Tuesday, October 07, 2008

तिन कविताहरु

यसपटक एकैदिन लगातार लेखेका तिनवटा कविताहरु ल्याएको छु । एउटा एउटा हुँदा त पोष्टको शिर्षकमै कविताको शिर्षक पनि लेख्थें , यो पाली लामो हुने भएर लेखिंन । ब्लगमा ल्याउनु भनेको तपाईंहरुलाई सुनाउन नै ल्याएको हो तर लेख्न चैं अरुनै कसैलाई सुनाउँ भनेर लेखेको हुँ ।

१ एउटा टुक्रा कागज

एउटा टुक्रा कागज
धेरै अघिदेखि म
कोर्दै मेट्दै कोर्दै मेट्दै
थोत्रे पारिरहेथेँ
गज्याँङ्ग मज्याँङ्ग अक्षरहरुको
केरमेट केरमेट चित्र कोर्दै
कागजमा खुरुखुरु
मैलाई सारिरहेथें
लाग्थ्यो
मान्छेले यस्लाई बुझ्न नसक्लान्
त्यसैले हो क्यार
हुर्याईदियौ तिमीले
त्यो चिर्कटो पढ्न नसकेर
र भुईँमा म यतिखेर
त्यही टुक्रा कागज दुखेको छु

२ हेर यस्तै छु म


तिन्ले भने -
सालिग्राम जिउँन सक्छु रे म
खँदिलो भएर सिङ्गै युग
ए साथी !
साह्रै हलुङ्गो पो छु म त
सिमलको भुवा झैं
प्रत्येक बैशाखे बतासमा उड्दछु म
र उम्रिन्छु धर्तीभरी
विरुवा आशाको हुर्किएर
अर्कोसाल फेरी उड्नलाई ।

तिनले भने -
सतिसाल उभिन सक्छु रे म
ठिङ्ग भएर यौटा युग
ए साथी !
साह्रै कफलो पो छु म त
कदमको बोट झैं
प्रत्येक जेठको हुरीमा भाँचिन्छु म
र पलाउँछु सालभरी
ठुल्ठुला आशाको पात हालेर
अर्कोसाल फेरी भाँच्चिनलाई ।

तिन्ले भने -
हिमनदी हिंड्न सक्छु रे म
शान्त भएर यौटा जुनी
ए साथी !
साह्रै अधैर्य पो छु म त
खहरेको बाढि झैं
प्रत्येक असारे भेलमा उर्लिन्छु म
र बिलाउँछु सागरभरी
बाफिँदै आशाको बादल बनेर
अर्कोसाल फेरी उर्लिनलाई ।

अब बुझाईरहनु नपर्ला
बाह्रै महिनाको हिसाब तिमिलाई मैले
कुन पत्थरले बनेको देव ठान्यौ कुन्नि
मान्छे हुनुको प्रमाण जुटाउन सकिंन
म दुखेँ तर रुन जानिँन
म फूलेँ तर हाँस्न सकिँन
हेर यस्तै छु म
न तिन्ले भनेको जस्तो
न तिमीले ठानेको जस्तो
अझै तर मान्छे बाँचेको छु
तिमीले म भित्र देखेको
भगवानको भ्रम तोड्नलाई ।

३ भोली आउन बाँकी रहिरहयो

अचानक आज खस्यो
मनको ऐना
ठिक बिचमा हामी दुईको
तिमीले थाम्दा थाम्दै
मैले थाम्दा थाम्दै
त्यो क्षण आकाश खसेन
त्यो क्षण धर्ती फाटेन
प्रकृति बगिरहिन
आफ्नै समय बेगमा
सलल सलल
र त्यो समय हिँजो भईरहयो ।

छरिएर भुईँभरी
फुटेको ऐनामा असंख्य
मैले तिमीलाई देखेँ
छरिएर भुईँभरी
फुटेको ऐनामा असँख्य
तिमीले मलाई देख्यौ
आकृति सँख्यामा
गुणात्मक बढ्यो
तर मन फुटेकै ठहरियो

मौनता उनिरहेछु
मेरै रित्तो मनमा
तिखो झिरले घोचेर
तिमी
मौनता उनिहेछौ
तिम्रै रित्तो मनमा
तिखो झिरले घोचेर
र त्यो समय हिँजो भईरहयो ।

आँखाहरु
एकै पटक रसाए
झर्न खोजे आँसुहरु
बाँध नाघेर परेलीको
तप्प ! तप्प !
तिमीले
थाप्यौ हत्केला
आँशुको यात्रा अधुरै रहयो
मैले
थापेँ हत्केला
आँसुको यात्रा अधुरै रहयो
यसकारण
सायद भोली
रुन बाँकी छ अझै
तर भोली आउन बाँकी रहिरहयो ।

3 comments:

Luna said...

i would like to say lot of things
but i cant say anything cause -
it is heart touch one !
i love your poem .
Thank you .

Luna said...

भुइ मा हुत्तिएको त्यो कागज
तिमी भएर दुख्यो
तिम्रो दुखेको मन
मेरो मन भित्र
म भएर दुख्यो ।
तिमीलाई कुन हिसाब ले दुख्यो
त्यो मलाई थाहा भएन
तर तिमी दुख्दा
मेरो मन भित्र तिमी म भएर दुख्यौ
मलाई कुन हिसाब ले दुख्यो ?
यो पनि मलाई थाहा भएन ।
दिक्दार छु म
किन यसरी दुख्छु
नदुखे के हुन्थियो !
न बिझे के हुन्थियो !
तर अह मन मेरो नियन्त्रण मा छैन
यो दुख्छ
यसरी नै दुख्छ !

दीपक जडित said...

धन्यवाद लुनाजी , प्रत्युत्तरमा मिठो कविता लेख्नुभएकोमा ।

अगणित हाम्रो जिन्दगीमा
दुखाईको हिसाब गरेर के साध्य र ?
कैले फूलेर फूलमा दुखिन्छ
कैले नफूल्दै पातैमा दुखिन्छ
कैले झरेर भुईँमा दुखिन्छ
कैले नझर्दै हातैमा दुखिन्छ
दुख्दै दुखिएन भने त
मुर्ती भईएला नि फेरी
त्यसैले कसैले कैलेकाँही
दुखेको पनि जाती .....