Thursday, August 07, 2008

कविता : म भित्रको मेरो नेपाल

म नेपाल बोकेर छातीमा
हेर संसार घुमिरहेछु
बौलाहा झैं
कराउँछु , बर्बराउँछु संधै
सपनामा मेरो नेपाल
बिपनामा मेरो नेपाल
र घुम्छु सर्वत्र यो संसार
बोकेर मुटुभरी नेपालीपन
बाँड्दै मेरै देशको पहिचान
मेरो नेपाल
सतिदेवी हैनन मेरो शरिरमा
भौंतारिएको छु म तर
झर्न दिन्न कदापि
मेरो ह्रदयको नेपाललाई
अझै उचाल्छु
मेरो सगरमाथा
म पुगेजति हिमालहरुमा टेकेर
यहि छातीमा आज म
हिमाल उचालेर मुस्कुराउँछु
पहाड छामेर गम्भिर हुन्छु
तराई मुसारेर दुखि बन्छु
मेरो नेपाल
जननी मेरी ; जन्मभूमी
छिनाल्न सक्छु आफ्नो शिर
उनको पाउमा तर
झर्न दिन्न मेरो नेपाल
मेरो ह्रदयबाट
जहाँ कुँदेको छु
चन्द्र सुर्य
मेरै नेपालको पवित्र चित्रसंगै ।

4 comments:

दिलीप आचार्य said...

देश-प्रेमको भावनाले ओत-प्रोत भएको मन छुने कविता लेख्नु भएछ। तपाईको यो भावनालाई मेरो सलाम!

साँच्चै सुन्दर रचना!!

Anonymous said...

दीपक जि नमस्कार,
तपाईं को देश प्रती माया र मातृभूमी प्रती को स्नेहले
भरिपुर कबिता पढ्न पाये,यस्तै यस्तै मिठा कबिता
गीत र गजल सम्प्रेसण गर्दै जीबन को गतिलाई
भावनालाई अगाडि बढाउन सदैब शरस्वतीमाताले
साथ् दिउन,शुभकामना
बिमल गिरी , ब्रुस्सेल्स

धाइबा said...

तपाईँलाई प्रायःजसो गजलकै अनुहारमा देखेको हुँ । ब्लगको नयाँ-नयाँ पाठक भएकाले होला भर्खरै केही समययता मात्र कविताको रसास्वादन गर्ने मौका छोप्न पाइयो । गजलमा जस्तै कवितामा पनि सरलता एवम् तिक्खर भाव छताछुल्ल पाएँ । कवितालाई पनि गजललाईझैँ केही प्राथमिकता दिएमा नेपाली कवितासाहित्यको पाठकहूल बढाउन योगदान हुनेछ । कविता बुझिँदैन भन्ने भ्रम चिर्न हामी सबैले सक्दो कसरत गर्नु पनि छँदै छ ।
त्यस्तो कसरतको चाल तपाईँको कवितामा पाएँ । अनि मुख्य कुरा त, तपाईँको सिर्जनामा प्रखर देशप्रेमको स्पन्दन हरफ-हरफको फाँकोमा भुलभुलाएको छ । त्यसैले यो कविता अझ पनि विशेष कोटिको लाग्यो । यसलाई आउँदा सिर्जनाहरूमा पनि कायम भएको देख्‍न पाऊँ ।

दीपक जडित said...

दिलीप जी , विमल जी र धाईवा जी , यहाँहरु सबैलाई धन्यवाद । तपाईंहरुको यो हौसलाले मलाई जे लेख्छु त्यसलाई निरन्तरता दिन ठुलै सहयोग गर्नेछ ।