Tuesday, August 05, 2008

प्रतिक्रिया लेख्दाको कुरा

माई संसारमा प्रतिक्रियाहरु लेख्दा यदाकदा कविता , गजलहरु लेख्ने गर्थें म र त्यो रचनालाई यता ब्लगमा पनि राख्ने गर्थें । पछिल्लो पटक भने यौटा कविता लेखेर ब्लगमा राख्नु त कता कता त्यसलाई आफ्नो कम्प्युटरमा सेभ गर्न समेत भुलेको थिएं । ब्लगमा उस्तो समय दिएर केहि लेख्न नसकिरहेको बेला त्यसको उपयोग गर्ने मन आयो र आज माई संसारका पुराना पेजहरु पल्टाएर कविता खोज्न थालें । म भित्र मेरो नेपाल शिर्षक दिएर लेखेको उक्त कविता खोज्ने क्रममा मैले अर्को त्यो भन्दा पनि पहिल्यै लेखेको कविता फेला पारें , जुन कविता मैले पहिले नै ब्लगमा राखिसकेको थिएँ तर उक्त कविता लेख्दा मैले निक्कै लामो भुमिका ( नाटकको रुपमा ) तयार पारेको थिएं । त्यसलाई एकपटक दोहोर्याएर पढ्दा ब्लगमा राख्ने ईच्छा भएर आयो र राख्दैछु प्रतिक्रिया लेख्दाको कुरा शिर्षक दिएर । यसभित्र उल्लेखित सबै पात्रहरु जीवन्त पात्रहरु हुनुहुन्छ । धेरैजसो माई संसारमा प्रतिक्रिया लेख्ने साथीहरु हुनुहुन्छ भने साथमा प्रचण्ड , पारस लगायत ब्याकुल माईला , अंबर गुरुङ्गहरुलाई पनि पात्र बनाएको छु । म स्वयँ चैं गोलेदाईको भुमिकामा छु ।( म भित्र मेरो नेपाल कविता पनि फेला पारेर काँटछाँट गरेर ठिक्क राखेको छु अर्को पटकको लागी ब्लगमा खुराक । )

पर्दा खुल्यो -

सुन्दर फूलबारीको बिचैबिच फराकिलो बाटो थियो । उक्त बाटो पैदल टहल्नको लागी मात्र प्रयोग गरिने नयाँ नेपालको नियम अनुशार मैलोकालो धुँवाको मुश्लो फाल्ने सवारी त के कसैले साईकल समेत छिराउंदैन थिए । मुलबाटोको चारैतिर अन्य शाखा बाटोहरु प्रसस्तै थिए । सबैतिर नयाँ नेपालका जनताहरु नयाँ स्फुर्तीका साथ विचरण गरिरहेका थिए । प्रवेशद्वारमा एक्कासी
एकहुल युवाहरु भेलाभए । सबै बाईकमा सवार थिए । उनिहरुको पहिरन र चालचलन देख्दै लाग्थ्यो उनिहरुमा पुरानो नेपालको धङधङी अझै बाँकी छ । हुलमा यौटी आशा थिईन , अर्को भास्कर थियो , अर्कोको त नाम नै याहु आईडीमा थियो माईकलजोन७१ , अर्को राजन पुन थियो । बाँकी अरुसबै उनिहरु जस्तै हिंजोको नेपालको धङ्धङीमा लठ्ठीएकाहरु थिए । हुल मध्येको यौटा अगाडी सरेर द्वारपाल तर्फ बढ्यो । हेर्दा परबाट पुरुष झैं देखिने आशा नाम गरेकि उक्त पात्रले द्वारपाल सामु गएर भनिन ।

आशा : ए पालेदाई , हामी संधै यहाँ बाईकमा जाने गर्थ्यौ । गेट खोल ।

द्वारपाल : नयाँ नेपालको नियमानुसार सवारी साधन लान निषेध छ ।

भास्कर : ( औला उठाउंदै ) हामीलाई नयाँ नेपाल सेपाल थाछैन , गेट खोल् नत्र भत्काईदिन्छु ।

द्वारपाल : ( हात जोड्दै ) भाई यहाँ दादा देखाउन पाईदैन भित्र जानुछ भने बाईक उ त्याँहा राखेर ( पार्किङ तर्फ देखाएर ) जानुहोस नत्र फर्कनुहोस । यहाँ हल्ला गर्न पनि पाईदैन । भित्र आज नयाँ नेपालका नयाँ कविहरु छलफलको लागी आउनु भएको छ ।

माईकलजोन : ( बाईक गेट तर्फ बढाउंदै ) ह्या खोल् न भन्या ? म पनि अंग्रेजीमा कविता भन्न सक्छु ।

त्यसैबेला यौटा कार देखा पर्यो । हुलबाट राजन पुन कार तर्फ बढ्यो ।

राजन पुन : ( कारको ढोका खोल्दै ) युवराज पारस सरकारको जय ! त्यसैबेला यौटा कार देखा पर्यो । हुलबाट राजन पुन कार तर्फ बढ्यो ।

पारस :( बाहिर निस्किएर तिन छक्क परेको भावमा ) के भो केटा हो ?
तिमरु किन अझै यहाँ ?

आशा : ( अगाडी सर्दै ) अब यो गणतन्त्र बाटिका रे । हामी जान पाउदैन रे यार सर्कार ।

पारस : खै यो गेटको पुलिस ? मलाई चिनेन रे ?

गेटबाहिर उनिहरु खासखुस गर्दैथिए । द्वारपालले मोबाईलमा नम्बर मिलायो । एकैछिनमा YCL नेपाल लेखिएको शर्ट लगाएका ७/८ जना युवाहरु आए ।

तिनिहरु मध्येको यौटा : भाईहरु यहाँ केको हल्ला ? भित्र जानु छ भने । बाइक कार उता पार्क गर्ने र जाने नत्र फर्किने । ल झट्ट गर्ने ।

भास्कर : ( डराए झैं ) यार यो त अस्ति चुनाव जित्ने अनन्त भन्ने वर्षमान पुन हो । अब हाम्रो दाल गल्दैन ।

पारस : ( चस्मा मिलाउदै ) थुक्क गधाहरु । पहिले नै कुरा नबुझि मलाई बोलार । अब कहाँ जाने ?

आशा :(बाईक फर्काउंदै ) जाउं जाउं अन्तै कतै जाउंला नि । सर्कारको निर्मल निवास मै छ नि हामीलाई पुग्दो बगैंचा । त्यहीँ जाउं ।

पारस : जान्छेस त्याँ , बाउ बौलार खपिसक्नु छैन । त्यसैले त अन्तैको प्लान बनाउन लगाको तिमरु कुक्कुर हर्लाई ।
सबै फर्कन्छन ।

पर्दा खस्छ । --------------

फेरी पर्दा उठ्छ बाटिकाभित्र देखिन्छ । भित्रपट्टी -

हिड्दा हिंड्दै फुलीरहेको रातो गुलाबको छेउमा उभिएर कवि बोधार्थ :

मलाई गुलाब भन्दा
चमेली मन पर्छ
म गुलाबमा रातो देख्छु ......
......
...........
गुलाब रहीत
रक्त रहीत
रातो अनि तातो रहीत
चमेलीका बुकेहरुका साथमा
शुभकामना शुभकामना ।

तालीले बाटिका गुन्जन्छ । बोधार्थको सटिक कवितामा सही अर्थ छ भन्ने मन्तव्य दिंदै कवियत्री लुना :

सेता चमेलीका फुल !
उसले गुथेको गुच्छा !
अनि उसको सपना !
अहो त्यो महान कामना !

..............
...............
...........

शान्ती , विकाशको सपना
सेतो फुल , सेतो रंग
त्यो महान इच्छा !
त्यो महान कामना !


कवियत्री लुना कविता वाचिसक्दा चमेलीको झ्याङनेर पुगेकि हुन्छिन । तालीको गड्गडाहट फेरी आउंछ । कसैले कसैलाई निम्तो नगरेको , कुनै उदघोषण पनि नगरिएको यो बाटिकामा तेस्रो कवि निक्कैबेर निस्किएन । सबैलाई अझै धेरै कविता सुन्ने अभिलाषा थियो र पनि यहाँ ए तैंले भन कविता भन्न पाईन्नथ्यो । मानिसहरुको चहलपहल कम थिएन । सुन्दर त्यो बगैंचामा चराहरुको चिर्बिर , पुतलीको फुर्फुर र बिभिन्न फूलहरुको मनमोहक सुगन्ध यथावतै थियो । एक्कासी एकतिरबाट कवि गोले देखा परे र कविता वाच्न थाले :

फुलको रंगलाई अब हेला नगर
फुलको रंगमा जीवन फुल्छ
हेर फक्रेको हरेक फूलमा
त्यहाँ जगतको सत्य खुल्छ
रातो गुलाब संधै रगतको पर्याय होईन
यो प्रेमको पनि प्रतिक हो
विहानीको लाली रक्तिम हुन्छ
त्यसले रातको त्यो कालो धुन्छ
विहानीले रक्तिम लाली नछरी
उज्यालो दिन आउंछ कसरी ?
चमेली , बेली, सयपत्री
गोदावरी , मखमली यहीं
फुल्नु पर्छ संगैसंगै सबै
लालुपाते , गुलाब , जाहीजुही
रातो निलो सेतो पंहेलो
सबै रंगहरुले नेपाल सजाउन
फक्रिएर फूलझैं नेपाली मनले
संधै शान्तीको धुन बजाउन
फूलको रंगलाई अब हेला नगर
फूलले कठोर मनलाई पनि छुन्छ
गुलाब संधै रातोमात्र हुंदैन
ल हेर गुलाब सेतो पनि हुन्छ ।

कवि गोले कविता सक्दा सेतो गुलाबको छेउमा पुगेका थिए । ताली फेरी गुञ्जियो । अर्को कुनाबाट कवि प्रचण्ड देखा परे लामो बाहुलाको सर्ट र लुंगी बेरेका प्रचण्डको हातमा फूलमा पानी हाल्ने हजारी थियो । उनि कविता वाच्न लागे :

अब शान्तीको बिज रोपिसकिएको छ
अब बुद्धको जन्म भै सकेको छ
फलाउं फुलाउं सबैले शान्तीको बिरुवालाई
आउ हातेमालो गरेर आजै प्रण गरौं
विश्वले देख्नेछ हामी नेपालीलाई
विश्वले बुझ्ने छ हामी नेपालीलाई
यो समय एकताको हो
आउ हामी सबै एकजुट बनौं ।

फेरी तालीले वाटिका गुञ्जयमान भयो । यसबेला सम्म वरीपरीबाट सबै एकैठाउं भेला भएर हातमा हात समाईसकेका थिए । उताबाट कवि ब्याकुल माईला र संगीतकार अंबर गुरुङ देखापरे अनि सबै मिलेर गाउंन लागे --

सयौं थुंगा फूलका हामी यौटै माला नेपाली ..........
..................................
पर्दा खस्यो ।

यहाँ मैले नयाँ नेपालमा नियम कानुनको दायरा भित्र सबैलाई ल्याउने जुन कल्पना उतारेको छु के त्यो संभव होला त ? एकपछि अर्को नियम , कानुन अझ संविधानकै धज्जी उडाउने कामहरु हाम्रा नेताहरुबाट भैरहेको बेला सान्दर्भिक ठानेर आफैंले निक्कै पहिले लेखेको यौटा गजलको शेर बोनसमा राख्दैछु -

लेखे लेख्नेले किताबमा नीति कानुन सबै
तिनैले धज्जी उडाए बबुरो कानुन रोयो ।

No comments: