझेलमा पनि पर्दैन । यसको लागी निर्माण गरिने सुचना संयन्त्र माई संसार मोडेलको भए पुग्दो हुने हुँदा त्यति खर्चिलो पनि हुँदैन । यो मलाई प्रभावकारी हुन्छ जस्तो लागेको कुरा हो । तपाईँहरु के भन्नुहुन्छ ? यसबाट सबैभन्दा ठुलो फाईदा कुनै पनि मुद्दामा कसैले आलोचनात्मक समर्थन छ भन्नु पर्दैन । आलोचना गर्नुपर्ने कुरालाई समर्थन नगर्ने । समर्थन सहमतिमा आएर मात्र गर्ने जस्ता स साना कुरामा ध्यान दिने हो भने , फलानाले यसो गरे , ढिस्कानाले यसो गर्न दिएनन जस्ता फोहोरी क्रियाकलापबाट बच्न सकिन्छ ।

अर्को कुरा राष्ट्र र राष्ट्रियताको सवालमा सबै दलहरु मिलेर एक ढिको हुने र एक आवाज बनाउने । सभामा नै यौटा कार्यपत्र तयार गरेर , देश भित्रका कुन कुन विषयमा विदेशी शक्तिहरुसंग राय सल्लाह लिने र क-कस्ले , कस्तो अवस्थामा विदेशी कुटनितिज्ञहरु संग परामर्श गर्ने भन्ने साझा निर्क्यौल निकाल्ने र त्यस अनुरुप चल्ने , हाम्रो देशको राजनीति हामीले नै सञ्चालन गर्ने अभिप्राय लिने न कि अगाडी के गर्ने भनेर भारत संग सल्लाह गर्न जाने , यसो गर्दा राकेश शुदहरु सित्तैको सुझाव टक्र्याउन छाड्न बाध्य हुनेछन । भारतमा अंग्रेजहरु हुँदै देखि नेपालले सुरु गरेको रिझाउने परम्परा अब त अंत्य हुनै पर्छ यदि हामीलाई हाम्रो देश प्यारो छ भने । त्यसैले विदेशी कुटनीतिक नियोग ( भारत समेत ) संग परामर्श र राय सल्लाह लिने विषयको सिमा निर्धारण गर्ने ।

राजनीतिक विषयबस्तु माथी म गहिरो प्रभाव पार्ने गरेर लेख्न सक्दिनं त्यसैले म लेख्दै लेख्दिनं भन्दा पनि हुन्छ तर यसपटक नयाँ नेपाल नै हाम्रो सपना हो भने त्यो मेरो पनि हो भन्ने मनसायले नयाँ नेपालको निंती उपयोगी हुन सक्ने दुई विचारहरु लेखेको मात्र हुँ र मलाई यो पनि थाहा छ कि मेरो यो लेखाईको मुनै महत्व हुने छैन ।

आज खासमा मैले तपाईंहरुलाई नयाँ सत्ता तयार हुँदै गरेको अवस्थाको हाम्रो आजलाई सम्बोधन गर्दै , प्रहार गर्दै र संदेह गर्दै लेखेको यौटा गजल पेश गर्न आएको थिएँ त्यसैले साथमा उक्त गजल पनि राख्दैछु । यस्लाई लेख्दा मैले कुनैपनि राजनैतिक दुराग्रह राखेर लेखेको हैन बल्कि देशको चिंता बोकेर लेखेको हुँ भन्ने स्पस्टिकरण पनि दिन चाहन्छु । लेख्दा सरकारको नेतृत्व गर्ने दललाई नै लक्षित गरेको भएपनि यो सबैलाई लेखेको हुँ , ठुल्ठुला सपनाको कुरा मात्र गर्ने तर सपना पुरा गर्न पाईला नचाल्ने तपाईं पनि पर्नुहुन्छ भने तपाईंलाई पनि लेखेको हुँ , म स्वयंलाई पनि लेखेको हुँ ।

ठुल्ठुला सपनाको कुरा गर्छौ।
हेरौं अब कत्तिको पुरा गर्छौ ।

धेरै छन नाघ्न शिखरहरु ,
आरोहण कुन चुचुरा गर्छौ ?

रोपेर अफिम घर पछाडी ,
आँगनमा नष्ट धतुरा गर्छौ ।

अजिँगर सिँगै निल्दो छ मान्छे ,
नियंत्रण चाँही खजुरा गर्छौ ।

लेखेर नीति असंभव प्राय: ,
कार्यान्वयन् चैं के अधुरा गर्छौ ?

रचेर लय शान्तीको गीतमा ,
गाउँने काम चैं वेसुरा गर्छौ ।

3 comments:

दिलीप आचार्य said...

मलाई लाग्छ नेपालो राजनीतिको बारेमा लेख्नेहरु सबैजना शौख ले होईन 'आजित भएर' लेख्ने गर्छन। नेताहरुको ताल र देशको बेहाल देखेर बाध्य भएर लेख्ने गर्छन।
बाँकि तपाईको यसपालीको गजल पनि पूर्वबत अब्बल दर्जाकै छ।

त्यसमा पनि यि तलका दुई शेरहरु चाहि एकदमै चित्त बुझ्ने छन:

रोपेर अफिम घर पछाडी ,
आँगनमा नष्ट धतुरा गर्छौ ।

रचेर लय शान्तीको गीतमा ,
गाउँने काम चैं वेसुरा गर्छौ ।

aAkaR said...

नेपाल को राजनिति को बारेमा खै के भन्ने अनि के लेख्ने भन्ने हुन्छ । तर पनि लेखिरहेकै हुन्छौँ नेपाली राजनिति को बारेमा किनकी हामी राजनिति मा औधि चाख राख्छौँ ।
-----------------
अर्को कुरा:
मैले पढेको: १‌+१‌+१=३
तर नेपाली राजनिती मा:
एकपटक-
१‌+१‌+१= अपवित्र

अर्कोपटक-
१‌+१‌+१=पवित्र

दीपक जडित said...

धन्यवाद दिलीपजी र आकारजी , आकारजीको गणित चित्तबुझ्दो लाग्यो ।