Sunday, October 05, 2008

म हाँसेको कुरा - भाग १

एकताका , मिति पत्ता लगाउनलाई ब्लगका पुराना पेज पल्टाउन धरी अल्छि लागेर है एकताकाको भर लिएको , मैले ब्लगमा म रोएको कुरा लेखेको थिएँ र त्यसैबेला मैले म हाँसेको कुरा पनि लेख्छु भनेको थिएँ । आज धेरैपछि म हाँसेको कुरा लेख्ने भूत सवार भएको छ । उसबेला मैले लेख्न शुरुपनि गरेको थिएँ र हाँसेको कुरा लेख्दा मैले कुटीकि कैलाशलाई केटा भन्ठानेर हाँसेको कुराबाट शुरु गरेको थिएँ । यहाँ कैलाशजी संग पहिल्यै माफी मागुँ है - मैले जस्तो लागेको थियो त्यस्तै लेख्ने जमर्को मात्र गरेको हुँ यसलाई अन्यथा पक्कै लिनुहुन्न ।

त्यसबेला म भर्खर भर्खर कुटीमा प्रवेश गर्ने गर्थें , कुटीमा मिहिनेती आलुको बारेमा आक्कुई भन्ने रमाईलो थेगोका साथ लेखिएको थियो । कुटीको एकापट्टी सानो झ्यालमा कैलाशजीको उहि क्या त पृष्ठभुमीमा सुर्यास्त हो कि सुर्योदय ( छुट्याउन नसकेर ) सहितको कुनै त्यागीले झैं मधुर मुस्कुराईरहेको तस्विर पनि नभएको हैन तर मैले त्यसबेला तस्विरलाई गहिरिएर नै हेरेनछु र कैलाश राईलाई यौटा भोजपुरे ठिटो भन्ने ठानेछु । अलिपछि Happy Ganatantra को एस एम एस , तस्विर सहितको , पोष्टमा कैलाश राई त भोजपुरे ठिटो हैन भोजपुरे ठिटी हो भन्ने थाहा पाएको थिएँ र म एक्लै हाँसेको थिएँ । यो लेखाईको ( लेख नै पनि नभनुँ क्यारे यसलाई ) शिर्षक नै म हाँसेको कुरा लेखिएको छ भनेर तपाई पनि मेरो कुराले हाँस्नै पर्छ भन्ने चैं छैन । अगाडी लेख्न खोजेका घट्ना वयानहरु कतिले मलाई तत्काल हँसाएका थिए भने कतिले पछि सम्झँदा आनन्द लाग्दै हाँसेको थिएँ तर यो लेखाई म रोएको कुरा पढ्नुहुनेलाई म हाँस्न पनि सक्छु है भन्ने यौटा प्रमाण भने पक्कै हो । आउनुस् कुरा आफैंबाट शुरु गरुँ -

उस्तो साह्रै छुक्छुके त म थिईनँ सानो हुँदा तर एकदिन म एक्लै आफ्नै खेतमा भएको गायोको रुखमा चढेको थिएँ , सानोमा हामी दाजुभाई कहिल्यै छुट्टिदैनथ्यौं तर त्यो दिन म खै कसरी एक्लै थिएँ । गायोको रुखमा माथी टुप्पातिर यौटा चराको गुँड देखेँ । त्यतिबेला रुखमा गुँड हेरेर नै के चराको गुँड हो भन्ने पत्तो पाउने भै सकेको थिएँ म । त्यो रुप्पीको गुँड थियो , रुप्पीलाई पश्चिम तिर डाङ्ग्रे चरो पनि भनिदोँ रहेछ । मलाई त्यो रुप्पीको गुँडमा के छ हेर्ने झोँक चल्यो । रुप्पीको गुँडमा बचेरा हुँदा सर्पले पसेर बचेरा खाई डकार्दै बसेको पनि देखेको हुनाले , सर्पको डर मान्दै मान्दै म रुप्पीको गुँडसम्म पुगें । निक्कै झ्यासपराल भेला गरेर सानो सानो घैला जस्तै बनाएको हुन्छ रुप्पीले गुँड । घैलाकै जस्तो सानो मुख राखेको हुन्छ पस्ने दैलो चाँही । गुँडको माथीबाट भित्र हेरें । अँध्यारो भएर केहि देखिन । त्यसबेला सम्म पनि मलाई सर्प पो छ कि भनेर डर लागी नै रहेको थियो त्यसैले अलि सतर्क भएर गुँडलाई हल्लाईहेरें र सर्प भए त निस्कनुपर्ने हो पक्कै छैन भनेर हात हालें । सर्प थिएन गुँडमा बरु दुईवटा रुप्पीका डिम्मा ( डिम्बा ) , अण्डा रहेछन । एक पटकमा आठ नौ वटा सम्म अण्डा पार्छन जस्तो लाग्छ मलाई रुप्पीले , रुप्पीको अध्ययननै त गरेको छैन तर बढिमा नौ भन्दा अण्डा पार्ला जस्तो लाग्दैन र रुप्पीले सात आठ वटा सम्म बच्चा कोरलेको देखेको छु मैले । गुँडबाट रुप्पीको अण्डा हातमा झिकेर हेरें । निलो निलो परेको हिउँदको आकाशजस्तै रंङको रुप्पीको डिम्मा हेर्दै लोभ जाग्यो मलाई । घर लान्छु र गुण्डा ( धानको भुस ) मा हालेर रुप्पीको बच्चा निकाल्छु र पाल्छु भन्ने कल्पना गर्न थालें म । रुप्पीको बच्चा आँखा नउघ्रिँदै देखि पाल्यो भने त्यसले गुहु ( मान्छेको विष्टा ) खाँदैन र सुगा मैनाले झैं बोल्छ भन्ने सुनाउनुहुन्थ्यो हजुरआमाले । हजुरआमालाई सुगा पाल्ने सोख पनि थियो त्यसैले रुप्पीको डिम्मा ल्याएँ अब यसको बच्चा निकाल्नु पर्छ भनेर हजुर आमालाई सुनाएँ भने म त पुरस्कारै पाउँछु भन्ने पनि लाग्यो । रुप्पीको डिम्मा घर लाने टुँगो त गरें तर लिएर कसरी रुख ओर्लिने भन्ने ठुलै चिन्ता पर्यो मलाई । हातमै बोकेर झर्नपनि हातले रुख समाएर सुल्किँदै झर्नुपर्ने , गोजीमा हालौं भने पनि मैले लगाएको गन्जीमा गोजी थिएन , हापिन ( हाफ पाईण्ट ) मा भने अगाडीतिर टाँसुवा गोजी थियो , जिन्स पाईन्टको जस्तो र माथीबाटै झारुँ भने पनि फुटीहाल्ला ।

अनेक उपाय पछि मुखमा रुप्पीको डिम्मा हालेर झर्ने निधो गरेँ र दुईबटै डिम्मालाई मुखभित्र दुईपट्टी गालामा राखेर झर्न थालें । रुप्पीको डिम्माको आकार खोस्टा झिकेको सुपारी जस्तै हुने हुँदा मुखमा सहजै बस्यो । रुख ओर्लंदै गर्दा मेरो ध्यान मुखको डिम्मामै थियो कतै फुट्ने हो कि भनेर निक्कै होसियारी अपनाउंदै थिएँ म तर आधा रुख झर्न नपाउँदै मुखभित्र दुबै डिम्मा एकै साथ फुट्यो र त्यो डिम्माको झोल दुई घुट्की जति सुलुक्कै निलेँ मैले । रुप्पीले ओथारो बसिसकेर बच्चा हुर्काईवरी खोल्लिएको( बिग्रिएको ) हुँदा गुँडमा रहेको परेछ दुईवटै डिम्मा । त्यसको दुर्गन्धको मैले अहिले बयान गरेर कहाँ सक्नु ? जसै दुई घुट्को डिम्माको रस निलेको थिएँ मैले त त्यो हफ्ताभरी खाएको अन्नपानी सबै छादेँ रुखमाथीबाटै र तिनचार दिनसम्म केहि खान पनि सकिनं । अझैपनि जेसुकैको डिम्मा ( अण्डा ) देखें भने मलाई त्यो घट्ना याद आउँछ र केहिको पनि डिम्मा नखाउँ झैं लाग्छ तर खान चैं खान्छु है कुखुरीको डिम्मा त्यो घट्ना सम्झेर हाँस्दै ।

एकजना बिष्टबा छन , अझै छन हाम्रो गाउँमा । हामी केटाहरु मात्र हैन बुढापाकाहरु पनि उनको घरमा भेला भएर गफिएर बस्ने चलन थियो । आँगनमा विष्टबा सँधै चोयाको काम गरिरहन्थे । डोका , भकारी , चोया , बाता बनाएर बेच्दै उनि खेतिपाती बाहेकको आम्दानी पनि गर्थे र पनि दुख दुखै थियो विष्टबालाई । एकदिन हामी सबै उनकै आँगनमा बसेर गफ गर्दै थियौं । बुढा आफ्नै धान्धान धुन्धुनमा थिए । त्यसैबेला उनको कान्छो छोरा आएर बाउसंग पैसा माग्न थाल्यो । स्कुल हिंड्न लागेको छोरोले डटपेन कपि त्यस्तै केहि किन्नलाई पैसा मागेको थियो सायद तर बुढाहरु त्यस्तै त हो अघिल्लो पटक कहिले त्यो कामको लागी पैसा दिएको थिएँ भनेर हिसाब राखिराखेका हुन्छन । बिष्टबा पैसा छैन तँलाई कहाँबाट ल्याउनु पैसा भन्दैथिए । उनको छोरो चैं चाहिन्छ कि चाहिन्छ भनेर जिद्दी झिक्दै थियो । सिकुवाको छानो अड्याउन गाडिएको हाम्रो नलिखुट्टा जत्रै टेकोमा अढेसा लागेर छोरो पैसा माग्दै बाउलाई जिस्काउँदै थियो । बुढालाई रिस उठेछ छोरो देखि , ' छैन भने पछि छैन छैन । हैन कति सताउंछ यो डाँकाले मलाई ? ठहरै पारिदिन्छु है ऐले यस्लाई म । ' यस्तै केहि भन्दै बुढा हात मुड्की पारेर छोरालाई हिर्काएरै खेदाउन जाईलागे । सानो टेकोमा अढेसा लागेको छोरो लुस्सुक्कै अर्कोतिर लाग्यो । निक्कै तोडले छोरालाई हिर्काउन गएका बुढाको हात भने त्यो टेकोमा परेर ठनक्कै भाँचियो । भयो अब ? बुढा थुचुक्कै बसे भुईँमा । बाउको हात भाँचियो भन्ने पत्तो पाएपछि छोरो कता चम्पट ठोक्यो कता । हात भाँचिएको रन्कोमा परेका बुढालाई भने अस्पतालतिर कुदाईयो । पछिसम्म ' हैन कस्तो तोडले हानेका त बा छोरालाई ? छोरालाई लागेको भए त भुत्तुक्कै मर्ने रहेछ नि ? ' भन्दै हाँस्थ्यौ हामी ।

त्यस्तै एकदिन एकजना साथीको बिहेमा जन्ति गएका थियौं । झापाको गौरादहबाट सुनसरीको इटहरी देखि उत्तरतिर निक्कै माथी गएर फेरी पश्चिम तर्फ गएका थियौं त्यो गाउँलाई के भनिन्थ्यो भन्ने चैं विर्षिसकेछु । जे होस दुर्गम भन्न नमिले पनि निक्कै भित्र थियो त्यो गाउँ । कच्चिबाटोले पुर्याउने । बेहुलीको घरमा पुगिसकेपछि हामी बेहुला पट्टीकालाई केहि चाहिने भयो , के चाहिएको थियो ठ्याक्कै सम्झन सकिंन यतिखेर तर कुनै सानो कुरा चाहिएको थियो । हामीले यौटा जीप लगेका थियौं उक्त बिहेमा र जन्तिपनि थोरै थियौं । पहिले उक्त सामान किन्न जीप लिएर जाने कुराभयो तर जीपवालाले मानेन । यो कच्चिबाटोमा ओहोरदोहोर गर्दिंन भन्न थाल्यो । त्यसपछि बेहुलीपट्टीकै कसैको साईकल मागेर जाने कुरा भयो । पहिले त सबैले मलाई साईकलमा गएर उक्त कुरा किनेर ल्याउन भन्दैथिए तर पछि एकजना दाईलाई पठाईयो । धुलेबाटोमा साईकल चढेर ३ किलोमिटर भन्दा ज्यादा गएपछि मात्र उक्त सामान किन्न पाईने पसलमा पुगिन्थ्यो । गणेशदाई गए साईकल लिएर । यता बिहेको प्रक्रिया चलिरहेको थियो । मेरो हातमा बिहेको फोटोहरु खिच्न यौटा क्यामेरा थमाईएको भएपनि म त्यति फोटोहरु खिचिरहेको थिईनँ बरु बिहेघरबाट बाहिरिएर बाटोमा गफिंदै बसेका थियौं हामी केहि केटाहरु । हामी बाटोमै बसेको बेला गणेशदाई सामान लिएर आईपुगे । चर्को घाम लागेको दिन परेको थियो त्यो दिन । साईकलबाट फर्किएका गणेशदाई भने भोटमै पुगेर नुन लिएर आए झैं खल्खल्ती पसिना काढेका र सासै निस्किएला झैं गरी स्वाँ स्वाँ गर्दैथिए । सामान्यतया साईकलमा त्यती हिंड्दा त्यस्तो नहुनु पर्ने हो भन्ने अनुमानले मैले सोधें , ' दाई के भयो ? किन यस्तो स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्नुभएको ? '

'खै के भो के भो यो साईकललाई । जाँदा त यस्तो थे'न आउँदा त मारिगयो नि यसले मलाई , कुद्दै कुद्दैन पटक्कै । बल्ल बल्ल आईपुगें नि । ' दाईले साईकलले सास्ती दिएको बयान दिए ।

' हो र ? ' भन्दै मैले यसो साईकलतिर नजर लगाएको त सिधा ह्याण्डल भएको हिरो रेन्जर साईकलको ह्याण्डल फनक्कै घुमेर अगाडीको पाङ्ग्रा नै उल्टो भएको रहेछ र दाईले त्यस्तै ३ किलोमिटर कुदाएर ल्याएछन । दाईको दुख पत्तो पाएपछि ' अनि यो साईकलको घण्टी यता हुनुपर्ने यता परेको पनि थाहा पाउनु भएन त ?' भनेर सोधें मैले । हामी त्यसरी साईकल चलाएको थाहा पाउनेसाथै देखि हाँस्न थालिसकेका थियौं अझ पछि गणेश दाईले , ' ए ! म त यो के खालको साईकल र'छ ? घण्टीपनि उल्टो हुँदो र'छ , कसरी बजाउने होला ? पो भन्दैथें ' भन्दा त झन पेट मिचिमिचि हाँसेका थियौं ।

( ब्लगमा हाँसेको कुराहरु सबै एकैठाउँ राख्दा त लामो भएर आफैंलाई दिक्क हुने रहेछ त्यसैले आफ्नो जीवनको विर्षन नसकिने क्षणहरुलाई यसरी नै भाग भाग गर्दै उन्दै जाने विचार गरेको छु । )

3 comments:

कैलाश said...

आइया नि दीपक जी। साइकलको कुरले त म नि हासे। हुन त भोग्नेलाइ हुन सम्म पिडा भयो होला।
अनि मेरो नामको कारणले पैदा भाको केही रमाइलो कुरा म नि एकदिन लेख्छु भन्ने सोच्मा छु। के हुन्छ अब।

Luna said...

आज दिनभर मुड अफ थिए , अहिले केही समय अघी खाना खाँदै यस्सो तपाईंको ब्लग हेर्दाइ थिए , साच्चै मज्जाले हसाउनु भो ।त्यो चरा को अन्डा दु बै गालामा राखेर ( तपाईं बालक छ दा ) रुखबाट तल झर्दा तपाईं कस्तो देखिनु हुन्थियो होला अनी त्यो अन्डा मुख भित्रै फुट्दा ( अझ कुहिएको पो रहेछ ) तपाईं को अनुहार को कुन बिजोग भयो होला ! हे ! हे! हे! हे! म त कल्पना गरेर मरी मरी हादै - हाँस्दै छु । अरु कुराले पनि एक्द मै हसायो । मेरो मुड अफ जत्ती सबै भागयो म बाट । धेरै धेरै धन्यवाद है यसरी आफ्नो रमाइलो ( हे ! हे! हे! हे! त्यती खेर पिर परे पनि अहिले त रमाइलो भो नि हे! हे! हे! हे! )
अनुभब बाड्नु भएको मा ।

Anonymous said...

ramrai kurako sharing ma lagnu bhayeko ma khusi lagyo dipak g. kailash g sangako , anndako kura , bista bako ra janta gayeko kura ....tysma pani part 1,2,3..gardai lekhane bi4r ramro lagyo ...
...thikai 6 hami pani tapaiko hasaaiko kura padhan paun ta!