Thursday, January 14, 2010

कविता : यो बँचाई


भन्न सक्दिंन
तिम्रो लागी बाँचे कि बाँचिन म ?
यत्ति थाहा छ तर
आफ्नो लागी
आजसम्म बाँचेको रहेनछु म
यो बँचाई भन्ठानेथें
मेरै लागी मात्र बाँचेको छु मैले
यतिखेर
ध्वारध्वारी च्यातिएर
भ्रमको पर्दा
नाङ्गिएपछि तिम्रैसामु
छोप्न खोजेँ हत्केलाहरुले
आफ्नो लागी कहिल्यै नबाँच्नुको लाज
कठै !
यतिञ्जेल आफुले
आफैंलाई खुवाएको ढाढस
उल्टै छाद्नुपर्दा मुखबाट
थाहा पाएको छु
कति नमिठो रहेछु म
बौरिएझैं मुर्छाबाट
बल्ल बल्ल
आफ्नो लागी बाँच्न खोज्दै गर्दा
थाहा पाएको छु
आफ्नै प्रिय रहेनछु म
त्यसैले त अझै
दह्रो छु दह्रो म
तिम्रो खोजखबरहरुमा
नपरेर पनि आफु
सम्झिरहेछु तिमीलाई
तिम्रो लागी बाँचे कि बाँचिन म ?
यत्ति थाहा छ तर
आफ्नो लागी
आजसम्म बाँचेको रहेनछु म ।

9 comments:

Chaitanya said...

असाध्यै मार्मिक लाग्यो कविता | गहिरो चोटलाई तीव्र तवरले प्रस्तुत गर्नुभएको जस्तो लाग्यो जडितजीले |

बेदनाथ पुलामी ( उमेश ) said...

कति मज्जाले गहन कुरा गर्नु भएको दिपक जी !
राम्रो लाग्यो !

कृष्णपक्ष said...

ध्वारध्वारी च्यातिएर
भ्रमको पर्दा
नाङ्गिएपछि तिम्रैसामु
छोप्न खोजेँ हत्केलाहरुले
आफ्नो लागी कहिल्यै नबाँच्नुको लाज
कठै !

शव्द शव्दमा पिडा पोखिएका छन,
कविता मर्मश्पर्शी छ ।

Ashesh said...

असाध्यै मीठो कविता । शव्द सम्योजन अनि भावनात्मक पक्ष दुवै वेजोड लाग्यो ।

Basanta said...

गज्जबको कविता! र यसले बोकेको, 'छादेको' भाव जुन छ, त्यो हामी धेरैको मनोदशा हुनसक्छ।

Milan said...

एकदम मार्मिक कविता | कसैलाई हद भन्दा धेरै माया गर्नुको परिणाम शायद यहि होला | यो मामिलामा म भने अलिक स्वार्थी छु | शायद मानिस आफु सहित सबैको लागि बाँच्नु नै उत्तम होला जस्तो लाग्छ मलाई | आफुले अरुलाई माया गर्दा उसले नि आफुलाई माया गरेको छ भन्ने बिर्सनु हुँदैन |

आफैलाई बुझ्न यो कविता हरेकको लागि उपयोगी छ |

अन्त्यमा नयाँ जीवन र नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना |

Dautari Admin said...

अरुको लागी त भन्न सकिन्न आफ्नो लागी भने पक्कै बाचिन्छ। बांच्नै रमाइलो अनि बांच्नै कसैलाइ कहाली र कसैलाइ बांच्ने उत्कठ इच्छा। यस्तै छ बांच्नेको कथा।

अर्को कुरा दिपक जी दोस्रो ब्लगर भेला www.dautari.org मा आउनुहोला। जेनवरी ३०,२०१०(माघ १६,२०६६)नेपाली समय बिहान ९ बजे सनिबार ( US CST Jan 29,9:15pm Fri)

दीपक जडित said...

कविता प्रति टिप्पणी गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ! यो वास्तवमा कुनै यौटा निर्मोही पात्रलाई चाहिने भन्दा धेरै माया गर्नुको कारण लेखिएको कविता नभएर आफ्नो प्रति बेवास्ता गर्दाको अनुभव ओकलिएको कविता हो भन्न चाहन्छु म ।

दौंतरी एड्मिनजी म दौंतरीको आगामी भेलाको दिन साईपान देखि एंकरेज फर्कने क्रममा हुनेहुँदा ब्लगर भेलामा सामेल हुन सक्दिंन । यो सुचना पढेदेखि नै चिन्तित छु यसप्रति म ।

चूडामणि/मणि said...

कविताले जीवनको अर्थको खोजी गरेको छ बाँच्ने क्रममा | मनपर्यो |