" मेरो सबै भन्दा नजिक के छ ? " यो प्रश्न यदि म आफैंले आफैंलाई गरेर आफैले जवाफ दिनु पर्यो भने म मेरो सबै भन्दा नजिक गीत छ भन्छु । गीत बिना म अधुरो त हुन्छु कि हुन्न त्यो त थाहा छैन तर गीत बिना म बस्न सक्दिनं यो साँचो हो । पाँच बर्षको हुंदा देखि म स्कूल जान थालेको मलाई राम्रो थाहा छ म स्कूल जानु भन्दा अगाडि देखि नै गीत गाउंथें । स्कूल जानुभन्दा अगाडी गाएको गीत मलाई अझै पनि याद छ ।
कस्की छोरि हौ तिमी चौतारीमा बसेकि
झण्डै मैले सिंदुर धसें कि.........? संभवत मैले गीत भनेर गाउन जानेको र गाएको पहिलो गीत यहि नै हो ।
आजभोली पनि म गीत बिना बस्न सक्दिनं । सुनेर , गुन्गुनाएर (गाएर) अथवा लेखेर (नयाँ) म संधै गीत संगै हुन्छु अनि गीत म संगै ।
मैले सबैभन्दा धेरै पटक सुनेको गीती अल्बम रामकृष्ण ढकालको आशा हो त्यसपछि दीप श्रेष्ठको दृष्टी अनि त्यसपछि 1974 AD । सुन्नलाई म सबै प्रकारका गीतहरु सुन्छु राम्रो छ भने मनपराउंछु पनि तर गजलहरु सुन्न मलाई विशेष मन पर्छ । गजल गायकमा जगजित सिँह मलाई औधि मन पर्ने गायक हुन । नेपाली गायकहरुमा मलाई भक्तराज आचार्य सबैभन्दा मनपर्ने गायक हुन । भक्तराज केहि बर्ष यतादेखि गीत गाउन नसक्ने अवस्थामा छन । भक्तराज गीत गाउन नसक्ने भए भन्ने थाहा पाउंदा म रोएको थिएं । त्यो बेला म नेपालमै थिएं । भक्तराजको मैले धेरैपटक सुनेको गीत ' मलाई मेटन देउ मैले कोरेका रेखाहरु ' भन्ने हो । पुराना जमानाका गायकहरु फत्तेमान , बच्चु कैलाश , रुबि जोशी , योगेश बैद्य आदि मलाई मन पर्ने गायकहरु हुन भने स्व नारायण गोपाल , स्व अरुण थापा लगायतका अन्य गायकहरु पनि मलाई मन पर्छन सबैको नाम अहिले याद आउंदैन ।
पाँच छ कक्षातिर पढ्दा मलाई गीत लेख्न रहर लाग्थ्यो । त्यसबेला नयाँ गीत लेख्नको लागी रच्ने (कथ्ने) कोसिस गर्दा मेरो मनमा खाली त्यसबेला भएकै गीतहरु मात्र आउंथ्यो र मैले लेख्नको लागी त गीत बाँकी रहेनछ सबै अरुले लेखेर सकेछन जस्तो लाग्थ्यो । त्यसबेला म बाँसुरी बजाउन पनि रहर गर्थें , घरमा हलो जोत्न बसेको टने नामको सतारकेटाले मलाई हाम्रै खेतको मलबाँसको टुप्पोको बाँसुरी बनाईदिएको थियो । घरमा मलाई सतारको बाँसुरी बजाउनु हुदैन भन्थे तर म उसको बाँसुरी पनि बजाउने गर्थें किनकि उसको बाँसुरी मेरो भन्दा निक्कै राम्ररी बज्थ्यो । पछि म आफैंले पनि बिभिन्न साईजका निक्कै बाँसुरीहरु बनाएको थिएं । मैले जतिबेला पनि बाँसुरी बजाउने गरेकोले मलाई सबैले जादुवाल (चटके) भन्थे । बाँसुरीले मलाई कति सम्म प्रभाव पारेछ भने मैले पहिलो गीत पनि बाँसुरीलाई नै समेटेर लेखेको छु ।
बाँसुरीको धून संगै माया तिमी आईदेउन
बसन्तको सुर संगै पिरतीको गीत गाईदेउन । नौ दश बर्षको हुंदा लेखेको यो गीतमा मैले कुन मायालाई डाकेको थिएं त्यो भने मलाई थाहा भएन । यो गीतको अरु अंश म संग छैन पनि र मैले पछि लेखेको पनि छैन । त्यसपछि मैले लेखेका गीतहरु कति त हराए पनि होलान तर ४७ साल देखि लेखेका गीतहरु म संग प्राय छन । लेख्दै जाँदा मैले एक अञ्जुली माया भन्ने र मन हराए पछि भन्ने दुई गीति संग्रहहरु ( अप्रकाशित ) बनाएको छु । एक अञ्जुली मायामा मैले एकसय एघार वटा गीतहरु संग्रहित गरेको छु र त्यसभित्रकै दश वटा गीतहरुको एक अञ्जुली माया भन्ने गीति अल्बम पनि बनाएको छु । मन हराएपछि भन्ने संग्रहमा भने ८६ वटा गीतहरु संग्रहित छन । एक अञ्जुली मायालाई मैले नेपालमा हुंदै संग्रह बनाई सकेको थिएं भने मन हराए पछि भने अमेरिका आएपछि दुई बर्ष अगाडी तिर संग्रह बनाएको हुं । त्यसपछि लेखेका गीतहरु कति छ म संख्या गनेर भन्न त सक्दिनं तर अर्को यौटा संग्रह बनाउन पुग्ने भएका छन होला जस्तो लाग्छ ।
एक अञ्जुली माया गीतिअल्बम नेपालमा केहि समय अगाडीनै बिमोचन गरिसकेको भएपनि बजारमा ल्याउने जिम्मा लिएको धउलागिरि क्यासेट सेण्टरले अझै सम्म बजारमा लगिदिएको छैन । भर्खरै सुनेको छु अब छिट्टै बजारमा जांदैछ अरे । म आफु यता अमेरिकामा भएकोले पनि होला सायद नेपालमा मेडियाहरुमा राम्रो प्रचार प्रसार हुन पाएको छैन । उक्त गीतिअल्बमका संगीतकार टिका भण्डारी पनि अहिले अमेरिकामै हुनुभएकोले बिज्ञापनमा अझै कमी भएको छ । त्यसो त बजारमा तुरुन्तै लगेर २ महिना सम्म सबै मेडियाहरुमा बिज्ञापन पनि बजाउने समेत जिम्मा लिएको धउलागिरीले अलि हेलचेक्र्याँई नै गरेको हो भन्ने मलाई लागेको छ । नेपालमा काम गर्ने जिम्मेवारी लिएर पैसा लिईसकेपछि किन यस्तो गरिन्छ ? कतै यस्तो बिषयहरुमा गतिलो कानुनको अभावले हो कि ?
कैलेकाहिं त लाग्छ नेपालमा गएर म्युजिक कम्पनि पो खोल्नु पर्छ कि ? आँखिर काम लिएर नगरेपनि पैसा त कमाई हुने रहेछ ।
No comments:
Post a Comment