Tuesday, October 28, 2008

कथा : केतकी फूलको माला

सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो ।

' सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ । ' उसले श्रीमतीलाई कोठाभित्रैबाट अह्रायो ।

' सकिसकेँ अब । तपाईँलाई भोक लाग्यो ? चिया बनाईदिउँ ? ' सीमा उसकै कोठाभित्र छिरिन् ।

' हैन मलाई के को भोक लाग्नु नि ? बच्चाहरु भोकाउंछन् भनेर पो । ' उ अलि सम्हालिए झैं भयो । उसको अनुहारमा देखिएको उदाशीको भाव उसकी श्रीमतीबाट लुक्न सकेन । उसको केश सुम्सुम्याउँदै सीमाले भनिन् , ' किन यसरी दु:खी बन्नुहुन्छ बाबा ? तपाईंमात्र हो र चेली नहुने मान्छे यो संसारमा ? कति छन् कति अरुपनि । मेरैपनि त माईति छैनन् तर हामीले त अब बच्चाको खुशीको लागी पो खुशी हुनुपर्छ । ' उसले केही भनेन । सायद सोच्दैथियो के भन्ने भनेर । सीमाले नै भनिन् , ' अरे , यो सियो धागो कस्ले यहाँ ल्यायो हिमाल ? '

' खै ? बच्चाहरुले ल्याए होलान् । ' उसले सरासर झूट बोल्यो । सीमाले उसलाई बच्चाहरु बोल्ने भएर बाबा भन्न थालेपछि बाबा पनि भन्ने गर्थिन् त कैले नामले पनि बोलाउँथिन् । देखाभेट नै नभई उनिहरुको प्रेम भएर विवाह भएको थियो । उनिहरु सामान्यता जब ढोकाबाट दु:ख भित्र पस्छ तव माया , प्रेम झ्यालबाट बाहिर निस्कन्छ भन्ने उखानको अपवाद बनेका थिए । निक्कै दु:ख झेलेका थिए उनिहरुले विवाह पश्चात पनि तरपनि उनिहरुको प्रेममा कमी आएन भलै उनिहरुले सामाजिक मान्यता अनुशार अन्तरजातिय विवाह गरेका थिए ।

' बच्चाहरुहरु त आज यो कोठामा छिरेको देखेकै छैन.. ' , उसलाई सीमाले निधीखोजी गर्लिन भन्ने चिन्ताले सतायो र जवाफमा के भन्ने भनेर सोच्न लाग्यो तर सीमाले सियो धागोको कुरा छाडेर भनिन् , ' अब तपाईंले पहिले के भयो भनेर विर्षनु पर्छ बुझ्नु भो ? सँधैँ सँधै बितेको कुरा सम्झेर यसरी दु:खी बनेर नि चल्छ ? '

श्रीमतीको कुराले उ झन न्याउरो भयो र रुन्चे स्वरमा भन्यो , ' म दु:खी भ'को छैन सीमा र पनि आजको दिन याद आउँदो र'छ चेलीको । मेरो छोड न , जाउ बरु छिट्टो गर बच्चाहरुलाई । '

सीमाले उसलाई चपक्क छातिमा टाँसिन् र बाहिर निस्किन् । सीमा गएतिर हेरिरह्यो उसले । उसको कोठाबाट सीमा निस्किँदा ढोकाको एकपट्टीको पल्ला खुल्लै रह्यो । उसलाई आज ढोका थुनेर बस्न मन लागेको थियो तर न उसले सीमालाई ढोका ढप्क्याईदेउ भन्न सक्यो न आफैं उठेर ढप्क्यायो । बरु उ त्यतिकै पल्टियो पलङ्गमा । उसलाई भित्रभित्रै नमिठो अनुभुती भैरहेथ्यो । घरी घरी उसकी दिदीको अनुहार उसको अनुहारमा आईरहेथ्यो । उसले सिह्रानमुनि लुकाएको उसकी दिदीको तस्विर छाम्यो त्यो त्यहीँ थियो । निकालेर हेर्न मन लागेको थियो उसलाई दिदीको तस्विर । रुन मन लागेको थियो उसलाई दिदीको तस्विरसँग तर उसले त्यसो गरेन सोच्यो ढोका खुल्लै छ सीमा अथवा बच्चाहरु भित्र छिरे भने के भन्लान् उसलाई रोईरहेको देख्दा ? जे भएपनि उ घरको मुली हो उसले आफुलाई दह्रो बनाएर देखाउनुपर्छ चाहे छातीभित्र जतिसुकै डढेलो सल्केको होस् ।

' सिमरन तिमी यहाँ बस बाबु , अब दिज्युले बाबुलाई टिकी लाईदिनुहुन्छ । '

' हिसिला चक्चक नगर्नु है नानु म सिलौटो ल्याईहाल्छु । अब भाईलाई टिका लाईदिनु पर्छ , पूजा गर्नुपर्छ है नानु । ' उसले नेपथ्यमा सीमाको आवाज सुन्यो । सीमा छोराछोरीलाई सम्झाउँदै थिईन् । उसले ढोकातिर नजर फ्याँक्यो सीमा हतारिँदै भान्सातिर गएको देख्यो र एकैछिनमा दुईहातले ढुँङ्गाको सिलौटो र लोहोरो ल्याएर उसको ढोकाको सामुन्ने नजर पर्ने गरेर राखेको देख्यो । सीमाले सिलौटोमाथी यौटा सानो टपरीमा ओखर ल्याएर राख्दै भनिन् , ' सिमरन तिमी त्यँही बस्नु है बाबु , अब तिमीले यो ओखर हेर्नु हुँदैन , दिदीले यस्लाई पूजा गरेर फुटाउनु हुन्छ । '

उसको नजरबाट सीमा अदृश्य भईन् । फेरी नेपथ्यमा उसले उसकी छोरी बोलेको सुन्यो , ' मम्मी ? भाइले टिकाको थाली चलायो । '

' सिमरन चलायौ बाबु तिमीले ? मेलो छोलो ज्ञानी छ चलाउँदैन नि हगि ? ' सीमा बच्चाहरुलाई सम्हाल्दै त्यहीँ पुगेको अनुमान् गर्यो उसले । उसलाई आफ्नो बाल्यकालमा भाईटिका लगाउँदाको सम्झना आयो । उसको पनि एकजना मात्रै दिदी आमाले सम्झाई बुझाई भाईटिका लगाउन अह्राउनु हुन्थ्यो । त्यही क्रम उसलाई आफ्ना छोराछोरीको पुष्तामा पनि दोहोरिएको लाग्यो । यौटा नयाँ कुरा उसले के ख्याल गर्यो भने उसको पालामा उसकि दिदीले भाई मलाई कति पैसा दिन्छस् ? भनेर सोध्ने गर्थिन् भने उसका छोराछोरीले भाईले मलाई कति पैसा दिन्छ र म दिदीलाई यति पैसा दिन्छु भनेको सुनेन । सायद उसको पालामा बच्चाहरुले अघिपछि पैसाको मुख देख्न नपाउने भएको होला यसो भएको उसले मनमनै गम्यो ।

' ल यो फूल लेउ र भाईको टाउकोमा राखिदेउ । '

' अब यो फूल काँधमा यतापनि र यतापनि राखिदेउ ।'

' घुँडामा राखिदेउ अब । ' नेपथ्यमा उसकी श्रीमती छोरीलाई भाई पूज्न सिकाउँदैथिन् । यता उ भने अतितमा बल्झेर उकुशमुकुश हुँदैथियो ।

उ ठुलै भैसकेपछिको कुरा - उसकी दिदीको गाउँकै केटासँग प्रेम परेको रहेछ । उनिहरु विहे गर्न थाहन्थे तर उसको बाउले ईज्जतको कुरा उठाएर बाहुनकि छोरी तल्लो जातमा विहे गर्न दिन्न भनेर ढिपी कसेका थिए । आमा थिईनन् । बाउले सानो भएपनि दुखेसो उ सँग पोख्थे त्यसैले उसले बाउको पक्ष लिएको थियो । उसकी दिदीले भने प्रेम गरेको हो अपराध गरेको हैन भनेर मनपरेको केटोसँगै बिहे गर्न पाए गर्ने नत्र नगर्ने र भागेर पनि नजाने भनेर अड्डी कसेकी थिइन् । उसका बाउ यहि कुराले क्वाँ क्वाँ रोएको देखेको थियो उसले । यतिञ्जेल सम्म धर्म जोगाएर बाँचियो । यो बुढेशकालमा यो दिन देख्नुपर्ने रहेछ म पहिल्यै किन मरिनँ तेरी आमासँगै भन्दै छाती पिटीपिटी रुन्थे उसका बाउ उ सँग । उसलाई दिदीले बाउलाई यसरी रुवाउन नहुने भन्ने लाग्थ्यो । यहि कुरा बढ्दै गएर गाउँको पुलिस चौकीसम्म पुगेको थियो । पुलिस चौकीमा पनि सारा दुनियाँ उसकि दिदी र दिदीको प्रेमको पक्षमा थिए भने उ र उसका बाउ मात्र एकापट्टी थिए । पुलिस चौकीमा उसकी दिदीलाई ईच्छाले विहे गर्न दिनुपर्ने र त्यहीदिन देखिनै उसकी दिदीलाई उसले मनपराएको केटोलाई लोग्ने मानेर उसैको घर जान पाउने फैसला भएको थियो । दुनियाँको अगाडी उ र उसको बाउले हारेका थिए । दिदीको तल्लो जातको केटासँग प्रेम भएको थाहा नपाउञ्जेल सम्म उसलाई यो संसारमा दिदीभन्दा प्यारो कोही थिएन तर त्यसदिन उसले र उसको बाउले उसकी दिदीलाई आजदेखि हाम्रो निंती मरिस् भन्दै थुकेर तथानाम गाली गरेका थिए अझ उसले त बाउ धरधरी रोएको देखेको आवेशमा आएर दुनियाँको अगाडी पुलिस चौकीमै दिदीलाई लात्तैलात्तले हिर्काएको थियो ।

गाउँ छिमेकमा जजमानी गर्ने उसका बाउलाई उसकी दिदीले तल्लो जातको केटासँग प्रेम विवाह गरेपछि पूजा कार्यमा बोलाउन छाडे । उसको घरमा चिना हेराउनेको देखि लिएर साइत सोध्न आउनेकोसम्म ताँती हुन्थ्यो । तर त्यसदिन देखि छरछिमेकका ईष्टमित्रहरु गफगर्न समेत आउन छाडे । ठुलै चोट परेको थियो उसको बाउलाई दिदीको कारणले । रातदिन भुट्भुटिन्थे हे ईश्वर ! यो के दिन देख्नु पर्यो भन्दै । त्यही चोटले एकदिन उसका बाउ गाई गोठमा दाम्लोको पासो हालेर आत्महत्या गरेर बिते । उसको बाउ बित्दा पनि दिदीसँग बोलचाल भएन उसको । देखेको थियो उसले दिदीलाई बाउ मर्दा आएको तर पुलिस चौकीमा उसकी दिदीको प्रेमको पक्ष लिने मान्छेहरुले पनि त्यतिखेर यो जातपातको कुरो यहि मर्दापर्दा त चाहिने हो भनेर उसकी दिदीलाई परपरै पारेका थिए । बाउ मरेपछि एक्लो भएको उसले बाउ मर्नुको दोषपनि उसैकी दिदीलाई लगाएको थियो । दिदीकै कारणले बाउले अपहत्ते गरेर मरे भन्ने ठहर थियो उसको । त्यसैले उ पनि बोलेन दिदीसँग ।

' लु यहाँ समाउ त हिसिला ? यो यमराजको हड्डीलाई एक्कैतालमा फुटाउनुपर्छ अनि तिम्रो भाईलाई कसैले केहि बिगार्न सक्दैन । ' , सीमाको आवाजले झस्किएर उ बर्तमानमा झर्यो । दृश्यमा उसले सीमाले हिसिलाको हात समातेर सिलौटोमा राखेर पूजा गरिएको ओखर किच्याएको पनि देख्यो ।

' बाबा हेल्नु न दिदीले मलाई टिकी लाईदिनुभ'को । ' उसको सात वर्षको छोरो सिमरन दौडँदै उसको कोठामा पस्यो । उसको हातमा दशैंको मेलामा किनेको सानो मुरली थियो ।

' बाबा अब हामी पिङ खेल्न जाने नि ? ' पछिपछि नौ वर्षकि छोरी हिसिला पनि आईन् ।

' अहो ! मेरो छोरो त टिकी लगाएर हातमा मुरली पनि बोक्दा त कृष्णजी जस्तै पो देखिएछ त । ' उसले उठेर छोराको कपाल मुसार्दै र छोरीलाई काखमा लिँदै भन्यो , ' अब खाना खाने , भाईलाई खुवाउने अनि ममीसँग जाने है पिङ खेल्न । '

' नाईँ बाबा तपाईँसंगै जाने । मम्मीले त मलाई पिङमा हल्लाउन पनि सक्नुहुन्न । ' हिसिला अनुरोध गर्दैथिईन् ।

' कस्ले भनेर सक्दिनँ ? सुन्नुभो यस्ले त मलाई मान्छे नै गन्न छाडी ' भर्खरै फुटाएको ओखर पर कतै मिल्काएर फर्किएकि सीमाले उ तिर मुखरित हुँदै भनिन् , ' खाना खाउँ है अब । आउनुस् म पस्किन्छु । '

' हैन छोरी , आज तिम्रो बाबालाई सञ्चो छैन त्यसैले ममीसँग जाउ भनेको , बरु म बेलुकीपख बजार घुमाउन लान्छु नि मेरी ज्ञानी छोरीलाई । ' , उ छोरीलाई सम्झाउंदैथियो ।

' म पनि जाने बजाल् । ' यौटा हातले मुरली नछोडी भुईँमा खेल्दै गरेको सिमरन बोल्यो । उसको ध्यान तुरुन्तै उसले भर्खरै उनेको केतकी फूलको मालामा गयो जो उसले खाटमुनि लुकाएर राखेको थियो । उसलाई छोराले कतै खेल्दाखेल्दै पलङमुनिबाट त्यो माला त निकालिदिने हैन जस्तै लाग्यो र हत्तार 'जान्छ नि मेरो छोरो पनि म सँग बजार ' भन्दै छोरोलाई उठाएर पलङमा राख्यो ।

' बुझ्नुभो तपाईंको छोरो कि त ठुलै संगीतकार हुन्छ जस्तो छ कि त भने मेला हुँदी मुरली बजाउँदै चटक देखाउने चटके हुन्छ जस्तो छ । सुत्दा पनि छोड्दैन यो मुरली यस्ले । ' सिमरनको हातको मुरलीलाई संकेत गर्दै सीमाले भनिन् ।

' यस्तै हुन् बच्चाहरु । खाना खाउँ भनेकी हैन तिमीले ल हिँड जाउँ खाउँ अब ।' उसले हतार लगायो । उसलाई खाना खाईसकेपछि पाउन सक्ने एकान्तको ध्याउन्न थियो । खाना खाईसकेपछि हिसिला र सिमरन पिङखेल्न जाने भनेर अड्डी कस्दैथिए भने सीमा जुठोभाँडो सिध्याएर लिएर जान्छु भन्दैथिन् । उसले एकान्त प्राप्त गर्न सक्ने उपयुक्त मौका यहि हो भन्ने ठानेर भन्यो , ' लैजाउ न त पहिला । जुठोभाँडो आएर गरे नि हुन्छ । '

बाबुको पनि आड पाएपछि बच्चाहरु झनै करकर गर्नथाले पिङमा जाने भनेर त्यसैले सीमाले लिएर गइन् । जसै उसलाई एकान्त मिलेथ्यो उ आफ्नो कोठातर्फ गयो र सिह्रान मुनिबाट दिदीको तस्विर झिकेर एकपटक छातिमा टाँस्यो र आँखाभरी आँसु पार्दै एकटकले तस्विर हेर्न थाल्यो र एकाएक उ पुन अतित छिचोल्न पुग्यो ।

बाउ बितेपछि उसले सबै जायजेथा छिमेकीलाई जिम्मा लगाएर गाउँ छाडेको थियो । बहाना पढ्नलाई भएपनि उसलाई गाउँमा बस्नै उकुशमुकुश भएको थियो । गाउँ छाड्नेबेलामा कसैकसैले उसलाई ' जे भएपनि आफ्ना भनेका आफ्ना नै हुन्छन् । कम्तिमा खेतबारी त दिदी भेनालाई कमाई खान दे , कम से कम उनिहरुको पनि खाने खेल्ने ठाउँ फराकिलो हुन्छ । ' भनेका थिए तर उसले म सँग त्यसको कुरै पनि नगर्नु भनेर कसैको कुरा सुनेन ।

समय बित्दै जाँदा परिवर्तित देश र कालले उसलाई धेरै नरम बनाईसकेको थियो । अक्सर उ पश्चातापमा गल्ने गर्थ्यो । दिदीलाई गरेको ब्यावहार सम्झेर किन त्यसो गरेँ होला भन्ने हुन्थ्यो उसलाई तर फर्किएर दिदीसँग गएर माफ माग्ने आँट भने जुटाउन सकेको थिएन । गाउँ छाडेको चारपाँच वर्षै बितिसक्दा उसले पनि विहे गरिसकेको थियो । अझ दैवको लीला कहाँसम्म भयो भने गहिरो प्रेम परेर उसले विहे गरेकी केटी पनि आफु भन्दा तल्लो जातकि हो भनेर उसले विहे गर्नको लागी तयार भै सक्दा मात्र थाहा पायो । तै बरु उसकि दिदीले तल्लो जातको केटासँगै विहे गरेकी भए पनि समाजको मान्यता अनुशार पानी चल्ने नै जात थियो तर उसको त हिँजो सम्मको उसैको नजरमा पनि पानी अचल जातकी केटी परेकी थिईन् ।

के जान्नु उ ज्ञानी नै भएको थियो वा सीमाको प्रेमले धोईएको थियो उसले चुँ प्रतिक्रिया नगरी सीमालाई विहे गर्यो बरु मनमनै उसले दिदीलाई भेट्ने र माफी माग्ने अठोट भने गरेको थियो । विहे गरेकै साल तिहारमा उ दिदी भेट्न गयो र दिदीको खुट्टा समाएर माफी माग्दै भन्यो , ' मलाई माफ गरिदेउ दिदी , म अज्ञानी थिएँ त्यतीबेला त्यसैले तिमीलाई भन्नु नभन्नु भनेँ , गर्नु नगर्नु गरेँ । आँखिर अहिले मैले आफैंले पनि तल्लो जातकै केटी विहे गरेको छु । यो जात र धर्म भन्ने कुरा माया प्रेम भन्दा ठुलो हैन रहेछ भनेर बल्ल बुझेको छु । '

यतिका वर्षपछि , त्यो पनि भाईतिहारको दिन माईतिको मुख देख्न पाएकि उसकी दिदीले उसलाई ग्वाम्लाङ्ग अँगालो हालेर भनेकि थिइन् , ' तिमी फर्केर आयौ । मलाई माफी दियौ यहि नै लाख छ मेरो लागी । किन माफी माग्छौ मसंग मैले कहिल्यै तिमीलाई दोष लगाएको छैन , के को लागी माफी दिनु मैले ? ' उनको मुहारमा अब्यक्त खुशी यसरी छचल्किएको थियो मानौं दिब्य दश हजार वर्ष कठोर तपस्या गरे पश्चात कुनै मनुवाले भगवानको दर्शन पाएको होस् । उसले दिदीसँग मात्र माफी मागेन भिनाजु र भिनाजुको सबै परिवारसँग माफी माग्यो । सबैले उसलाई माफी माग्न त ठुलो छाती पो चाहिन्छ भन्दै महान भनेर तारिफ गरे । सबैको आँखा रसाएको थियो त्यसबखत ।

निक्कैबेरको भलाकुशारी पछि दिदीले पूजाको सम्पुर्ण सर्जाम तयार गरेर उसलाई टिका लगाइदिन् र केतकी फूलको माला लगाईदिँदै भनिन् , ' भाई आज यो संसारमा म जति भाग्यमानी कोही छैन होला ? मैले तिमीबाट माफी पाएँ त्यसैले आज देखि सत्य युगमा सानो झूट बोलेर गल्ति गरी अपहेलित भएको यो क्यात्तुके फूलले पनि माफी पाओस् । आज देखि यस्लाई कुकुरको घाँटीमा मात्र नलगाईदिउन् मान्छेहरुले । मान्छे मान्छे माझपनि जातपातको भेदभाव आजै देखि मेटियोस् र यो फूलले पनि आजै देखि माफी पाओस् ।'

दिदीले उसलाई घाँटीमा केतकी फूलको माला लगाइदिँदा भित्रैदेखि चिसो भएर आयो । उसलाई दिदीले कुकुरलाई झैं ब्यावहार गरेको भान पर्यो र उसले दिदीकै अगाडी माला चुँडाएर फ्याँक्दै , ' मैले तिमी भा'ठाउँ आउनु नै गल्ति गरेछु । तिमीले त मलाई कुकुरलाई झैं ब्यावहार गर्यौ । कुन मान्छेले आजसम्म यो क्यात्तुके फूलको माला लगाएको छ र मलाई लगाईदियौ ? तिमीलाई अझैपनि माईतिको ईज्जतको ख्याल रहेनछ । ' भन्दै उठेर हिंड्यो ।

त्यसको केहिदिनमा उसले उसकी दिदीले पनि बाउ माईतिको शिर ठाडो गर्न सकिँन भनेर पासो लगाई आत्महत्या गरेको खबर सुनेथ्यो । त्यसदिन देखि सँधैं सँधै तिहारको समयमा बिव्हल बन्नेगर्छ । यसरीनै एकान्तमा दिदीको तस्विर हेरेर रुने गर्छ । दिदीसँग माफी माग्ने गर्छ । आजपनि उ दिदीको तस्विर र उसले आफैं उनेर पलङमुनि लुकाएको केतकी फूलको माला लिएर उसकि छोरी हिसिलाले भाईलाई टिका लगाईदिएको स्थानमा गयो र दिदीको तस्विर अघिल्तिर राखेर आफैंले टिका लगायो । मानसिक संतुलन गुमाएर विक्षिप्त बनेको मान्छेझैं आफैले केतकी फूलको माला पनि लगाएर उ भन्दैथियो , ' दिदी , मलाई माफ गरिदेउ , म ठुलो पापी हुँ । मलाई मैले गरेको पापको सजाय छैन । मलाई किन त्यसदिन् तिमीले यो क्यात्तुके फूलको माला लगाईदिँदा मान्छे हुनुको घमण्ड आयो ? कुकुर पनि उनै ईश्वरको सिर्जना हो र यो फूल पनि उनै ईश्वरको सिर्जना हो भनेर मैले किन बुझिँन त्यसबेला ? तिमी सहि थियौ दिदी , म कुकुर नै थिएँ त्यसबेला , मान्छेहरुले चाहे यो फूललाई माफ गरुन् नगरुन् तर मैले आज आफैं यो फूलको माला लगाएको छु दिदी , तर म जस्तो नीच व्यक्ति यो फूलको मालाको पनि योग्य छैन ।'

यतिञ्जेलसम्म उ भित्रैबाट मुटुको खिल निकालेझैं अझ भनौं न क्विन्टलको भारी बिसाएझैं हलुङ्गो भै सकेको थियो । एकाएक उसलाई सीमा र छोराछोरी याद आए । ठिक यहि बेला उनिहरु आए भने के भन्ठान्छन् होला भनेर उसलाई चसक्क पर्यो र उनिहरु आउनुभन्दा अगाडी नै पूर्ववत हुनको लागी आफ्नो कोठामा जानलाई पछि फर्कियो । पछिल्तिर अघि नै कतिखेर देखि दुबै बच्चा च्यापेर आँखाभरी आँशु पार्दै सीमा मुर्तिवत खडा भएको देख्यो उसले ।

3 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

"Happy Dipawali" To You & Your Family.
दिपावलिको अवसरमा यहा र यहाको परिवारको शु -स्वास्थ्य , दीर्घायु, सफलताको र प्रगतिको कामना गर्दछु । धन्यबाद ! सबैमा दीदी -बहिनी र दाजू-भाइ बिचको ममता प्रगाढ़ भइरहोस । यही छ दिपावलिको शुभकामना ।

Dilip Acharya said...

मार्मिक सामाजिक कथा!
ठ्याक्कै यस्तै नभए पनि यस्तै खाले घटना र परिवेश हाम्रो समाजमा धेरै चोटि घटेको होला !

आकार said...

मार्मिक कथा रहेछ, सायद यो धेरै को वास्तविक घटना नै हुनसक्छ ।