Tuesday, April 24, 2007

फुर्सद र म ।

फुर्सद छ आजभोली , अझै १५/२० दिनको लागी । फुर्सद पाए यो गर्छु र त्यो गर्छु भन्थें । लेख्दालेख्दै अधुरा रहेका केहि कुराहरु पुरा गर्ने दाउमा पनि थिएं फुर्सद पाउंदा तर फुर्सद पाएपछि म फुर्सद मै ब्यस्त भएं । यत्रो फुर्सदमा अलिकति फुर्सद निकालेर फेरी लेख्ने क्रम शुरुगर्न सकेको छैन । आफ्नै संतुष्टीको लागी MANJUSMRITI लेख्दैथिएं , खण्डकाब्यको रुपदिने सोचाई छ तर लेखेको छैन । अरु पनि केहि त्यस्तै कुराहरु छन जो पुन लेख्न थाल्नु पर्ने हो तर लेख्न थालेको छैन ।

केहि दिन अगाडी घुम्ने क्रममा कोलोराडोकै मेसा भर्दे नेशनल पार्क घुम्न गएको थिएं त्याँहा खिचेको फोटोहरु आज राख्न खोजेको फोटो नै अपलोड भएन । मेरो ईन्टरनेट पनि ढिलो हुंदै गैरहेछ । Verizon को Wireless Internet चलाउंछु म । त्यस्लाई प्रतिमहिना $ 59.99 तिर्छु । पहिले मसंग T Mobile को Cell Phone हुंदा Internet लाई प्रतिमहिना $ 79.99 तिर्ने गर्थें तर अहिले Cell Phone पनि Verizon कै लिएको छु त्यसैले Internet लाई कम परेको छ । कैलेकाहिं Internet ढिलो भैदिंदा दिक्क लाग्छ । मेरो कम्प्युटर पनि ईन्टरनेट ढिलो हुनुको कारण हुनसक्छ । कम्प्युटरमा पोख्त नहुदाँ अनेकौं स साना समस्याले पनि सताउने गर्छ । अहिले मैले चलाईरहेको कम्प्युटर Sony को Vaio (LapTop) हो । यो भन्दा अगाडी म hp को LapTop चलाउंथें । $1500 मा यो ल्यापटप किनेको १५ महिना पनि भएको छैन । फेर्ने बेला हुन लागे जस्तो छ । यसैलाई बनाउन सके त हुन्थ्यो तर आफुले नजाने पछि बनाउने खर्च र नयाँ किन्ने खर्च उस्तै उस्तै हुन आउने रहेछ तर यो ल्यापटपलाई मैले अत्याधिक प्रयोग गरेको छु । हेर्दै पुरानो देखिन लागेको छ अब फेर्नु पर्दा पनि गुनासो हुंदैन । पैसा परे अनुशारको उपभोग गरेको छु ।

अस्तीको दिनहोला http://bloggers.com.np/ मा मैले मेरो यो ब्लग पनि समावेश गरें र त्यसदिन देखि त्याँहा भएका अन्य ब्लगहरु हेर्दा हेर्दै पनि समय बित्ने गरेको छ । त्यहाँ जम्मा २४२ वटा , पछिल्लो पटक मेरो ब्लग समावेश भएपछि , नेपाली ब्लगहरु छन । धेरैजसो नेपाली ब्लगहरु राजनीतिक बिषयमा नै लेखिएका छन त्यसो त ब्लगरको खुशी हो ब्लगमा केलाई बिषय बनाउने भन्ने । कतिपय साहित्यप्रधान ब्लगहरु पनि छन त्यस्तै मध्येमा यौटा मेरो पनि हो तर मैले आफ्नै मात्र रचनाहरु राख्ने गर्छु । आफ्नो ठाउँको परिचय सहित मैले हाम्रो गौरादह ब्लग पनि शुरु गरेको छु तर विविध कारणहरुले गर्दा त्यसलाई अघि बढाउन सकेको छैन । धेरैपछि अनामिकाको ब्लग से ना समथिङ्ग पनि पढ्न पाईने भएको छ । मलाई नेपाली ब्लगहरु मध्येमा सबै भन्दा मन पर्ने ब्लग हो त्यो जुन कुरा मैले पहिले पनि उल्लेख गरिसकेको छु । पछिल्लो पटक अनामिकाको ब्लगमा भएको जिन्दावाद ! जिन्दावाद !! भन्ने पोष्टमा मैले कमेण्ट लेखें । नेपालमा लोकतन्त्र दिवस मनाईएको छ । पोष्ट त्यही बिषयमा नै थियो । राजा हुँदाहुँदै लोकतन्त्र दिवस कसरी मनाउने ? यदी राजा हुँदा हुँदै लोकतन्त्र दिवस मनाउने हो भने गणतन्त्र दिवस नै मनाए भै हाल्यो नि । पोहोरसाल यतिखेर म भित्र खुबै जोस थियो । नयाँ नेपालको सपना थियो । रगत उमालेर मैले निक्कै कथा , गीत , गजल र कविता लेखें । तर यो एकबर्ष भित्रका राजनीतिक घटनाक्रमले म भित्रका हौसलाहरु निक्कै सेलाईसकेको छ । देशले नयाँ दिशामा गति लेला भन्ने आश मरिसकेको छ । अर्को आन्दोलनको आवश्यकता दिनदिनै हुंदैछ । माई संसारमा भर्खरै हेरेर थाहा पाएको , नेताहरुलाई खबर्दारी गर्न उपस्थित भएको नागरिक भेलाले पनि यो कुरा पुष्टी गरेको छ ।

फुर्सदले गर्दा आजभोलीको मेरो दिनचर्या पनि बदलिएको छ । कुनै कुरा पनि नियमित हुन छाडेको छ आजभोली । खाने , सुत्ने , उठ्ने आदी कुराहरु टुंगोमा हुन छाडेको छ । निश्चित समयमा निश्चित काम गर्नु पर्ने नभए पछि यसो भएको हुन सक्छ । यौटा नयाँ क्रम पनि थपिएको छ आजभोली मेरो दिन चर्यामा । हरेक दिन दिउँसो अढाई तिन बजेतिर Guam बाट फोन आउंछ । फोन गर्ने मेरै काली हुन्छे । मैले दिएको नाम काली , त्यसबेला उसको बिहान हुन्छ र उसले ब्युँझने बित्तिकै बेडबाटै कल गरेकि हुन्छे । फोन उठाएर मैले हरेक पटक एकै तरिकाले ' हजुर काली ' भन्न नभ्याउंदै " देव मैले तपाईंलाई आज पनि सपनामा देखिंन , मलाई मिस गर्नु भएन ? " भन्छे । देव मलाई मेरो फुपुको छोरा जो दार्जीलिङमा हुनुहुन्छ ले दिनुभएको नाम हो । प्रेममा यस्तो हुन्छ भन्ने थाहा थियो तर हाम्रो ( काली र मेरो ) प्रेममै यस्तो होला जस्तो लाग्दैनथियो । म कालीसंग बिहे गर्ने कुरामा ढुक्क भएको छु त्यसैले पनि म धेरै कुरै सोच्दिंन अनि अर्को कुरा सुतेर देख्ने सपना र बिपना ( भोग्नुपर्ने जीवन ) को भेद मैले निक्कै बुझिसकेको छु जस्तो पनि लाग्छ । अझ उमेरले पनि मलाई अब अल्लारे हुन दिंदैन । जे होस कालीले मलाई त्यसो भन्दा उसले मलाई अनन्त प्रेम गर्छे भन्ने कुरामा पनि म निश्चिन्त हुन्छु ।

फुर्सद छ । त्यसैले म साँच्चिकै फुर्सदमै ब्यस्त छु । कोलोराडोको आकाशमा काला सेता बादलहरु पनि हेर्न भ्याउंछु म । बादलमा बिभिन्न बस्तुहरुको आकार खोज्दा मलाई सानोको याद आउंछ । सानोमा बर्षातकै बेलातिर कुनै कुनै दिन खुला चौरमा गुन्द्रीमाथी फिंजाईएको बिष्कुन रुङ्नु पर्थ्यो । त्यसरी बिष्कुन रुङ्दा म आफु पनि बिष्कुनझैं झारमाथी लमतन्न परेर आकाशमा कुदीरहेका बादलहरु हेरिरहन्थें । बादलमा बिभिन्न बस्तुहरुको आकार खोजिरहन्थें ।

यस्तै छ फुर्सद र मेरो सम्बन्ध । म संग फुर्सदै फुर्सद छ र म त्यही फुर्सदमा ब्यस्त छु ।

No comments: