Saturday, February 09, 2013

पुस्तक गफ : घर फर्किरहेको मानिस

घर फर्किरहेको मानिस
च्यातुँ
चर्यात् चर्यात् पारेर
पाना पाना छुट्याउँदै पुस्तकबाट

जतनले पट्याएर गोजीमा बोकेर हिडुँ !
या त

एउटा अक्षर पनि नछोडिने गरेर
प्वाक् प्वाक् उखेलुँ मन परेका सबै पत्ताहरु

डल्लो पार्दै खाऊँ, चपाऊँ, निलुँ !

प्रिय कवि, म के गरुँ ?
मेरो वाल्यकाल, मेरो लक्का जवानी
मैले भोगेको जिन्दगी, मैले कल्पेको स्वर्ग
यि सबै सबै भन्दा
कता हो कता राम्रो
मेरो हातमा तिम्रो कविताको किताब छ ।

हो
घर छोडेको मानिसको हातमा
घर फर्किरहेको मानिस छ ।
रमेश क्षितिजको 'घर फर्किरहेको मानिस' कविता संग्रह खुरुखुरु दुईपल्ट पढें । पहिले शुरुदेखि अन्तिमसम्म, प्रत्येक पेजमा लेखिएका एक एक अक्षरहरु नछोडिकन पढें । विषय क्रम र त्यो भन्दा अगाडिका कुराहरु चैं पढ्न भनेर होइन तथापि पढें, छापिएका र लेखिएका अक्षरहरु समेत । हो, लेखिएका पनि छन् केहि अक्षरहरु कविकै हस्ताक्षर सहित मेरो नाम उल्लेख गरिएर । हरेक पाठकले कवि, लेखकको हस्ताक्षर सहित उसको नाम पनि उल्लेख गरिएर किताब पाउँदा जस्तो खुशी महसुस गर्छ मैले त्यस्तै नै महसुस गरें । कति प्रिय क्षण, कति गर्विलो पल किताब पल्टाएर लेखिएका अक्षरहरुमा पहिलो पल्ट नजर परेको क्षण ।

(यहाँ साथी सीमु श्रेष्ठलाई सम्झिइँन भने मलाई पापै लाग्ला वहाँले भनेको, भनेको किताब खोजेर पठाई मात्र दिनुभएन यसरी सम्भव भएसम्म हस्ताक्षर समेत गराएर पठाइदिनुभयो । मैले किताबभित्र कविको हस्ताक्षर सहित लेखिएको अक्षरहरुमा कत्रो लोभ गरें भने किताबको तस्वीर खिच्दा समेत तिनै अक्षरहरु देखाउने त्यो लोभलाई सम्वरण गर्नै सकिनँ ।)

दोश्रोपल्ट अन्तिमदेखि पहिलोसम्म कविताहरु मात्र पढें । त्यसपछि पनि 'घर फर्किरहेको मानिस'लाई थन्क्याएर राखेको छैन अरु पढिरहेको किताबहरुको बिचबिचमा पढ्ने गरेर पायक पर्ने ठाउँमा राखेको छु र पल्टाएर जुन कविता पल्टिन्छ, तेहेर्याई चौहर्याई पढिरहेको छु ।

पहिलोपल्ट 'घर फर्किरहेको मानिस' पढ्दा म 'ताप' पढ्दैथिएँ । शारदा शर्माको 'ताप' पढ्दा विश्राम चाहिन्छ भन्ने महसुस भएको बखतमा अलिकति पढिहालुँ न भनेर पल्टाएको थिएँ 'घर फर्किरहेको मानिस' तर दुईपल्ट लगालग पढिनसकी म 'ताप'मा फर्केर गइनँ । 'घर फर्किरहेको मानिस'मा के छ त्यस्तो? आफैंलाई सोधेँ पनि मैले । धेरैदिन देखि 'घर फर्किरहेको मानिस' माथि केहि लेख्छु भनेर पनि राखें मनमा । तर के लेख्ने? के छ किताबमा? कविताहरुमा ? अन्यौल जस्तो भै रह्यो । कुनै कविता भेटिएनन् यो चैं अलि यस्तो भयो भन्नलाई । सबै राम्रा कविताहरु । राम्रै राम्रा र राम्रै राम्रा मात्र कविताहरु । सबै राम्रै राम्रो छ मात्र भन्नलाई के लेखिरहने जस्तो समेत भएको हो मलाई । तर पुरै किताबको रिभ्यू लेखे जत्तिकै कुरा मेरो मनमा भने कविता नै बनेर उम्रँदै थियो । पहिले त्यसैलाई उमारें र कविताकै अकारमा ल्याएपछि आज पुरै किताबको निजी हिसाबले चर्चा गर्न बसेको छु, उक्त कवितालाई यो चर्चाको सुरुमै राखेर ।

जम्मा ४५ थान कविताहरु संग्रह गरिएको यस किताबमा कुनै पनि कविता लामा छैनन् जो पढ्दा पढ्दै दिक्क लागुन् । बरु सबै कविताहरुमा यस्तो लाग्छ कि अझै अलिकति लामो किन भएनन् कविताहरु? कविताहरु शुरु हुनुभन्दा अगाडि 'पहिलो प्रेम र प्रिय कविताहरुको आत्मकथा' भनेर लेखकीय जस्तो या भनौं कविताको भूमिका जस्तो लेखिएको छ नौ पाता(१८ पेज)मा । कुनै राम्रै साहित्यिक उचाई भएको आख्यान पढ्दा जत्तिकै स्वाद र काव्यिक सन्तुष्टी दिने उक्त भूमिकामा कति धेरै कुरा अटाएका छन् भने सबैको मिहिन चर्चा गर्दा अर्को छुट्टै किताब बनाउन सकिन्छ । कविताहरुको मूल्य के हो? कविताको महत्व के? जस्ता गंभीर कुराहरुको गहिराई केलाइएको आत्मकथामा कवि भन्छन्, 'कविता अभौतिक वा पराभैतिक हो भन्ने थाहा हुँदाहुँदै हामी यसको बजार मूल्य निर्धारण गर्न खोज्छौं । समस्या यहीँनेर उत्पन्न हुन्छ ।' त्यसैमा कवि लेख्छन्, 'कवितामा प्रयोग गरिएका शब्दहरु भन्दा पनि पर केही हो, कविता । कैलेकाहीँ शब्दहरुबीचमा, स्पेसमा समेत लुकेको हुन्छ अर्थ र कहिलेकाहीँ प्रश्नचिन्ह, विश्मयादिबोधकमा पनि ।'

यो भूमिका जस्तै आएको कविताको आत्मकथाले मलाई कविता लेखिनुमा त कला छँदैछ, पढ्नु र बुझ्नुमा पनि कला चाहिन्छ भन्ने सिकायो । संग्रहभित्रका थुप्रै कविताहरुका पृष्ठभूमीहरु समेत फेला पर्छन् यो आत्मकथामा ।

लेख्न त म आफ्नै हातले लेख्छु
तर कस्ले सिकाउँछ मलाई कविता?
कस्ले दिन्छ नवीन र अक्षत विम्बहरु?
कस्ले दिन्छ एउटा मौन र अर्थपूर्ण भाषा?
भन्दै आत्मकथामै कवि भन्छन्, 'कवितामा विचार वा कला? सरलता वा दुरुहता? लोकप्रियता वा स्तरियता? यो कुनैपनि प्रश्न मेरा लागि प्रश्न नै होइनन् । अल्झिन चाहन्नँ म कुनैपनि अनर्थहरुसँग, म त असली कविता लेख्न चाहन्छु । सिंगो कविता, सम्पूर्ण कविता ।'

वास्तवमै अचेल कविताहरु शहर जस्तै बनेका छन् । उँचा उँचा घरहरुले भरिएको, झिलीमिली, मन लोभ्याउँने तर भित्र पसेपछि शहरले जस्तै उकुशमुकुश पार्ने । यस्तोमा 'घर फर्किरहेको मानिस'भित्रका कविताहरु पढ्दा प्राकृतिक सौंदर्य यथावत रहेको कुनै गाउँमा वास वस्न गएझैं अनुभूत हुन्छ । सिङ्गो, सम्पूर्ण र असली कविता पढें भन्ने अनुभूत हुन्छ संग्रहका हरेक कविताहरु पढ्दा । मसँग कुनै यौटा मात्र कवितालाई टिपेर यो यस्तो र यसकारणले राम्रो भन्न सक्ने आधार नै छैन । हरेक कविताहरु रेटेर जान्छन् हाम्रो ह्रदयमा तह क्रम मिल्दामिल्दै बाँकि रहेका संवेदनाहरुलाई र यस्तरी दुरुस्त मिलाइदिन्छन् कि यस्तो लाग्छ, होइन यो कविता आज पढिरहेको भन्दा पर पनि केहि थियो; जो भोगिएको थियो, देखिएको थियो वा सुनिएको थियो ।  त्यसैले हरेक कविताहरु बस्छन् ह्रदयमा सानो सानो छाप्रो हालेर । ह्रदयको प्रिय भएर । कविता पढिसकेपछि पनि लामो समयसम्म ह्रदयमा रन्किरहन्छन् हरेक कविताहरु मानौं कसैले काँसे थालबटुकामा प्यारपूर्वक सानो छडीले हिर्काएको होस् झन्कार सुन्नलाई ।

पटक पटक पढिरहँदा कविताको चिरफार समेत गर्दै ब्लग लेख्छु भन्ने पनि थियो मेरो सुर । जुन यसरी कवितामै मठारियो -

चिर्नलाई पनि
कम से कम कप्टेरा चाहिन्छ बाँसको
ए नादान कर्द,
सिन्काहरु कुन आँटले चिर्न खोज्दैछौ तिमी
जो खिलीरहेछन्
पहिल्यैबाट
तिम्रो जस्तै ह्रदयका दुना टपरीहरु ।

कवितासँग कहीँ कतै अवश्य मेरो पनि प्रेम थियो । पहिलो प्रेम नै भने हुन्छ । साहित्य भनेर पढ्नलाई जे पढेको भएपनि लेख्नलाई मैले पनि धेरैले जस्तै कविता नै लेखेको हुँ पहिलोपल्ट । र कविता निरन्तर लेखिरहेँ, हिँजो अस्तीसम्म । तर पछिल्लो बेला(हिँजोआज) कविता लेख्न खोज्दा पनि म कविता लेख्न नसकेको अवस्थामा हुन्थें । लाग्थ्यो अब कविताको यूग फेरिइसकेको छ । मैले जेलाई कविता भनेर लेखें, लेखिरहेथें ति सब अब कविता हुन लायक रहेनन् । अब कविता बनाउन शहरको घडेरीमा जग खन्नुपर्छ, सिमेन्ट, ईँटा, बालुवा मिसाएर उठाउनुपर्छ आधुनिक विल्डिङ्ग । थप्नुपर्छ तलैतला आकाश छुवाउने गरेर । नत्र कविता हुँदैन । यस्तै बुझ्न, यस्तै स्विकार्न थालिसकेको थिएँ आजभोली म ।

