Thursday, August 21, 2008

कविता : ए ! छोरा , आउ अब त फर्केर

थुन्यौ म निस्किने
सबै ढोकाहरु र बेखबर
टाढा गयौ
चिच्याएर पुकारें धेरै पटक
ए ! छोरा ,
आउ अब त फर्केर
खोल मेरो बाटो
बग्न देउ मेरो मातृत्वलाई
म सिंचेर तिमीलाई
अझै हुर्काउन सक्छु
बर्षौं देखि थुनिएकि म
नाक नाक सम्म डुबेर
ममताको दहमा
ऐँ ऐँ भएर बाँचेकि थिएं
मेरा सपनाको त के कुरा
म संगै
तिम्रा कयौं सपनाहरु थुनिएका थिए
म जस्तै
तिम्रा कयौं चाहनाहरु डुबेका थिए
मलाई थुनिराखेर
तिमी टाढै कतै अल्मलियौ कि ?
या हेला गरेर मलाई
सोधेनौ कहिल्यै
आमा कस्तो छ तिमीलाई ?
आँखै सामु तिम्रा पनि सपनाहरु
म जस्तै डुबिरहँदा
म रोईरहेँ छोरा
तिमीलाई नै सम्झेर
थपिईरह्यो मेरो आँसुको भल
ममताको दहमा
डर थियो कहिँ
नफुटुँ म अधैर्य भएर
रोकिरहेँ वर्षौं आफुलाई
तिमिले बन्द गरेको ढोकाभित्र
बाँधेर धैर्यताको बाँध
कतिञ्जेल थेग्न सक्थें र म
यो बेदना प्रसवझैं
र फुटें म आज
भत्किएँ सप्तकोशीमा
म भत्किउञ्जेल तिमी आएनौ
यतिखेर म बग्दैछु छोरा
तल तल
अझै तल
तिमीलाई सिंच्ने सामर्थ्यले
आज आफैं बग्दैछु म
र बगाउँदैछु तिम्रा पनि
बाँकी रहेका सपनाहरु
मलाई माफ गर मेरो छोरा
आउ फर्केर झट्ट
रोक यतिखेर मलाई
म आमा हुँ तिम्री
टाढा टाढा जान चाहन्न म
बगेर तिमीबाट ।

3 comments:

Prabesh said...

कस्तो राम्रो !!

Unknown said...

धन्यवाद उजेली जी !

Anonymous said...

मुटु छोयो ।
हामी त यसरी रुने मात्रै त हो नि दिपक जि !
आसा गरौ प्रचन्ड जि को सरकार ले यस् पटक यो १९५० को असमान स न्धी मा आबाज उठाउने छ र न्याय दिलाउने छ नेपाल धर्ती लाई । तपाईंको कबिता को इच्छ्या ले साकार रुप लि न सकोस !