Friday, January 01, 2010

गफ : कुरा उहि, पारा उहि तर नयाँ वर्ष

मैले भनिगएं नि मेरो त कहिल्यै केहि 'प्लान' बन्दैन । जे हुन्छ त्यो हुन्छ, हुन्न भने हुन्न, चिन्ता पनि लाग्दैन किन भएन भनेर । बिन्दास!!, अलि फिल्मी शैली भयो यो त, बेपर्वाह चैं भनुँ क्यार ।

हिँजो (पोहोर नै भने हुने हो हामीले गर्ने गरेको समयको हिसाबकिताब अनुशार त । यतिबेला सन २०१० को शुभ प्रभात भै सकेको छ।) दिउँसोसम्म छरछिमेकका ब्लगहरुमा पसेर नयाँ वर्षको टाँसो पढ्दै कतै कमेण्ट पनि लेख्दै हिंड्दा सन २००९ कै अन्तिम रात्रीभरमा आफ्नो ब्लगको निम्ती पनि यौटा नक्सा कोर्छु भन्ने थियो र सन २०१० लागिसक्न नपाई ब्लगमा टाँसुला भन्ने थियो तर आफ्नो चलन योजना मुताविक नचल्ने भएरै होला त्यसो हुन सकेन । सन २००९ को अन्तिम दिनको काम सिध्याउन पाएको छैन हिँडियो बरालिएर । आँखिर चमेरे जुनी जो पाईएको छ - निशाचर । दिनभरी साङ्ग्लोमा बाँधिने अनि राती फुक्ने गाउँघरको भोटे कुकुर जस्तो । फरक यति नै हो कि कुकुर साँच्चैको साङ्ग्लोले बाँधिन्छ आफुभने कामको साङ्ग्लोले ।

रातैभरी बेपत्तासंग अन्मरिएर अहो! मैले त ब्लगमा यौटा टाँसो पनि पो लेख्नुथियो भन्ने होस् खुल्दा बिहानको ५ बजिसकेको थियो । र पनि जे होस ब्लगमा लेख्नु छ भन्ने होस त खुल्यो भनेर गदगद हुँदै लेख्न सुरु गरें । यतिबेला लेख्न सुरु गरेर, कतिबेला लेखिसकेर, कतिबेला ब्लगमा टाँसेर सुत्ने अनि एकछिन पछि १० बजे बिहानको काम गर्न पुग्ने भन्ने चिन्ता भित्र कतै भएपनि त्यो चिन्ता मैले गर्ने हैन भनेर मस्त बनें । आँखिर १५ दिनको लागी मात्र बाँकी रहेको कामको कस्ले टेन्सन लिईराखोस् ? म त लिन्न ।

यसपालीको नयाँ वर्षलाई त्यसो त केहि जुगाड थिएन, अझै भएन पनि नत्रभने प्राय नयाँ वर्षको लागी कविता या गजल यस्तै केहि लेख्थें पहिले पहिलेका नयाँ वर्षहरुमा । यसपाली भने पक्का नयाँ वर्ष हुने भयो मलाई त । न नयाँ वर्षको कविता लेखेको छु, न गजल, न गीत । 'सँधै लेखेर नयाँ भएको महसुस गर्थें यसपाली नलेखेर नयाँ भएको महसुस गरुँला..' मन यसरी नै बुझाएँ । मन त हो आँखिर त्यो पनि आफ्नै, यस्लाई जसरी बुझाए नि बुझिहाल्छ नि । मुर्ख मन ।

'नयाँ वर्ष नामको या नयाँ वर्ष भन्न मिल्ने कुनै प्रकारको उम्दा रचना नभएपछि ब्लगमा यस्तै 'गफ' हानेर भएपनि झोलझाल त गर्नैपर्यो ।' कैलेकाहिँ त खुराफाती आईडिया निकाल्छ यो दिमागले पनि । आँखिर यो दुनियाँमा सबभन्दा सजिलो कुरा हो 'गफ' दिन भलै त्यही गफ बिकाउन सबभन्दा मुश्किल कुरा किन नहोस् । आफुलाई 'गफ' बिकाउने चिन्ता पनि त होईन, यो ब्यापार हो र थोडै ? त्यसैले म त 'गफ' हान्ने हो आज । त्यो पनि आजको 'गफ' हान्ने । न हिँजोको न भोलीको । हिँजो त बितिसक्यो, भोली के हो के हो ? त्यसैले मलाई गफ आजकै गर्नु ठिक लाग्छ । म आज बाँच्ने प्रकारको मान्छे भएर पनि होला । हुनपनि भोली को बाँचेको छ र ? आज ठिकसँग बाँच्न पाए सबै ठिक हुन्छ तर प्रत्येक आज भने ठिकसंग ठिक हुनुपर्यो । यत्तिनै सोच्छु म त । हिँजो, आज र भोली या ने कि भूत, वर्तमान र भविश्यको कुरा गर्दा आज(वर्तमान)लाई अलिकति 'चेन्ज' गर्न मन लागेको थियो मलाई । तर मैले एक्लैले गरेर नहुने । काल भनेर समयलाई छुट्याएका छौं हामीले । भूत, बर्तमान र भविश्य । यि तीनमा मलाई भूत र भविश्यको फिक्री छैन । यो बेफिक्री मेरो आफ्नै जिन्दगीको भूत र भविश्यको पनि हो र शब्दहरु 'भूत' र 'भविश्य'को पनि हो । यि दुईसंग म ढुक्क छु तर 'वर्तमान'को भने चिन्ता छ मलाई । आफ्नै जिन्दगीको 'वर्तमान'को पनि र शब्द 'वर्तमान'को पनि ।

यो 'वर्तमान'लाई म 'उपहार' भन्न चाहन्छु । जस्तै कि यसरी - भूतकाल, उपहारकाल र भविश्यकाल । अँग्रेजहरु 'वर्तमान'लाई कति मजाले प्रेजेन्ट भन्छन् । जति जे भने पनि अँग्रेजहरुले यो कुरा चैं सोचेकै हुन् वर्तमानलाई प्रेजेन्ट भन्न । प्रेजेन्ट अर्थात उपहार । अहा! कति रमाईलो! हुनपनि यो वर्तमान नै हाम्रो लागी उपहार जत्तिकै सर्वोत्तम समय हो जतिबेला हामी चाहे अनुशार गर्न सक्छौं । वर्तमानमा हामी जे गर्न सक्छौं त्यो न भूतमा फर्केर गएर गर्न सक्छौं न भविश्यमा पुगेर गर्न सक्छौं । 'वर्तमान' भन्दा सुन्दर उपहार हाम्रो लागी अरु के होला र ? '..................', केहि छैन भने वर्तमानलाई 'उपहार' किन नभन्ने ? तर समस्या मैले एक्लैले भनेर हुँदैन । किन पहिले नै वर्तमानलाई उपहार भनिएन होला ? चिन्ता यत्तिनै हो मेरो वर्तमान शब्द प्रतिको कि यसलाई उपहार भनिनु पर्थ्यो या पर्छ । किनभने मूल्यको हिसाबले जतिसुकै निम्नकोटीको किन नहोस् उपहार भन्ने बित्तिकै त्यसको महत्व अर्कै हुन्छ त्यसैले वर्तमानकाललाई उपहारकाल भन्न सके त्यसको महत्व अहिले जति छ त्यो भन्दा अझै हुन्थ्यो कि ? यहि कुराको कतै न कतै सम्बन्ध होला कि म आज बाँच्न चाहने प्रकारको मान्छे हुँ ।

त्यसैपनि योजना बनाएर बाँच्ने सामर्थ्य छैन होला म मा र बाँच्नुको नाममा कुनै योजना बन्दैन पनि मेरो जीवन उद्योगमा । परन्तु कैलेकाँहि लाग्छ कि जीवनलाई अलि ब्यवस्थित पारुँ । नेपालका राजनैतिक दलहरुकै जस्तै किन नहोस् जिन्दगेको रोड म्याप बनाएर त्यस अनुशार हिडुँ तर हुँदैन । अहँ पटक्कै हुँदैन । त्यसो गर्नको लागी पहिलो शर्त समयमा सुत्ने र समयमा उठ्ने हुनुपर्छ । अरु पनि शर्तहरु प्रसस्तै होलान तर सबै मध्ये यो समयलाई ब्यवस्थित गर्नुपर्ने शर्त पहिलो नम्बरमा आउँछ र मेरो समस्या भनेको नै यहि समयलाई नियन्त्रण गर्न नसक्नु हो । त्यसो त समयलाई कसैले वसमा राख्न सक्दैन तर कतिपयले समयलाई आफ्नो दैनिकीको लागी भने ब्यवस्थित पारेकै हुन्छन् त्यसैले त सायद तिनीहरु अगाडी निस्कन्छन् । आफुलाई भने जता परे पनि बाल!, अलि सडकछाप शैली भयो यो त, पर्वाह छैन चैं भनुँ क्यार ।

हो, आफ्नो त अझै कुरा उहि पारा पनि उहि तर नयाँ पनि छ है - नयाँ वर्ष । अर्थोक केहि होस् नहोस् आजको दिन कम्तिमा नयाँ वर्ष छ(हरदिनको नयाँ हिसाब राख्ने ठेक्का कस्ले लिएको छ र? त्यसैले प्रत्येक पलको नयाँ भन्ने कुरालाई छोडिदिएको)। र तपाईंहरु सबैलाई त्यहि यहि नयाँ वर्षको मंगल कामना त छँदैछ ।

अन्त्यमा बरालिएर हिँडेर घर(आफ्नो)बाहिर बाहिरै भएको बेला पनि यति कुरा लेख्नलाई कम्प्युटर उपलब्ध गराउने भाइ/साथी शैलेन्द्रराज जोशीलाई धन्यवाद!

Happy New Year 2010 !!

7 comments:

कृष्णपक्ष said...

अहा! उपहारकाल वाला प्रसंग खुब रोचक लाग्यो ... हो त यो वर्तमान उपहार नै हो । बरालिने समयहरु यस्तै रचनात्मक कुरातिर लागुन, र दिनचर्या अरु व्यवस्थित होउन, शुभ नया बर्ष ।

खुल्लामन्च said...

ढिलै भएपनी जडितजीलाई नयाँ बर्षको शुभकामना !

सूर्य/सिकारु said...

तर जहाँ जसरी भएपनि टासो पृथक लाग्यो मलाइ चाही । लेख्न त मैले पनि जोड गरेको हो तेस्तै भयो तपाइसंग मिल्दोजूल्दो ।
मैले पनि भने है दीपक जीलाई नयाँ बर्षको मङ्गल कामना ।

Aakar said...

हा हा हा !
आखिर गफै त हो !
:D

बिमल गिरी said...

दीपकजीको गफै मिठो,कसलाई होला उहाको खुराकी मननपर्ने?यो अनौठो टासोको लागि धन्यवाद, अनी नयाँ बर्ष २०१० को शुभकामना छ् है दीपक जी।।।।।।

Basanta said...

मिठो गफ जडितजीको!

नयाँ वर्षको शुभकामना!

दीपक जडित said...

वास्तवमा यो उपहारकाल भन्ने सनकी कुरा मात्र हो । आकारजीले भन्नुभएझैं गफै त हो ! जे होस् यहाँहरु सबैलाई हार्दिक धन्यवाद !