Sunday, September 21, 2008

कविता : मान्छे

आज अन्तराष्ट्रिय शान्ती दिवस । कान्तिपुरको होमपेजमा माईतिघर मण्डलामा मैनबत्ति जलाउँदै गरेको तस्विरले सम्झाईदियो नत्र भने अशान्त यो दुनियाँमा आफु एक्लै शान्त बस्न रुचाउने धेरै मान्छेहरु जस्तै म पनि आजै साप्ताहिक बिदा पनि भएकोले कोठामै एक प्रकारको शान्ती निर्माण गरेर बसेको थिएँ । दिमागभरी लेख्न मनलागेका धेरै कुराहरु खेलीराखेका थिए , हात लेख्दै गरेको कुरा पुरा गर्न लालायित थियो त्यस्तैमा आज अन्तराष्ट्रिय शान्ती दिवस भन्ने थाहा हुनासाथै सबै कुरा छाडेर आजलाई ब्लगमा टाँसो के हालौं त भन्ने सोच आयो र रोजेँ यो कविता , हिँजो माईसंसारको शनिबार साहित्य अन्तर्गत फोटोमाथी कविता लेख्ने दुई साता अघिदेखि शुरुभएको स्तम्भ ( पोष्ट ) मा लेखेको कविता ।




राम हो या अल्ला
के बुद्ध बोल्ला ?
शिवको खरानी
मुड्की सिरानी
सानो यो धर्ती
किन भो बिरानी ?
न मान्छेले छोयो
मान्छेको घाउ
आउँदैन देवता
तेल्लाई के बोलाउँ ?
टेकी मान्छेकै
लौरि ट्याक्क ट्याक्क
पार्दैछ मान्छेकै
टाउको दुई फ्याक
खोतल टाउको
बन्दागोभी हो आउ
झिकेर गिदी त्यो
कुपुकुपु खाउ
भस्म बनाई
डढाएको गाउँ
पानीले हरे !
लगायो यो घाउ
बौलाहा भन
म बौलाएँ सहि
लछार्यौ तिमीले
के सज्जन भई ?
क्राईष्ट अल्ला
राम र बुद्ध
भनेर हामी
गर्दैछौं युद्ध
यो घाउ कस्को
यो गाउँ कस्को
फूल च्यातिदिने
यो दाउ कस्को ?
त्यो आँखा हेर
नुर झुकेको
देख्यौ के टाउकोमा
गिदी सुकेको ?
फूल छ त्याँहा
ओठमा हेर
देखिन्छ कलेँटी
तर ओईलाएर
मान्छे देख्दैन
मान्छे नजिकै
भगवान मान्छेलाई
प्यारो छ निकै
मान्छे मान्छे बिच
परेर चिरा
सहन्छ मान्छे
घाउ खटिरा
बनायो मान्छेले
औसधी मुलो
मान्छे नै घाउमा
दल्दैछ धुलो
मान्छेले गाउने
यौटा गीत बनोस
नहराई मान्छेलाई
मान्छेको जीत बनोस
मान्छे भित्रको
जब मान्छे मर्दैन
अर्को स्वर्ग मान्छेले
खोज्नु पर्दैन ।

5 comments:

ब्रजेश said...

मान्छेले मान्छेलाई माया मात्र गर्न सिके सन्सारमा अरू केहि चाहिन्नथ्यो

ठरकी दादा said...

मान्छेले गाउने
यौटा गीत बनोस
नहराई मान्छेलाई
मान्छेको जीत बनोस

Very nice poem, with all the human sentiments.

आकार said...

सटिक विश्लेषण !

------------
मान्छे नै हो रे
माया कुकुरलाई
आधुनिकता !

दीपक जडित said...

धन्यवाद ब्रजेश जी , ठरकी जी र आकार जी हामीहरुले कल्पना गरे जस्तो यो धर्ती हुन सक्ला त ? धर्ती न सहि हाम्रो समाजलाई नै त्यस्तो बनाउन सके कस्तो हुन्थ्यो होला ?

Luna said...

मान्छे भित्र को दानब मुर्झाए पछी अर्थात मान्छे भित्र करुणा फूल्न थालए -था ले पछी यो समाज स्बर्ग हुने छ दिपक जि ।
यो कहिले सम्भब होला त्यो त अहिले थाहा छैन , तपाईं चाँही यसरी नै कर्तब्य पुरा गर्दै जानुहोस् कबिता मार्फत दानब रुपी मानब लाई झस्काएर ।