Thursday, October 05, 2006

कविता : अनन्त गुनासो ।

ओहोर दोहोर
दोहोरीलत्त
मेरो मनको मुलसडकमा
सजिएर अलौकिक श्रीँगारले
अझै पनि त हिंड्दछौ तिमी ।

तिम्रो पदको
पहिलो आहट सुनेर
मनको सडक किनाराभरी
रोपिदिएथें मैले
अनेकन मौसमी फूलहरु
र चाहेको थिएं
भुलाउन तिमीलाई
त्यतै कतै
मेरो मनको बिसौनीमा ।

मग मग
मनमोहक
सुवासहरु छरेर
अझै पनि त फूलेकै छन
थरी थरीका फूलहरु
सोचेको थिएं
कुनै दिन त तिमी
हिंड्दा हिंड्दै थाकेर
एक निश्वास छाड्दै
सुकाउन थकित पसिनाहरु
बिसाउने छौ
मेरो मनको फलैंचामा ।

अल्झिएर आशामा
बर्षौं त्यसै बितीसक्यो
हरेक आउने बर्ष सँगै
प्रतिकुलता बढ्दै जाँदा
मौसममा
लोपोन्मुख भै रहेछन
एक एक आशाका
मौसमी फूलहरु
मक्किएर दिनदिनै
कलेजीका तख्ताहरु
भत्किँदो छ
मेरो मनको फलैंचा ।

अब त लाग्छ
लोभ्याउने छैन
तिमीलाई
मेरो मनको फूलबारीले
जस्ले एक दिर्घ
खडेरीको मारमा
आफ्नो सौँदर्य गुमाईसक्यो
न त बहन नै गर्नेछ
तिम्रो वजनलाई
मेरो मनको फलैंचाले
जस्ले एक दुष्ट
धमीराको सारमा
आफ्नो अस्तित्व मेटाईसक्यो ।

बस्
बाँकी छ अब
छताछुल्ल पोखिएको
गुनासो अनन्त
मेरो मनको अवयव भरी ।

No comments: