सप्तकोसीको बाँध फुटेर अपार जनधनको क्षति भएको समाचार सुनेपछि त्यसै दिग्दार लागिरहेको छ । दुईदिन अघिनै यसबारे लेख्न बसेको थिएँ ब्लगमा तर कहाँबाट सुरु गरेर लेख्ने ? के लेख्ने ? केहि लेख्नै सकिनं । धेरैबेर सम्म त्यतिकै कम्प्युटरमा घोरिएर बसेपछि अन्तत यौटा कविता लेखें र त्यसैदिन ब्लगमा राखें । मन त्यसै कुँढिएको छ । अझै पनि यो विषयमा के लेख्ने कसरी लेख्ने ? भन्ने अन्यौल नै छ तर पनि आज शुरु गरें , यसरी नै भएपनि ।
सामन्यतया तराईलाई समथर जमिन भएकै कारण सुविधा युक्त र सजिलो मान्ने गरिएको छ । मेरा पुर्खाहरुले पनि सायद त्यस्तै सोचेर पहाड छाडे क्यार । रामकृष्ण ढकालले गाएको यौटा औधी चलेको गीतमा पनि ' आफ्नो दुख पहाड भन्छन अरुको तराई ' भनेर तराईलाई सुख अर्थात कम दुख देखाईएको छ तर मलाई चैं तराई नाम नै त्राही त्राही भएर रहयो कि जस्तो लाग्छ । अहिले हेर्नुस त तराईको त्राही , नेपाल जस्तो सानो , बिपन्न मुलुकमा ५०,००० भन्दा धेरै जनसंख्या यसरी विस्थापित हुनु सानो दुर्भाग्यको कुरा त हैन । तराईको त्राही उहिले देखिकै हो भन्ने मेरो बुझाई छ , चारकोसे झाडी हुँदाको कुरा त मैले सुनेको मात्र हुँ औलोको त्राही त्राही थियो रे त्यो बेला । मैले जान्दा सम्म चैं औलो उन्मुलन गर्ने भनेर घर घर भित्ताकोरे आउँथ्यो । रातो रंगको झोल यौटा सिसीमा बोकेर त्यही झोलले घरको भित्तामा चट्टक्क परेको चार्ट बनाएर महिनै पिच्छे रगत जाँच भएको नभएको हिसाब किताब लिन्थ्यो । स्वस्थ्य कार्यकर्ता हुन पक्कै पनि तिनीहरु तर हामी केटाकेटीमा भित्ताकोरे भन्थ्यौं । औलोको त्राही त्राही भएकै समयमा तराई बाघ जस्ता ठुला जंगली जनावर देखि गोमन सर्प जस्ता साना विषालु जिवको पनि त्राही त्राही नै थियो पक्कै । गोबनको त्राही त मैले जान्दासम्म थियो र अझै छ । पछि गोबन सर्पले डसेपनि उपचार हुन थाल्यो र गोबनको त्राही ( मान्छे मर्ने खालकै ) चैं अलि कम भयो । हरेक गर्मी र बर्षातको समयमा अनेकौं रोग ब्याधी र महामारीको त्राही भएन त्यसमाथी हरेक बर्खामा भलबाडी पैह्रो आदी को त्राही त्यै तराईले बेहोर्नु पर्छ । डुबानमा पर्ने त्राही त्यै तराईलाई , हिउँदमा महिनौं सम्मको शीतलहरको त्राही त्यै तराईले भोग्नु पर्छ , हावाहुरी , हुण्डारीको त्राही उत्तिकै । दक्षिण भारतको विहारबाट गाउँ गाउँ नै लुट्न आउने डाँकाको त्राही पनि त्यै तराईले बेहोरेको छ , सिमाना पारीबाट गोरु चोर्न आउनेलाई त बिगबिगी बढेको बेला गाउँ गाउँमा पहरा नै दिनु पर्थ्यो तराईले , त्यो क्रम बढेर गयो बरु तर कहिले कमि भएन । सिमाना मिचिनुको पिँडा पनि तराईले नै धेरै भोग्नु परेको छ ।
पछिल्लो समयमा केहि राजनैतिक दलहरुको स्वार्थमा उक्सिएर तराईमा अर्को त्राही फैलियो , मधेसी मुल र पहाडे मुलका बिचको साम्प्रदायिक तनाव । यसबारेमा धेरै लेख्दा बोल्दा पनि मलाई त यो विषय उचालेझैं लाग्छ । सबैलाई थाहा नै छ के के सम्म भएन र कुन कुन नियतले क कस्ले यो विषयलाई बढावा दिए भनेर तसर्थ यो त्राहीको बारेमा भने म धेरै लेख्न चाहन्न बरु कुनैपनि मुल र समुदाय नभनेर हामी नेपालका बासिन्दा हौं , राष्ट्रियताले नेपाली हौं भने भावना सबैमा जागोस भन्ने कामना गर्दछु । 'नेपाली'लाई जातियताको दायरामा नल्याईयोस भन्ने पनि मेरो कामना हो । जे होस यसरी हरेककुराको त्राही त्राही भएर नै त्राही त्राही भन्दा भन्दै अपभ्रंस भएर तराई भएको हुनसक्छ भन्ने मेरो अनुमान हो । यो नहुन पनि सक्छ , मलाई लागेको मात्र हो । जस्तै धान हाम्रो देशको प्रमुख खाद्य बालीलाई पनि धान भनिनुको कारण सबै कुरा धान्नु पर्ने भएकोले हो कि जस्तो लाग्थ्यो र अझै लाग्छ मलाई । त्यो चैं किनभने मेरो घरपरिवारमा कुनैबेला खेतिपाती भन्दा पर अर्को आर्थिक उपार्जनको मेलो थिएन र त्यो बेला खेतिपातीमा पनि धान ले नै मेरो परिवारको सम्पुर्ण भरणपोषणको जिम्मा लिनु पर्थ्यो । वर्षभरी भात खुवाउन त्यै धान , त्यै धान बेचेर मरमसला , तरकारी , तेल , नुन , लत्ताकपडा आदी देखि लिएर साहुको ऋणको ब्याज साँवा सबै तिर धानले नै धान्नु पर्थ्यो त्यसैले धान पनि सबै कुरा धान्नु पर्ने भएर नै भनिएको हो कि जस्तो लाग्थ्यो मलाई ।
यता तराईमा यतिखेर सप्तकोसीको बाढीले फैलिएको त्राही त्राही ठ्याक्कै हटाउने सामर्थ्य त भगवान नै आए भने नि छैन , यो बाँध भत्किएको कुरा झट्ट हेर्दा अकस्मात भएझैं देखिएपनि वास्तवमा समले भने झैं यो नियमित आकस्मिकता हो । बिभिन्न कारणहरुले पुरानो हुँदै गएको बाँधको मर्मत सम्हारमा ध्यान पुर्याउन नसक्नुको परिणाम हो यो । उता रापतीमा पनि पानीको सतह बढेर बस्ती बस्ती डुबानमा परेको समाचार आईरहेको छ र त्यसमा भोली पर्न सक्ने दुर्घटनाको बारेमा सम्बन्धितहरुले अहिले सोच्दैनन् जब भोली ठुलो दुर्घटना घट्न जान्छ तब भबितब्य पर्यो भन्ने तिर लाग्छन । एक त हाम्रो चलन नै पानी नपरी को छाता ओढोस भन्ने भएको छ अर्कोतिर यस्ता विषयमा चिन्ता गर्नेहरुको चिन्ता पनि सँधै यै सप्तकोसीको भेल जस्तै बगेर जाने गर्छन । नहुनु भै सकेको परिस्थितीमा यतिखेर उद्दार कार्य र राहत संकलनको कार्य चौतर्फी भै रहेको कुरा चैं सराहनिय छ । मैले माई संसार ब्लगमा पनि तराईको वर्तमान त्राहीको निंती राहत संकलनको पहल गर्ने कुरामा जोड दिएको थिएं । माई संसार ब्लगमा हामी धेरै विदेशीएका नेपालीहरु पस्ने गर्छौं । यसको ख्यातिको कारण यहाँबाट राहत संकलन गर्ने पहल गरे थोरै भएपनि सहयोग हुन्थ्यो भन्ने मनसाय थियो तर केहि साथीहरुले माई संसारले त्यसो गर्दा विश्वसनिय नहुने कुरापनि उठाएको पाएं । हरेक कुरामा उज्यालो र अँध्यारो पक्ष त भै हाल्छ । उज्यालो हेरेर अगाडी बढ्नु पर्छ भन्ने आसय हो मेरो । हामी यदि उज्यालो लाई आफ्नो मुखतर्फ पारेर हिंड्ने हो भने अँध्यारो स्वत हाम्रो पछाडी पर्न जान्छ तर यदि उज्यालोसंग मुख मोडेर ( उज्यालोलाई पछिल्तिर पारेर ) हिंड्ने हो भने हाम्रो अगाडी अँध्यारो पर्न जान्छ ।
हामी सँधै भन्ने गर्छौं हामी नेपालीको बानी अर्काको कुरा काट्ने , अरुलाई उडाउने हुन्छ भनेर र पतिपय कुरामा हामीनै पनि अरुलाई उडाईरहेका हुन्छौं - यो मान्छेको सामान्य गुण हो तर यतिखेर भने तराईमा फैलिएको त्राहीले पुर्याएको अपुरणिय क्षतिको निंती हरेक नेपालीले आफ्नै पिँडा सम्झेर सहयोगको हात बढाउन भन्ने मेरो कामना छ । हामीलाई बिपत आईपरेको छ हामीले नै सकेको सहयोग गरौं र नेपाली हुनुमा गर्व गरौं ।
4 comments:
सामान्य हिसाबमा सबैले सोच्ने पानीको प्रकोप बाहेक तराईका अन्य दुख: लाई पनि केलाएर हेर्दा मलाई पनि तपाईको 'त्राहि'बाट तराई भएको कुरा ऐतिहासिक नभए पनि व्यबहारीक रुपमा भने प्रमाणित भएको जस्तो लाग्यो ।
अनी 'नेपाली'लाई भौगिलीक स्थान र जातियतको आधारमा बाँढ्ने दु्ष्प्रयासको रचनात्मक बिरोधको लागी हामि सबैले यो समयमा सहयोगको लागी हातेमालो गर्न सके पक्कै पनि राम्रो हुन्थ्यो ।
कुरा सही गर्नु भो !
कहिले तराई जलिरहेको हुन्छ त कहिले डुबिरहेको हुन्छ । अनि सोचेको जस्तो छैन तराई, कारण दिनहुँ लुटपाट का घटना पनि घटिरहेकै हुन्छन् ।
एउटा कुरा "डर" भन्ने शब्द तराई सँग सम्बन्धीत छ, जस्तो कि हामी कहिले काँही भन्छौ, मन तराई-तराई भो !
जेहोस् बाहिर बसेरै भएपनि सहानुभुति प्रकट गर्नुभएको मा धन्यवाद ! सराकारी लापरवाही कै कारण कोशी ब्यारेज भत्किएको हो भन्न कुरामा दुईमत छैन । सायद पहिले नै सोचिएको भए, यती धैरै ठूलो क्षति हुने थिएन, अनि यती धेरै विस्थापित पनि हुने थिएनन् ।
राष्टियता को सवाल मा कुनै पनि सम्झौता हुनसक्दैन । साँच्चै भन्न हो भने तराई मा मधेसी र पहाडिया बिच सद्भाभाव नै छ, तर पनि बिच-बिच मा मधेसी दलहरु ले जनता भड्काउने काम गरिरहेका छन् ।
अर्को कुरा, केही दिन पहिले मैले ग्रेटर नेपाल भन्ने डकुमेन्ट्रिको प्रोमो हेरेको थिएँ, त्यहाँ सुस्ताबासी सँग लिएको अन्तर्वाता पनि रहेछ, जब त्यो हेरेँ शरीर मा एक तरगं संचार भयो । http://www.meroclub.com.np/video/video/2116/Greater-Nepal भिडियो लिंक यही हो । तर नेपाल बाहिरका देशहरुमा भने भिडियो फ्रिज पनि हुन सक्छ, सेकेन्ड सेकेन्ड मा , नेपाल मा भने भिडियो हेर्ने राम्रो माध्यम बनेको छ, यो साइट !
वास्तवमै राजनीतिक र मिचाइका द्रष्टिकोणले पीडित छ तराई । विकासका बजेट पनि पहाडतिरै मात्र धाउन थाले अचेल । फोरमजस्ता पार्टीको चरित्रलाई उदाङ्गो पारेर तराईवासीलाई सहि रूपमा राष्ट्रभक्त बनाउन सकियो भने मात्र तराईको जनजीवन माथि उठ्न सक्छ । नभए भ्रममा बाँचिरहेका सीधासाधा तराईवासीहरू केहि स्वार्थी भारतीयको ललाईफकाईमा परेर आफ्नो पहिचान नै गुमाउने स्थितिमा छन् । इण्डियासँग आन्द्रा जोडिएको फोरमले सप्तकोशीले ल्याएको विपत्तिको बारेमा इण्डियामाझ आवाज नउठाएको देख्दा साँच्चै नै उनीहरूले आफ्नो असली चरित्र पेश गरेका छन् । सबै मिलेर तराईलाई बचाऔँ !
दिलीपजी , आकारजी र रबुजीलाई प्रतिक्रियाको लागी धन्यवाद । यिनै र यस्तै यावत विषयमा हामीले निरन्तर आवाज उठाउंदै आ आफ्नो ठाउँबाट गर्नसक्ने अभियान नै चलाऔं । पहिले देश अनि हामी ।
Post a Comment