दीपक जडित
जात्रै जात्रामा हराएको मेरो देश
भोटो जात्रा
डढेर चर्को घामले
कालो नांगो ढाड लिएर
पटपटी फुटेका पैतालाले टेकी
चिरचिरा भएको हत्केलाहरुले
बडा महाराजाधिराजलाई
बर्षेनी भोटो देखाउने मेरो देश
ए ! महाराज ,
यतीका बर्षसम्म तिमीले
भोटो मात्र देखीरहयौ
भोटो देखाउनेहरुलाई
र तिनिहरुको नांगो ढाडलाई
कहिल्यै देखेनौ
अब नयां संस्कृतीको निर्माण गरेर
तिनीहरु आफैं हेर्ने छन भोटो जात्रा
र नांगो ढाड छोप्नेछन ।
गाई जात्रा
चरम गरीबीको परिचय दिंदै
खाली खुट्टा, फाटेको सुरुवाल
र थोत्रे बोरा ओढेर
अनुहारमा पशुको मुखुण्डो लगाई
छाती भरी आ आफ्नो पिंडा लुकाएर
तिमी राजाहरुको सस्तो मनोरञ्जन बनि
फाटेको छाता ओढी
खुर्सानीको माला लगाएर
हुंदै नभएको तिम्रो पिंडा भुलाउन
बर्षोनी तिमीलाई हंसाउने मेरो देश
ए ! महाराज ,
यतीका बर्षसम्म तिमीले
जात्राको तमाशा मात्रै हेरीरह्यौ
जात्रा देखाउनेहरुको
जीवनको छट्पटी कहिल्यै हेरेनौ
अब नयां परम्पराको थालनी गरेर
तिनीहरु आफैंलाई देखाउनेछन गाईजात्रा
र आफ्नै पिंडा भुलाउने छन ।
घोडे जात्रा
दासताको नमुना पेश गर्दै
चार हात पाउ टेकेर
मुखमा लगाम लगाई
बोल्दै नबोली
आंखामा पट्टी बांधेर
दांया बांया सम्म नहेरी
पिठ्यूंमा अनावश्यक श्री धारी
तिमी महाराजाहरुको सवारी चढाएर
आ आफ्नो आवश्यकता बिर्षेर
बर्षोनी तिम्रो सेवा गर्ने मेरो देश
ए ! महाराज ,
यतीका बर्षसम्म तिमीले
जनताको पिठ्यूंमा चढेर
मात्रै हट् हट् घोडाको आनन्द लिईरह्यौ
पिठ्यूंमा तिमीलाई बोक्नेहरुको
जीवनका दैनिक आवश्यकताहरु
कहिल्यै महशुस गरेनौ
अब नयां रितीरिवाज बसालेर
तिनीहरु आफैं मनाउनेछन घोडे जात्रा
र आफ्ना दैनिक आवश्यकता पुरा गर्नेछन ।
कुमारी जात्रा
तेतिस कोटी देवताको बास भएको
पशुपतीको रक्षणमा
सिद्धार्थले रामबहादुर बम्जन जन्माएको
पवित्र भुमीमा
शक्ती प्राप्तीको निंती
पशु मात्रै कहां र ?
हजारौं नर बली चढाउंदै
जीवित देवी कुमारीको
गोडा ढोग्ने ढोंग रचेर तिमीले
लाखौं अरु देवीहरुको
बर्षोनी अस्मिता लुटेको मेरो देश
ए ! महाराज ,
एतिका बर्षसम्म तिमीले
देवताहरुको ब्यापार अनि
देवीहरुको लाजहरण मात्रै गरीरह्यौ
तिमीलाई रक्षा गर्ने
देवी देवताहरुको पुजन
कहिल्यै गरेनौ
अब नयां संसारमा टेकेर
तिनीहरु आफैं मनाउनेछन कुमारी जात्रा
र आफैं पुज्नेछन देवी देवतालाई ।
यसरी नै
जात्रै जात्रामा हराएको मेरो देश
बल्ल बिउंझिएको छ
बल्ल आंखा खोलेको छ
बल्ल उठेको छ
यौटा नयां युगमा प्रवेश गर्न
बल्ल पाईला चालेको छ ।
खडेरीको खेती बाट लिईएको यो कविता नेपाली कविता डट कममा प्रकाशित भएको छ ।
No comments:
Post a Comment