Sunday, October 15, 2006

देउसीनाच र तिहारको रमझम ।

" ए ! दीपक , यस्पाली तिहारमा हामी देउसी नाच हिंडाउदैछौ यौटा आषिश गीत लेखेर इमेल गरिदेन है । "

च्याटमा कुरा गर्दा गर्दै एकजना गाउँले साथीले यो अनुरोध गर्दा म खुशीले गदगद भएं । मलाई देउसी नाचको तयारी गर्न तुरुन्तै गाउँ पुगुँ जस्तो भयो तर अब समय कहाँ मेरो बसमा छ र ? म जिन्दगी भोग्दै जाने क्रममा काँधमाथी धेरै जिम्मेवारीहरु बोकेर आफ्नो घर परिवार र गाँउ समाजबाट धेरै टाढा परदेशमा समय र नियतीको कैदी भएर निरिह जीवन बाँचिरहेको छु ।

मादल बजाउदै साथमा गिटार , हार्मोनियम ईत्यादी बाजागाजा सहित देउसी नाच कागतिहार कै दिन देखि सुरु हुन्थ्यो र भाईटिकाको भोलिपल्ट सम्म हामीलाई तिहारले छाड्दैनथ्यो । मैले गाँउ छाडेको चार बर्ष मात्र हुंदैछ तर नाच हिंडाउने वातावरण भने त्यो भन्दा पहिले देखिनै हराईसकेको थियो । देशमा भएको माओवादी स-सस्त्र आन्दोलनले गर्दा यस्ता रमाईला पर्वहरु खल्लो भएको थियो तर अहिले आएर देशमा शान्तीको नयाँ लहर देखापरेको छ । बिद्रोहीहरु युद्ध छाडेर वार्ताबाट समस्याको निकास निकाल्न लागिपरेका छन । वार्ताबाटै समस्याको हल निस्कियोस र देशमा स्थाई शान्ती छावोस मेरो शुभकामना छ मेरो देशलाई । देशमा अझैपनि माओवादीलाई समस्याको रुपमा लिईन्छ माओवादीहरु स्वयँ पनि धेरै अर्थमा समस्याकै रुपमा देखापरेका छन तर माओवादीहरु समस्याको रुपमा हैन सुधारको रुपमा स्थापित हुन सकुन र राज्यले पनि सुधारकै रुपमा ग्रहण गर्न सकोस माओवादीहरुलाई मेरो कामना यति हो र यसो भएको खण्डमा देशमा स्थाई शान्ती हुनेछ भन्ने मेरो मान्यता पनि छ ।

म अमेरिकाको कोलोराडोबाट तिहार सम्झंदैछु र देउसी नाचको लागी आषिशगीत लेख्ने प्रयासमा छु । पहिले पहिले पनि तिहारमा देउसी नाच हिंडाउनु पर्दा म आषिशगीतहरु आफैं लेख्ने गर्थें । यौटा देउसी गीत हुन्थ्यो कुनै घरमा पुगेर नाच सुरु गर्दा गाउनलाई त्यो पनि म आफै बनाउने गर्थें । त्यो बाहेकका अरु गीतहरु पनि कुनै कुनै म आफैं बनाउने गर्थें ।

रिङ रिङ रिङ जाडो लाग्यो झापाली वेदरले
झण्डै ढाड त खुस्कायो कान्छीको फादरले --- ।
भनेर २०४९ सालको तिहारमा बनाएको प्यारोडी गीतले त निक्कै हँगामा मचाएको थियो जस्को घरमा पुग्दा पनि त्यो गीत कम्तीमा २ पटक गाएर नचाउनै पर्थ्यो ।

त्यो बेला हाम्रो यौटा क्लब थियो । युवादय क्लब भनेर सन्चालन गरिएको त्यो क्लबले सामाजिक हितको काम गर्ने अठोट गरेको भएपनि केहि साथीहरुको लापर्वाहीले गर्दा त्यसलाई धेरै समय सम्म टिकाउन सकिएन । अहिले सम्झंदा लाग्छ त्यो समयमा सायद हामीहरु मध्धे धेरैलाई क्लबको महत्व थाहा थिएन यदि सबैलाई क्लबको महत्व बोध हुँदो हो त अहिले सम्म समाजले अर्कै रुप लिईसक्ने थियो । त्यसपछिका बर्षहरुमा पनि हामीले देउसी नाच सँचालन गर्यौं । कुनै क्लबको सकृयता बिना सँचालन गरिएको देउसीनाचबाट सँकलित रकमलाई पनि हामीले सामाजिक कार्यमै खर्च गर्ने गर्थ्यौं ।

यसपाली गाँउमा नव ज्योती समुहले देउशीनाच हिंडाउने तयारी गर्दै रहेछ । म गाँउमा हुंदै देखि गाँउ विकाश समितिको पहलमा हरेक गाँउमा सँचालन हुँदै आएका यस्ता समुहहरुले समाजमा एकता जुटाउने र एकताले समाजको उन्नती हुने कुरामा शँकै नगरे हुन्छ । नव ज्योती समुहले साप्ताहिक रुपमा अत्यन्तै न्युनतम रकम सँकलन गर्ने गरेको थियो जस्ले गर्दा समाज भित्रका अति बिपन्न परिवारहरु पनि समेटिन सक्थे । यो प्रकृया अझै जारीनै होला , जारी रहोस र नव ज्योती समुहले हाम्रो समाजलाई प्रगतीको शिखरमा टेकाएर छाडोस मेरो शुभ कामना साथै यस्पाली तिहारमा नव ज्योती समुहले हिंडाउन लगेको देउसी नाच सफलता पुर्वक सम्पन्न होस ।

म आफु सहभागी हुन नसके पनि उक्त देउसी नाचको लागी उक्त समुह भित्रकै केहि श्रजनशील साथीहरुको अनुरोधमा मैले यौटा आषिश गीत लेखेको छु । आषिश दिईंदा रामचन्द्र जस्ता छोरा होउन , सिता जस्ती छोरी होउन , लक्ष्मीले बास गरुन भन्ने परम्परागत प्रकृयालाई छाडेर देशभरीका हरेक आँगनमा हत्या हिँसा र रक्तपात को शट्टामा शान्ती स्थापना होस भन्ने कामना गर्दै शान्तीकै आषिश गीत लेखेको छु भलै यती बेला देशमा माओवादीहरु शान्तीबार्ताबाट बिथोलिन खोजेको र राजावादीहरुले ससस्त्र आन्दोलनको घोषणा गरेको समाचारहरु आईरहेको छ र राजनीतिक बजारमा तिहार पछिनै रक्तपात हुन सक्ने हल्ला मचिन थालिसकेको छ । जे होस शान्ती होस भन्ने हाम्रो कामना हो । मेरो शान्तीको आषिश गीत लाई पनि यहाँ राख्दैछु ।

--------------------
--------------------

यस्पाली त नाच्दै र गाउदै आयौं हजुरको घरैमा
अब बिताउनु नपरोस चाड हामीले कसैको डरैमा
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।

यो घरको आँगनैमा गौतम बुद्धको बास होस
अशान्ती र झगडाहरु आजै देखी नास होस
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।


शान्तीले नै यो आँगनमा सुख पनि आउनेछ
धन धान्य र प्रगती पनि शान्तीलेनै ल्याउनेछ
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।

No comments: