Friday, April 16, 2010

गफ निबन्ध : मेरी छोरीको कुरा

निक्कै भयो, आजभोली मायालु छोरीसँग भएर होला मलाई कलम समाउन मनै लाग्दैन । फाट्टफुट्ट केहि लेखिरहने, नलेखे पनि केहि लेख्ने विषय बोकेर हिँडीरहने मलाई यतिबेला त्यो पनि गर्न मन छैन । छोरीसँगको पुनर्मिलनलाई एकएक पल, एकएक क्षण जीवन्त बनाएर बिताउँन रहर छ । र बिताउँदैछु पनि ।

आज कलम समाएँ । छोरी निदाएकि छिन् । हुनसक्छ उनि सपनामा परीहरुको देशमा डुल्दैछिन् । म लेख्न बसेको छु । मलाई छोरीकै कुरा लेख्न मन छ ।

दिउँसो एघार वर्षकि छोरीलाई उनकै अनुरोधमा हिन्दी सिनेमा हेराउंन दार्जिलिङ मोड, सिलिगुडीको सविन किङडम भनिने प्लाजा भित्रको सिनेम्याक्स लिएर गएको थिएँ । सिनेमा घरहरु यतापनि पश्चिमा स्तरकै सुविधायुक्त बनेका रहेछन् । उस्तै महङ्गा पनि ।

सिनेमा छोरीकै रोजाईमा हेरेको हुँदा मैले यहाँ सिनेमाको कमेण्ट लेखिरहनु पर्दैन । यत्ति भने भयो कि मैले छोरीलाई कम्पनी मात्र दिएको थिएँ । सिनेमा हलबाट बाहिरिँदा छोरीकै प्रतिक्रिया पनि सिनेमा राम्रो लागेन भन्ने थियो ।

सिनेमा पछि त्यहिँ रहेको एम्युजमण्ट पार्कभित्र छिरेका मात्र के थियौं धूमधामले हावाहुरी चलेर मुसलधारे पानी पर्न थाल्यो । यो भेगमा यसपाली पानी परेकै रहेनछ । म ठुलै कष्टले सिलिगुडीको उखुम गर्मी खपिरहेको यसरी हात्तीसुँढे वर्षात् हुँदा साह्रै प्रफुल्ल थिएँ ।

अहा! अब बाहिरफेर हिँड्दा धुलो नउड्ने भयो!
अहा! अब यो भत्भती पोल्ने गर्मीमा केहि शितल हुनेभयो!

देखेँ, उता छोरी उत्तिकै दुखी भैरहेकि थिइन् । मौसमले उनको पार्कभित्र खेल्ने सपनामा हात्तीसुँढे पानी खन्याईरहेको थियो ।

स्काई ट्रेन, ब्रेक डान्स, बम्पिङ कार, रक क्लाइम्ब....... अनेकओली खेलहरु थिए जो उनि मसँग खेल्न चाहन्थिन् । तर मौसमले ठुलै शत्रु बनेर भाँजो हालेको थियो ।

म उनको निन्याँउरो अनुहार नियाँलिरहेको थिएँ । त्याहाँ केहि उज्यालो भर्ने हेतुले उनलाई अँगालोमा हालेर भनें -

जो बेला जो ब्यावस्था प्रकृती नियमले प्राप्त भो त्यो छ राम्रो
जो मान्दैन त्यो राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो

केहिदिन अघिमात्र मैले छोरीलाई लेखनाथ पौड्यालको यो काव्यश्लोक स-व्याख्या सुनएको थिएँ । छोरी मुसुक्क हाँसिन् । म उनको मुस्कानसँगै मुहारमा कोरिएको ज्ञानको रेखा देखेर, त्यो रेखा देखाई मेरो कल्पना मात्र थियो भने कल्पनै सहि, सन्तुष्ट बनें ।

पानी थामिएन । थामिने लक्षण पनि देखिएन । पार्क जलमग्न हुँदै गयो ।

म जलमग्न पार्कमा वर्षातका थोप्लाले उठाउंदै फुटाउंदै गरेका पानीफोका हेरेर आनन्दित भैरहेको थिएँ ।
सानोमा यसरी नै बलेँसी झरेर उठेका पानीफोकालाई हामी यो मेरो, त्यो तेरो भन्थ्यौं र कस्को ठुलो बन्ने अनि कस्को धेरैबेर नफुटी टिक्ने खेल खेल्थ्यौ । म पार्कमा छोरीसँग बसेर बाल्यकालको घरको बलेंसीमा हराउँदो थिएँ ।

'बाबा हेर्नुहोस् त कत्ति धेरै पानी जमेको? अब हामी कसरी घर जाने?' फेरी अर्को चिन्ताको लहर देखेँ छोरीको मुहारमा । केटाकेटीहरु चिन्ता रहित हुन्छन् भनेको पनि साँचो होइन रहेछ बरु केटाकेटिहरु पो पाइला पाइलामा चिन्तित बन्दा रहेछन् भलै उनिहरुको चिन्ताको विषय सानो किन नहोस् ।

'खै छोरी पानी कहाँ जम्यो ? मैले त पानी जमेको देखिँन ।' मैले यत्तिकै भनेँ । भनुन्जेल मैले पानी जमेको नभएर बगिरहेको छ भन्ने हिसाबले मात्र सोचेको थिएँ तर भनाईमा त हिसाब अरुपनि देखिन आयो ।

थप ज्ञानको सानो दैलो घरक्क उघ्रिएझैं भयो आफैंलाई । हामी त पानी जम्मा भएकोलाई पो जम्यो भन्दारहेछौं । विज्ञानले तरल जम्यो भने ठोस हुन्छ भने अनुशार पानी जम्यो भने त आइस पो हुनुपर्छ । यसअर्थले हेर्दा आकाशबाट परेको पानी खाल्डाखुल्डीमा जम्यो भन्नु त गलत रहेछ । हामी पोखरीको पानी जमेको भन्छौं जवकि त्यो तरल अवस्थामै हुन्छ । पोखरीको पानी त जम्मा भएको अवस्थामा मात्र हुने रहेछ । यस्ता धेरै गलत कुरालाई हामीले भन्दा भन्दा एकोहोरै लागेर सत्यको नजिक पुर्याएका हुँदारहेछौं र सत्य नै भन्ठान्दा रहेछौं ।

निक्कैबेर यसै विषयमा छोरीसँग कुरा गरेँ । उनको अनुहारमा नयाँ कुरा जानेको जस्तै चमक देखियो । मलाई लाग्यो उनि पक्का यो कुरा आफ्ना साथीलाई सुनाउनेछिन् ।

पानी थामिएपछि बासस्थानतिर फर्कियौं हामी । बाटोमा ठुलै मानिने बालासन नदि अटोरिक्सामा पश्चिम फर्किएर तर्दा ईन्द्र बहादुर राईको सम्झना आयो । धेरैपल्ट बालासन नदि तर्दा ईन्द्र बहादुर राईलाई सम्झेको छु मैले । कतै पढेको छु ईन्द्र बहादुर राईको बाल्यस्मृति बालासन नदिसँग जोडिएको कथा । तर उनको कथा स्पस्ट सम्झन वा भन्न सक्दिंन यतिबेला ।

पुलमाथीबाट उत्तरतिर बालासन नदिको बगर हेरेँ । एक प्रकारको जात्रा छ त्याँहा । ट्रकहरु, ट्र्याक्टरहरु बगरमा ठाउंठावै खडा छन् । भर्खरैको मुसलधारे पानीले निथ्रुक्क भिजेका ज्यानहरु भर्दैछन् तिन्मा बालुवा गिटी । बालुवा गिटी झिकिएर बगर खाल्डो खाल्डो देखिन्छ अनेक ठाउँमा । अनेक ठाउँमा बालुवा गिटी थुपारिएको ढिम्का ढिम्की देखिन्छन् ।

नदि दिँदैछ ।

मान्छेहरु लिँदैछन् ।

नदिबाट लगेर मान्छेहरु ठड्याउने छन् कतैतिर साना, ठुला, धेरै ठुला घरहरु, महलहरु । र त्यो सहर बन्ने छ । यसरी ट्रकका ट्रक नदि दिनदिनै सहर पस्ने गर्छ । साँच्ची सहर भन्नु नदि नै त हो । नदिले नै त सालन्ने बढाउँछ, अग्ल्याउँछ सहरहरु । सहरको भीडभाड, कोलाहल, गाडीको घुईंचो आदिको बहाव पनि त नदिकै जस्तै त हुन्छ । सहर नदि हो भन्न सकिने रहेछ । तर नदिलाई ? अहँ नदिलाई चैं सहर भन्न नसकिने । कत्रो अन्याय!

त्यसैले त बेलाबखत सहरले नदि बढारेर अन्यायको बदला लिएको समाचार पढ्नु पर्छ । जो एकोहोरो दिएको दियै र लिएको लियैको परिणति हुन्छ । नदिले यत्रो दिन्छ यस्लाई पनि केहि दिउँ, यसो छेउछाउ रुखविरुवा रोपुँ, अलि गतिलो तटबन्ध हालिदिउँ भन्ने त हाम्रोतिरका मान्छेले सोचे पो ?

एकैछिनमा सम्झिइएका ईन्द्र बहादुर ओझेल परे मगजबाट । नपरुन् पनि किन जबकि न मैले उनलाई कहिल्यै भेटेको, न उनले लेखे / भनेका सबै कुरा पढेको । किन बस्थे र ईन्द्र बहादुर मेरो मगजमा ? तर ईन्द्र बहादुर राई कहिल्यै हराउने पनि त छैनन् मेरो मगजबाट । उनको बारेमा जति पढे / सुनेको छु त्यति काफि छ उनि मेरो मगजमा बास बस्न, यत्ति हो कि उनि कैले सम्झनामा उदाउँछन् कैले अस्ताउँछन् ।

बालासन नदि तरेर निक्कै अगाडी आईपुगेछौं । बुढि बालासन खोला काटेर ओर्लियौं अटोरिक्साबाट । यहि बुढि बालासन खोला नजिकै दक्षिणपट्टि बस्छिन् मेरी छोरी । उनकि फुपु(मेरी दिदी)को घरमा बसेर बागडोग्रा बजारको हेब्रोन अँग्रेजी स्कुलमा हाल कक्षा ६ मा पढ्दै गरेकी छोरीले घरमा आइपुगेर यौटा पेण्टिङ देखाइन् र भनिन्, 'बाबा यो कस्तो लाग्यो भन्नुहोस् त? मैले तपाईंले पढ्दैगर्नुभएको किताबमा हेरेर बनाएको ।'

म युवराज नयाँघरेको २०६५ सालको मदन पुरस्कार प्राप्त निवन्ध कृति 'एकहातको ताली' पढ्दै थिएँ । त्यसैको आवरण चित्रको नक्कल गरेकी थिइन् छोरीले तर नक्कलमा यौटा ईनार थपेर आफ्नो काल्पनिकीको परिचय पनि राखेकि थिइन् ।

'हौसला र अवसर पाइन् भने मेरी छोरीले रङ्गहरुसँग पनि राम्रै खेल्ने रहिछन्....... 'मनमनै सोचेँ र भनेँ, 'वाह! क्या गजब! स्याबास छोरी!'

मैले उक्त किताबभित्रका कुराहरुमात्र पढेछु र छोरीले त्यसको आवरण कला मात्र पढिछन् ।

छोरीले पेण्टिङ्ग देखाएपछि सकसक जाग्यो म मा कस्ले बनाएको रहेछ एकहातको तालीमा भएको आवरण कला ? हेरेँ, श्यामलाल श्रेष्ठको कुचि रहेछ । छोरीलाई भनें यो कुरा र भनें 'तिमीले आफैं एउटा विषय छानेर त्यसैमाथी विल्कुल आफ्नो भन्न सक्ने पेण्टिङ्ग बनाउनु है छोरी अबदेखि । यो त जति राम्रो भएपनि यसको तारिफ म मात्र गर्न सक्छु । अरुले त यो चोरी गरेको भन्छन् । चोरीको आरोप लाग्नु त राम्रो होइन ।'

'हवस्!' उनले टाउको हल्लाइन् । मेरी बुझकि छोरीमाथी मैले विश्वास राखेको छु कि अबदेखि उनले अरुको कला नक्कल नगरेर मौलिक कलामा कुचि चलाउनेछिन् ।

उनको आँखामा यो पेण्टिङ्ग बनाएर मैले कुनै ठुलो काम गरेनछु भन्ने पछुतो जस्तै केहि झल्किएको देखें मैले र हौसलाको निमित्त केहि नेपाली साहित्यकारहरुको टेकविर मुखियाको कुचिले बनाएको पेण्टिङ्गको पोष्टरहरु निकालेर दिँदै भनें, ' यि योहरु बनाउ । यो जस्को पेण्टिङ्ग भएपनि, तिमीले नक्कल गरेर नै बनाएपनि, तिमीले बनाएकोमा तिम्रै नाम हुन्छ ।'

उनले बडो रुचिले भएका आठदशवटा पोष्टरहरु क्रमश हेरिन् र पारिजातको पोष्टर छुट्याएर राख्दै भनिन्, 'बाबा, सबभन्दा पहिले म यो बनाउँछु ।'

ति पोष्टरहरु मैले २०५६ (मेरी छोरी जन्मेकै) सालमा भ्रिकुटी मण्डपको पुस्तक प्रदर्शनी डुल्दा किनेको थिएँ ।

छोरी पारिजातको पोष्टरलाई गहिरिएर हेर्दैथिइन् । म भने उनले बनाएको एकहातको तालीको आवरणको नक्कल पेण्टिङ्गलाई आफ्नो क्यामरामा खिच्न थालेँ ।

मलाई यो ब्लगको निम्ती यौटा खुराक बन्छ भन्ने थियो मनमा ।

8 comments:

Sunil said...

धेरैमा तपाईंको कुराहरु पढ्न पाइयो, खुशी लाग्यो। तपाईं त जहाँ गयो तेही बेपतबेपत्ता, किन हो एस्तो। छोरी को कला देखेर म पनि मक्ख भए। सारो राम्रो कला पेन्तिङ त। अरु सबैकुर बिर्सेंर छोरीलाई सक्दो समय दिनुहोल। मेरो पनि आशिर्बाद भनिदिनु।

Anonymous said...

i love it..........ani i think there (india) and nepal education system is different thats why your daughter may can image diffrent things but that true children are children and they are creative .......

सूर्य/सिकारु said...

अति रमाइलो र स्वच्छ भावनाले बाबा छोरीको यात्रा संगै ज्ञान-गुनका कुराहरुलाई प्रस्तुत गर्नु भयो दीपक जी ।
नानुको प्रतिभाले शिखर चुमोस मेरो कामना नयाँ बर्ष संगै ।

Luna said...

दिपक जी को कबिता जस्तै शुन्दर छ छोरीको पेन्टिंग .

Luna said...

दिपक जी को कबिता जस्तै शुन्दर छ छोरीको पेन्टिंग .

Basanta said...

कुनै शान्त र सुन्दर उद्यानमा विचरण गरीरहेजस्तो लाग्यो यो लेख पढिरहँदा। दैनिक जीवनका साना-साना कुराहरुलाई केलाएर जीवन दर्शनको गहनतालाई प्रष्ट्याउनुभएको छ। पितृवात्सल्यले ओतप्रोत छ पूरै लेख।
छोरीलाई मेरो पनि शुभकामना, सफल र सुखी जीवनको!

Jotare Dhaiba said...

हराएको कारण त ब्लगले नकहे पनि थाहा थियो । अझ अरू कुराहरू मनोवाद शैलीको यो लेखोटले सचित्र ल्यायो । कति साना-मसिना कुरा खुट्याएर मजाले बुन्न सक्नुभएको । खासमा बाबा बनेपछि यसैगरी सन्तानको बालापनसँगै मिसिएर अर्थ र सन्दर्भहरूमा पनि मिहिन बुझाइ हुनजान्छ होला ।

पानीफोका, आईबी राईको घरछेउ, चित्रकारितामार्फत पहिचानको सोच दिने सिलसिला र सन्दर्भहरू पढ्दा सामान्य तर बुझ्दा गहन लागे । 'एक हातको ताली'बाट छोरीले अर्कै आविष्कार गरिछन्, यसैमा पनि आफ्नो नाम राख्‍न सुहाउने जस्तो । कलाको गुन छोरीमा पनि सर्दै गएको ठम्याएँ मैले ।
खुब रमाइलोपूर्वक बितोस् त्यहाँ आगामी पल पनि ।

Dilip Acharya said...

बाबु- छोरीको प्रेमको गाथा छोटै भएपनि धेरै रमाईलो र गहिरो लाग्यो । छोरीको सफलताको कामना सहित !

दिलीप आचार्य