Wednesday, January 10, 2007

मैले ब्लग किन शुरु गरें?

'मैले ब्लग किन शुरु गरें?'

'रहरले सायद । स्पस्ट रुपमा म संग जवाफ छैन ।'
वास्तबमै मैले अरुको ब्लग देखेरै ब्लग लेख्न शुरु गरेको हुं तर अब आएर आफ्नो ब्लग लेखाईलाई अरुको नक्कल हो भन्दा आफैंप्रती अन्याय गरेको हुनेछ त्यो किनभने ब्लग लेखाईले मेरो दैनिकीमै ठुलो प्रभाब पारिसकेको छ । ब्लगर हुनु अब मेरो लागी रहर मात्रै नरहेर एक प्रकारले आवश्यकता बनिसकेको छ ।

आजभोली म अरुहरुको ब्लग भित्र निक्कै छिर्ने गर्छु तर पनि ब्लग के हो ? किन लेखिन्छ ? जस्ता प्रश्नहरुको सहि जवाफ म संग छैन । ब्लग के हो भन्ने बारेमा ब्लगलाई परिभाषित गर्नेहरुले एकातिर परिभाषित गरिरहेको र ब्लगलाई प्रयोग गर्नेहरुले अर्कोतिर प्रयोग गरिरहेको जस्तो पनि लाग्छ मलाई , म आफैंले पनि ब्लगलाई त्यसरी नै प्रयोग गरिरहेको छु हुनत कतिपय कुराहरुको प्रयोग विज्ञानको प्रयोग जस्तो यौटै सुत्रबाट गर्नु पर्छ भन्ने हुन्न । ब्लग पनि परिभाषित गरिए अनुशार नै प्रयोग हुनुपर्छ भन्ने के छ र ? प्रयोग भए अनुशार भोली यसको परिभाषा निस्कन पनि सक्छ - प्रयोजनमा आए अनुशारका अनेकौं परिभाषाहरु माझ ।

एकल पत्रकारिता लाई अंगालेर हिंडेको उमेश श्रेष्ठले चलाउनु भएको नेपाली भाषाकै पहिलो मेरो संसार ब्लग मैले धेरै छिर्ने ब्लग हो । मेरो संसार भित्र म केहि त्यस्तै परि न आए २४ घण्टामा म ३ पटक छिर्ने गर्छु - पहिलो पटक बिहान ८ बजे देखि ९.३० सम्म , दोश्रो पटक दिउंसो ३ बजे देखि ४.३० सम्म र तेस्रो पटक राती १० बजे देखि प्रायगरी २.३० सम्म । यो समय मेरो इन्टरनेटमा पस्ने समय हो र यो पुरै समय म मेरो संसार भित्र मात्रै बस्छु भन्ने पनि हैन तर यि समयावधिमा म प्रत्येक पटक मेरो संसार भित्र पसेको हुन्छु र एक पटक पस्दा कति लामो समय सम्म म त्यहाँ बस्छु भन्ने चांही त्याहाँ भएका खुराकमा भर पर्छ । जे होस प्रसिद्दिको शिखरमा भएको मेरो संसार मेरो पनि प्रथमप्यारो ब्लग हो ।

त्यसपछि मैले नियमित घुम्ने गरेका ब्लगहरु संकल्प पोख्रेलको हाम्रो देश , चहल सयपत्रीको सयपत्री , अनामिकाको से ना समथिङ्ग आदि हुन - त्यसो त फुर्सद पाए सम्म अन्य अनेकौं ब्लगहरुमा पनि म पस्ने गर्छु ।

आज सम्म मैले प्रवेश गरेका ब्लगहरु मध्येमा समाचार मुलक ब्लगहरुलाई छाडेर भन्नु पर्दा मलाई से ना समथिङ्ग राम्रो लाग्यो । त्यहाँ भित्रका खुराकहरुमा कति दम छ भन्ने भन्दा पनि ब्लग लेखाईको दृष्टीमा राम्रो छ से ना समथिङ्ग । पहिलो चोटी (केही हफ्ता अगाडी) से ना समथिङ्ग ब्लग हेर्दा मलाई आफ्नो ब्लग त ब्लग नै हैन कि जस्तो पनि लाग्यो तर ब्लग भनेको यदी आफ्नो भावनाहरु पोख्ने(साटासाट गर्ने) र त्यसको प्रतिकृया पनि पाउन सकिने ईन्टरनेट डायरी हो भने म मेरो डायरीमा आफुले चाहेको कुरा चाहे अनुशार लेख्न सक्छु । मैले आफ्नो ब्लगमा धेरै जसो आफ्ना रचनाहरु राख्ने गरेकोले मलाई त्यस्तो भएको हो । त्यसो त ब्लगमा चहल सयपत्री जी ले नेपाली भाषाकै पहिलो साहित्यिक ब्लग भनेर साहित्यिक रचनाहरुनै मात्रै राख्ने गर्नु भएको छ र कतिपय ब्लगलाई नेपाली भाषा र साहित्य प्रति समर्पित भनेर पनि भनिने गरिएको छ । मैले भने धेरै जस्तो आफ्नै मात्रै रचनाहरु राख्ने गरेकोले न साहित्यिक ब्लग भन्न सक्छु न साहित्य प्रति समर्पित नै ।

नामाकरण गर्दा मैले पनि मेरो ब्लगलाई मेरो साहित्य संसार र विविध भनेर गरेको छु र त्यसै अनुरुप रचनाका अलावा अन्य कुराहरु पनि कहिलेकाहिं राख्ने गर्छु । भन्नुनै पर्दा मेरो ब्लग आफ्नै फुटकर रचनाहरु संग्रह गर्ने गतिलो र सजिलो संग्रहथलो भएको छ । शुरु गर्दा यस्को उद्देश्य जे जस्तो भएपनि अब भने आफ्ना फुटकर रचनाहरुलाई छरिन वा हराउन नदिने नै यसको उद्देश्य भएको छ ।

No comments: