Sunday, August 24, 2008

कविता : म साँच्चै एक्लो भएछु

आजभोली
तिमीले जस्तै मलाई
मेरो गीतले पनि छाडेछ
गाउँछु जब
जबर्जस्ती कुनै गीत तिम्रो यादमा
गाउँदा गाउँदै मेरो गीत
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

मायालु स्पर्स दिएर
तिमीले जतन गरेको
वाँसुरी हेर्छु
त्यसले चिच्याएर मलाई
ब्युँझाउन खोजेझैं लाग्छ
टिपेर त्यसबाट
बजाउन खोज्छु
तिमीले मनपराएको धून
बज्दा बज्दै मेरो धून
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

धेरैदिन देखि
टेवलमा खुल्लै छाडेको
कलम हेर्छु
त्यसले आन्दोलित भएर
म विरुद्द उभिएझैं लाग्छ
समाएर त्यसलाई
कोर्न थाल्छु कविता
तिम्रो यादमा
कोर्दा कोर्दै मेरो कविता
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

आजभोली
तिमीले जस्तै मलाई
मेरो जिन्दगीले पनि छाडेछ
हिंडाउंछु जब
जबर्जस्ती यस्लाई अन्त्यहिन यात्रामा
हिंड्दा हिंड्दै मेरो जिन्दगी
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ -
म साँच्चै एक्लो भएछु ।

असार २०५८ को मिति उल्लेख गरिएको यो कविता आज ब्लगमा राख्न मन लागेर राख्दैछु

6 comments:

Aakar said...

ज्यादै मार्मिक रहेछ यो गजल ! सायद कुनै ठूलै ट्रयाजेडिको समयमा यो गजल लेख्नुभएको होला भन्ने मेरो अनुमान छ ।

Unknown said...

सहि ठम्याउनु भयो आकारजी , वास्तबमै यो मैले दुखेकै बेला लेखेको हुँ तर गजल नभएर कविता भनेर लेखेको हुँ ।

Aakar said...

सरी है,कविता लाई गजल भनेछु !

Dilip Acharya said...

आकार जी ले भन्नु भए जस्तै, पक्कै पनि मार्मिक छ यो कविता। तर यो मार्मिकता भीत्र पनि अनौठो आकर्षण छ। मलाई लाग्छ मार्मिकता भित्र पनि यस्तो आकर्षण र मन तान्ने स्वाद पैदा गर्ने क्षमता र विशेषताले नै दिपक जी का कवितालाई बजोड बनाएका हुन्छन ।

साँच्चै यौटा स्तरिय र रोचक कविता!

Unknown said...

अहा ! कति मिठो प्रतिक्रिया , धन्यवाद दिलीप जी ।

Anonymous said...

कती मार्मिक !