Saturday, August 30, 2008

आज त झन गजल : घर न घाटको भईयो

आज मोतीराम भट्टको १३९ औं जन्मजयन्ती , परदेशमा कहिल्यै केहि मनाउन पाएको भए त ; सँधै सबै उत्सव , जयन्तीहरु एक्लै मनाउने गर्थें , यो पाली पनि एक्लै त छु नै तर एक्लो सम्झेको छैन आफुलाई , यो पाली , दिलीपजी , वसन्तजी , कैलाशजी , आकारजी , उजेलीजी ( नियमित भेटघाट हुनुहुने साथीहरु ) साथै धाईवाजी , आरतीजी ( सबैको नाम भनेको बेलामा कहाँ आयो र खै ? ) लगायत मेरो ब्लगमा प्रवेश गर्नुहुने सबै मित्रहरुसंग मोती जयन्ती मनाउंदैछु ( मनैमा त हो ) यो गजल पेश गरेर ।

घरै भित्र पनि सँधैं भुँई न खाटको भईयो ।
पाखा लायो जिन्दगीले घर न घाटको भईयो ।

जिन्दगी पनि लौ चाख्दा रहेछन् अत्तोपत्तो कहाँ ,
अलिनै , खल्लै आफु त चना न चाटको भईयो ।

उधारो काढी बजारमा बेफ्वाँक हर्जाना तिर्दा ,
रित्तो झोला पेट रित्तै मेला न हाटको भईयो ।

न बट्नेउटो न त तोस्रो , जिन्दगी बटारिंदैथ्यो ,
गाँठैगाँठो परेर फुकाउ न बाटको भईयो ।

नपर्सिनु आफैंलाई मैले पर्सिएं पानी छर्की ,
माया लाग्यो आफ्नै आज पाल न काटको भईयो ।

जोडेर आफैंले दिएथें 'दीपक' लाई 'जडित' ,
अर्थ्याईएको देखेर राख न साटको भईयो ।

9 comments:

दिलीप आचार्य said...

मोतीराम भट्ट:-नेपाली गजलका शिखर वा नेपाली गजलका 'पायोनिएर', आजको दिनमा उनको बारमा लेख्‍न नसकेनी यौटा गजल चाहि 'टाँस्छु' भनेर बसेंथें, तर यौटा गजल पनि आधा-अधुरो भएर आफैलाई चीत्त नबुझेपछि टाँसिन ।

धन्यवाद दीपक जी तपाईलाई! अन्तर्जाल मै भएपनि उनको जन्मजयन्ती मनाउने अबसर पाईयो ।

आकार said...

मोतीराम भट्ट, नेपाली गजल ले बिर्सन नहुने नाम !
अनि दिपक जी को पनि धेरै राम्रो काम !!

Basanta Gautam said...

वाह! वाह! क्या सटीक छ दीपकजी!

---नपर्सिनु आफैंलाई मैले पर्सिएं पानी छर्की ,
माया लाग्यो आफ्नै आज पाल न काटको भईयो ----
तपाईँको समृद्ध नेपाली शब्द भण्डारको त झन के कुरा! यो 'बट्नेउटो'र 'तोस्रो' भनेको के हो?

अन्त्यमा, मोतीमा श्रद्धाञ्जली!

दीपक जडित said...

दिलीपजी , आकारजी र वसन्तजीलाइ धन्यवाद !

वसन्तजी हाम्रोतिर पहिले पहिले पाटा ( जुट ) को दाम्लो डोरी बाट्नलाई प्रयोग गरिने हातले नै बनाईएको बाँसको या काठको औजारहरु हुने गर्थ्यो , मैले आफैंले पनि त्यो प्रयोग गरेको छु , अब त जुट नै उत्पादन हुन छाडीसकेकोले त्यस्ता औजारहरुको प्रयोग नै हराईसक्यो होला भन्ने लाग्छ , बट्नेउटो र तोस्रो भन्ने । बट्नेउटो चैं एक फीट भन्दा फरक नपर्ने साईजको सानो डण्डी जस्तो हुन्छ भने तोस्रो चैं तिन या चार हातको लामो चार ईन्च जति चौडा दुबै छेउमा डोरीको पोयो अड्काउन सकिने गरी खापा बनाईएको हुन्छ । तपाईंले हात मुठ्ठी पारेर चोर औंला र कान्छी औंलालाई खोल्दा बन्ने आकारको हुन्छ भनुँ न तोस्रोको दुबै छेउ ।

कैलाश said...

हामीलाई पनि मोती जयन्ती मनाउँने मौका दिनुभएको धन्यबाद दीपकजीलाई।

अनि दीपकजी अन्तिमको हरफ
जोडेर आफैंले दिएथें 'दीपक' लाई 'जडित' ,
अर्थ्याईएको देखेर राख न साटको भईयो ।

साँच्चिकै त्यस्तै भाको हो त? (खै सोध्न हुनेथ्यो कि हुन्थेन सोधीहाले है मैले त)

दीपक जडित said...

कैलाश जी , कैलेकाँही जडित भनेको चैं के हो नि ? जाँडे भनेको हो कि क्या हो ? भन्ने खालको प्रश्नपनि खेप्नुपरेको छ , बुझपचाएर त्यस्तो प्रश्न गर्नेलाई के नै पो गर्न सकिन्छ र हैन ? त्यै मेसो कोरिएको हो यो गजलको मक्तामा खासमा तर राखुँ कि साटुँ भन्ने कुरा चैं काफिया मिलाउने बहाना जस्तो मात्र हो , साँच्चै फेरुँ त लागेको हैन है । अनि कैलाश जी , त्यसरी डरमान्नु पर्ने के छ र सोध्नलाई ? जे सोधे नि हुन्छ साथी , हामी ब्लगरहरु त्यसैपनि खुल्ला किताब हौं हैन र ?

उजेली said...

यति राम्रो लेख र यति राम्रो अवसरमा लेखिएको गजलको बारेमा छिटो कमेन्ट दिन नपाउँदा नरमाइलो पो लाग्यो मलाई त ! अर्को युवाकवि दीपक जडितलाई भन्न पाइयोस् !

दीपक जडित said...

धन्यवाद उजेली जी ।

जोतारे धाइबा said...

एक्लोपनमा पनि एक्लो नसम्झिई यसरी सामुहिक रूपमा साहित्यिक चाड मनाउनुभयो । नयाँ शैली लाग्यो र त्यसको एक सदस्य हुन पाएकामा चाहिँ गर्वले छाती ढक्क फुल्यो । तर फेरि यस्तो साथी नै साथीको महफिल जमाएर पनि 'घर न घाटको भइयो' भन्ने हतासा किन नि ! यद्यपि अन्धकार पनि जीवनकै एक पाटो हो । त्यसलाई पनि उज्यालो कोनबाट हेर्नमिले कति राम्रो !
सम्झनाको अभिन्न पात्र बनाउनुभएकोमा खै कसरी मैत्री अभिवादन चढाऊँ । साथै रहिरहूँ है जडितजी ।