Saturday, July 08, 2006

गजल : भाँडो

गजल : भाँडो

दीपक जडित

देशभरीको बिचार पकाउने भाँडो चाहिएको छ ।
ढिलो किन हो ? देशमा गणतन्त्र चाँडो चाहिएको छ । १

जनताले आदेश दिईसके गणतन्त्र घोषणा गर्ने ,
नेताहरुलाई अझै राजतन्त्रको ठाँडो चाहिएको छ । २

नेताहरु हो तिमीले अझै कानमा तेल हालेका छौ कि ? ,
जनता आँफै उक्लेर बोल्ने अग्लो डाँडो चाहिएको छ । ३

तिमी त पसेउ दरबार फेरि सुबिधा भोगी होलाउ ,
भोका नाँगा तिम्रा जनतालाई खोले फाँडो चाहिएको छ । ४

हातमा लाठी लिएर बाहिर जनता भन्दैछन है ,
राजतन्त्रको खिल् घोच्नलाई तिखो काँडो चाहिएको छ । ५

भाँडो शिर्षकमा यो गजल मैले त्यतिबेला लेखेको थिएँ जतिबेला जन आन्दोलन भाग -२ उत्कर्समा थियो अनि देशभरीका सडकहरुमा गणतन्त्रका नाराहरु घन्किरहेका थिए । मैले यो गजल मार्फत नेताहरुलाई जन आन्दोलनको मर्म बिपरित नजान खबर्दारी गर्दै नेपाली कविता डट कममा पनि पठाएर छापिएको थियो तर अहिले नेताहरुको तामझाम र नचाईंदो फुर्ति देख्दा लाग्छ नेपालमा अझै पनि कलमद्वारा शान्तिको भाषा बोलेर केहि हुनेवाला छैन। वास्तबमै नेपालमा जनताहरु उक्लेर बोल्ने अग्लो डाँडो चाहिएको छ अनि नेताहरुले जोगाउने लाख प्रयत्न गरिरहेको राजतन्त्रको खिल् घोच्नलाई तिखो काँडो चाहिएको छ । यो गजल मैले नेपालमा गणतन्त्र स्थापनाको निम्ती आफैँले लेखेको आन्दोलन सम्बन्धि कविता , गीत , गजलहरुको अप्रकाशित सँग्रह खडेरीको खेती बाट लिएको हुँ ।

No comments: