Saturday, September 20, 2008

अरुको लागी कैले हुने ?

सयौं देशप्रेमी मनहरुका केहि सहयोगी हातहरु आँखिर जुटे । माई संसार माध्ययम बन्यो र आफ्नो दैनिकी छाडेर कोसी पीडितहरु सम्म माई संसार टिम पुग्यो । कोसी भत्किएको दिन सर्वहारा नेता प्रधानमंत्रिको सपथ लिँदैथिए । कसैले त्यसलाई अपसगुन भने । आकस्मिकता कसरी नियमित हुन्छ भन्ने कुरा बुझ्नलाई समले उहिल्यै लेखिदिएको नियमित आकस्मिकता पढेर मात्र हुँदैन रहेछ । नबुझेसम्म अथवा बुझेर पनि बुझ पचाउन नछाडेसम्म जस्ले जे लेखे पनि त्यसको औचित्य के र ? मलाई यस्तै ज्ञान पलायो । कति साथीहरु संग कुरा हुँदा सुनाउंछन् मैले यति पढि सिध्याएँ , तिमी पढ्दैछौ कि नाईँ ? पढाई स्कुलमा मात्र हुँदैन भन्नलाई पनि यो डाईलग थोत्रो भईसकेको समय नै थोत्रो भईसक्यो । समय नयाँ आईसक्यो तर जस्ले यो नयाँ समय हो भनेर बुझाउनु पर्छ उनिहरु अझै पुरानै समयमा खाएको अन्नदाना शौच गर्दैछन ।

तिनचार दिन देखि रुचिका साथ कान्तिपुर लगायतका प्रभावशाली , शक्तिशाली पत्रिकाहरु हेरें । उनिहरुको आँखामा सानोसानो कुरा पर्दैनरहेछ । आकारले नेपाल खबर शिर्षकमा लेखेका थिए हाम्रो पत्रपत्रिकामा हत्या, मृत्यु , अपहरण, झडप, चन्दा, दुर्घटना भन्दा पर अर्को समाचार पढ्न पाउन मुश्किल हुन्छ भनेर । त्यस्तै भयो माई संसारले गरेको सहयोग ठुल्ठुला मिडियाको आँखामा पर्नै सकेनछ । पुर्वतिरका केहि सानातिना पत्रपत्रिकाले ह्रदय खोलेर लेखे ।

' Collective Effort भन्ने कुरा जीवनका हरेक समस्या समाधान गर्न चाहिने कुरा हो तर त्यसलाई बेवास्ता गरेर हामी आफू र आफ्ना वरिपरिका मान्छेहरुको जीवनमा पनि गन्हाउने ढल बगाइरहेका छौं । '
ब्रजेश खनालको खेस्रामा पढेको यो कुरा पनि सम्झें मैले । ' हामी सँधै आफ्नै लागी मात्र हुन्छौं कहिल्यै अर्काको लागी हुन सक्दैनौं भने हामीले स्वर्गको कल्पना गर्नु नै बेकार हो ' र यस्तो बुझेँ । कोसीको समस्या बिदेशमा बस्ने केहि नेपाली हातहरुले सुम्सुम्याउन खोजेर निमिट्यान्नै हुन सक्दैन तर माई संसारमा कोसी भत्केदेखि नै समाचार किन राखिएन ? माई संसार मार्फत राहत संकलन गर्न सके र पीडित सम्म पुर्याउन सके गुट गुटमा बाँधिएर सँधै फुटेको हाम्रो समाजमा बिना गुटपनि हामी केहि गर्न सक्छौ भन्ने यौटा संदेश पुर्याउन सकिन्थ्यो भन्ने शुभेच्छा राख्थें म ।

जोतारे धाईबाको CaFe मङ्गलम् मा मनबहादुर बस्नेतले लेखेको बिद्यालय बाहिरको कक्षा भन्ने लेख सम्झना आयो । त्याँहा लेखिएका विजय बज्राचार्य मात्र केवल एकजना हैनन् जस्ले त्यस्तो काम गर्न सकुन गर्न चाहे भने त्यस्ता धेरै मान्छेहरु छन हाम्रो वरीपरी तर तर विजय बज्राचार्यको जस्तो भावना पलाउन हाम्रो वरीपरीको अरुअरु मनलाई के ले रोकेको छ कुन्नि , अरुको सोच्न किन सक्दैनौं हामी ?

हामी खाली वरीपरीको नकारात्मक कुरालाई मात्र गिजोलेर हिंड्छौं भने त्यसको छिटाले भएको सकारात्मक पाटोलाई पनि मैलो बनाउंछ नै । म आफैंपनि नकारात्मक हुन्छु , कैलेकाँही त हदैसम्म तर सकारात्मकतालाई सकेसम्म आत्मसात गर्न प्रयास गर्छु म । यो राहत थाप्नुपर्ने गरेर कसैलाई बिपत नपरोस भन्छु म तर कहिँ कसैलाई परेको खण्डमा सहयोग गर्न हामी सबै तयार हुन सकुँ पनि भन्छु । बिपत परेको ठाउँमा आवश्यकता कस्तो हुन्छ र हचुवा राहतले आवश्यकतालाई छुन्छ कि चर्चा पछि लाएर उड्किँदै हिंड्छ भन्ने पनि देखेको छु ।

यसपाली पनि कोसी पीडितहरुको निंती राहत संकलनका धेरै प्रयासहरु भए , प्रधानमंत्रि राहत कोशको रकम त सायदै आवश्यक परेन कोसी पीडितलाई त्यसैले त्यसको एकछेउ मात्र खर्च भयो रे भन्ने पनि सुनें तर मैले राखेको शुभेच्छा अनुरुप माई संसारले उदाहरणिय काम गरेर देखायो - जो मैले देखें तर ज जस्ले देखेर हेर यस्तो पो गर्नुपर्ने क्या बात ! भन्नुपर्ने हो तिनीहरुले देखेनन । हो नेपालमा ठुला मिडियालाई त्यो समाचार समाचार नै हुन सकेन , कतै ब्याक्तिगत रिस ईविमा दुईजना काटाकाट गरेका भए हामी भँगेराका टाउका जत्रा अक्षरमा वाई स्याल र भाई स्यालको झडप यति घाईते यतिको अवस्था चिन्ताजनक भनेर पक्कै पढ्न पाउँथ्यौं ।

यो धर्तीलाई सुन्दर स्वर्गसरी कल्पना गर्ने हामी आफ्नो लागी त हुन्न भन्दा पनि छौं तर अरुको लागी कैले हुने ?

5 comments:

आकार said...

अरुको लागि कहिले हुन्छ ? यो चाँहि थाहा भएन । तर सबैको ब्लग र ब्लगरको खोजखबर राखेको कुरा चाँहि गज्जब लाग्यो ।

उजेली said...

मलाई त केहि भन्नै आएन ।
साह्रै चित्त बुझ्यो ।

दिलीप आचार्य said...

हाम्रा तथाकथीत 'ठुला मिडिया' पनि नकारात्मक धारका प्रचारक मात्रै हुन, तर त्यसमा दोष हाम्रो पनि छ जस्तो लाग्छ मलाई ।
किनकी कुनै किशानले पसिना चुहाएर धान फलायो भन्ने समाचार देखेमा हामि हेर्दा पनि हेर्दैनौं तर त्यहि किशानको धान कुनै समुहले चोरी कटानि गर्‍यो भन्ने खबर आएमा त्यो 'आकर्षक' समाचार बन्छ हाम्रालागी ।

दीपक जडित said...

धन्यवाद आकारजी , त्यो गज्जब भनेको अझ गज्जब लाग्यो मलाई । उजेली जी , नभनेरै धेरैकुरा भन्नु भयो कि जस्तो पो लाग्यो है मलाई त - धन्यवाद र दिलीपजीले सत्यकुरा लेखिदिनुभएकोमा पनि धन्यवाद ।

Luna said...

चाहे त्यो ठुलो रुपमा होस् या सानो रुपमा तर अत्यन्तै सर्हानिय कार्य भएको थियो माइसन्सार मार्फत ।यस्तो सर्हानिय कार्य लाई उर्जा दिनु मिडिया को कर्तब्य भित्र पर्छ जस्को कारण अन्य लाई पनि हौसला होस् तर ठुल्ठुला मिडिया बाट यस्तो भएको देखिएन ।