कविता
दीपक जडित
आमा मैले दौरा सुरुवाल नलाउँदा के हुन्छ?
आमा ,
मलाई आशिर्बाद नदेउ
म त्यहाँ जानु नपरोस्
जहाँ गएर कुर्शी माथी बसे पनि
कुर्शीको भारले थिचिनु पर्छ
जहाँ गएर अधिकार लिएर बसे पनि
अरुकै अधिकारमा दबिनु पर्छ
मलाई हिमालमा जन्माएर तिमीले
तिमीहरु सबै सबै
एकै सन्तान हौ भनेकी थियौ
मलाई मधेशमा हुर्काएर तिमीले
तिमीहरु सबै सबैको
समान हक अधिकार छ भनेकी थियौ
आमा
तर आज म हेपिएको छु?
सबैकी तिमी यौटै आमा भएपनि
फरक फरक दुस्ट बाउहरुको कारण
अधिकारको अँशमा ठगिएको छु
तिम्रो पुष्ट यौवन सँग खेल्ने
मेरा दुष्ट बाउहरुले
कहिल्यै तिम्रो सम्मान गर्न जानेनन
अझै पनि किन आमा
तिनिहरु कै नाउँमा सिउंदो रँगाउछौ तिमी ?
तोडिदेउ नाता अब ति दुष्टहरु सँग
जस्ले तिम्रो जवानी सँग खेलबाड मात्रै गरे
छाडिदेउ अब ति पापिहरुको सेवा गर्न
जस्ले तिम्रो नारीत्वको सम्मान गरेनन
आमा ,
आज म मधेश देखि हिमाल सम्म
तिम्रो पाउमा बाँधिएको दाशताको
साङ्लो फुकाउन जुर्मुराएर उठेको छु
मेची देखि काली सम्म
आफ्नो अधिकार खोसेर लिन
मुठ्ठी कसेर उठेको छु
हिमालको चिसो सिरेटोमा
दोचा र बख्खु लगाएर उठेको मैले
पहाडको न्यानो हावापानीमा
भोटो र कछाड लगाएर उठेको मैले
मधेशको प्रचन्ड गर्मीमा
कुर्ता र धोती लगाएर उठेको मैले
त्यहाँ गएर फेरी
दुष्ट बाउहरुको दबाबमा
दौरा सुरुवाल नै लगाउनु पर्छ भने
मैले जात , जाती र भाषा , सँस्कृतीको
निमित्त आवाज उठाएको के अर्थ हुन्छ ?
त्यसैले मलाई आशिर्बाद नदेउ
आमा म त्यहाँ जानु नपरोस
मलाई त्यहाँ गएर
दुष्ट बाउहरुको गोडा छुन मन्जुर छैन
मलाई त्यहाँ गएर
दौरा सुरुवाल लाउन मन्जुर छैन
तिमीनै भनन आमा
मैले दौरा सुरुवाल नलाउंदा के हुन्छ ???
Published on nepalikavita.com
No comments:
Post a Comment