Saturday, January 06, 2007

गजल : ज्ञानी बुद्ध हुन्छ ।

जलाई आफ्नै वस्ती उता जनयुद्ध हुन्छ ।
बिनाश गरी वंश यता ज्ञानी बुद्ध हुन्छ । १

कहाँ कस्को विश्वास अब हामी कता जाने ,
पिल्सिएर बिचमा मन सार्है क्रुद्ध हुन्छ । २

जस्को कुरा सुन्यो उ नै ठिक छ जस्तो लाग्ने ,
कृत्य सब गलत् मात्र विचार शुद्ध हुन्छ । ३

जिउने चाह मात्र त छ खुला हावा छैन ,
निमोठिएर घाँटी सासै अवरुद्ध हुन्छ । ४

फरक् सोच बोकि परिवर्तन खोजे पनि ,
हिंड्नै पर्ने सडक उहि नामै जुद्ध हुन्छ । ५

नेपालमा राजदरबार हत्याकाण्ड रचाएर ज्ञानेन्द्र राजा भएको केहि महिना पछि मैले लेखेको यो गजल प्रकाशित हुन्छ कि भनेर मैले दुई चार पत्रीकामा दिईहेरेको थिएं तर कतै पनि प्रकाशित भएन । यस्ता किसिममा रचनाहरु लेख्दा कुनै समय विषेशलाई ईङ्गीत गरेर लेखिएको हुन्छ र त्यस्तो समयले कोल्टो फेर्न बित्तिकै यस्ता प्रकारका रचनाहरु लगभग अर्थहीन हुन पुग्छन । जे जस्तो भएपनि आफुले लेखेको कुरा आफुलाई माया लग्दो रहेछ त्यसैले आज खोजेर यो गजललाई यहाँ राखेको छु ।

No comments: