Friday, October 31, 2008

गजल : नियम बनाउँ भन्छन्

कोही मान्छेले हिँड्ने पनि नियम् बनाउँ भन्छन् ।
कोही मान्छेले हिँड्ने बाटो नै कम् बनाउँ भन्छन् ।

लामा कसैका कद्काँठी कोही कदै होचा पुड्का ,
के आधारमा सब्को एकै कदम् बनाउँ भन्छन् ?

सड्दै गा'ति मार्फाका स्याउ रसै निकाले हुने ,
कोही तर त्यो स्याउ निचोरी 'रम्' बनाउँ भन्छन् ।

हुँदै नभएको शेर बाल्कृष्णले जस्तै झिकि ,
देखाउनैलाई किन कोही सम् बनाउँ भन्छन् ?

लेउ टेकी चिप्लिएर लड्दा पनि मान्छे यहाँ ,
'खडा छु' को ब्यर्थमा किन अहम् बनाउँ भन्छन् ?

न त बोलीचाली एकै न त ल्वाईख्वाई एकै ,
'दीपक' समावेशी हुँदै रम्झम् बनाउँ भन्छन् ।

Tuesday, October 28, 2008

कथा : केतकी फूलको माला

सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो ।

' सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ । ' उसले श्रीमतीलाई कोठाभित्रैबाट अह्रायो ।

' सकिसकेँ अब । तपाईँलाई भोक लाग्यो ? चिया बनाईदिउँ ? ' सीमा उसकै कोठाभित्र छिरिन् ।

' हैन मलाई के को भोक लाग्नु नि ? बच्चाहरु भोकाउंछन् भनेर पो । ' उ अलि सम्हालिए झैं भयो । उसको अनुहारमा देखिएको उदाशीको भाव उसकी श्रीमतीबाट लुक्न सकेन । उसको केश सुम्सुम्याउँदै सीमाले भनिन् , ' किन यसरी दु:खी बन्नुहुन्छ बाबा ? तपाईंमात्र हो र चेली नहुने मान्छे यो संसारमा ? कति छन् कति अरुपनि । मेरैपनि त माईति छैनन् तर हामीले त अब बच्चाको खुशीको लागी पो खुशी हुनुपर्छ । ' उसले केही भनेन । सायद सोच्दैथियो के भन्ने भनेर । सीमाले नै भनिन् , ' अरे , यो सियो धागो कस्ले यहाँ ल्यायो हिमाल ? '

' खै ? बच्चाहरुले ल्याए होलान् । ' उसले सरासर झूट बोल्यो । सीमाले उसलाई बच्चाहरु बोल्ने भएर बाबा भन्न थालेपछि बाबा पनि भन्ने गर्थिन् त कैले नामले पनि बोलाउँथिन् । देखाभेट नै नभई उनिहरुको प्रेम भएर विवाह भएको थियो । उनिहरु सामान्यता जब ढोकाबाट दु:ख भित्र पस्छ तव माया , प्रेम झ्यालबाट बाहिर निस्कन्छ भन्ने उखानको अपवाद बनेका थिए । निक्कै दु:ख झेलेका थिए उनिहरुले विवाह पश्चात पनि तरपनि उनिहरुको प्रेममा कमी आएन भलै उनिहरुले सामाजिक मान्यता अनुशार अन्तरजातिय विवाह गरेका थिए ।

' बच्चाहरुहरु त आज यो कोठामा छिरेको देखेकै छैन.. ' , उसलाई सीमाले निधीखोजी गर्लिन भन्ने चिन्ताले सतायो र जवाफमा के भन्ने भनेर सोच्न लाग्यो तर सीमाले सियो धागोको कुरा छाडेर भनिन् , ' अब तपाईंले पहिले के भयो भनेर विर्षनु पर्छ बुझ्नु भो ? सँधैँ सँधै बितेको कुरा सम्झेर यसरी दु:खी बनेर नि चल्छ ? '

श्रीमतीको कुराले उ झन न्याउरो भयो र रुन्चे स्वरमा भन्यो , ' म दु:खी भ'को छैन सीमा र पनि आजको दिन याद आउँदो र'छ चेलीको । मेरो छोड न , जाउ बरु छिट्टो गर बच्चाहरुलाई । '

सीमाले उसलाई चपक्क छातिमा टाँसिन् र बाहिर निस्किन् । सीमा गएतिर हेरिरह्यो उसले । उसको कोठाबाट सीमा निस्किँदा ढोकाको एकपट्टीको पल्ला खुल्लै रह्यो । उसलाई आज ढोका थुनेर बस्न मन लागेको थियो तर न उसले सीमालाई ढोका ढप्क्याईदेउ भन्न सक्यो न आफैं उठेर ढप्क्यायो । बरु उ त्यतिकै पल्टियो पलङ्गमा । उसलाई भित्रभित्रै नमिठो अनुभुती भैरहेथ्यो । घरी घरी उसकी दिदीको अनुहार उसको अनुहारमा आईरहेथ्यो । उसले सिह्रानमुनि लुकाएको उसकी दिदीको तस्विर छाम्यो त्यो त्यहीँ थियो । निकालेर हेर्न मन लागेको थियो उसलाई दिदीको तस्विर । रुन मन लागेको थियो उसलाई दिदीको तस्विरसँग तर उसले त्यसो गरेन सोच्यो ढोका खुल्लै छ सीमा अथवा बच्चाहरु भित्र छिरे भने के भन्लान् उसलाई रोईरहेको देख्दा ? जे भएपनि उ घरको मुली हो उसले आफुलाई दह्रो बनाएर देखाउनुपर्छ चाहे छातीभित्र जतिसुकै डढेलो सल्केको होस् ।

' सिमरन तिमी यहाँ बस बाबु , अब दिज्युले बाबुलाई टिकी लाईदिनुहुन्छ । '

' हिसिला चक्चक नगर्नु है नानु म सिलौटो ल्याईहाल्छु । अब भाईलाई टिका लाईदिनु पर्छ , पूजा गर्नुपर्छ है नानु । ' उसले नेपथ्यमा सीमाको आवाज सुन्यो । सीमा छोराछोरीलाई सम्झाउँदै थिईन् । उसले ढोकातिर नजर फ्याँक्यो सीमा हतारिँदै भान्सातिर गएको देख्यो र एकैछिनमा दुईहातले ढुँङ्गाको सिलौटो र लोहोरो ल्याएर उसको ढोकाको सामुन्ने नजर पर्ने गरेर राखेको देख्यो । सीमाले सिलौटोमाथी यौटा सानो टपरीमा ओखर ल्याएर राख्दै भनिन् , ' सिमरन तिमी त्यँही बस्नु है बाबु , अब तिमीले यो ओखर हेर्नु हुँदैन , दिदीले यस्लाई पूजा गरेर फुटाउनु हुन्छ । '

उसको नजरबाट सीमा अदृश्य भईन् । फेरी नेपथ्यमा उसले उसकी छोरी बोलेको सुन्यो , ' मम्मी ? भाइले टिकाको थाली चलायो । '

' सिमरन चलायौ बाबु तिमीले ? मेलो छोलो ज्ञानी छ चलाउँदैन नि हगि ? ' सीमा बच्चाहरुलाई सम्हाल्दै त्यहीँ पुगेको अनुमान् गर्यो उसले । उसलाई आफ्नो बाल्यकालमा भाईटिका लगाउँदाको सम्झना आयो । उसको पनि एकजना मात्रै दिदी आमाले सम्झाई बुझाई भाईटिका लगाउन अह्राउनु हुन्थ्यो । त्यही क्रम उसलाई आफ्ना छोराछोरीको पुष्तामा पनि दोहोरिएको लाग्यो । यौटा नयाँ कुरा उसले के ख्याल गर्यो भने उसको पालामा उसकि दिदीले भाई मलाई कति पैसा दिन्छस् ? भनेर सोध्ने गर्थिन् भने उसका छोराछोरीले भाईले मलाई कति पैसा दिन्छ र म दिदीलाई यति पैसा दिन्छु भनेको सुनेन । सायद उसको पालामा बच्चाहरुले अघिपछि पैसाको मुख देख्न नपाउने भएको होला यसो भएको उसले मनमनै गम्यो ।

' ल यो फूल लेउ र भाईको टाउकोमा राखिदेउ । '

' अब यो फूल काँधमा यतापनि र यतापनि राखिदेउ ।'

' घुँडामा राखिदेउ अब । ' नेपथ्यमा उसकी श्रीमती छोरीलाई भाई पूज्न सिकाउँदैथिन् । यता उ भने अतितमा बल्झेर उकुशमुकुश हुँदैथियो ।

उ ठुलै भैसकेपछिको कुरा - उसकी दिदीको गाउँकै केटासँग प्रेम परेको रहेछ । उनिहरु विहे गर्न थाहन्थे तर उसको बाउले ईज्जतको कुरा उठाएर बाहुनकि छोरी तल्लो जातमा विहे गर्न दिन्न भनेर ढिपी कसेका थिए । आमा थिईनन् । बाउले सानो भएपनि दुखेसो उ सँग पोख्थे त्यसैले उसले बाउको पक्ष लिएको थियो । उसकी दिदीले भने प्रेम गरेको हो अपराध गरेको हैन भनेर मनपरेको केटोसँगै बिहे गर्न पाए गर्ने नत्र नगर्ने र भागेर पनि नजाने भनेर अड्डी कसेकी थिइन् । उसका बाउ यहि कुराले क्वाँ क्वाँ रोएको देखेको थियो उसले । यतिञ्जेल सम्म धर्म जोगाएर बाँचियो । यो बुढेशकालमा यो दिन देख्नुपर्ने रहेछ म पहिल्यै किन मरिनँ तेरी आमासँगै भन्दै छाती पिटीपिटी रुन्थे उसका बाउ उ सँग । उसलाई दिदीले बाउलाई यसरी रुवाउन नहुने भन्ने लाग्थ्यो । यहि कुरा बढ्दै गएर गाउँको पुलिस चौकीसम्म पुगेको थियो । पुलिस चौकीमा पनि सारा दुनियाँ उसकि दिदी र दिदीको प्रेमको पक्षमा थिए भने उ र उसका बाउ मात्र एकापट्टी थिए । पुलिस चौकीमा उसकी दिदीलाई ईच्छाले विहे गर्न दिनुपर्ने र त्यहीदिन देखिनै उसकी दिदीलाई उसले मनपराएको केटोलाई लोग्ने मानेर उसैको घर जान पाउने फैसला भएको थियो । दुनियाँको अगाडी उ र उसको बाउले हारेका थिए । दिदीको तल्लो जातको केटासँग प्रेम भएको थाहा नपाउञ्जेल सम्म उसलाई यो संसारमा दिदीभन्दा प्यारो कोही थिएन तर त्यसदिन उसले र उसको बाउले उसकी दिदीलाई आजदेखि हाम्रो निंती मरिस् भन्दै थुकेर तथानाम गाली गरेका थिए अझ उसले त बाउ धरधरी रोएको देखेको आवेशमा आएर दुनियाँको अगाडी पुलिस चौकीमै दिदीलाई लात्तैलात्तले हिर्काएको थियो ।

गाउँ छिमेकमा जजमानी गर्ने उसका बाउलाई उसकी दिदीले तल्लो जातको केटासँग प्रेम विवाह गरेपछि पूजा कार्यमा बोलाउन छाडे । उसको घरमा चिना हेराउनेको देखि लिएर साइत सोध्न आउनेकोसम्म ताँती हुन्थ्यो । तर त्यसदिन देखि छरछिमेकका ईष्टमित्रहरु गफगर्न समेत आउन छाडे । ठुलै चोट परेको थियो उसको बाउलाई दिदीको कारणले । रातदिन भुट्भुटिन्थे हे ईश्वर ! यो के दिन देख्नु पर्यो भन्दै । त्यही चोटले एकदिन उसका बाउ गाई गोठमा दाम्लोको पासो हालेर आत्महत्या गरेर बिते । उसको बाउ बित्दा पनि दिदीसँग बोलचाल भएन उसको । देखेको थियो उसले दिदीलाई बाउ मर्दा आएको तर पुलिस चौकीमा उसकी दिदीको प्रेमको पक्ष लिने मान्छेहरुले पनि त्यतिखेर यो जातपातको कुरो यहि मर्दापर्दा त चाहिने हो भनेर उसकी दिदीलाई परपरै पारेका थिए । बाउ मरेपछि एक्लो भएको उसले बाउ मर्नुको दोषपनि उसैकी दिदीलाई लगाएको थियो । दिदीकै कारणले बाउले अपहत्ते गरेर मरे भन्ने ठहर थियो उसको । त्यसैले उ पनि बोलेन दिदीसँग ।

' लु यहाँ समाउ त हिसिला ? यो यमराजको हड्डीलाई एक्कैतालमा फुटाउनुपर्छ अनि तिम्रो भाईलाई कसैले केहि बिगार्न सक्दैन । ' , सीमाको आवाजले झस्किएर उ बर्तमानमा झर्यो । दृश्यमा उसले सीमाले हिसिलाको हात समातेर सिलौटोमा राखेर पूजा गरिएको ओखर किच्याएको पनि देख्यो ।

' बाबा हेल्नु न दिदीले मलाई टिकी लाईदिनुभ'को । ' उसको सात वर्षको छोरो सिमरन दौडँदै उसको कोठामा पस्यो । उसको हातमा दशैंको मेलामा किनेको सानो मुरली थियो ।

' बाबा अब हामी पिङ खेल्न जाने नि ? ' पछिपछि नौ वर्षकि छोरी हिसिला पनि आईन् ।

' अहो ! मेरो छोरो त टिकी लगाएर हातमा मुरली पनि बोक्दा त कृष्णजी जस्तै पो देखिएछ त । ' उसले उठेर छोराको कपाल मुसार्दै र छोरीलाई काखमा लिँदै भन्यो , ' अब खाना खाने , भाईलाई खुवाउने अनि ममीसँग जाने है पिङ खेल्न । '

' नाईँ बाबा तपाईँसंगै जाने । मम्मीले त मलाई पिङमा हल्लाउन पनि सक्नुहुन्न । ' हिसिला अनुरोध गर्दैथिईन् ।

' कस्ले भनेर सक्दिनँ ? सुन्नुभो यस्ले त मलाई मान्छे नै गन्न छाडी ' भर्खरै फुटाएको ओखर पर कतै मिल्काएर फर्किएकि सीमाले उ तिर मुखरित हुँदै भनिन् , ' खाना खाउँ है अब । आउनुस् म पस्किन्छु । '

' हैन छोरी , आज तिम्रो बाबालाई सञ्चो छैन त्यसैले ममीसँग जाउ भनेको , बरु म बेलुकीपख बजार घुमाउन लान्छु नि मेरी ज्ञानी छोरीलाई । ' , उ छोरीलाई सम्झाउंदैथियो ।

' म पनि जाने बजाल् । ' यौटा हातले मुरली नछोडी भुईँमा खेल्दै गरेको सिमरन बोल्यो । उसको ध्यान तुरुन्तै उसले भर्खरै उनेको केतकी फूलको मालामा गयो जो उसले खाटमुनि लुकाएर राखेको थियो । उसलाई छोराले कतै खेल्दाखेल्दै पलङमुनिबाट त्यो माला त निकालिदिने हैन जस्तै लाग्यो र हत्तार 'जान्छ नि मेरो छोरो पनि म सँग बजार ' भन्दै छोरोलाई उठाएर पलङमा राख्यो ।

' बुझ्नुभो तपाईंको छोरो कि त ठुलै संगीतकार हुन्छ जस्तो छ कि त भने मेला हुँदी मुरली बजाउँदै चटक देखाउने चटके हुन्छ जस्तो छ । सुत्दा पनि छोड्दैन यो मुरली यस्ले । ' सिमरनको हातको मुरलीलाई संकेत गर्दै सीमाले भनिन् ।

' यस्तै हुन् बच्चाहरु । खाना खाउँ भनेकी हैन तिमीले ल हिँड जाउँ खाउँ अब ।' उसले हतार लगायो । उसलाई खाना खाईसकेपछि पाउन सक्ने एकान्तको ध्याउन्न थियो । खाना खाईसकेपछि हिसिला र सिमरन पिङखेल्न जाने भनेर अड्डी कस्दैथिए भने सीमा जुठोभाँडो सिध्याएर लिएर जान्छु भन्दैथिन् । उसले एकान्त प्राप्त गर्न सक्ने उपयुक्त मौका यहि हो भन्ने ठानेर भन्यो , ' लैजाउ न त पहिला । जुठोभाँडो आएर गरे नि हुन्छ । '

बाबुको पनि आड पाएपछि बच्चाहरु झनै करकर गर्नथाले पिङमा जाने भनेर त्यसैले सीमाले लिएर गइन् । जसै उसलाई एकान्त मिलेथ्यो उ आफ्नो कोठातर्फ गयो र सिह्रान मुनिबाट दिदीको तस्विर झिकेर एकपटक छातिमा टाँस्यो र आँखाभरी आँसु पार्दै एकटकले तस्विर हेर्न थाल्यो र एकाएक उ पुन अतित छिचोल्न पुग्यो ।

बाउ बितेपछि उसले सबै जायजेथा छिमेकीलाई जिम्मा लगाएर गाउँ छाडेको थियो । बहाना पढ्नलाई भएपनि उसलाई गाउँमा बस्नै उकुशमुकुश भएको थियो । गाउँ छाड्नेबेलामा कसैकसैले उसलाई ' जे भएपनि आफ्ना भनेका आफ्ना नै हुन्छन् । कम्तिमा खेतबारी त दिदी भेनालाई कमाई खान दे , कम से कम उनिहरुको पनि खाने खेल्ने ठाउँ फराकिलो हुन्छ । ' भनेका थिए तर उसले म सँग त्यसको कुरै पनि नगर्नु भनेर कसैको कुरा सुनेन ।

समय बित्दै जाँदा परिवर्तित देश र कालले उसलाई धेरै नरम बनाईसकेको थियो । अक्सर उ पश्चातापमा गल्ने गर्थ्यो । दिदीलाई गरेको ब्यावहार सम्झेर किन त्यसो गरेँ होला भन्ने हुन्थ्यो उसलाई तर फर्किएर दिदीसँग गएर माफ माग्ने आँट भने जुटाउन सकेको थिएन । गाउँ छाडेको चारपाँच वर्षै बितिसक्दा उसले पनि विहे गरिसकेको थियो । अझ दैवको लीला कहाँसम्म भयो भने गहिरो प्रेम परेर उसले विहे गरेकी केटी पनि आफु भन्दा तल्लो जातकि हो भनेर उसले विहे गर्नको लागी तयार भै सक्दा मात्र थाहा पायो । तै बरु उसकि दिदीले तल्लो जातको केटासँगै विहे गरेकी भए पनि समाजको मान्यता अनुशार पानी चल्ने नै जात थियो तर उसको त हिँजो सम्मको उसैको नजरमा पनि पानी अचल जातकी केटी परेकी थिईन् ।

के जान्नु उ ज्ञानी नै भएको थियो वा सीमाको प्रेमले धोईएको थियो उसले चुँ प्रतिक्रिया नगरी सीमालाई विहे गर्यो बरु मनमनै उसले दिदीलाई भेट्ने र माफी माग्ने अठोट भने गरेको थियो । विहे गरेकै साल तिहारमा उ दिदी भेट्न गयो र दिदीको खुट्टा समाएर माफी माग्दै भन्यो , ' मलाई माफ गरिदेउ दिदी , म अज्ञानी थिएँ त्यतीबेला त्यसैले तिमीलाई भन्नु नभन्नु भनेँ , गर्नु नगर्नु गरेँ । आँखिर अहिले मैले आफैंले पनि तल्लो जातकै केटी विहे गरेको छु । यो जात र धर्म भन्ने कुरा माया प्रेम भन्दा ठुलो हैन रहेछ भनेर बल्ल बुझेको छु । '

यतिका वर्षपछि , त्यो पनि भाईतिहारको दिन माईतिको मुख देख्न पाएकि उसकी दिदीले उसलाई ग्वाम्लाङ्ग अँगालो हालेर भनेकि थिइन् , ' तिमी फर्केर आयौ । मलाई माफी दियौ यहि नै लाख छ मेरो लागी । किन माफी माग्छौ मसंग मैले कहिल्यै तिमीलाई दोष लगाएको छैन , के को लागी माफी दिनु मैले ? ' उनको मुहारमा अब्यक्त खुशी यसरी छचल्किएको थियो मानौं दिब्य दश हजार वर्ष कठोर तपस्या गरे पश्चात कुनै मनुवाले भगवानको दर्शन पाएको होस् । उसले दिदीसँग मात्र माफी मागेन भिनाजु र भिनाजुको सबै परिवारसँग माफी माग्यो । सबैले उसलाई माफी माग्न त ठुलो छाती पो चाहिन्छ भन्दै महान भनेर तारिफ गरे । सबैको आँखा रसाएको थियो त्यसबखत ।

निक्कैबेरको भलाकुशारी पछि दिदीले पूजाको सम्पुर्ण सर्जाम तयार गरेर उसलाई टिका लगाइदिन् र केतकी फूलको माला लगाईदिँदै भनिन् , ' भाई आज यो संसारमा म जति भाग्यमानी कोही छैन होला ? मैले तिमीबाट माफी पाएँ त्यसैले आज देखि सत्य युगमा सानो झूट बोलेर गल्ति गरी अपहेलित भएको यो क्यात्तुके फूलले पनि माफी पाओस् । आज देखि यस्लाई कुकुरको घाँटीमा मात्र नलगाईदिउन् मान्छेहरुले । मान्छे मान्छे माझपनि जातपातको भेदभाव आजै देखि मेटियोस् र यो फूलले पनि आजै देखि माफी पाओस् ।'

दिदीले उसलाई घाँटीमा केतकी फूलको माला लगाइदिँदा भित्रैदेखि चिसो भएर आयो । उसलाई दिदीले कुकुरलाई झैं ब्यावहार गरेको भान पर्यो र उसले दिदीकै अगाडी माला चुँडाएर फ्याँक्दै , ' मैले तिमी भा'ठाउँ आउनु नै गल्ति गरेछु । तिमीले त मलाई कुकुरलाई झैं ब्यावहार गर्यौ । कुन मान्छेले आजसम्म यो क्यात्तुके फूलको माला लगाएको छ र मलाई लगाईदियौ ? तिमीलाई अझैपनि माईतिको ईज्जतको ख्याल रहेनछ । ' भन्दै उठेर हिंड्यो ।

त्यसको केहिदिनमा उसले उसकी दिदीले पनि बाउ माईतिको शिर ठाडो गर्न सकिँन भनेर पासो लगाई आत्महत्या गरेको खबर सुनेथ्यो । त्यसदिन देखि सँधैं सँधै तिहारको समयमा बिव्हल बन्नेगर्छ । यसरीनै एकान्तमा दिदीको तस्विर हेरेर रुने गर्छ । दिदीसँग माफी माग्ने गर्छ । आजपनि उ दिदीको तस्विर र उसले आफैं उनेर पलङमुनि लुकाएको केतकी फूलको माला लिएर उसकि छोरी हिसिलाले भाईलाई टिका लगाईदिएको स्थानमा गयो र दिदीको तस्विर अघिल्तिर राखेर आफैंले टिका लगायो । मानसिक संतुलन गुमाएर विक्षिप्त बनेको मान्छेझैं आफैले केतकी फूलको माला पनि लगाएर उ भन्दैथियो , ' दिदी , मलाई माफ गरिदेउ , म ठुलो पापी हुँ । मलाई मैले गरेको पापको सजाय छैन । मलाई किन त्यसदिन् तिमीले यो क्यात्तुके फूलको माला लगाईदिँदा मान्छे हुनुको घमण्ड आयो ? कुकुर पनि उनै ईश्वरको सिर्जना हो र यो फूल पनि उनै ईश्वरको सिर्जना हो भनेर मैले किन बुझिँन त्यसबेला ? तिमी सहि थियौ दिदी , म कुकुर नै थिएँ त्यसबेला , मान्छेहरुले चाहे यो फूललाई माफ गरुन् नगरुन् तर मैले आज आफैं यो फूलको माला लगाएको छु दिदी , तर म जस्तो नीच व्यक्ति यो फूलको मालाको पनि योग्य छैन ।'

यतिञ्जेलसम्म उ भित्रैबाट मुटुको खिल निकालेझैं अझ भनौं न क्विन्टलको भारी बिसाएझैं हलुङ्गो भै सकेको थियो । एकाएक उसलाई सीमा र छोराछोरी याद आए । ठिक यहि बेला उनिहरु आए भने के भन्ठान्छन् होला भनेर उसलाई चसक्क पर्यो र उनिहरु आउनुभन्दा अगाडी नै पूर्ववत हुनको लागी आफ्नो कोठामा जानलाई पछि फर्कियो । पछिल्तिर अघि नै कतिखेर देखि दुबै बच्चा च्यापेर आँखाभरी आँशु पार्दै सीमा मुर्तिवत खडा भएको देख्यो उसले ।

Sunday, October 26, 2008

तिहारको शुभकामना : देवकोटाको सम्झनामा एक कविताका साथ

मेरा सम्पुर्ण ब्लगर मित्रहरु लगायत मेरो ब्लगमा प्रवेश गर्नुहुने सम्पुर्ण साथीहरुमा यो तिहारको शुभ मंगल कामना !
तिहार भन्ने बित्तिकै रमाईलो लाग्छ मलाई । मनै प्रसन्न हुन्छ । दशैंले पनि त्यति उल्लास ल्याउंदैन म मा जति तिहारले ल्याउने गर्छ । यो सालको तिहारपनि दशैं झैं रित्तै नै छ मेरो र पनि तिहारको खुशी भने बेग्लै प्रकारको छ म भित्र ।
तिहारको अवसरमा गतसाल मैले हवाईबाट यौटा कविता लेखेको थिएँ देवकोटा जयन्ती मनाएको भनेर । यो साल पनि लेखौं लागेर लेखेको त छु तर यौटै विषयमा कविता लेख्दा पहिलेकै जस्तो हुने डर पो हुनेरहेछ । त्यसो त यसपालीको तिहारलाई मैले केतकी फूलको माला भन्ने कथापनि तयार गरेको छु । यसपछिको ब्लगमा पालो आउने उक्तकथा तपाइँले खसखसमा पनि पढ्न सक्नुहुन्छ । जे होस यसपाली लेखेको कवितापनि सुनाउँछु है त - यो कविताले देवकोटा जयन्तीको उपलक्ष्यमा मेरो ब्लगमा आउनुहुने साहित्य प्रेमी साथीहरुसँग मैले शतवार्षिकि देवकोटा जयन्ती ( १०० औं ) मनाएको है ।

उज्यालो यो तिहार राम्रो फूलहरुले पार्यो
झिलीमिली बत्ति सामु औँशीले नि हार्यो ।
बारी , कान्ला जताततै सयपत्री फूले जति
केतकी र मखमली पनि मुस्कुराए उति ।
दैलो , झ्याल , आँगन , गोठ लहर फूलकै माला
फूलैसरी फूलाई चेहरा रमाए लालाबाला ।
पूजित पञ्छि पशु समेत उमँगमा मस्त ति
जनले फाले मैलोकालो मनभित्र थिए जति ।
तिहारले सद्भावको मिठो पाठ छाडेर जान्छ
सँधै मनन गरे त्यसैले समाज अगाडी लान्छ ।
मनाउँ पर्व सबै स्वार्थ भन्दा माथी उठेर
डोहोर्याउँदै उन्नतीतर्फ समाजलाई जुटेर ।
कामना छ सबका हातमा बसुन् लक्ष्मी देवि
ह्रदयमा चैं बसुन् सबैका प्यारा लक्ष्मी कवि ।

Saturday, October 25, 2008

कविता : टाँगियोस् रंगीन सपना त्याँहा



आकाश खुल्दै गयो हेर
फाट्दै गए बादल घनघोर ति ।
जागे श्रमिकहरु सखारै
जुटे निर्माणमा झनजोर ति ।।

निर्माण होस् आकाश नयाँ
ति हातहरुको परिश्रमले ।
लेखियोस् विहानी नयाँ युगको
फैलियोस् उज्यालो क्रमैक्रमले ।।

विना श्रम छैन सम्भव उन्नति
पसिनालाई पुजा गरोस् लोकले ।
नरोकिउन् कर्मठ हात ठेलासरीका
क्षुधाग्नी सल्काएर पेटमा भोकले ।।

मेटियोस् कल्पना समेत तिनको
ज जस्ले बुनेका छन् झेलजालको ।
टाँगियोस् सपना तिनकै रंगीन त्याँहा
ज जस्को छ कामना नयाँ नेपालको ।।

गत साता माई संसारमा फोटो कविता लेख्ने क्रममा अधुरो लेखेर छोडेको कवितालाई आज हेर्दा पूर्ण जस्तो बनाएर ( कविता लेखाईको हदबन्दि नहुने हुनाले ) यहाँ ल्याएको छु ।

Monday, October 20, 2008

लघुकथा : एकादेशको थाल

एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले कसैको भाग खाँदैनथ्यो ।

समय क्रममा मान्छेहरुको संख्या बढ्दै गयो र मान्छेहरु स्वार्थी बन्दैगए र कसैले धेरै कसैले थोरै खान पाउन थाले । केहि बाठाटाठा मान्छेहरुले उत्पादन बराबरी भाग लगाउनुपर्ने कुरा उठाए र जिम्मेवारी लिएर बराबर भाग लगाउन थाले ।
बिस्तारै ति टाठाबाठा त्यो एकादेशका नेता भए । उनिहरुको सबैले सुन्न थाले । उनिहरुले बोलेको साँचो र सर्वमान्य हुन थालेपछि उनिहरु उत्पादनमा भ्रष्टाचार गर्न थाले र आफु , आफ्नो परिवार र आफन्तको भाग ठुलो लगाउन थाले ।
यो रहस्य खुल्दै गएपछि अर्काथरी मान्छेहरु अगाडी सरे । उनिहरुले उत्पादनको अनुपातमा जनसँख्या निक्कै बढिसकेको ठहर गरेर वैज्ञानिक ढँगले समान अनुपातमा उत्पादन उपभोग गर्न गराउनको लागी सबैले आ आफ्नो थाल बुझाएर बटुको बुझ्नुपर्ने नियम लागु गरे ।

कसैले धेरै उपभोग गरिरहेको , कसैले थोरै मात्र उपभोग गरिरहेको र कोही भोकभोकै परिरहेको अवस्थामा सबैलाई समान अनुपातमा उत्पादन वितरण हुने कुरामा ढुक्क भएर सबैले आ आफ्नो थाल बुझाएर सानो सानो बटुको लिएर आए ।
समान अनुपातमा उत्पादन वितरण गरिसके पश्चात यो प्रणाली वैज्ञानिक छ कि छैन भनेर नियम लागु गर्नेहरुले सर्भे गराए र वैज्ञानिक रहेको तथ्य निक्लिएपछि पहिले सबैले बुझाएका थालहरु मध्येमा ठुला ठुला र राम्रा राम्रा थालहरु नियम बनाउनेहरुका घर परिवार र आफन्त कहाँ खुसुक्क खुसुक्क पुर्याउन थाले ।

Tuesday, October 14, 2008

कविता : बुद्ध बोल्दैछ



सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैंले
आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई
दौडिरहेछन् तँलाई भेट्न
म सम्झन्छु त्यो दिन अझै
भनेको थिएँ मैले
'प्राणीहरु माझ रहने
प्रेम नै एक मात्र धर्म हो । '
चाहन्थेँ म
ननाघुन् मान्छेहरु मान्छेलाई
लुकाएर प्रेम छातिभित्र
म सम्झन्छु त्यो दिन अझै
सुनेर मान्छेहरुले मलाई
उडाएका थिए परेवा शान्तीको
यत्र तत्र आकाशमा
सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैँले
जो मैले तोड्न सकिनछु
र पत्थर बनेर
तेरै दलिनमा खडा छु आज
म सम्झन्छु त्यो दिन अझै
मान्छेहरुलाई मैले
मान्छेहरुकै अर्चना गर्दै
मान्छे बनेर बाँच्नु भनेथेँ
तर मान्छेहरुले
चोक चोकमा ठड्याएर मेरै मुर्ति
भन्न थाले , 'उ त ईश्वर हो ।'
सुन् ए , ईश्वर !
सकिनँ मैले कसैगरी
मान्छेहरुको यो भ्रम तोड्न
तोडिदे यो भ्रम तैँले नै आज
म चाहन्न
फेरी मान्छेहरु कुनै चोकमा
मुर्ति बनेर ठडिउन् ।

यो फोटो कविता माई संसारकै शनिबार साहित्य अन्तर्गत राखिने फोटो कवितामाथी लेखेको हुँ । अघिल्लो साता देखि माई संसारको फोटो माथी खुल्ला कविता लेखन प्रक्रियाले प्रतियोगिताको रुप धारण गरेको छ र अघिल्लो साता मेरो कविता नै उत्कृष्ट घोषणा भएको थियो । तर यसपटक भने मैले अप्रतियोगि कविता लेखेको हुँ ।

Monday, October 13, 2008

दशैंले छाडेको शुन्यता मेटिएपछि

दशैं आयो र गयो । आँखिर समय न हो , कहाँ स्थिर रहन्छ र समय ?

आउँदै गरेको दशैंले मनमा निक्कै हर्ष , उल्लास ल्याउँदैथियो तर दशैं उस्तरी हर्षमा बितेन यो साल । मैले दशैंकै अवधीमा लेखेका केहि कविताहरु यसको प्रमाण बनेर बसेका छन तर दशैंकै बेला माई संसारमा लेखेको दशैंको भेडा , भगवान र म मान्छे भन्ने कविताले पहिलो पटक माई संसारमा प्रतियोगिता जितेको कुराले भने मेरो दशैंको सम्पुर्ण निस्तोपनामा चटक्क मरमसला हालेर दशैं गजबको स्वादिलो बनाईदियो अपितु त्याँहा मा गोले दाई छु । यो यौटा अप्ठ्यारो - मलाई गोले दाई नहुन मन पट्टक्कै लाग्दैन ; हुनै मजा लाग्छ । किन म गोले दाई भएँ ? गोले दाई नहुँदा के फरक पर्छ भनेर त म सोच्नै सक्दिन । गोले दाई मलाई नै प्यारो लाग्छ । आदरणिय लाग्छ । भनेपछि कुरै सकियो - म त्याँहा गोले दाई नै रहनेछु । माई संसारमा र मेरो ब्लगमा पनि बराबर पस्नुहुने सबैलाई यहाँ जानकारी रहोस भन्नाका खातिर यति कुरा उक्कियो यहाँ ।

दशैं बितेपछिका दिन न्यास्रो भएर बितिरहेको छ । अनौठो शुन्यताले ढपक्कै ढाकेको छ मनलाई । लेख्दै गरेका कुराहरु अधुरै छन नयाँ केहि लेख्ने मेसो आएकै छैन । अचम्मसँग मेरो मन भर्खरै कन्यादान गरेर छोरी बिदाई गरेको घर आँगन जस्तै शुन्य शुन्य बनेको छ । मैले एकजना साथीलाई पनि यो कुरा बाँडेको थिएँ तर साथी जिन्दगीमा झुक्किएर पनि निराश नहुने खालको भएपछि कुरा उठ्यो मात्रै विमर्श भएन ।
' त्यसो त यसमा विमर्श हुनु पर्ने नै के थियो र ? ' , प्रश्न पनि छ ।
' जीवनका यस्तै न्युन न्युन लाग्ने झिना मसिना कुरामा विमर्श गरे त जीवनको गहिराईमा लुकेका रहस्यहरु फेला पर्छन ।' , यौटा मान्यता पनि छ । खैर छाडौं एक्लै खोज्दा जीवन सागरमा मोती भेटिएछ भने देखाउँला साथीलाई लौ यो मोती त यसरी पो लुक्दोरहेछ सिपी किरा भित्र भनेर । अहिले सिपीकै खोल देख्दै अचम्म मानुँ क्यार हैन गाँठे कस्तो बटुको जस्तो रहेछ भन्दै ।

दशैंको बेला गाउँको मेलापातको झझल्को कस्लाई नआउला र ? मलाई त रँगपूर मेला , सिँगीमारी मेला , ढ्याङ्ग्री मेला , सोलमारी मेला सबै सबै याद आयो । गौरादहको मेला त झन कसरी भुल्नु गाँठे ? धानखेतको आली आलीको बाटो दशैंको असरले आधा नयाँ र नियतिको असरले आधा पुरानै गोजीमा चानचुन पैसा उम्लिँदै मेला पुगेर झालमुरी र तात्तातो जिलेबी खाँदाको मज्जाले एकसुरे बनाईरहयो यो दशैंको अवधीभरी मलाई । मेलापातकै कुरामा पनि गफ अधुरै भएको थियो मेरो साथीसँग । हैन साँच्चै यो मेलापात कसरी भनियो होला ? मलाई पहिले देखि नै खुल्दुली हुन्थ्यो । को सँग यो खुल्दुली मेट्ने झैं लागीरहेको पनि थियो । कुरै कुरामा एकजना साथीले मेलापात गर्नु छ भन्दा मैले झ्वाट्ट त्यहि कुरा सम्झिएर भनेको थिएँ मेलापात होला र त्याँहा ? मेला कागज होला नि कि त मेला प्लाष्टिक होला । मैले जोड गरेर कुरा अगाडी बढाउन सकिनं र कुरा चम्मचले उठाउन खोजेको थुक्पाझैं डबकोमै झर्यो र बाँकी रहयो । मेरो जिज्ञासापनि उस्तो धेरै त कहाँ थियो र ? उहिले उहिले ( यदाकदा अहिले पनि ) मेलामा गाउँलेहरुले तुलफूल बेच्न लाँदा पातमा राखेर बेच्ने हुनाले अनि मेला भर्नेले पनि पातमा राखेर बेचेको कुरा किन्ने हुनाले मेलापात भनिएको हो क्यार जस्तो लाग्थ्यो मलाई । धेरैकुराहरु यसरी नै हो जस्तो लाग्छ मलाई र हैन कि के हो जस्तो पनि लाग्छ । मेलापात किन भनियो त ? भन्ने कुरामा चैं यहि हुन सक्ने मेरो अनुमान छ । जे होस साथीसँग गर्न चाहेर पनि गर्न नपाएको कुरा एक्लै गरें अहिले तर तपाईँ साथीहरुसँगै गरेको हुँ भन्नेमा ढुक्क छु ।

आज पाँचदिन भएछ ब्लगमा नलेखेको । किन यो शुन्यताले यतिलामो असर गर्यो म छक्क छु । मेरो मात्र हैन अरु साथीहरुको पनि ब्लग उस्तै हालतमा रहेको पाएँ । हामी दशैं तिहारको बिदा एकमुष्ट मनाउन बानी परेको असर त हैन ? हुनपनि सक्छ । त्यसैपनि लामो लामो र धेरै बिदा मनाउन हामीलाई कस्ले भेट्छ र ? मुग्लानमा दैनिक काम गर्नुपर्ने कुराको त के हिसाब राखेर साध्य तर यसरी लेखेर विचारहरु , भावनाहरु साटासाट गर्न थालेपछि भने मलाई अलि अन्तराल बन्यो भने औडाहा हुन्छ , म किन लेखिरहेको छैन आजभोली भनेर ।

मलाई त आएर गएको दशैंले रित्तो रित्तो बनाएझैं महसुस भएको हो र मनै रित्तो भएपछि के लाग्छ र भन्ने जवाफ आफैंलाई आफ्नै ओठमा राखेर आज आएँ ब्लगमा झुल्किँन तर अरुसाथीहरु पनि नफर्किनु भएको देख्दा लाग्दैछ के दशैंले नै उपहार छाडेको हो त यो शुन्यता ?

हुनत रमाईलो तिहार उ त्यहीँ नजिकै भएकोले बारीको डिलभरी फूलेका सयपत्री र मखमलीतिर आँखा फ्याँक्दै समय बितेको पनि पत्तो कहाँ हुन्छ र ?

Wednesday, October 08, 2008

कविता : झरी थामिएकै छैन

कस्ले गन्यो यो समयलाई गणितमा ?
घडी घडी, पला पला
दिन , हफ्ता , महिना , वर्ष
र गाह्रो भयो आज काट्न यो समय
फगत अँध्यारो सिङ्गै युग झैं ।
झ्याल बाहिर दृश्यमा पर
द्रुतगतिमा रेल आएर गएझैं
खुशी किन मनपरी खेल्छ जिन्दगीमा ?
मन खोलेर एक खित्का हाँस्न नभ्याई
त्यही मन किन तरक्क आँसु चुहाउँछ ?
घाम कहिल्यै नलागेको भए
बादल र झरीको चिन्ता
के हुन्थ्यो होला र जिन्दगीमा ?
झरी कहिल्यै नपरेको भए नि
घामको पिर आँखामा
बोक्नेथियो र जिन्दगीले ?
पटक पटक सोधें मैले
कस्ले गन्यो यो समयलाई गणितमा ?
र म अलपत्र हराएं सडकमा
मात्रै मन गुडीरहयो
सलल मोटरगाडीहरु झैं ।
उखेलेर मयुर पङ्खहरु
बाट्बाटै छर्दै हिंड्न मन लागेको छ आज
जसो मन लाग्यो नाचेर
आफ्नै ताण्डव हेर्न मन लागेको छ आज
आँखिर नियम केहि नै त छैन रहेछ जिन्दगीको
खालीखाली हुनलाई चउरमा
डङ्ग्रङ्ग उत्तानो लडेर
खुल्ला आकाश हेर्दा पनि
किन झिलिमिली ताराहरुसंग
उज्यालो चन्द्रमा आउने गर्छ मनमश्तिष्क भरी ?
यो विधी प्रश्नहरुको घुँएत्रो हानि
आफैंलाई पर कतै खसाल्न मन लागेको छ आज
फेरी आफुले कहिल्यै नभेट्ने गरेर
बेतालकै ढुँगाहरुको तिन चम्को बनाई
आगो बालेर आफैंलाई बसाल्न मन लागेको छ आज
फेरी आफु कहिल्यै नकचल्टिने गरेर
कोसौंकोस राजमार्ग भत्किएर
यौटै मन वारीपारी खण्ड खण्ड छुट्टिंदा
आँखिर पानीकै असर भनेको छु मैले
चाहे त्यो आकाशबाट मुशलधारे बर्षिएको होस्
या बर्षिएको होस् अविरल आँखाबाट
राजमार्ग त ठप्पै छ
म अवरुद्ध छु पारी नै
र झरी थामिएकै छैन ।

Tuesday, October 07, 2008

तिन कविताहरु

यसपटक एकैदिन लगातार लेखेका तिनवटा कविताहरु ल्याएको छु । एउटा एउटा हुँदा त पोष्टको शिर्षकमै कविताको शिर्षक पनि लेख्थें , यो पाली लामो हुने भएर लेखिंन । ब्लगमा ल्याउनु भनेको तपाईंहरुलाई सुनाउन नै ल्याएको हो तर लेख्न चैं अरुनै कसैलाई सुनाउँ भनेर लेखेको हुँ ।

१ एउटा टुक्रा कागज

एउटा टुक्रा कागज
धेरै अघिदेखि म
कोर्दै मेट्दै कोर्दै मेट्दै
थोत्रे पारिरहेथेँ
गज्याँङ्ग मज्याँङ्ग अक्षरहरुको
केरमेट केरमेट चित्र कोर्दै
कागजमा खुरुखुरु
मैलाई सारिरहेथें
लाग्थ्यो
मान्छेले यस्लाई बुझ्न नसक्लान्
त्यसैले हो क्यार
हुर्याईदियौ तिमीले
त्यो चिर्कटो पढ्न नसकेर
र भुईँमा म यतिखेर
त्यही टुक्रा कागज दुखेको छु

२ हेर यस्तै छु म


तिन्ले भने -
सालिग्राम जिउँन सक्छु रे म
खँदिलो भएर सिङ्गै युग
ए साथी !
साह्रै हलुङ्गो पो छु म त
सिमलको भुवा झैं
प्रत्येक बैशाखे बतासमा उड्दछु म
र उम्रिन्छु धर्तीभरी
विरुवा आशाको हुर्किएर
अर्कोसाल फेरी उड्नलाई ।

तिनले भने -
सतिसाल उभिन सक्छु रे म
ठिङ्ग भएर यौटा युग
ए साथी !
साह्रै कफलो पो छु म त
कदमको बोट झैं
प्रत्येक जेठको हुरीमा भाँचिन्छु म
र पलाउँछु सालभरी
ठुल्ठुला आशाको पात हालेर
अर्कोसाल फेरी भाँच्चिनलाई ।

तिन्ले भने -
हिमनदी हिंड्न सक्छु रे म
शान्त भएर यौटा जुनी
ए साथी !
साह्रै अधैर्य पो छु म त
खहरेको बाढि झैं
प्रत्येक असारे भेलमा उर्लिन्छु म
र बिलाउँछु सागरभरी
बाफिँदै आशाको बादल बनेर
अर्कोसाल फेरी उर्लिनलाई ।

अब बुझाईरहनु नपर्ला
बाह्रै महिनाको हिसाब तिमिलाई मैले
कुन पत्थरले बनेको देव ठान्यौ कुन्नि
मान्छे हुनुको प्रमाण जुटाउन सकिंन
म दुखेँ तर रुन जानिँन
म फूलेँ तर हाँस्न सकिँन
हेर यस्तै छु म
न तिन्ले भनेको जस्तो
न तिमीले ठानेको जस्तो
अझै तर मान्छे बाँचेको छु
तिमीले म भित्र देखेको
भगवानको भ्रम तोड्नलाई ।

३ भोली आउन बाँकी रहिरहयो

अचानक आज खस्यो
मनको ऐना
ठिक बिचमा हामी दुईको
तिमीले थाम्दा थाम्दै
मैले थाम्दा थाम्दै
त्यो क्षण आकाश खसेन
त्यो क्षण धर्ती फाटेन
प्रकृति बगिरहिन
आफ्नै समय बेगमा
सलल सलल
र त्यो समय हिँजो भईरहयो ।

छरिएर भुईँभरी
फुटेको ऐनामा असंख्य
मैले तिमीलाई देखेँ
छरिएर भुईँभरी
फुटेको ऐनामा असँख्य
तिमीले मलाई देख्यौ
आकृति सँख्यामा
गुणात्मक बढ्यो
तर मन फुटेकै ठहरियो

मौनता उनिरहेछु
मेरै रित्तो मनमा
तिखो झिरले घोचेर
तिमी
मौनता उनिहेछौ
तिम्रै रित्तो मनमा
तिखो झिरले घोचेर
र त्यो समय हिँजो भईरहयो ।

आँखाहरु
एकै पटक रसाए
झर्न खोजे आँसुहरु
बाँध नाघेर परेलीको
तप्प ! तप्प !
तिमीले
थाप्यौ हत्केला
आँशुको यात्रा अधुरै रहयो
मैले
थापेँ हत्केला
आँसुको यात्रा अधुरै रहयो
यसकारण
सायद भोली
रुन बाँकी छ अझै
तर भोली आउन बाँकी रहिरहयो ।

Monday, October 06, 2008

कविता : दशैंको भेडा , भगवान र म मान्छे / साथमा तिन हाईकुहरु


सँधै सँधै
आँखामा
मृत्युको त्रासदी बोकेर
निरिह भेडाहरु
मेरो टोलसम्म आईपुगे
चुपचाप चुपचाप
गर्धनमा खुकुरीको छप्को महसुस गर्दै
अज्ञानी भेडा
मेरो आँगनसम्म आईपुगे
बोलेनन
उनिहरु एक शब्द बिद्रोहको
लेखेन
उसले कविता आफ्नै मृत्युको
मैले
आँगनमा भगवान डाकेँ
शक्तिको पूजा गर्दैछु भनेर
भेडा
पर्सिएँ भगवानकै मुखेञ्जी
भेडाझैं
भगवान वाल्ल परिरहे
टोलाएर
उत्तर आधुनिक समयमा
भगवानको
बोली ठ्याप्पै हराईसकेर
विचलित विचलित
भगवान डराए म मान्छेदेखि
टुल्टुल्ती
हेरिमात्रै रहे
भगवान सामु
जब मैले खुँडा उठाएं
भेडा भगवान भएर बोल्यो ,
'हे ! मनुश्य
तिमी आफ्ना सामर्थ्यले
भगवानलाई
वशमा पार्न सक्छौ
तर म
आज मुक्त हुँदैछु
तिमी मान्छेहरुको कु-कृत्यबाट
आईन्दा म
मान्छेहरुबाट पशु भनिन्न
तर तिमी पशुहरु
सँधै मान्छे नै रहनेछौ
खुँडा चल्यो
भगवानलाई मैले
रगतको लोभ देखाएँ
भगवानले तर
मेरो लोभ देखे
र रगतको एक एक सिर्का
मेरै लागी छाडेर
भगवान लुरुलुरु फर्किए
मेरो टोलसम्म ल्याईएको भेडा झैं
मेरो आँगनसम्म घिच्याईएको भेडा झैं
चुपचाप चुपचाप
र म मान्छे
भगवानको पर्वाह नगरी
दशैंमा ब्यस्त भएं ।


_____ तिन हाईकुहरु ______


अष्टमीको भेडोले
मुसुक्क हाँसेर
दशैं मनाएछ ।


----


पानी उमालेर
भगवान सम्झिएछन भक्तहरुले
भेडा खुईल्याउँदै ।


-----


सिङ्गको हतियार
गर्दन छेकिएन
भेडाको जुनी ।


अघिल्लो पटक शनिबार साहित्य अन्तर्गत माई संसारमा राखिने फोटोमाथी कविता लेख्न नसकेर यौटा हाईकु लेखेको थिएँ तर यो पटक भने यौटा कविता मात्रै हैन तिन वटा हाईकु पनि लेखें र यतापनि तपाईंहरुलाई सुनाउन ल्याएको नि ।

Sunday, October 05, 2008

म हाँसेको कुरा - भाग १

एकताका , मिति पत्ता लगाउनलाई ब्लगका पुराना पेज पल्टाउन धरी अल्छि लागेर है एकताकाको भर लिएको , मैले ब्लगमा म रोएको कुरा लेखेको थिएँ र त्यसैबेला मैले म हाँसेको कुरा पनि लेख्छु भनेको थिएँ । आज धेरैपछि म हाँसेको कुरा लेख्ने भूत सवार भएको छ । उसबेला मैले लेख्न शुरुपनि गरेको थिएँ र हाँसेको कुरा लेख्दा मैले कुटीकि कैलाशलाई केटा भन्ठानेर हाँसेको कुराबाट शुरु गरेको थिएँ । यहाँ कैलाशजी संग पहिल्यै माफी मागुँ है - मैले जस्तो लागेको थियो त्यस्तै लेख्ने जमर्को मात्र गरेको हुँ यसलाई अन्यथा पक्कै लिनुहुन्न ।

त्यसबेला म भर्खर भर्खर कुटीमा प्रवेश गर्ने गर्थें , कुटीमा मिहिनेती आलुको बारेमा आक्कुई भन्ने रमाईलो थेगोका साथ लेखिएको थियो । कुटीको एकापट्टी सानो झ्यालमा कैलाशजीको उहि क्या त पृष्ठभुमीमा सुर्यास्त हो कि सुर्योदय ( छुट्याउन नसकेर ) सहितको कुनै त्यागीले झैं मधुर मुस्कुराईरहेको तस्विर पनि नभएको हैन तर मैले त्यसबेला तस्विरलाई गहिरिएर नै हेरेनछु र कैलाश राईलाई यौटा भोजपुरे ठिटो भन्ने ठानेछु । अलिपछि Happy Ganatantra को एस एम एस , तस्विर सहितको , पोष्टमा कैलाश राई त भोजपुरे ठिटो हैन भोजपुरे ठिटी हो भन्ने थाहा पाएको थिएँ र म एक्लै हाँसेको थिएँ । यो लेखाईको ( लेख नै पनि नभनुँ क्यारे यसलाई ) शिर्षक नै म हाँसेको कुरा लेखिएको छ भनेर तपाई पनि मेरो कुराले हाँस्नै पर्छ भन्ने चैं छैन । अगाडी लेख्न खोजेका घट्ना वयानहरु कतिले मलाई तत्काल हँसाएका थिए भने कतिले पछि सम्झँदा आनन्द लाग्दै हाँसेको थिएँ तर यो लेखाई म रोएको कुरा पढ्नुहुनेलाई म हाँस्न पनि सक्छु है भन्ने यौटा प्रमाण भने पक्कै हो । आउनुस् कुरा आफैंबाट शुरु गरुँ -

उस्तो साह्रै छुक्छुके त म थिईनँ सानो हुँदा तर एकदिन म एक्लै आफ्नै खेतमा भएको गायोको रुखमा चढेको थिएँ , सानोमा हामी दाजुभाई कहिल्यै छुट्टिदैनथ्यौं तर त्यो दिन म खै कसरी एक्लै थिएँ । गायोको रुखमा माथी टुप्पातिर यौटा चराको गुँड देखेँ । त्यतिबेला रुखमा गुँड हेरेर नै के चराको गुँड हो भन्ने पत्तो पाउने भै सकेको थिएँ म । त्यो रुप्पीको गुँड थियो , रुप्पीलाई पश्चिम तिर डाङ्ग्रे चरो पनि भनिदोँ रहेछ । मलाई त्यो रुप्पीको गुँडमा के छ हेर्ने झोँक चल्यो । रुप्पीको गुँडमा बचेरा हुँदा सर्पले पसेर बचेरा खाई डकार्दै बसेको पनि देखेको हुनाले , सर्पको डर मान्दै मान्दै म रुप्पीको गुँडसम्म पुगें । निक्कै झ्यासपराल भेला गरेर सानो सानो घैला जस्तै बनाएको हुन्छ रुप्पीले गुँड । घैलाकै जस्तो सानो मुख राखेको हुन्छ पस्ने दैलो चाँही । गुँडको माथीबाट भित्र हेरें । अँध्यारो भएर केहि देखिन । त्यसबेला सम्म पनि मलाई सर्प पो छ कि भनेर डर लागी नै रहेको थियो त्यसैले अलि सतर्क भएर गुँडलाई हल्लाईहेरें र सर्प भए त निस्कनुपर्ने हो पक्कै छैन भनेर हात हालें । सर्प थिएन गुँडमा बरु दुईवटा रुप्पीका डिम्मा ( डिम्बा ) , अण्डा रहेछन । एक पटकमा आठ नौ वटा सम्म अण्डा पार्छन जस्तो लाग्छ मलाई रुप्पीले , रुप्पीको अध्ययननै त गरेको छैन तर बढिमा नौ भन्दा अण्डा पार्ला जस्तो लाग्दैन र रुप्पीले सात आठ वटा सम्म बच्चा कोरलेको देखेको छु मैले । गुँडबाट रुप्पीको अण्डा हातमा झिकेर हेरें । निलो निलो परेको हिउँदको आकाशजस्तै रंङको रुप्पीको डिम्मा हेर्दै लोभ जाग्यो मलाई । घर लान्छु र गुण्डा ( धानको भुस ) मा हालेर रुप्पीको बच्चा निकाल्छु र पाल्छु भन्ने कल्पना गर्न थालें म । रुप्पीको बच्चा आँखा नउघ्रिँदै देखि पाल्यो भने त्यसले गुहु ( मान्छेको विष्टा ) खाँदैन र सुगा मैनाले झैं बोल्छ भन्ने सुनाउनुहुन्थ्यो हजुरआमाले । हजुरआमालाई सुगा पाल्ने सोख पनि थियो त्यसैले रुप्पीको डिम्मा ल्याएँ अब यसको बच्चा निकाल्नु पर्छ भनेर हजुर आमालाई सुनाएँ भने म त पुरस्कारै पाउँछु भन्ने पनि लाग्यो । रुप्पीको डिम्मा घर लाने टुँगो त गरें तर लिएर कसरी रुख ओर्लिने भन्ने ठुलै चिन्ता पर्यो मलाई । हातमै बोकेर झर्नपनि हातले रुख समाएर सुल्किँदै झर्नुपर्ने , गोजीमा हालौं भने पनि मैले लगाएको गन्जीमा गोजी थिएन , हापिन ( हाफ पाईण्ट ) मा भने अगाडीतिर टाँसुवा गोजी थियो , जिन्स पाईन्टको जस्तो र माथीबाटै झारुँ भने पनि फुटीहाल्ला ।

अनेक उपाय पछि मुखमा रुप्पीको डिम्मा हालेर झर्ने निधो गरेँ र दुईबटै डिम्मालाई मुखभित्र दुईपट्टी गालामा राखेर झर्न थालें । रुप्पीको डिम्माको आकार खोस्टा झिकेको सुपारी जस्तै हुने हुँदा मुखमा सहजै बस्यो । रुख ओर्लंदै गर्दा मेरो ध्यान मुखको डिम्मामै थियो कतै फुट्ने हो कि भनेर निक्कै होसियारी अपनाउंदै थिएँ म तर आधा रुख झर्न नपाउँदै मुखभित्र दुबै डिम्मा एकै साथ फुट्यो र त्यो डिम्माको झोल दुई घुट्की जति सुलुक्कै निलेँ मैले । रुप्पीले ओथारो बसिसकेर बच्चा हुर्काईवरी खोल्लिएको( बिग्रिएको ) हुँदा गुँडमा रहेको परेछ दुईवटै डिम्मा । त्यसको दुर्गन्धको मैले अहिले बयान गरेर कहाँ सक्नु ? जसै दुई घुट्को डिम्माको रस निलेको थिएँ मैले त त्यो हफ्ताभरी खाएको अन्नपानी सबै छादेँ रुखमाथीबाटै र तिनचार दिनसम्म केहि खान पनि सकिनं । अझैपनि जेसुकैको डिम्मा ( अण्डा ) देखें भने मलाई त्यो घट्ना याद आउँछ र केहिको पनि डिम्मा नखाउँ झैं लाग्छ तर खान चैं खान्छु है कुखुरीको डिम्मा त्यो घट्ना सम्झेर हाँस्दै ।

एकजना बिष्टबा छन , अझै छन हाम्रो गाउँमा । हामी केटाहरु मात्र हैन बुढापाकाहरु पनि उनको घरमा भेला भएर गफिएर बस्ने चलन थियो । आँगनमा विष्टबा सँधै चोयाको काम गरिरहन्थे । डोका , भकारी , चोया , बाता बनाएर बेच्दै उनि खेतिपाती बाहेकको आम्दानी पनि गर्थे र पनि दुख दुखै थियो विष्टबालाई । एकदिन हामी सबै उनकै आँगनमा बसेर गफ गर्दै थियौं । बुढा आफ्नै धान्धान धुन्धुनमा थिए । त्यसैबेला उनको कान्छो छोरा आएर बाउसंग पैसा माग्न थाल्यो । स्कुल हिंड्न लागेको छोरोले डटपेन कपि त्यस्तै केहि किन्नलाई पैसा मागेको थियो सायद तर बुढाहरु त्यस्तै त हो अघिल्लो पटक कहिले त्यो कामको लागी पैसा दिएको थिएँ भनेर हिसाब राखिराखेका हुन्छन । बिष्टबा पैसा छैन तँलाई कहाँबाट ल्याउनु पैसा भन्दैथिए । उनको छोरो चैं चाहिन्छ कि चाहिन्छ भनेर जिद्दी झिक्दै थियो । सिकुवाको छानो अड्याउन गाडिएको हाम्रो नलिखुट्टा जत्रै टेकोमा अढेसा लागेर छोरो पैसा माग्दै बाउलाई जिस्काउँदै थियो । बुढालाई रिस उठेछ छोरो देखि , ' छैन भने पछि छैन छैन । हैन कति सताउंछ यो डाँकाले मलाई ? ठहरै पारिदिन्छु है ऐले यस्लाई म । ' यस्तै केहि भन्दै बुढा हात मुड्की पारेर छोरालाई हिर्काएरै खेदाउन जाईलागे । सानो टेकोमा अढेसा लागेको छोरो लुस्सुक्कै अर्कोतिर लाग्यो । निक्कै तोडले छोरालाई हिर्काउन गएका बुढाको हात भने त्यो टेकोमा परेर ठनक्कै भाँचियो । भयो अब ? बुढा थुचुक्कै बसे भुईँमा । बाउको हात भाँचियो भन्ने पत्तो पाएपछि छोरो कता चम्पट ठोक्यो कता । हात भाँचिएको रन्कोमा परेका बुढालाई भने अस्पतालतिर कुदाईयो । पछिसम्म ' हैन कस्तो तोडले हानेका त बा छोरालाई ? छोरालाई लागेको भए त भुत्तुक्कै मर्ने रहेछ नि ? ' भन्दै हाँस्थ्यौ हामी ।

त्यस्तै एकदिन एकजना साथीको बिहेमा जन्ति गएका थियौं । झापाको गौरादहबाट सुनसरीको इटहरी देखि उत्तरतिर निक्कै माथी गएर फेरी पश्चिम तर्फ गएका थियौं त्यो गाउँलाई के भनिन्थ्यो भन्ने चैं विर्षिसकेछु । जे होस दुर्गम भन्न नमिले पनि निक्कै भित्र थियो त्यो गाउँ । कच्चिबाटोले पुर्याउने । बेहुलीको घरमा पुगिसकेपछि हामी बेहुला पट्टीकालाई केहि चाहिने भयो , के चाहिएको थियो ठ्याक्कै सम्झन सकिंन यतिखेर तर कुनै सानो कुरा चाहिएको थियो । हामीले यौटा जीप लगेका थियौं उक्त बिहेमा र जन्तिपनि थोरै थियौं । पहिले उक्त सामान किन्न जीप लिएर जाने कुराभयो तर जीपवालाले मानेन । यो कच्चिबाटोमा ओहोरदोहोर गर्दिंन भन्न थाल्यो । त्यसपछि बेहुलीपट्टीकै कसैको साईकल मागेर जाने कुरा भयो । पहिले त सबैले मलाई साईकलमा गएर उक्त कुरा किनेर ल्याउन भन्दैथिए तर पछि एकजना दाईलाई पठाईयो । धुलेबाटोमा साईकल चढेर ३ किलोमिटर भन्दा ज्यादा गएपछि मात्र उक्त सामान किन्न पाईने पसलमा पुगिन्थ्यो । गणेशदाई गए साईकल लिएर । यता बिहेको प्रक्रिया चलिरहेको थियो । मेरो हातमा बिहेको फोटोहरु खिच्न यौटा क्यामेरा थमाईएको भएपनि म त्यति फोटोहरु खिचिरहेको थिईनँ बरु बिहेघरबाट बाहिरिएर बाटोमा गफिंदै बसेका थियौं हामी केहि केटाहरु । हामी बाटोमै बसेको बेला गणेशदाई सामान लिएर आईपुगे । चर्को घाम लागेको दिन परेको थियो त्यो दिन । साईकलबाट फर्किएका गणेशदाई भने भोटमै पुगेर नुन लिएर आए झैं खल्खल्ती पसिना काढेका र सासै निस्किएला झैं गरी स्वाँ स्वाँ गर्दैथिए । सामान्यतया साईकलमा त्यती हिंड्दा त्यस्तो नहुनु पर्ने हो भन्ने अनुमानले मैले सोधें , ' दाई के भयो ? किन यस्तो स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्नुभएको ? '

'खै के भो के भो यो साईकललाई । जाँदा त यस्तो थे'न आउँदा त मारिगयो नि यसले मलाई , कुद्दै कुद्दैन पटक्कै । बल्ल बल्ल आईपुगें नि । ' दाईले साईकलले सास्ती दिएको बयान दिए ।

' हो र ? ' भन्दै मैले यसो साईकलतिर नजर लगाएको त सिधा ह्याण्डल भएको हिरो रेन्जर साईकलको ह्याण्डल फनक्कै घुमेर अगाडीको पाङ्ग्रा नै उल्टो भएको रहेछ र दाईले त्यस्तै ३ किलोमिटर कुदाएर ल्याएछन । दाईको दुख पत्तो पाएपछि ' अनि यो साईकलको घण्टी यता हुनुपर्ने यता परेको पनि थाहा पाउनु भएन त ?' भनेर सोधें मैले । हामी त्यसरी साईकल चलाएको थाहा पाउनेसाथै देखि हाँस्न थालिसकेका थियौं अझ पछि गणेश दाईले , ' ए ! म त यो के खालको साईकल र'छ ? घण्टीपनि उल्टो हुँदो र'छ , कसरी बजाउने होला ? पो भन्दैथें ' भन्दा त झन पेट मिचिमिचि हाँसेका थियौं ।

( ब्लगमा हाँसेको कुराहरु सबै एकैठाउँ राख्दा त लामो भएर आफैंलाई दिक्क हुने रहेछ त्यसैले आफ्नो जीवनको विर्षन नसकिने क्षणहरुलाई यसरी नै भाग भाग गर्दै उन्दै जाने विचार गरेको छु । )

Thursday, October 02, 2008

दशैंको शुभकामना !


बडा दशैं २०६५ को हार्दिक मंगलमय शुभ कामना !

औपचारिक रुपमा आफ्नो ब्लगमा दशैंको शुभकामना लेखेर राख्छु भन्दाभन्दै दशैं भित्रिएको नि निक्कै भै सक्यो त्यसैले आज बसेको छु आफ्नो ब्लग मार्फत बडा दशैको शुभकामना लिएर । त्यसो त दशैंको रमझमले छोएको घरघरै पस्दा दशैंको शुभकामनाको लेनदेन नै नभएको त हैन ; घरघरै भनेर चैं नियमित आउजाउ हुने ब्लगलाई भन्न खोजेको है । हिँजो मात्रै उता नेपाली गजल ग्रुपमा दशैंको शुभकामना भन्न जाँदा खाली हात के जानु भनेर कोशेलीमा यौटा 'दशैं गजल' बोकेर गएको थिएँ । यस्तो कोशेलीको मज्जै बेग्लै त्यही कोशेलीले यता पनि काम चल्ने त्यसैले यो ब्लगमा भेटहुन आउनुहुने साथीहरुमा पनि यो 'दशैं गजल' कोशेली है -

न छेक्न सकियो न थुन्न लौ हेर बडा दशैँ आयो ।
घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैँ आयो ।

नहुने सँधै रित्ता छन उधारो खुशी हो दुखिको ,
हुनेकै त छ ठाँट् र बाँट् गज्जब तगडा दशैं आयो ।

शिकारको जोहो , दक्षिणा , पाहुनापासा , ज्वाँईचेला,
पुर्याउनु टार्नुकै छ धौ कस्तो लफडा दशैं आयो ।

राजधानी छट्पटीएकै छ काकाकुल् प्यास बोकेर ,
पहाडमा पनि त तिर्खा खप्दो छ घडा , दशैँ आयो ।

जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक् ?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा , दशैं आयो ।

गएसाल दशैंको बेला नेपाली कविता डटकमबाट विक्रम सुब्बा दाईले दशैं कविता लेख्न आव्हान गर्नुभएको इमेल पाएर मैले दशैं , नेता ज्यू र हामी शिर्षकमा यौटा कविता लेखेको थिएं र दशैंको कुरा छोटो आलेख सहित भनेर ब्लगमा यौटा छोटो आलेख पनि लेखेको थिएं । यसपाली भने सबै घरमा जस्तै दशैंको शुभकामना कार्ड राख्न मन मलाई पनि लाग्यो तर नजानेपछि के लाग्छ र हैन ? त्यसैले मैले चैं दुर्गे आमाकै फोटोमा चित्त बुझाएको छु । कथाहरुमा हामीले देउता त राक्षसलाई जसरी पढेको भएपनि र जसरी बुझेको भएपनि देवता र राक्षस भनेको हामी भित्रकै प्रवृति हो भन्ने लाग्छ मलाई । मान्छे नै देवता हो र मान्छे नै दैँत्य पनि भन्ने ठान्छु म त्यसैले यो दशैंले हामीभित्रको आसुरी प्रवृति नाश गरेर दैवी प्रवृति जगाई यो संसार सुखमय बनाउनको लागी दुर्गे आमा (तपाईंहामीलाई पालन पोषण गरेर हुर्काउने बढाउने , जन्म दिने आमाकै यौटा स्वरुप हो अनि प्रकृति हो भन्ने हिसाबले।) को कृपा दृष्टि समस्त मानव जातिमा परोस भन्ने कामना गर्दछु ।

तपाईंहरुको दशैं सुखमय रहोस् र दशैंले सम्पुर्ण जीवनमा खुशीयाली छाडेर जावोस् ।

Wednesday, October 01, 2008

गजल : मैलो बनेछु गाँठे !

तिम्रो प्रतिक्षामा खुल्लै म दैलो बनेछु गाँठे !
के के पसेछ म भित्र र मैलो बनेछु गाँठे !

पाप अन्जानमै भयो कि या जानी जानी गरें ,
भरिईवरी फुटेको झैं घैलो बनेछु गाँठे !

नारेर वय मनको छेउकुना जोत्नलाई ,
जोतारो कस्दा भाँचिएको शैलो बनेछु गाँठे !

राधा गोरी देख्नेले भने लौ कृष्ण कालो थियो ,
रंगको कुरा उठ्दा म चैं कैलो बनेछु गाँठे !

नसके पनि अमृत हुन मह बन्न खोज्दा ,
के भन्ने खै विष भरेको थैलो बनेछु गाँठे !

हावै नचले नि पात हल्लिँदोरहेछ र त ,
आँगनै पिच्छे खेलिए झैं भैलो बनेछु गाँठे !