Sunday, April 29, 2007

कविता : ठिक पार्दै गर ।

ए ! आमा ,
हिजो अस्ती भर्खरै
तिमीले डाडु पन्यु लिएर
भाँडोमा डढेको कालो खुर्केर फाल्दै
देशमा डढेर बसेकाहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
भाँडै बिगार्ने माम्रीहरु
देशैभरी कालै देख्छु म ?

ए ! दिदी ,
तिमीले हिजो मात्रै
हातमा खरेटो लिएर
चोक चोकमा थुप्रिएको फोहोर बढार्दै
देशका कसिंगरहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
सहर , बजार , गाउँ , गल्ली
देशैभरी कसिंगर देख्छु म ?

ए ! दाजु ,
हिजो अस्ती भर्खरै
तिमीले छाडा राँगोलाई दाम्लोले बाँधेर
सडक सडक घुमाउदै
देशका छाडा राँगोहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
बन्दीछाडा राँगोहरु
देशैभरी बड्किएको देख्छु म ?

ए ! भाई ,
तिमीले हिजो मात्रै
किताबभित्रका धमिराहरु
सडकमा लगेर टक्ट्क्याउंदै
देशका धमिराहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
देश खोक्रो पार्ने
धमिराहरु
देशैभरी सल्बलाएको देख्छु म ?

ए , आमा
नयाँ डाडु पन्यु ठिक पार्दै गर
फेरी भाँडोमा बचेखुचेका
माम्रीहरु खुर्केर फाल्नुपर्छ ।
ए ! दिदी ,
नयाँ खरेटो बाँध्दै गर
फेरी चोकमा छरिएका
कसिंगर बढारेर फाल्नुपर्छ ।
ए ! दाजु ,
नयाँ दाम्लो बाट्दै गर
फेरी बन्दी छाडा राँगोलाई
बाँधेर गोठमा हाल्नुपर्छ ।
ए ! भाई ,
नयाँ झोला ठिक पार्दै गर
फेरी धमिरा नलाग्ने किताब
नयां झोलामा राख्नुपर्छ ।
यो कविता मैले गत बर्षको जुन ५ मा लेखेको रहेछु र जुन ७ मा नेपाली पोष्टमा प्रकाशित भएको रहेछ । यस्लाई मैले आफ्नो ब्लगमा भने राखेको रहेनछु त्यसैले आज थोरै थपघट गरेर यहाँ राख्दैछु । आज फेरी देश जुर्मुराएर उठ्नु पर्ने भएको छ र यो कविता समय सापेक्ष भएको छ ।

No comments: