Monday, August 04, 2008

कविता : शब्दहरु अचेल

हो त रहेछ शब्दहरु
सँधै शब्दहरु नै नरहँदा रहेछन
बान्की बान्की अक्षरहरु
कतै मात्रा धारिएर
कतै रेफ तिखारिएर
बिषालु तिखो काँढा जस्तै
छड्के फुटेको सिसा जस्तै
गाढिंदो रहेछ मनमा
वाक्यको धनुर्बाण उठाई
हरफको ताँदो चढाएर
अक्षरको तिर हान्नै नपर्ने
अक्षर आफैं गढेर मुटुमा
शब्द शब्द दुख्दो रहेछ मनमा
त्यो मन आफ्नै भए जाति
कोट्याएर अक्षरले
गढेको शब्द निकालिएला
त्यो मन पराई हुँदा
शब्द नै छट्पटिनु पर्दोरहेछ
निकाल्न नसकिने गढेको शब्द
कोट्याएर अक्षरहरुले
शब्दहरुले घोचेको घाउमा
उकुच शब्दकै पल्टिंदो रहेछ
र विषेक पार्न फेरी
मल्हम शब्दकै चाहिँदो रहेछ
कहिले एउटै मनपनि
शब्दले फुटाईदिंने
कहिले अनेक मनपनि
शब्दले जुटाईदिने
टाढालाई नजिक बनाउने शब्द
नजिकलाई टाढा गराउने शब्द
शब्दले कैले मोहनी लाउने
मोहभङ्ग कैले शब्दले गराउने
अनेक रंगमा
अनेक रुपमा
हेर त ,
तिमीले कम आँकेका शब्दहरु ?
शब्दहरु अचेल
शब्द मात्रै कहाँ रहेछन र ?

No comments: