Saturday, July 08, 2006

एक अन्जुली माया : दश गीतहरु

दीपक जडित (म आँफै) को शब्दहरु र टिका भण्डारीको सँगीत रहेको गीती अल्बम एक अन्जुली माया , आधुनिक गीतहरुको सँगालो , भित्र रहेका दश गीतहरुका शब्दहरु म यहाँ राख्न गै रहेछु । जो यस अनुशार छन -


संसार अटाउने तिम्रो मुटु भित्र मेरो
एक अन्जुली माया अटाईदेउ
भन्थ्यौ माग्दिन अरु तिम्रो केही म
केवल यही नै कसम देउ ।

तोडेर कसमको बन्धन तिमीले मात्रै मलाई बन्दी बनायौ
लुटेर बसन्त मेरो जीवनको फेरी किन आगो सल्कायौ
डढेलो बोकेर छातीभित्र मेरो साँचेकै छु एक अन्जुली माया ।

तिम्रो कसमको परिधी भित्र अझै पनि त्यहीँ डुल्दैछु
सजाय यो कठोर सहेरै पनि मैले तिमीलाई नै सम्झेकै छु
सम्झना ओझेल परे तर तिम्रै लागी सांचेकै छु एक अन्जुली माया ।
शिर्शक गीत / स्वर : कर्ण दाश


खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ।

उजाड मनमा चल्दछ आँधी सपना उडाउछ
छाती भित्र नि बल्दछ आगो कलेजो डढाउछ
निर्मोही माया बिलाई कहाँ सम्झना छोडेर
मर्नु न बाँच्नु बनाई मनमा भाला नै रोपेर ।

बिर्षन पनि सकिन उसलाई सम्झिँदा रुवाउने
भिजेको चुल्हो झैँ भयो यो जीवन सधैं नै धुवाउने
निस्ठुरी गई छाडेर मलाई भुत्तुक्कै पारेर
आँशुको होली खेल्दै छु म त जिन्दगी हारेर ।
स्वर : दीप श्रेष्ठ

श्रीष्टी कै नियम रहेछ मर्नु मर्ने त गै जान्छन
सम्झेर बाँच्ने ले अरु के गर्नु आँशु बगाईरन्छन ।

भन्देउ न दाजु भन्देउ न दिदी अब त नरोए
मुस्काई बाँच्ने जिन्दगीलाई आँशुले नधोए
खै कस्ले पायो मरीजाने लाई बि र्ष नै पर्दछ
आँशुको प्रतेक थोपामा बुझ जिन्दगी झर्दछ ।

पूर्णेको जून तिम्रै लागी हो अँध्यारो नरोज
खुशीलाई पनि समेट्ने गर बेदना नखोज
टाढा छ तिम्रो मुटुको मान्छे बादल पारी देशमा
भेट्दै छौ होला सपनामा अझै मायालु भेषमा ।
स्वर : जगदिश समाल


आँधी आई त्यो रात मेरो सपना उडाईदियो
भेलबाढी आई त्यही रात मेरो जिन्दगी बगाईदियो ।

बगेर जीवन बगरभरी छरिएछ जताततै
माया गरेर यस्लाई बटुल्न कस्ले सघाईदियो
कुल्चेर सयौँ पाईलाहरुले दुखेको मेरो जीवनमा
कस्को मायालु हातहरुले मल्हम लगाई दियो ।

अनिंदो बितेका धेरै रातपछी अचानक आजै राती
आँखामा बसेर सपनाको कस्ले महल सजाईदियो
छिनेथ्यो हृदयका सारा तारहरु मनको मेरो सारङ्गी
मर्मत गरेर कस्ले अपूर्व यो धून बजाईदियो ।
स्वर : रबिन शर्मा


भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरी गयौ
मुटु भित्र छीया पारी वीरह गीत भरी गयौ
हिउँ जस्तै रै'छ जीवन घाम लागे पग्लिजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

पिर भोली रुँला भन्थ्यौ आज बरु हाँस्नु पर्छ
के थाहा र भोली कस्तो कर्म झेल्दै बाँच्नु पर्छ
सम्झनानै सँधै सँधै हिमाल झैँ अग्लिजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
स्वर : रामकृष्ण ढकाल


बाटो कुर्दै देउरालीमा साँझ नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।

पाखाभरि ढकमक गुराँस् फुल्यो होला
मेरै गीत सुसाउछकी अझै पुवा खोला
पच्छौरिले चिया बारीमा ओझेल नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।

अन्तु डाँडा बाट झुल्के घाम हेर्दै छौ कि
फुकायौ कि मेरो माया अझै बेर्दै छौ कि
एक्लो पर्दा देउरालीमा हिम्मत नहार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।
स्वर : यम बराल


त्यो रातको कथा मेरो तिमीलाई सुनाउँदिन
भागी भागी टाढा भएँ तिमी सामु आउँदिन ।

ईन्द्रेणी परेको आकाशमा तिमीलाई ब्यर्थै खोजेँ
हजारौं फूलहरु छाडेर भिरकै फूल किन रोजें
यि आँखामा फेरी अब सपना सजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

निर्दोश मेरा यि आँखाहरुमा तिम्रो तस्वीर सजाएथें
कोमल मेरो यो हृदयमा तिम्रै संगीत बजाएथें
यो मुटु मा फेरी अब धून बजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।
स्वर : आनन्द कार्की


सातै समुन्द्र तरेर गयौ चिट्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।

बाँसुरी रुन्छ अँधेरी रातमा तिमी पो रोयौ कि
चस्केर दुख्छ बिदिर्ण मेरो मुटु पो छोयौ कि
उडाईदेला सम्झना मेरो त्यो हुरी छेक है
म पनि देख्छु सप नीमा तिमी मलाई देख है ।

फर्केर आउनु सफलता बोकी म कुरी बस्ने छु
प्रितीको माला लिएर तिम्रो मुटुमा पस्ने छु
नखेलाउ तिमी मनमा ब्यर्थै कुरा अनेक है
म पनि देख्छु सप नीमा तिमी मलाई देख है ।
स्वर : कुन्ती मोक्तान


नछेकि देउ ए ! बादल उनलाई मेरी मायालु आकाशमा छिन
बिहानीको कलिलो घामको मलिन न्यानो प्रकाशमा छिन ।

मेरी मायालु आकाशको त्यो चम्किलो तारामा बसेकी छिन
फूलका हरेक पातहरुमा शीत बनेर खसेकी छिन
नछोईदेउ ए ! भमरा उनलाई मेरी मायालु फूलमा छिन
खुशीका पँख खोलेर नाच्ने पुतलीको हुलमा छिन ।

मेरी मायालु बगिरहेकी पवित्र गँगाको पानीमा छिन
थाहै नपाई बैँश फुलेको बन कुशुमको जवानीमा छिन
नमेटिदेउ ए ! समय उनलाई मेरी मायालु कहानीमा छिन
सुनौलो सपना सजिएको मेरै आँखाको नानीमा छिन ।
स्वर : रुबी जोशी

१०
हुरुक्कै बनाई छाड्यो पापीनीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।

बसन्तका पातहरु झरेकै थिएन
जिन्दगीमा रात पनि परेकै थिएन
उठिबास लाई छाड्यो त्यै मोरीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।

त्यसको माया नदी जस्तै बग्थ्यो सलसली
आँखा भरि त्यसकै मुहार आउछ झलझली
रित्तो पर्‍यो मनको घर निर्मोहीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।
स्वर : प्रदीप राज पाण्डे

एक अन्जुली माया मेरो ८६ वटा गीतहरुको सँगालो हो । माथिका १० गीतहरु मैले त्यही सँगालो बाट लिएको हुँ र एक अन्जुली माया नै नामाकरण गरेर गीती अल्बमको रुपमा प्रस्तुत गर्न गै रहेको छु । एक अन्जुली माया , गीती सँगालो अनि गीती अल्बम दुबैलाई मैले मेरी स्व. पत्नी मन्जु प्रती स-प्रेम समर्पण गरेको छु ।

No comments: