Saturday, August 23, 2008

गजल : बोक्रो हेर्दा

कहाँ चिन्नु के को रुख थ्यो उप्किएको बोक्रो हेर्दा ।
पोचिएर चुरो पनि ढ्वाङ परेको खोक्रो हेर्दा ।

भात भान्सामा यिन्को पनि तिन्कै जस्तो पाक्दो रै'छ ,
रस निचोरी जुठेल्नामा मिल्काएको छोक्रो हेर्दा ।

छाडिएथ्यो यौटा आवाज सुनिन नै आजभोली ,
निमोठेछन घाँटी र पो , थाहा लाग्यो घोक्रो हेर्दा ।

बच्चा फेरी चोरी भएछ , शंका नजिकैमा गयो ,
अझै न्यानो भुकुल्टो र हल्लिरहेको कोक्रो हेर्दा ।

अर्जुन आए मैदानमा अघि सर्दै तिर हान्न ,
लाग्यो नक्कली झैं तर , धनुबाण र ठोक्रो हेर्दा ।

हैन माग्न आ'को भने छेउमै आई बस्दा सम्म ,
चोर्ने देखेँ नियत तर लुकाएको धोक्रो हेर्दा ।

3 comments:

Aakar said...

खै, सबैकुरा एकै ठाउँमा र'छ ।
त्यसै थाहापाइयो- बोक्रो हेर्दा ! तर बुझ्न सकिएन अलिकता !

Prabesh said...

भात भान्सामा यिन्को पनि तिन्कै जस्तो पाक्दो रै'छ ,
रस निचोरी जुठेल्नामा मिल्काएको छोक्रो हेर्दा ।

यो लाइन चैँ साह्रै मन पर्यो ।

Unknown said...

आकार जी र उजेलीजीलाई प्रतिक्रिया जनाईदिनुभएकोमा धन्यवाद । कैलेकाँही लेख्दा यौटा खास विषयमा नरहि विविध समसामयिक विषयमै लेख्न पुगिंदो रहेछ त्यसैले अलिकति नबुझेको झैं लाग्यो होला आकारजी , हुनत गजल भनेकै कुराहरु अलि घुमाएर लेखिनु पर्छ तब नै उक्ति बैचित्र्य देखिन्छ गजलमा भन्छन् त्यो धूनमा कतै मेरो यो गजल अर्थको अनर्थ हुने वा अर्थै ननिस्कने त भएन ?