'घर फर्किरहेको मानिस' पढेपछि लाग्यो - अझै पनि गाउँघरतिरै गएर कुनै पनि पाखो भित्तोमा आठ दशवटा डोविल्को खन्यो, खाँबोखुट्टी गाढ्यो र खर परालले छाएर धुरी मार्न सक्यो भने हुनेरहेछ घर जस्तो सुन्दर कविता । कविता त ऋषी मुनीहरुको छाप्रोझैं उभ्याउनु मात्र पर्ने रहेछ कतै प्रकृतिको काखमा । आफैं बनाउने रहेछ कविताले आफ्नो असली पहिचान । र लेख्न जोश आएको छ आफुले ह्रदयमा महसुस गरेजस्तै दुरुस्तै कविता । सायद अब लेख्न थाल्नेछु फेरि कविताहरु म ।

पुस्तकमा क्षितिजका कविताहरुको बारे वरिष्ठ कवि तुलसी दिवसले भनेका छन् - नवीन, मौलिक र जुठो नपारिएका निजी विम्बहरुको प्रयोग गर्छन् उनी । सत्य हो । 'मेरो गीत'मा कवि लेख्छन् -

मेरो गीतको पानामा
कस्ले निभायो जल्दै गरेको चुरोटको ठुटो?
हठात कुल्चेर गयौ तिमी मेरो गीतको पहिलो अन्तरा !!


'पिपलबोट'मा लेखेका छन् -

चौतारीमा बसेर सोचिरहन्छु म
कुनैदिन
कसैलाई पर्खिरहेको मान्छे त थिएन यो पिपल?


मैले माथिनै भनेको छु । कुन कविता टिप्ने यो राम्रो भनेर देखाउनलाई? कविताको कुन हरफ लेख्ने यो अहा! भन्नलाई? मैले आफ्नो तर्फबाट भन्नसक्ने त शुरु गरेको कवितामै भनेको छु ।

यतिखेर धरान शहरमा कविता सुनाइरहेका होलान् कवि रमेश क्षितिज । उनको 'घर फर्किरहेको मानिस' पढ्दैगर्दा फेसबुकले जानकारी दिइरहेको छ; क्षितिजका कविता प्रेमीहरुले धरानमा 'फ्यान क्लब अफ् रमेश क्षितिज' बनाएकाछन् । र तिनै प्रेमीहरुले बनाएको फ्यान क्लबको आयोजनामा क्षितिज यतिखेर धरानमा कविता सुनाउँदैछन् । यता म सुन्दैछु  उनको आवाज, ह्रदयले, उनको किताबका पाना पानामा ।

क्षितिज यसरी 'जीवन गीत' सुनाइरहेछन् मलाई -

निस्कनु - आँसुको ऐना हेर्न छोडेर
कुल्चँदै सुकेका पातहरुजस्तो उदाशीको सुरुङबाट
आफैंले बनाएको निराशाको अध्याँरो
तारबारबाट निस्कनु र हेर्नु
पल्लोतिर भेटिनेछ इन्द्रेनीको स्वागतद्वार

डाली डालीमा उफ्रिँदै नाचिरहेका चराहरु
हजारौं ठेस सहेर सङ्लिँदै हिँडेको बटुवा नदी
विजय जुलुसमा सामेल
अबिरले रंगिएका आशावादी जनताजस्ता रंगीन फूलहरु
फैलिँदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरु

 
तिमीसँगै हुनेछ बाँच्नलायक
एउटा सिंगो र सुन्दर पृथ्वी

 
जसलाई तिमीले दुख भन्यौ
त्यो त तेजाबी गहना
तिम्रा मखमले आँसुका पत्रै-पत्रहरुले बुनेको
जसलाई तिमीले चोट भन्यौ त्यो त मायालु स्पर्श
कुनै महान कलाकारले रुखो ढुंगालाई
ताछ्दै मूर्ति बनाएजस्तो
तिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति

 
साँच्ची एकपल्ट बाँच्न जानेपछि
जति निमोठ्यो उति पलाउँछ जीवनको मुना!

 
जुन दु:खले दुखें भन्छौ तिमी
त्यो आफैंले रोपेको बिरुवा - आफ्नै मनको गमलामा
बार्दली वा भर्याङमा
वा पस्ने ढोका छेउ आँगनको एक कुनामा

 
आफैंले उमारेको दु:खको क्याक्टस
बढ्दैजान्छ दिन प्रतिदिन
र त्यसैमा अल्झेर रगतपच्छे हुन्छौं हामी अचानक
र सराप्न थाल्छौं पुराना मित्रजस्ता दु:खहरुलाई व्यर्थै

 
समाचार वाचिकाले झैं मुस्काएरै झेलिदिनू दुखको खबर
नदुख्नू - माझेर राख्नु बरु त्यो पुरातात्विक दु:ख
प्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटो
असह्य लाग्छ मलाई !

***

3 comments:

Deeps said...

रातको ११ बजेको संकेत गरिसक्यो घडीले |भूमध्य सागरको उत्ताउलो सिरेटो बत्तिन्दै मेरो झ्यालको फक्लेटो हल्लाइ रहेछ | प्रेम दीवशको पूर्वसन्ध्यामा म आफ्नै प्रेम देखि माइलौं टाढा तेलअभिब शहरको एक कुनामा थच्चिएको छु | निन्द्रा छैन आँखामा | गुगल प्लस चियाउने रहर भो | मेरा एक नदेखेका नभेटेका असल मित्र दीपक जडित जी को पोस्टले बोलायो | कबि रमेश क्षितिज लाइ म चिन्दिन , भेटेको देखेको छैन जसरि दीपक जडितलाइ भेटेको छैन | तर सिर्जनाको कस्तो शक्ति! जसको बलमा म यी नदेखिएका नभेटिएका मनहरु संग यस्तो जोडिएको छु ! उनी नभेटिएका कबि रमेश क्षितिज जी को, मैले नपढेको उनकै पछिल्लो चर्चीत कबिता संग्रह 'घर फर्किरहेको मान्छे' को बारे अर्का नभेटिएका मित्र दीपक जडित जी ले लेख्नुभएको अनुभूति पढेर यतिबेला भाब बिभोर छु | केहि पंक्ति कविताले नै मलाई अड्कल भैसकेको छ कि घर फर्किरहेको मानिस साच्चै नै बिसेष छ | तर यसैलाई उल्लेख गर्ने दीपक जडित जी का शब्द , भाव , शिल्प शैली ले नराम्रो तानिएको छु | दीपक जी! तपाईका सिर्जना यिनै शब्द संग सदाबहार यसरीनै मुस्कुराउन ,,जसको सुवास माइलौं दूर बाट पनि हामि समक्ष आइपुगोस आइरहोस! घर फर्किरहेको मानिस लाइ अब मेरोघरमा मेरो किताबको र्याक मा छिट्टै नै ल्याउनेछु र मनको सन्दुकमा कैद गर्ने छु अवस्य |

Anonymous said...

मेरो मनपनि यो याममा आँरु फुले जसरी फुलेको छ । एउटा आँख्ला बाँकी नराखी । दीपक जडितको लेखन र रमेश क्षितिजको कविताहरुले । मलाई दीपक जडितको लेखन अचाक्ली मन पर्ने हो । जुन दिन पहिलो पटक मैले यी हरफहरु पढे मेरो आँखा रसाको थियो । कविता लेख्ने मान्छेले कविताको मर्म बुझ्छ । मैले जति रमेश क्षितिजको कविता संग्रह बुझेको थिए अव दीपक जडितका हरफहरुले ती सम्पूर्ण कविताहरुसँग प्रेम भएको छ । धन्यवाद दीपक जडितजीलाई र तपाईको कवि मनलाई । seemu shrestha

दीपक जडित said...

हार्दिक धन्यवाद छ दीप्सजी र सीमु श्रेष्ठजीलाई । दीप्सजी, यहाँ पनि पढ्नै पर्छ भनें है यो कविताको किताबलाई ।