Sunday, March 14, 2010

गफ : ब्लगलेखनको 'लेट', ब्लगरहरुसँगको भेट

कुनताको समय, सुलुत्त चिप्लेर जाने त्यसमाथी एक महिना, यो अवधिलाई कत्ति छिट्टो बित्यो भन्नुपनि भन्नु मात्रै हो । रफ्तार समयको उहि हो तरपनि बुझ पचाएर वा आफु ढिलो भएर समय कत्ति छिट्टो बितेछ गाँठे! भन्नेहरुमा म पनि पर्छु ।

मान्छेले आयूको प्रतिशत भागहरु जति धेरै बिताउँदै जान्छ उति उस्लाई समय छिट्टो चिप्लेजस्तो लाग्छ । बच्चा हुँदा दशैँ तिहार जस्ता चाडबाडहरु कहिल्यै नआईपुगे जस्तो लाग्ने मान्छेलाई जति धेरै दशैँ तिहार ईत्यादि चाडबाड भोग्दै जान्छ उति धेरै भन्दै जान्छ, 'कति छिट्टो आउन सकेको हो यो चाडबाड पनि।'

यसलाई हामी आर्थिक बोझ उठाउनुपर्ने भयको कारणले यस्तो लागेको भन्ठान्छौं तर आयूको प्रतिशत भागहरु धेरै बिताउँदै जाँदा अभ्यस्त भएर यस्तो लागेको भन्दारहेछन् पश्चिमाहरु । कुरा दुईवटै उस्तै हो हुनत तर सोचाईमा सकारात्मकता देखिन्छ उनिहरुको भने हामीहरु आफैंलाई अनावश्यक चिन्ता दिन्छौं ।

कुरा समयकै आयो ।

बहाना छिट्टो बित्यो भन्ने पर्यो ।

चिन्ता ब्लगमा एक महिना लेख्न नसक्नु भयो ।

उसो त पहिल्यै अनुमान थियो मलाई ब्लगमा उपस्थिती उस्तो सहज हुनेछैन भन्ने । त्यसैले अघिल्लो पोष्टमा लेखेको पनि थिएँ भन्न सक्दिनं ब्लगको उपस्थिती कस्तो हुने हो भनेर । आज भन्न सक्छु ई यस्तै भयो ।

फेब्रुवरी १४ मा काठ्माण्डौ झरेको मैले आज मार्च १४ भैसक्दासम्म ब्लगको दैलो ढप्क्याई राखेको थिएँ । आज खोल्ने मौका जुर्यो । जुर्यो के, जुराएँ भनुँ न; यसबिचमा पनि ब्लगको दैलो उघार्न आएको भए हुन्थ्यो कसैले ब्लगिङ्गमा बन्द हड्तालको कार्यक्रम राखेका त थिएनन् । तर घरपरिवार, ईष्टमित्र, नरनाताहरुसँगको भेटघाटमै रमाईलो मानेर हो मैले ब्लगमा लेख्ने कामलाई जय भोली! भन्दैरहेँ ।

फेब्रुवरी १५ मै पूर्वतिर हान्निएको म मार्च आठमा पुन काठ्माण्डौ फर्किएँ । घरतिरको बसाईमा एकप्रकारको रमाईलो भएपनि छट्पटी पनि उत्तिकै भैरह्यो । के गरौं? कता जाउँ? यो समय म त्यसै नष्ट गर्दैछु भन्ने उखरमाउलोलाई शान्त पार्नकै लागी काठ्माण्डौ फर्किएको थिएँ म । खासगरी छोरीको परिक्षा चलिरहेकोले म घरमा हुँदा उनलाई अध्ययनमा बाधा परिरहेको महसुस गरेको थिएँ मैले । काठ्माण्डौ फर्केपछि काठ्माण्डौ भित्रै रहनुहुने केहि ब्लगर साथीहरुलाई भेट्ने निश्चयले सम्पर्क गर्नतिर लागेँ म ।

