Thursday, March 21, 2013

कविता : कुन हो असली कविता?








कोही पक्का छ
कहीँ अदृश्यमा
जो -
मलाई कविता सुनाइरहेछ
मलाई कविता पढाइरहेछ
मलाई कविता बुझाइरहेछ
मलाई कविता सिकाइरहेछ ।

म, मानौं कि
बहँदै बहँदै गइरहेछु नीदमा
सागरका मध्ययम् छालहरूसँगै
बतासका सम्पूर्ण सुसेलीहरू सुसेल्दै
नुतन काव्य रचेर
आफ्ना गोलाकार ओठहरूले ।

दाहिने हातले शिरमाथि पारेर
मैले कविताको शिर्षकमा चन्द्रमा उचालेको छु
मेरो वायाँ हात तानिरहेछ
प्रचण्ड झल्झलाइरहेको सूर्यको रथ
नछोडी भएजति रंगका विम्बहरू
नछोडी भएजति रंगका विचारहरू ।

स्वप्न सरी कविताका थुँगाहरू लिएर
पृथ्वीको धुरीबाट उचालिइरहेछु म
हलुका, पंक्षीहरूको मुलायम प्वाँख सरी
माथि माथि अनन्त, अगम्य नभमा
मेरा कविताहरू सहस्रदल कमलझैं
रंगहीन नभ-सागरमा फक्रिरहेछन्
चम्चमाउने ताराहरूका साथ ।

यस्तो माथि
जहाँबाट म देखिरहेछु
पृथ्वी - एउटा रुग्ण गँजेडीको टाउको
जो एकनासले सुल्फा तानिरहेछ
र फोक्सो भरेर उडाइरहेछ बादलको धुवाँ
म देखिरहेछु सेता हिउँका आलयहरू
मानौं चिन्ताले उसको केश फुलेको छ ।

त्यहीँनेरबाट
पवित्र माटोको महकदार सुवास भएका
निस्छल मानिसहरूको प्रेमको बोली भएका
मेरा कविताहरू
फैलँदाछन् उचाईमा
फैलँदाछन् आकाशमा
असङ्ख्य अनन्त ताराहरूमा
विचार बालेर झल्झली ।

कहीँ अदृश्यबाट कसैले
सुनाइरहेको कविता हो यो
पढाइरहेको कविता हो यो
बुझाइरहेको कविता हो यो
सिकाइरहेको कविता हो यो ।

कोही पक्का छ
कहीँ अदृश्यमा
जो भनिरहेछ
कविताहरू इन्धन हुन्
जो जल्छन् र तयार गर्छन्
हीतकारी मानसिक व्यञ्जनहरू ।

तब ताराहरूको लोकबाट
कृष्ण छिद्रमा निलिनु अगाडि
धर्तीमै झर्न बाध्य हुन्छन्
मैले उचालेका कविताहरू
तर के सक्लान् सप्तरंगी विचारहरूले
कुनै व्यञ्जन तयार गर्न
जस्ले शान्त पार्न सकोस्
धरती भरीको क्षुधा
गोबरको गुइँठाले पकाएको भोजनले झैं ।

साँच्ची, सोध्नु थियो
अदृश्यको कसैलाई
लौ न कोही भनिदिनोस्
कुन हो असली कविता?
गोबरको गुइँठा कि शब्दको?

Friday, March 08, 2013

कविता : दु:खहरूलाई


सुन दु:खले रोइरहेकी ए ! सुन्दरी,
दु:खलाई आजैदेखि ह्याकुलाले मिचेर हिँड्नु
हिँड्दै जानु
यो बाटोमा अलिपछि सुन्दर फूलबारी आउने छ
त्यहाँ बहुरङ्गी पुतलीहरू हुनेछन्
एकजोडा रङ्गीन पुतलीहरू नाच्दै आएर
तिम्रो सुन्दर जोर आँखामा बस्नेछन्
मात्र तिमी अधरमा हिमाल खुलाएर हाँसिबस्नु
दु:खहरूलाई
हिमालयको शिरमा जमेको शुभ्र हिउँ जस्तै
सुन्दर भएर जम्न कर लाग्नेछ
र त्यसैमा परावर्तन भएर तिम्रो हाँसो
मेरो जस्तै धेरै अँध्यारो मनहरूमा
चम्किलो उज्यालो भएर खस्नेछ ।
०३/०८/२०१३

(नारी दिवसको शुभकामना सहित सम्पूर्ण नारीहरुमा समर्पण!)

Tuesday, February 26, 2013

मुक्तक : पाँच मनोहर मुक्तकहरु

 मुक्तक म खासै लेख्दिनँ । निक्कै पहिले लेख्थें मुक्तकको संरचना र मर्म नबुझी नबुझी, पछी मुक्तक लेख्नै छोडियो । झुक्किएर बिच-बिचमा लेख्नै पर्यो भनेर करले एकाध लेख्ने कुरा अर्कै हो । अचेल् फेरि मुक्तकले मन तान्न थालेको छ । फेसबुकको यौटा ग्रुप मुक्तक मनोहरमा केही परिचित र मुक्तक प्रेमी साथीहरुको संगतले मैले नयाँ पुराना केहि मुक्तकहरु फोटो सहित राखेको छु । तिनैबाट मनोहर मुक्तक भनेर पाँच वटा यता ब्लगमा ल्याएको छु । आसा गर्छु ब्लगमा पढ्नुहुनेलाई मुक्तकहरु र फोटोहरु मनपर्ने छ ।
 
अनायास याद आउँछ र मन लुटेर जान्छ
मुटु चसक्क हुन्छ सुस्केरा छुटेर जान्छ
बस्छ गढेर झन् झन् तिम्रो याद कलेजोमा
निठूर समयसँगै एक-एक चिनो फुटेर जान्छ ।


यो बेला गुलाफको राम्रो व्यापार हुनसक्छ
देखाउँनलाई एकैदिनको प्यार हुनसक्छ
हो, राम्रै हो प्यार भएको तर होस राख्नु
देखासिकी प्यारले जिवन अन्धकार हुनसक्छ ।


जाही फुलेन जीवनमा
चुवा फुलेर हेला भो
माया फक्रेन जीवनमा
वैंश फक्रेर खेला भो
त्यसैले,
गंभीरता छाएन जीवनमा
सर्वथा रेला रेला भो ।


सुन्थें चारैसुर तुनाले कसिएकी चोली हुन् तिनी
पहाड मैदान सब नाघ्दै बगिजाने खोली हुन् तिनी
एकदिन सुटुक्क आएर पसिन् मेरो आँखाबाट र
छाति भ्वाङ पारेर निस्किंदा बुझें गोली हुन् तिनी ।


सुक्छ घाममा, बग्छ पानीमा, उड्छ हावामा
भान्सेहरु अब पाक्छ मीठो भन्छन् दावामा
तर चर्को बल्छ यो देशको चुल्होमा आगो सधैँ
र शान्ति, सम्बृद्धी नामको रोटी डढ्छ तावामा ।


*****

Wednesday, February 13, 2013

कविता : फेब्रुवरी चौध


मेरो लागी तिमीले पकाएको सेलरोटी
तिम्रो लागी मैले पकाएको सेलरोटी
दुबै ढँग नपुगेर
जब ह्रदयको आकार लिन्छन्
म सम्झन्छु स्कूले ति दिनहरु
कागजमा कोरेर पानको पात बनाइरहेको
र कस्को कस्को नाम लेखिरहेको
त्यतिबेला, जति गरेपनि
पानको पात गोलो मात्र हुन्थ्यो ढंग नपुगेर
यतिखेर, जति गरेपनि
सेलरोटी ह्रदयाकार मात्र भएको छ ढंग नपुगेर ।

तिमी पनि सम्झनु आज एकैछिन
ढंग नपुगेका स्कूले ति दिनहरु
कागजमा पानको पात बनाइरहेको
त्यसमाथि कसैको नाम कोरिरहेको
भोग्नलाई त
यथार्थमा हामीसँग छँदैछ
हामीले बनाएको सेलरोटी जस्तै
ढंग नमिलेर पनि
प्यारो यो फेब्रुवरी चौध!
खुशीको यो प्रणय दिवस!
जो फर्केर आइरहन्छ जीवनमा
सेलरोटी बनाउने दिनहरु जस्तै
ल्याउँदैन तर फर्काएर
कागजमा पानको पात कोरिबस्ने दिनहरु
पानको पातमा कसैको नाम लेखिबस्ने दिनहरु ।

अब कि तिम्रो नाम हुन्छ लेख्नलाई
कि मेरो नाम हुन्छ लेख्नलाई
कुनै ठूलो हिसाबको भुक्तानी प्रमाणित गर्दै
हरेक फेब्रुवरी चौधमा ।

Saturday, February 09, 2013

पुस्तक गफ : घर फर्किरहेको मानिस

घर फर्किरहेको मानिस
च्यातुँ
चर्यात् चर्यात् पारेर
पाना पाना छुट्याउँदै पुस्तकबाट

जतनले पट्याएर गोजीमा बोकेर हिडुँ !
या त

एउटा अक्षर पनि नछोडिने गरेर
प्वाक् प्वाक् उखेलुँ मन परेका सबै पत्ताहरु

डल्लो पार्दै खाऊँ, चपाऊँ, निलुँ !

प्रिय कवि, म के गरुँ ?
मेरो वाल्यकाल, मेरो लक्का जवानी
मैले भोगेको जिन्दगी, मैले कल्पेको स्वर्ग
यि सबै सबै भन्दा
कता हो कता राम्रो
मेरो हातमा तिम्रो कविताको किताब छ ।

हो
घर छोडेको मानिसको हातमा
घर फर्किरहेको मानिस छ ।
रमेश क्षितिजको 'घर फर्किरहेको मानिस' कविता संग्रह खुरुखुरु दुईपल्ट पढें । पहिले शुरुदेखि अन्तिमसम्म, प्रत्येक पेजमा लेखिएका एक एक अक्षरहरु नछोडिकन पढें । विषय क्रम र त्यो भन्दा अगाडिका कुराहरु चैं पढ्न भनेर होइन तथापि पढें, छापिएका र लेखिएका अक्षरहरु समेत । हो, लेखिएका पनि छन् केहि अक्षरहरु कविकै हस्ताक्षर सहित मेरो नाम उल्लेख गरिएर । हरेक पाठकले कवि, लेखकको हस्ताक्षर सहित उसको नाम पनि उल्लेख गरिएर किताब पाउँदा जस्तो खुशी महसुस गर्छ मैले त्यस्तै नै महसुस गरें । कति प्रिय क्षण, कति गर्विलो पल किताब पल्टाएर लेखिएका अक्षरहरुमा पहिलो पल्ट नजर परेको क्षण ।

(यहाँ साथी सीमु श्रेष्ठलाई सम्झिइँन भने मलाई पापै लाग्ला वहाँले भनेको, भनेको किताब खोजेर पठाई मात्र दिनुभएन यसरी सम्भव भएसम्म हस्ताक्षर समेत गराएर पठाइदिनुभयो । मैले किताबभित्र कविको हस्ताक्षर सहित लेखिएको अक्षरहरुमा कत्रो लोभ गरें भने किताबको तस्वीर खिच्दा समेत तिनै अक्षरहरु देखाउने त्यो लोभलाई सम्वरण गर्नै सकिनँ ।)

दोश्रोपल्ट अन्तिमदेखि पहिलोसम्म कविताहरु मात्र पढें । त्यसपछि पनि 'घर फर्किरहेको मानिस'लाई थन्क्याएर राखेको छैन अरु पढिरहेको किताबहरुको बिचबिचमा पढ्ने गरेर पायक पर्ने ठाउँमा राखेको छु र पल्टाएर जुन कविता पल्टिन्छ, तेहेर्याई चौहर्याई पढिरहेको छु ।

पहिलोपल्ट 'घर फर्किरहेको मानिस' पढ्दा म 'ताप' पढ्दैथिएँ । शारदा शर्माको 'ताप' पढ्दा विश्राम चाहिन्छ भन्ने महसुस भएको बखतमा अलिकति पढिहालुँ न भनेर पल्टाएको थिएँ 'घर फर्किरहेको मानिस' तर दुईपल्ट लगालग पढिनसकी म 'ताप'मा फर्केर गइनँ । 'घर फर्किरहेको मानिस'मा के छ त्यस्तो? आफैंलाई सोधेँ पनि मैले । धेरैदिन देखि 'घर फर्किरहेको मानिस' माथि केहि लेख्छु भनेर पनि राखें मनमा । तर के लेख्ने? के छ किताबमा? कविताहरुमा ? अन्यौल जस्तो भै रह्यो । कुनै कविता भेटिएनन् यो चैं अलि यस्तो भयो भन्नलाई । सबै राम्रा कविताहरु । राम्रै राम्रा र राम्रै राम्रा मात्र कविताहरु । सबै राम्रै राम्रो छ मात्र भन्नलाई के लेखिरहने जस्तो समेत भएको हो मलाई । तर पुरै किताबको रिभ्यू लेखे जत्तिकै कुरा मेरो मनमा भने कविता नै बनेर उम्रँदै थियो । पहिले त्यसैलाई उमारें र कविताकै अकारमा ल्याएपछि आज पुरै किताबको निजी हिसाबले चर्चा गर्न बसेको छु, उक्त कवितालाई यो चर्चाको सुरुमै राखेर ।

जम्मा ४५ थान कविताहरु संग्रह गरिएको यस किताबमा कुनै पनि कविता लामा छैनन् जो पढ्दा पढ्दै दिक्क लागुन् । बरु सबै कविताहरुमा यस्तो लाग्छ कि अझै अलिकति लामो किन भएनन् कविताहरु? कविताहरु शुरु हुनुभन्दा अगाडि 'पहिलो प्रेम र प्रिय कविताहरुको आत्मकथा' भनेर लेखकीय जस्तो या भनौं कविताको भूमिका जस्तो लेखिएको छ नौ पाता(१८ पेज)मा । कुनै राम्रै साहित्यिक उचाई भएको आख्यान पढ्दा जत्तिकै स्वाद र काव्यिक सन्तुष्टी दिने उक्त भूमिकामा कति धेरै कुरा अटाएका छन् भने सबैको मिहिन चर्चा गर्दा अर्को छुट्टै किताब बनाउन सकिन्छ । कविताहरुको मूल्य के हो? कविताको महत्व के? जस्ता गंभीर कुराहरुको गहिराई केलाइएको आत्मकथामा कवि भन्छन्, 'कविता अभौतिक वा पराभैतिक हो भन्ने थाहा हुँदाहुँदै हामी यसको बजार मूल्य निर्धारण गर्न खोज्छौं । समस्या यहीँनेर उत्पन्न हुन्छ ।' त्यसैमा कवि लेख्छन्, 'कवितामा प्रयोग गरिएका शब्दहरु भन्दा पनि पर केही हो, कविता । कैलेकाहीँ शब्दहरुबीचमा, स्पेसमा समेत लुकेको हुन्छ अर्थ र कहिलेकाहीँ प्रश्नचिन्ह, विश्मयादिबोधकमा पनि ।'

यो भूमिका जस्तै आएको कविताको आत्मकथाले मलाई कविता लेखिनुमा त कला छँदैछ, पढ्नु र बुझ्नुमा पनि कला चाहिन्छ भन्ने सिकायो । संग्रहभित्रका थुप्रै कविताहरुका पृष्ठभूमीहरु समेत फेला पर्छन् यो आत्मकथामा ।

लेख्न त म आफ्नै हातले लेख्छु
तर कस्ले सिकाउँछ मलाई कविता?
कस्ले दिन्छ नवीन र अक्षत विम्बहरु?
कस्ले दिन्छ एउटा मौन र अर्थपूर्ण भाषा?
भन्दै आत्मकथामै कवि भन्छन्, 'कवितामा विचार वा कला? सरलता वा दुरुहता? लोकप्रियता वा स्तरियता? यो कुनैपनि प्रश्न मेरा लागि प्रश्न नै होइनन् । अल्झिन चाहन्नँ म कुनैपनि अनर्थहरुसँग, म त असली कविता लेख्न चाहन्छु । सिंगो कविता, सम्पूर्ण कविता ।'

वास्तवमै अचेल कविताहरु शहर जस्तै बनेका छन् । उँचा उँचा घरहरुले भरिएको, झिलीमिली, मन लोभ्याउँने तर भित्र पसेपछि शहरले जस्तै उकुशमुकुश पार्ने । यस्तोमा 'घर फर्किरहेको मानिस'भित्रका कविताहरु पढ्दा प्राकृतिक सौंदर्य यथावत रहेको कुनै गाउँमा वास वस्न गएझैं अनुभूत हुन्छ । सिङ्गो, सम्पूर्ण र असली कविता पढें भन्ने अनुभूत हुन्छ संग्रहका हरेक कविताहरु पढ्दा । मसँग कुनै यौटा मात्र कवितालाई टिपेर यो यस्तो र यसकारणले राम्रो भन्न सक्ने आधार नै छैन । हरेक कविताहरु रेटेर जान्छन् हाम्रो ह्रदयमा तह क्रम मिल्दामिल्दै बाँकि रहेका संवेदनाहरुलाई र यस्तरी दुरुस्त मिलाइदिन्छन् कि यस्तो लाग्छ, होइन यो कविता आज पढिरहेको भन्दा पर पनि केहि थियो; जो भोगिएको थियो, देखिएको थियो वा सुनिएको थियो ।  त्यसैले हरेक कविताहरु बस्छन् ह्रदयमा सानो सानो छाप्रो हालेर । ह्रदयको प्रिय भएर । कविता पढिसकेपछि पनि लामो समयसम्म ह्रदयमा रन्किरहन्छन् हरेक कविताहरु मानौं कसैले काँसे थालबटुकामा प्यारपूर्वक सानो छडीले हिर्काएको होस् झन्कार सुन्नलाई ।

पटक पटक पढिरहँदा कविताको चिरफार समेत गर्दै ब्लग लेख्छु भन्ने पनि थियो मेरो सुर । जुन यसरी कवितामै मठारियो -

चिर्नलाई पनि
कम से कम कप्टेरा चाहिन्छ बाँसको
ए नादान कर्द,
सिन्काहरु कुन आँटले चिर्न खोज्दैछौ तिमी
जो खिलीरहेछन्
पहिल्यैबाट
तिम्रो जस्तै ह्रदयका दुना टपरीहरु ।

कवितासँग कहीँ कतै अवश्य मेरो पनि प्रेम थियो । पहिलो प्रेम नै भने हुन्छ । साहित्य भनेर पढ्नलाई जे पढेको भएपनि लेख्नलाई मैले पनि धेरैले जस्तै कविता नै लेखेको हुँ पहिलोपल्ट । र कविता निरन्तर लेखिरहेँ, हिँजो अस्तीसम्म । तर पछिल्लो बेला(हिँजोआज) कविता लेख्न खोज्दा पनि म कविता लेख्न नसकेको अवस्थामा हुन्थें । लाग्थ्यो अब कविताको यूग फेरिइसकेको छ । मैले जेलाई कविता भनेर लेखें, लेखिरहेथें ति सब अब कविता हुन लायक रहेनन् । अब कविता बनाउन शहरको घडेरीमा जग खन्नुपर्छ, सिमेन्ट, ईँटा, बालुवा मिसाएर उठाउनुपर्छ आधुनिक विल्डिङ्ग । थप्नुपर्छ तलैतला आकाश छुवाउने गरेर । नत्र कविता हुँदैन । यस्तै बुझ्न, यस्तै स्विकार्न थालिसकेको थिएँ आजभोली म ।

'घर फर्किरहेको मानिस' पढेपछि लाग्यो - अझै पनि गाउँघरतिरै गएर कुनै पनि पाखो भित्तोमा आठ दशवटा डोविल्को खन्यो, खाँबोखुट्टी गाढ्यो र खर परालले छाएर धुरी मार्न सक्यो भने हुनेरहेछ घर जस्तो सुन्दर कविता । कविता त ऋषी मुनीहरुको छाप्रोझैं उभ्याउनु मात्र पर्ने रहेछ कतै प्रकृतिको काखमा । आफैं बनाउने रहेछ कविताले आफ्नो असली पहिचान । र लेख्न जोश आएको छ आफुले ह्रदयमा महसुस गरेजस्तै दुरुस्तै कविता । सायद अब लेख्न थाल्नेछु फेरि कविताहरु म ।

पुस्तकमा क्षितिजका कविताहरुको बारे वरिष्ठ कवि तुलसी दिवसले भनेका छन् - नवीन, मौलिक र जुठो नपारिएका निजी विम्बहरुको प्रयोग गर्छन् उनी । सत्य हो । 'मेरो गीत'मा कवि लेख्छन् -

मेरो गीतको पानामा
कस्ले निभायो जल्दै गरेको चुरोटको ठुटो?
हठात कुल्चेर गयौ तिमी मेरो गीतको पहिलो अन्तरा !!


'पिपलबोट'मा लेखेका छन् -

चौतारीमा बसेर सोचिरहन्छु म
कुनैदिन
कसैलाई पर्खिरहेको मान्छे त थिएन यो पिपल?


मैले माथिनै भनेको छु । कुन कविता टिप्ने यो राम्रो भनेर देखाउनलाई? कविताको कुन हरफ लेख्ने यो अहा! भन्नलाई? मैले आफ्नो तर्फबाट भन्नसक्ने त शुरु गरेको कवितामै भनेको छु ।

यतिखेर धरान शहरमा कविता सुनाइरहेका होलान् कवि रमेश क्षितिज । उनको 'घर फर्किरहेको मानिस' पढ्दैगर्दा फेसबुकले जानकारी दिइरहेको छ; क्षितिजका कविता प्रेमीहरुले धरानमा 'फ्यान क्लब अफ् रमेश क्षितिज' बनाएकाछन् । र तिनै प्रेमीहरुले बनाएको फ्यान क्लबको आयोजनामा क्षितिज यतिखेर धरानमा कविता सुनाउँदैछन् । यता म सुन्दैछु  उनको आवाज, ह्रदयले, उनको किताबका पाना पानामा ।

क्षितिज यसरी 'जीवन गीत' सुनाइरहेछन् मलाई -

निस्कनु - आँसुको ऐना हेर्न छोडेर
कुल्चँदै सुकेका पातहरुजस्तो उदाशीको सुरुङबाट
आफैंले बनाएको निराशाको अध्याँरो
तारबारबाट निस्कनु र हेर्नु
पल्लोतिर भेटिनेछ इन्द्रेनीको स्वागतद्वार

डाली डालीमा उफ्रिँदै नाचिरहेका चराहरु
हजारौं ठेस सहेर सङ्लिँदै हिँडेको बटुवा नदी
विजय जुलुसमा सामेल
अबिरले रंगिएका आशावादी जनताजस्ता रंगीन फूलहरु
फैलिँदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरु

 
तिमीसँगै हुनेछ बाँच्नलायक
एउटा सिंगो र सुन्दर पृथ्वी

 
जसलाई तिमीले दुख भन्यौ
त्यो त तेजाबी गहना
तिम्रा मखमले आँसुका पत्रै-पत्रहरुले बुनेको
जसलाई तिमीले चोट भन्यौ त्यो त मायालु स्पर्श
कुनै महान कलाकारले रुखो ढुंगालाई
ताछ्दै मूर्ति बनाएजस्तो
तिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति

 
साँच्ची एकपल्ट बाँच्न जानेपछि
जति निमोठ्यो उति पलाउँछ जीवनको मुना!

 
जुन दु:खले दुखें भन्छौ तिमी
त्यो आफैंले रोपेको बिरुवा - आफ्नै मनको गमलामा
बार्दली वा भर्याङमा
वा पस्ने ढोका छेउ आँगनको एक कुनामा

 
आफैंले उमारेको दु:खको क्याक्टस
बढ्दैजान्छ दिन प्रतिदिन
र त्यसैमा अल्झेर रगतपच्छे हुन्छौं हामी अचानक
र सराप्न थाल्छौं पुराना मित्रजस्ता दु:खहरुलाई व्यर्थै

 
समाचार वाचिकाले झैं मुस्काएरै झेलिदिनू दुखको खबर
नदुख्नू - माझेर राख्नु बरु त्यो पुरातात्विक दु:ख
प्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटो
असह्य लाग्छ मलाई !

***

Sunday, February 03, 2013

लघुकथा : विज्ञापन

महानगरबाट निस्कने राष्ट्रिय दैनिक पत्रिकामा एकदिन यस्तो विज्ञापन छापियो -

"......म फलानो ठाउँ बस्ने, फलानो ठाउँ काम गर्ने, यति वर्ष उमेरको, यस्तो नाम भएको पुरुष वैवाहिक जीवनको झमेलामा पर्न नचाहने तर आफ्नै एउटा सन्तानको ईच्छा राख्ने भएकोले मेरो सन्तान प्राप्तिको ईच्छा पुरा गरिदिनको लागी मबाट गर्भधारण गर्न ईच्छुक यति देखि यति वर्ष उमेरभित्रका ईच्छुक महिलाहरुले मलाई फलानो फलानो माध्ययमबाट सम्पर्क गर्नुहोला । मेरो निमित्त नौ महिना गर्भ धारण गर्न ईच्छुक र योग्य महिलाको लागी मैले आफ्नो गच्छे अनुशारले साँढे पाँचलाख रुपैया पारिश्रमिकको व्यावस्था गरेको छु ।

पुनश्च: रकम लिएर सन्तान हस्तान्तरण गरे उपरान्त सन्तानमा कुनै पनि प्रकारको अधिकार रहने छैन भन्ने कुरामा पूर्व सहमती हुनुपर्ने प्रावधान छ ।....."

विज्ञापन मानौं कि वारुदको गोदाममा सल्केको आगो भयो । एकैसाथ देशभरी चर्चा चल्यो । धेरैले जिब्रो काढेर भने, 'मान्छे त ठीस हो कि के हो? यस्तो विज्ञापन पनि नाम ठेगाना तोकेर दिन्छन् कसैले?' कतिले मनमनै समस्या सल्टिने थियो भनेर पनि विचार गरे होलान् ।

कुरा त्यतिमै मात्र सीमित रहेन । देशभरीबाट बिभिन्न महिला सङ्घ सङ्घठनहरुको विरोध र्‍याली निस्कन थाल्यो र विरोधको स्वरुप बद्लिएर देशभर हड्तालको स्थिती बन्यो । उसले नारी अस्मिताको धज्जी उडाएको, मातृत्व किनबेच गर्न चाहेर सम्पूर्ण आमाहरुको खिल्ली उडाएको, समाजको विद्यमान सामाजिक संरचनामा गहीरो खलल पुर्याउन खोजेको जस्ता दर्जनौं आरोपहरु सहित देशभरका अनेक ठाउँमा उसको गिरफ्तारीको लागि उजुरीहरु परे ।

दशकौंदेखि स्थीर हुन नसकिरहेको देशको टालेटुले सरकार स्वयं त्यस विज्ञापनले एकैदिनमा धरापमा पर्न सक्ने परिस्थिती बनाईदियो ।

भोलीपल्ट, प्रत्येक दिन विभिन्न प्रलोभनमा परेर, डराईएर, धम्क्याईएर सयौं नारीहरु बलात्कृत भएर विना बाबुका सयौं बच्चाहरु जन्मने देशको आदर्श प्रशासनले ईमान्दारी साथ आफ्नो ईच्छा अनुशारको विज्ञापन छपाउने व्याक्तिलाई पक्राउ गरेर हिरासतमा लियो ।

भोलीपल्टै, उक्त व्याक्ति पक्राउ परेको खबरलाई महिला अस्मिताको रक्षाको निमित्त आफ्नो विजय ठानेर देशभरीका महिला सङ्घ सङ्घठनहरुले ठाउँ ठाउँमा विजय सभा आयोजना गरे । यता हिरासतमा लिइएको व्याक्तिको मानसिक अवस्था जाँच गराईंदैथियो । उता महिला सङ्घ सङ्घठनहरुको सयौं ठाउँमा भैरहेको विजय सभाहरुमा सयौं बलात्कारीहरु नारीहरुको पक्षमा वकालत गर्दै भाषण गर्दैथिए, हजारौं बलात्कारीहरु समर्थनमा ताली बजाईरहेका थिए ।

***

(केहि समय अघि नै लेखिएको यो कथा फेसबुकको लघुकथा कुनो नामक ग्रुपमा प्रकाशित भैसकेको हो ।)

Tuesday, January 29, 2013

कविता : सपना र शहीद

सम्झिरहेथें
ज्ञात अज्ञात शहीदहरुलाई
लाग्दै थियो
एउटा कविता त लेख्नै पर्ला
आमा उभिनुभयो अगाडी
र सोध्नुभयो,
'ए कान्छा, यो सहिद भनेको के हो?'
सम्झाएँ
आमालाई र भनें
म तिनै शहीदको नाममा
यौटा कविता लेख्न खोज्दैछु
आमाले भन्नुभयो,
'जिउँदाहरुको दु:ख कसैले नबुझ्ने देशमा
मरेकाको नाममा स्वाङ्ग गर्न कस्ले सिकाएछ?'
आमा
आफ्नो घरधन्दामा लाग्नुभयो

कलम बन्द गरेर बसें
साँच्चि
आफ्नो सपना तुहिएको देखि देखि
मेरो कवितालाई
शहीदहरु के भन्दा हुन् स्वर्गबाट?

Saturday, January 26, 2013

गीत : तिमी आउँदाको भए हुन्छ


आज चन्द्रमा चाहिन्न मलाई
यो उज्यालो
तिमी आउँदाको भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।


म आफैं बादल जस्तै रहेछु
मेरो आफ्नो आकार केहि नै छैन
कुनै भ्रम वा झझल्को मनको
के यो जिन्दगी त्यहि नै हैन?
मलाई बुझ्न कुनै चित्र झैं
तिमीले मनमा
आफैं बना'को भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।


मैले प्रेमलाई कुनैदिन पनि
सबैथोक हो भनिंन जिवनमा
तर प्रेमले जस्तै उज्यालो
अरु केहिले सायद ल्यायो मनमा
स्विकार्छु आज यो उज्यालो
तिमीले प्रेममा
जसरी ल्या'को भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।

Wednesday, January 23, 2013

सकस : ठुलो किताबको सानो चर्चा

सकस बजारमा निस्किएर चर्चा हुनासाथ पढ्ने धोको पलाएको थियो । त्यो धोको तर किताबको चर्चा देखे सुनेर मात्र भने पलाएको थिएन । 'अन्तर्मनको यात्रा'मा हरेक पाठकहरुले जस्तै मैले पनि जगदिश घिमिरेलाई अन्तरसम्मै पढेको भएर पलाएको धोको थियो । हुनपनि अन्तर्मनको यात्रा जत्तिको जीवन ज्ञान भएको आख्यान मैले पढेको थिएन त्यस अघि र त्यसपछि पनि पढेको छैन ।

बजारमा सकस निस्किने बित्तिकै जस्तो एकदिन फेसबुकमा साथी सीमु श्रेष्ठसँग सकसकै कुरा भएथ्यो । र मैले सकस पढ्न मन लागेको कुरा गरेको थिएँ । त्यहि दिन सीमुले किनेर पठाइदिने कुरा तय भयो । पठाउनलाई मेरा अन्य सामानहरु कार्गोमा आउँदैथियो र सजिलो भयो । किताब किनेर पठाइदिने मान्छे फेला परेपछि मलाई पनि के थियो? मैले अरु पनि केहि नयाँ पुराना किताबहरुको नाम दिएँ, किन्ने नै भएपछि यि पनि किनिदिनुस् न भनेर । यसरी सकस आउँदा सकसले साथमा अरु ११ थान लिएर पुरा दर्जनको हुल बाँधेर आयो मसम्म ।

सबैभन्दा पहिले सकस नै पढ्नेथिएँ त्यसैले एकदर्जन किताबहरु पाउनासाथ सकसलाई निकालेर हातमै एकपल्ट फरर्र पल्टाएँ । नयाँ किताब हररर ज्ञानमय वासनाका साथमा फरर्र पल्टाउँदा किताबबाट २ पातो फुत्रुक्क भुईंमा खस्यो । उठाएर हेरें । किताबको अघिल्तिरको समर्पण लेखिएको लेखकका पिताजीको तस्वीर भएको पेज रहेछ । र किताबको नाम लेखिएको अर्को यौटा पेज रहेछ । दुबै पेजहरु सायद बाइण्डिङ्गमा नपरेका रहेछन् ।

हाम्रोमा निस्किने किताबहरुमा यो खालको समस्या चर्को छ । कतिपय किताबहरुमा यसैगरि किताबको बिच बिचका पेजहरु छुट्टिएर बसेका हुन्छन् । कतिपयमा कुनै कुनै पेजहरु नै हुन्नन् । कटिङ्ग नमिलेर पढ्दै जाँदा पेजहरु छुट्याउनलाई चक्कु खोज्नुपर्ने त लगभग सबै किताबमा हुन्छ । मैले यौटा पातलो चक्कु नै राखेको छु कलमहरु राख्ने टोकरीमा । र कतिपय किताबहरु चैं पढ्न थाल्दा सारसौंदै हुन्छन् तर पढिसक्दा बिच बिचका पत्ताहरु छुट्टिएर पुराणका किताब जस्तो हुन्छन् ।

मलाई झट्ट सम्झना भयो, गोविन्द गिरी प्रेरणाले फेसबुकको ग्रुप उपन्यास कुनोमा "क्या बोर भो । सकस पढ्दै थिएँ पेज नं २३५ देखि २४२ सम्म पानै गायब । त्यसको ठाममा त २२७ देखि २३४ पेज दोहोरिएको रहेछ ।............" भनेर लेख्नुभएको थियो । मलाई अगाडिको दुई पाता फुत्रुक्क खस्दा मसँग भएको सकसमा पनि यस्तो समस्याहरु थप होलान् कि भन्ने पिरलो थियो तर घाटा पर्ने गरेर केहि रहेनछ । बरु मसँग भएको सकसमा पेज १३० पछि १३१ न आएर १२३ आयो । पेज १२३ देखि १३० सम्म चार पातो दोहोरिएर फेरि १३१ सकुशल आयो र अरु कुनै कैफियत रहेनछ ।

जब पढ्न थालें । सकसले एकाग्रताको डोरीमा बाँधेर राख्यो । पढ्न सुरु गरेको अवस्था र उपलब्ध फुर्सदले गर्दा मैले तीनवटा विश्राम लिएर चार पटकमा पढिसकें । पढ्दापढ्दै हाई आउने, अल्छि लाग्ने र पढ्नै छोडेर किताब बन्द गर्ने स्थिती आएन । सकसको सबलता एउटा त्यो पनि हो भन्ने लाग्छ मलाई । नत्र कतिपय धेरै महत्वपूर्ण, उपयोगि र राम्रा कुरा(किताब)हरु पनि लेखन शैलीले दिग्दार लगाउँछन् ।

फुटकर (कथाहरु) बाहेक 'अन्तर्मनको यात्रा'मा मात्र पुस्तकमा पढेको भएपनि जगदिश घिमिरे Trusted Author नै थिए । मनोयोगले सकस पढ्नुमा त्यसको मनोवैज्ञानिक असर पनि परेको हुनसक्छ मलाई । सकसभित्र शाह वंशको इतिहासको कुरा आएजतिमा म ज्यादातर रत्तिएँ । इतिहासका किताबहरुमा समेत नलेखिएका थुप्रै कुराहरु आएका छन् शाह वंशका । र किताबले शिर्षकको धर्म थाम्दै शाह वंशको राजमा जनताले के कसरी सकस पाए भन्ने पनि राम्ररी देखाइएको छ । 'अनि जीबाले भने' यो अलि एकोहोरो भएको भएपनि र कतिपय कुराहरु इतिहासको रिपोर्टिङ्ग जस्तै भएपनि साह्रै रुचिकर छन् कथानकमा आएका तथ्यगत इतिहासहरु । पछिल्ला माओवादी युद्धकालका पनि कतिपय घट्नाहरु रिपोर्टिङ्ग जस्तै शैलीमा छन् । घरी यसले र घरी उसले घट्ना वयान गरेको भएर कथानक लामो दुरी चल्ने गाडी जस्तो द्रुत गतिमा बगेको छ । परन्तु हरेक कालखण्डमा सर्वसाधारणले भोग्नुपरेको 'सकस' भने सकसले आँखा सामुन्ने देखिएको घट्ना जस्तै स्पस्ट उतारेको छ ।

पात्रहरुमा भने लेखक हावी भएको पाएँ । जीबा पात्र जस्ले पृथ्वीनारायण शाहको पालादेखिका इतिहासका कुराहरु निकालेका छन् । तिनै जीबामा समेत लेखक आफैं देखिँदा म पाठकलाई त्यस्तो नभैदिएको भए हुन्थ्यो भन्ने लाग्यो । अर्को मुख्य पात्र शरदमा पनि लेखक हावि भएका छन् मन्थली, रामेछापतिरको कुरा आउँदा । सबभन्दा ठुलो विस्मात त यत्रो कालखण्डको सिंगै देशको कथा व्याथा समेटिएको किताबले मन्थली, रामेछाप र जनकपुरकै घुमी घुमी फन्को लगाउनुमा पनि लाग्यो मलाई । सिन्धुली गढीको लडाईंको वृतान्त र रामेछाप, मन्थलीका कतिपय कुराहरु, जो अन्तर्मनको यात्रामा पढिसकिएको थियो, सकसमा नलेखिएको भए नि हुने भने जत्तिकै लाग्यो ।

अन्तर्मनको यात्रामा लेखकको रामेछाप, मन्थली प्रतिको प्रेम र जनकपुरसँगको लगाव पढिसकेको भएर होला । पटक पटक मन्थली र जनकपुर नदोहोरिएर कथाका मुख्य पात्रहरु अन्त पुगेका भए वा अन्तैका भएका भएपनि हुन्थ्यो जस्तो लागिरह्यो । जीबा रामेछापका थिए । स्वामी राजाले खेदाएका प्रजाहरु मध्ये मुख्य कर्मलाल रामेछाप नै गयो । शरद र कुमारी काठ्माण्डौबाट टक्टकिएर रामेछाप गए । रामेछापबाट खेदिएपछि जनकपुर गए । यसरी कथानकले फन्को मार्ने स्थानहरु उहि उहि हुन पुगेको छ । हुनत एकै लेखकलाई निरन्तर पढिरहँदा तिनै तिनै कुराहरु एकाध कृतिमा दोहोरिएको पाउनुलाई सामान्य कुरा नै लिइन्छ होला । तर नेपालकै केहि चलेका लेखकहरुले तिनै तिनै कुराहरुलाई हरेक किताबमा ल्याएर अघाउंजी पारिसकेका भएर हो कि अन्तर्मनको यात्रामा भएका महत्वपूर्ण कुराहरु सकसमा नदोहोर्याएको भए हुन्थ्यो जस्तो मलाई लागेको ।

राजनैतिक दृष्टिकोणबाट हेर्ने हो भने अझै पनि, सकसले कथानकमा उठाएदेखि विसाएसम्मको कालखण्ड भरि, सकसको स्थितीबाट मुक्त रहेर आनन्द महसुस गर्ने परिस्थिती बनिसकेको छैन तथापि जनजीवनमा आइपर्ने हरेक सकसहरुलाई सामना गर्न र यौटा सुनिश्चित उज्यालो भविश्यमा दृष्टिपात गर्नको लागी परेला उघार्न वाध्य छौं मुलुकभरीका हामी एक एक व्याक्तिहरु । यस्तोमा सकसको कथानकले मुख्य पात्र शरदलाई कथानकको अन्त्यमा  तन्त्र फन्त्रको अधिनमा नगराएको भए हुन्थ्यो जस्तो पनि लाग्यो । किताबको अन्त्यमा शरदलाई जीबाले भनेको कुरा छ, 'धैर्य गर्, जतिसुकै कालो र घना भएपनि मेघ स्थायी हुँदैन । ढिलोछिटो बढारिन्छ । उज्यालो आउँछ आउँछ । ऐले म शान्तिलाई रक्तमुछेल देखिरहेको छु । तर सकस जति भए पनि भविश्य शान्तिकै हो ।' किताब पढुन्जेल पाठकको मगजमा पर्ने सकसलाई राहत दिने यो कुरा आउँदा शरद तन्त्र फन्त्र जस्तो आम मान्छेको जीवनमा अनुपयोगि र अनुशरण गर्न दुश्कर लाग्ने कुराको अधिन भैसकेको हुन्छ । त्यसैले शान्ति अनिश्चित भएको अवस्था जान्दाजान्दै पनि यो उज्यालो कुरा यसरी आउनुले पाठकलाई एकप्रकार अनिश्चिततामै छाडेको भान् हुन्छ । जस्ले गर्दा किताब पढिसक्ने पाठकलाई जीबाको उपरोक्त कुराले जति उर्जा दिनुपर्ने हो त्यति दिन सकेको छैन ।


यो ऐतिहासिक आख्यान 'सकस'को बथख्वाँइ गर्नै चाहनु हो भने पनि म त्यसको निमित्त योग्य पात्र कदापि होइन त्यसैले सकस पढ्दा महसुस गरेका कुराहरु थपक्क लेखें । यत्ति अधिकार म तुच्छ पाठकमा होला भन्ने सम्झेको छु । र सकसलाई नराम्रो छ भन्ने देखाउन लेखिएको भन्ने भ्रम नरहला भन्नेमा ढुक्क छु ।

सकसको राम्रा पक्षको वर्णन गर्नलाइ पनि म सायद योग्य नहुँला । र गर्नुपर्दा पनि मैले के वर्णन गर्न सकुँला? फेसबुकको उपन्यास कुनोमा 'सकस'माथि आएका हरएक समीक्षाहरु पढिरहेको छु र राम्रा कुरा लेख्नुपर्दा मैले तिनै कुराहरु नदोहोर्याई सुख छैन । अत: सकसकै पछाडीको खोलमा लेखिएको आख्यानकार नयनराज पाण्डेको टिप्पणी दोहोर्याउन चाहन्छु - ".......यसमा कहाली लाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ ।..........."

साहित्य लेखनमा हुनुपर्ने निर्भयता र निश्पक्षता भने सकसको माध्ययमले जगदिश घिमिरेबाट नेपाली साहित्यले अवश्य सिक्नेछ र सिक्नु पर्छ भन्ने ठान्छु म । अन्त्यमा, सबैभन्दा मुख्य कुरा त यो नेपाली साहित्यमा ऐतिहासिक मूल्य राख्ने आख्यान पढेर र संग्रह गरेर राख्न समेत पाएकोमा गौरव गर्छु म । र मेरो ब्लगमा यो पोष्ट पढ्नुहुने सबैलाई सकस पढ्ने मात्र हैन संग्रह गरेर राख्न समेत लायक उच्वकोटिको आख्यान हो भन्ने जानकारी पनि गराउन चाहन्छु ।