Saturday, April 14, 2012

कविता : अचानक उर्लेको यो याद


नजान्दा हिंड्न हो
अथवा
भर्खर जान्दा हिंड्न
बुर्कुशी मार्छ
कैली गाईको दुधे बाछो
कुनै बुढो मान्छेको
पैंजडे परेकाझैं
आफ्ना भर्खर भर्खर तङ्रिएका
खुट्टाहरु लर्बराउँदै ।


बेवास्ता गर्छ
अफ्नी आमाले
घोक्रो थर्काउँदै गर्ने
फाँ फाँ र फूँ फूँ गाली
पुग्छ
गोठ भन्दा परसम्म
क्षणमै नाघ्छ बड्किंदै
 गोठ छेउको ठुलो गह्रा
त्यहि गह्रा
जस्लाई
आँतर आँतर घुमेर
सियो सियो छिचोलेर
 पार गर्न
उसको बाबु समान
पुँडे गोरुलाईे
एक बिहान पुरा लाग्छ ।


बाछोको यो उपद्रो देखेर
सोच्दो हो पुँडे
कि अब उसलाई
त्यसरी बड्किएर बुर्कुशी मार्ने
छुट कहिल्यै हुने छैन
उ मात्र हेरिरहन्छ
दाम्लोबाट ।


र दाम्लोबाटै
सोच्दी हो कैली
कि उसको छोरा अब
फर्केर आउने छैन फेरि
आफ्नो फाँचोभरि पग्रिएको दुध चुस्न
कैली अतालिन्छे 
कैली छिनाउँलाझैं गर्छे
आफ्नो गलाको दोहोरो दाम्लो
के जान्ने
उ उखेल्न पनि सक्छे
बल गरेर आफु बाँधिएको दुबै किला ।


बेस्मारी बड्किँदा
दुधे बाछोलाई जुका पर्न सक्छ
उस्लाई के थाहा
उ जुका परेर मर्न सक्छ ।


चिन्तित गोठ मालिक
एक गर्जनमा भेला गर्छ
परिवारका एक एक सदस्य
र आज्ञा दिन्छ
बाछो समातेर थलोमा ल्याउन ।


दिदी, दाजु, म र मेरी बैनि लगायतले
दुधे बाछो
छेकिन्छ तीनचारतिरबाट
छेक्नेहरु मध्येको
एकातिरबाट
म उम्किन दिन्छु उसलाई
र तयार हुन्छु गोठ मालिकको गाली सुन्न
उ बड्किएर अझ पर पुग्छ
र मैले गाली सुन्न भ्याईसक्दा
बड्किएरै
फर्कन्छ गोठमा आफ्नी आमासँग ।


आहा! कति मीठो, कति प्यारो
अचानक उर्लेको यो याद ।

1 comment:

sahityasansar said...

उफ्री उफ्री पर्खाल नाघेर हिड्ने बाच्छोकी आमा कैलीको जस्तै नियति त नेपालका धेरै आमाहरुको छ ..

..
सोच्दी हो कैली
कि उसको छोरा अब
फर्केर आउने छैन फेरि

अचानक उर्लेको तपाइको यादमा मैले पनि मेरै गाउँको घर र गाईको गोठ सम्झिएँ ।