पहिलोपल्ट क्याफे मंगलमका ब्लगर मित्र जोतारे धाइबाजीलाई फोन सम्पर्क गरेँ र भेटेँ । धाइबाजीसँग पहिलो पल्टको भेट मलाई बिल्कुलै पहिलो पल्टको भेट जस्तो नलागेर लामो समयसम्म घनिष्टता रहेको साथीलाई केहि समयान्तरमा भेटेको जस्तै सहज र आत्मिय लाग्यो । वागबजारको कुनै कुनातिर प्रविष्ट भै मिठो चिया पिउँदै धाइबाजीसँग ब्लगका, अन्य ब्लगर मित्रहरुका लगायत अरु विषयहरु माथिपनि केहिबेर गरिएको मिठो कुराकानी सहितको त्यो आत्मिय भेट मेरो सम्झनामा सँधै मिठो भएर रहनेछ । साथमा अन्नपूर्ण पोष्टकि स्तम्भ लेखिका नारायणी देवकोटाजी सँग भेट्न पाउँदा पनि हर्षित थिएँ म ।

अर्कोदिन अर्को ब्लगर मित्र कुटीकि कैलाश राईजीसँग फोन सम्बाद गर्न सफल भएँ र लागेँ भेट्नलाई थापाथली स्थित मार्टिन चौतारीमा । कैलाशजी मार्टिन चौतारीकि अनुसन्धानकर्ता हुनुहुन्छ भन्ने थाहा पाएको भएपनि मेरो परिचयमा ब्लगर नै धेरै हुनुहुन्थ्यो । मार्टिन चौतारी पुगेर कैलाशजी कहाँ के गर्नुहुन्छ भन्ने कुरामा अलि थप चिनेँ । धाइबाजीसँगकै जस्तो सहज र आत्मिय लाग्यो कैलाशजीसँगको पहिलो भेटघाट पनि । कति स्नेहमयि भने पहिलोपल्ट भेट्दैछौं भन्ने त ठ्याम्मै लागेन । कैलाशजीसँगको छोटो भेटघाटमा मार्टिन चौतारीको कार्यालय भित्रको पुस्तकालय, अध्ययन कक्ष आदि सर्सर्ती हेर्ने अवसर पनि जुर्यो । समसामयिक विषयवस्तुहरुमाथी छलफल गर्ने गराउने, अनुसन्धान गर्ने तथा तत्सम्बन्धि पुस्तकहरु प्रकाशन गर्ने मार्टिन चौतारीका सबै साथीहरु, कैलाशजी समेत, लाई चौतारीका कार्यहरु सफल र प्रभावकारी बनुन् भन्ने मेरो शुभकामना त्यतिबेलै मनमनै चुहाएँ जतिबेला कैलाशजीले विद कम्प्लिमेट मार्टिन चौतारी भन्ने छाप ठोकेर मलाई दुईवटा पुस्तकहरु उपहार थमाउनुभयो ।

दुबै ब्लगरहरु धाइबाजी र कैलाशजीसँग भेट हुँदा अरु दुईजना ब्लगरहरु मेरो विचार र अभिब्यक्तिको साझा चौतारी चलाउनुहुने ब्लग गुरु दिलिप आचार्य र मेरो फोटो ब्लग नामको ब्लग चलाउनुहुने फोटो ब्लगर सुजन शर्मासँग भेट्न जाने सल्लाह गरेको थिएँ । यहाँ भने हामीलाई चिठ्ठा पर्नेवाला थियो । एकजना ब्लगरलाई भेट्न जाँदा दुबैलाई भेटिने । वहाँहरु दम्पति नै ब्लगर हुनुको क्या मिठो फाईदा! अर्कोदिन हामी; धाइबाजी, कैलाशजी, म र मेरो एक झापादेखि साथै आएको मित्र साँझतिर पुग्यौं गहना पोखरी स्थित दिलिपजी र सुजनजीको निवासस्थान । वहाँहरु दुबैजना हाम्रो ब्यग्र प्रतिक्षामा हुनुहुन्थ्यो । हामीले खुत्रुक्कै यहि समयमा आउँछौं भन्न नसकेको र अलि बेलैमा पुग्न नसकेको शरम अलिअलि उदाएथ्यो मेरो मनमा वहाँहरुलाई कुरायौं भनेर तर वहाँहरुसँगको पहिलो भेटको सहजताले त्यो शरम कहाँ बिलायो कहाँ ? तेस्रोपल्ट पनि ब्लगको साईनो लिएर ब्लगर मित्रहरु भेट्न जाँदा स्थिती अन्यन्तै सहज र आत्मिय पाएपछि मलाई लाग्यो ब्लगले परोक्ष रुपमा जोडेको नाता त प्रत्यक्ष भेटघाट भै रहने नाता भन्दा पनि धेरै प्रगाढ पो हुने रहेछ । सुजनजी र दिलिपजीको हार्दिकतापूर्ण न्यानो आतिथ्यमा रमाउँदै, वहाँहरुको मायालु छोरीलाई पनि भेटेर अनि केहिबेर विविध कुराकानी गरेर फर्कियौं हामी ।

जम्माजम्मी ३ महिनाको बसाईमा अब बचेको २ महिनामा नेपालभित्र रहनुहुने अरु ब्लगरहरुसँग भेट्ने मेसो जुर्ला कि नजुर्ला ? दिलिपजीले अरु ब्लगरहरुसँग पनि भेट्ने हिसाबले ससानो बनभोज आयोजना गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो साँच्चै त्यसरी यौटा कार्यक्रम बनिदिए कति रमाईलो हुन्थ्यो होला !

काठ्माण्डौको धुँवाधुलो, घचम्घच्ची भीडभाड र कोलाहलबाट म भने चारजना ब्लगरसाथीहरुसँगको आत्मिय भेटको न्यानो बोकेर हिँजो १३ तारिख बिराटनगर फर्किएँ । आज अझै पूर्व पुग्नुथियो तर पूर्वमा भएको बन्दले विराटनगरमा थन्क्याईदियो । र थन्किनै पर्दाको समयलाई उपयोग गर्दै ब्लगको दैलो खोल्ने साईत पनि जुर्यो । जाँदाजाँदै यसपटक नेपाल आएर लेखेको (नेपालमै देखेको) यो गजल छोड्न चाहन्छु तपाईंहरुलाई ।

मान्छेहरु अझै यो बस्तिमा हाँसेकै रा'न् ।
दुखाईमा होस् या होस् मस्तिमा हाँसेकै रा'न् ।

सुनिन्थ्यो मुर्कुट्टाहरु हिंड्छन् राती राती,

पुलिसहरु तर गस्तिमा हाँसेकै रा'न् ।

गिराएर आफ्नै मूल्य कौढीबाट तल,

ढुक्कले अरुको प्रसस्तिमा हाँसेकै रा'न् ।

यहि 'आज' पो सुखद हुन्छ कि मान्छेको,

सम्झेर आफ्नै हिँजो अस्तिमा हाँसेकै रा'न् ।

हाँस्नु छ मान्छेलाई अकारण नै हाँस्नु,

देखियो मान्छे जबर्जस्तिमा हाँसेकै रा'न् ।

14 comments:

Aakar said...

रमाइलो भएछ !
हुन त तपाई सात समुन्द्र देखि आएर भेटिसक्नु भएछ सबैलाई, तर हामी यहीँ भएकाहरु आ-आफ्नै समस्या मा अल्झिरहेका छौँ, या भनौँ भेट्ने साइत अहिले सम्म जुरेको छैन ।

कैलाश said...

हो दीपकजी ब्लगिङले जुराइदिएको आत्मिय सम्बन्धको पहिलो भेट एकदमै सहज र रमाइलो लाग्यो मलाई। अनि ब्लगरको नाता जोडेको मित्रताको चिनो पनि सँधैलाई स्मरणीय छ र हुनेछ मेरो लागि (अँ, तपाईले पुस्तकको कुरा हाल्नुभएपछि मलाई यो कुरा नहाली मनले धरै दिएन यहाँ)। त्यसमाथि यहीका केही दुरीमा बसेका हामी ब्लगरहरुबीच पनि भेट गराउने कडी बनिदिनुभयो। त्यसको लागि तपाईलाई धन्यवाद नदिइ रहन सकिदैन।

ब्लगिङको यात्रा जारी रहोस्। शब्द संवाद कायमै रहोस्। यो गजल त निकै घत पर्यो मलाई। आफ्नै अनुहार ऐनामा हेरेर जबरजस्ती हाँसेझैँ।

तपाईको यात्रा र काम शुभ रहोस् पुन भेट्ने मौका मिलोस्। जय होस‌्।

Chaitanya said...

ब्लग लेखनको साइनोमा, दोस्ती गांसेकै रा'न ,
लोड शेडिंगले मारामार भएपनि,पोष्ट टाँसेकै रा'न
जडितजीको अनुभब पढेर खूब रमाइलो लाग्यो है !

Dilip Acharya said...

साँच्चै अचम्मै हुँदो रहेछ ब्लगको नाता । मलाई लग्छ हामी कसैलाई पनि कसैसंग पहिलो भेट भएजस्तो महशुस नै भएन ।

हामी बुढाबुढी पनि यता आएको करिब २ महिना हुनलाग्दा पनि "अफ लाइन' भेट भने कसैसंग भएको थिएन र सबैसंग भेट्ने इच्छा भएपनि सायद साइत जुरेको छैन ।

त्यसैले सकिन्छ भने एउटै थलोमा बढिभन्दा बढी साथीहरुसंग भेट गरौं भनेर यो वनभोजको कुरा उठाएको हो ...अरु साथीहरुले पनि यही नै सल्लाह गर्दा पनि हुन्छ कि कसो ?

अर्कोपटक भने अलिक फुर्सद लिएर आउनुहोला है !

Milan said...

गुरुवा गुरुआमा साथि संगिनी सबैलाई भेट्नु भएछ... रमाईलो लाग्यो... हाम्रो चाहिँ छेउ छाउका साथिलाई नि भेट्न कहिले टाईम जुरया होइन ....

देश भरि सबै हाँसेको कुरा त्यसमाथि दाइको सुन्दर प्रस्तुतिमा सुन्दा आनन्द लाग्यो ...

Jotare Dhaiba said...

हिजो एकफेरा पढेर भेटको स्मरण ताजा पार्दै-मख्खिँदै बाहिरिएको थिएँ । आज फेरि प्रतिक्रियामा केही लेख्‍न कुतकुतिएर पसेको छु ।

ब्लगर भेटको संस्मरण कति आत्मीयतापूर्वक लिपिबद्ध गर्नुभएछ । मलाई भने यो भेट ब्लगर कम र पारिवारिक ज्यादा लाग्यो । हुन त ब्लगर भएकै आधारमा हाम्रो चिनाजाना ऊ बेलामा मौलाएको हो, तर ब्लगरको आ-आफ्नै परिवेश र अस्तित्वदेखि पर रहेर आत्मीयताले हामी त्यो दिन गोलबद्ध भएको पललाई ब्लगर भेट मात्रै भनेरै खुम्च्याउन एकरत्ति मन मान्दैन मेरो । साँच्चि त, त्यसै बेला पनि कुरा गरेको हामीले, यो पहिलो भेट जस्तो लागेन, शब्दको खेतीबाट मात्र अप्रत्यक्ष रूपमा साउती मार्दै आएका हामी पहिलो पटक मुखामुख गर्दा पनि चिनाजाना भावले कत्ति पनि विरानो अनुभूति भएन ।

निकै प्रिय लाग्यो सबै कुरा । कैलाशजीसँगको भेटमा पुल बनिदिनुभयो । धन्यवाद जडितज्यूका साथै दाइ-भाउजू ब्लगर र कैलाशजीलाई आत्मीय भेटका लागि ।
कुराकानी र भावनाको आदानप्रदान जारी रहने नै झन् पूर्ववत्, अब त झन् भेटको घनिष्‍टता पनि गाँसिएको छ । ब्लगसँगै जीवनको हरेक पाटो मिल्दै जाओस् । किताब निकाल्ने जोरजामले पनि रफ्तार लेओस् ।
आउँदा-जाँदा लाउँला पिरति ।

पुनश्‍च: यस्तो बेवास्ता गरिएको काफियामा कति सपाट नेपाली झलक आउने गरी गाउँले लवजमा गजल कोर्नुभएछ । नेपाली भूमिले जडितज्यूको कलमलाई भरपूर चिनेछ । सुगन्ध मीठो छ ।
माथि चैतन्यजीको दुई लाइन पनि रमाइलो लाग्यो ।

कृष्णपक्ष said...

अहा! कति आत्मीय भए होलान, ब्लगर दोस्तीका भेटघाटका ती न्याना क्षणहरु । पोस्ट पढेर नै रमाइलो अनुभव भयो ।

Basanta said...

भेटघाटको कुरा रमाईलो लाग्यो, डाहा पनि लाग्यो:)

गजल भावपूर्ण र सटीक छ।

तपाईँको नेपाल बसाई यस्तै सुखमय र रमाईलो रहिरहोस्। यस्तै धेरै कुराकानी र रचनाहरुको आशामा छौं हामी।

बिमल गिरी said...

दीपकजी, तपाईंको "ब्लग लेखन्को लेट"ले मलाई त फनफनी घुम्यायो। ब्लगर मित्रहरु सङ्गको अबिस्मरणिय भेटघाटले बिदेश बसाइको यादहरुलाई चुर्लुम्मै भुल्नु भएछ। नभुल्नु पनि कसरी र?किनकी रगतको नाता भन्दा परको नाता आत्मियता नजिकहुन्छ भन्छु मत। भेटघाटमा ब्यस्त त्यहा कुनैपनि
अबरोध थिएन। रुखको आडमा रुखकै लहराझै अबिचल बषौदेखी बेरिएर एक तमाससँग बेरिएको मित्रहरुको मायासङ्गै एकाकार हुनुभयो। खुशीको कुराहुन।
मान्छेहरु अझै यो बस्तिमा हाँसेकै रा'न् ।
दुखाईमा होस् या होस् मस्तिमा हाँसेकै रा'न् । गजलका यि लाइनहरु सँगै बिदा। नेपाल आमासङ्गको बसाइ सुखद रहोस् ।

Sujan Sharma said...

पहिला कहिले काही सोच्ने गर्थें 'के हाम्रो साइनो ब्लगमा मात्रै सिमीत होला त?' भनेर ।

तर ब्लगको साईनो साँच्चै गाढा हुने रहेछ । तपाइहरुसंग भट्न पाउँदा एकदमै खुसी लाग्यो । खै, कुनै सानोतिनो 'कार्यक्रम' नै आयोजना गेर भएपनि सकेसम्म धेरैजना एकै थलोमा भेट्न पाए त कत्ती रमाइलो हुन्थ्यो होला !

वसन्त बलामी said...

कम्पूटरका स्क्रिनमा मात्र पढिने ब्लगरहरू बीचको भेट साह्रै आत्मिय भएछ । समय मिल्यो भने त म पनि सबैलाइ भेट्न तयार भएर बसेको छु है ।

सूर्य/सिकारु said...

हत्तेरी यस्तो रमाइलो पोस्ट पढनलाई म यतिका ढिला पो भएछु। दीपक जी त्यो चार चार जना ब्लगरको भेटघाट कति रमाइलो भएछ । पढ्दैमा यति मज्जा आयो की म आफै पनि सहभागी भएजस्तो। धन्यबाद भेटघाटको यो रमाइलो गफगाफको लागि ।

Chaitanya said...

तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना ! सदा झैँ यो बर्ष पनि मेरो ब्लगमा तपाइंलाई स्वागत छ है!

दीपक जडित said...

ब्लग लेखनको लेटमा फेरी म प्रतिक्रियाहरु पढेर त्यसको रेस्पोन्स लेख्न पनि लेट नै आएको छु । प्रतिक्रिया लेख्नुहुने सबैलाई हार्दिक धन्यवाद! सकेसम्म र मौका परेसम्म हामीले भेटघाट, माया प्रिती लाएकै जाती। धाइबाजी, पुस्तक निकाल्ने कुरामा तपाईंको अघिल्तिर बसेर सोचेभन्दा धेरै सोच्न भ्याएको छैन तर सोच्ने छु । आकारजी र प्रवेशजी(भुपु उजेली)लाई पनि भेट्ने मनसुबा थियो । अहिले त म यतै हराएको छु । केहि दिनमा काठ्माण्डु फर्किंदा फेरी प्रयास गर्ने छु सबैलाई भेट्न । जदौ!