Monday, October 22, 2012

दशैं गफ : दशैं, फेसबुक र कविताहरु

उत्ताउलिनु केहि छैन । दशैं नै त हो आएको जो हरेक वर्ष आउने गर्छ ।

यसपाली दशैंको मेरो एउटा स्टाटस यस्तो थियो फेसबुकमा । भन्नलाई जे भनेपनि दशैं मनाउने परम्परा र संस्कृतिमा हुर्केका हामी मनुख्खेहरुलाई तर दशैंले नछोइ कहाँ छाड्छ ? हो छुने काइदा भने फरक फरक होला बरु; भूगोलको, मनको र ब्यावहारहरुको अवस्थाहरु अनुशार । म प्रशान्त महासागरले वेष्ठित धर्तीकै सूदुर पश्चिममा रहेको हवाईयन द्विपहरु मध्येको यौटामा छु । भाषा, संस्कृति लगायतका सामाजिक गतिविधीहरुको दृष्टिले म अनकण्टारमा छु भने हुन्छ । दशैं आयो है भन्ने सम्म अर्को कुनै नेपालीहरु वरपर छैनन् । त्यसैले दशैंको कुनै खास गतिविधीहरुमा सामेल हुने कुरा पनि छैन । आफ्नो यहि वास्तविकताको आधारमा पनि लेखेको हुँ मैले उपरोक्त फेसबुके स्टाटस । तर भनें नि, दशैंले भने जसरी भए नि छोएरै छाड्ने । जीवनमा आउन नसकेको दशैं यो सातसमुद्र पारीको गुप्तवासमा समेत मनमा भने आएको छ । र मनमा दशैं लिएर आउने माध्ययम चैं फेसबुक बनेको छ ।

सुर्ती, रक्सी जस्ता कुराहरुको महाअम्मलीले बरु अम्मल सेवन गर्न निक्कैबेरलाई छोड्ला तर यो फेसबुकको अम्मलीले छिनको छिनमा फेसबुकमा चिहाउन छोड्दैन । त्यै भएको छ मलाई । घरि पनि घरि पनि फेसबुकमा चिहाउँदै दशैं सम्बन्धि अरुका स्टाटसका विभिन्न कुराहरु पनि हेर्न भ्याएपछि मनभरी दशैंको उज्यालो भरिएको छ । मनभरीको यहि उज्यालोमा आज दिउँसो फुर्सद निकालेर दशैं केलाउन थालें । सानो छँदाको दशैं, अलि ठुलो हुँदाको र हालसालैका दशैंहरु काँसघारीमा कोटेरो जस्तै फित्रिक फित्रिक नाच्न थाले मनमा । सानाका कुरा छोडौं सबैसँग सानओ हुँदाको सम्झनाहरु थानका थान उपन्यास लेख्न पुग्ने गरेर हुन्छन् । हालसालैका दशैंहरुमा भने म बडा मौसमी कवि बन्ने गर्दो रहेछु र प्रायस सालहरुमा लेख्दो रहेछु दशैं शिर्षकमा मौसमी कविता । सम्झेर ल्याउँदा खुशी पनि लाग्यो । मौसमी नै सही, दशैंको मौसमले मलाई कविता लेखाउँदो त रहेछ । यो मौसमको रौनक फेसबुकमा अझ देख्न मिल्छ । दशैं कविता लेख्ने म जस्ता मौसमी कविहरु फेसबुकमा सायदै गनिसाध्य होला । नहोस् पनि किन आँखीर कविता पनि त दशैं जस्तै रमझम न हो । अथवा यसरी भनौं - कवि मनहरुलाई दशैं मौसमी कविता हो भने कविता सँधैंको दशैं हो । यहाँनेर दशैं चाडप्रति कारणवश पूर्वाग्रह राख्नुहुने मनहरुलाई म दशैंको शट्टामा अर्को आफुले मनपराउने वा मान्ने चाड राखेर बुझ्नुहुन सविनय अनुरोध समेत गर्न चाहन्छु । मैले चैं दशैं नै आफुले मान्ने विशेष चाड भएकोले दशैं नै लेखें ।

जे होस् । मैले प्रायस दशैंहरुमा कविता चैं लेखेकै हुँदोरहेछु र यसपाली पनि फूलपाती भन्दा अगाडिनै लेखिसकेछु दशैं कविता ।

शिर्षक छ - यो दशैं हो

भूमिका केहि थिएन
अचानक
खुकुरी सम्झिएँ
निरिह खसीको गर्दन सम्झिएँ
र सम्झिएँ - यो दशैं हो ।
 
    - सायद भूमिका यहि थियो ।

हुनपनि -
अर्थोक केहिले बताओस् नबताओस्
आँगनबाट एकोहोरो आउने
खसीको म्याँ म्याँले बताउँछ - यो दशैं हो
घरमा केटाकेटिहरु भए
तिनकै उज्यालोले बताउँछ - यो दशैं हो
केटाकेटिहरु नभए
घरमूलीको घुँडामा कुहिनो अडिएर
खप्परमा टाँसिएको हातले बताउँछ - यो दशैं हो ।

दशैं न हो
यो रवाफले पनि आउन सक्छ
धेरथोर खुशी पनि ल्याउन सक्छ
सर्लक्क तिम्रो अनुहार पढेर
अदवले तिमीलाई सोध्न सक्छ
'खसीको गिदी जिब्रो भुटेर
कुन रक्सी खाने हो यसपाली?
हात पनि त चिलाउँदै होला कौडा फ्याँक्न
कुन खालमा जाने हो यसपाली?'
छोड नियमले दिँदैन भन्ने कुरा
दशैंले आफैं जन्दछ आफ्नो नियम - यो दशैं हो ।

दशैं नै त हो
तिमी हामीले शरम मानेपनि
यो दशैं नै भएर आउँछ
लाज पचाउँछ
र गाल पारेर जान्छ ।

कहाँ सक्थ्यौ तिमी ढोका थुनेर छेक्न यस्लाई?
साइत पारेर तिम्रो घरको ढोका
निधारले ढक्ढक्याउँछ - यो दशैं हो
तिम्रो गोजी, गल्ला, बाकस, थैली
प्यारले टक्टक्याउँछ - यो दशैं हो ।


मेरा दशैं कविताहरुमा दशैंले गरिवीमा पार्ने प्रभावहरु नै प्रमुखताका साथ लेखिँदा रहेछन् । आफ्नै नयाँ पुराना दशैं कविताहरुमा घोत्लिएपछि थाहा पाएँ । म कि त गरिवीको ब्याथा कि दशैंको विकृतिलाई निशाना बनाउँदो रहेछु । फेसबुकमा थुप्रै अरु दशैं कविताहरुमा पनि देख्न पाइन्छ यहि कुरा । अभाव सायद हामीले भोगेको साझा पीडा भएर हुनसक्छ यसो भएको । र दशैं चाड मनाउनेहरुलाई पनि दशैंमा हुने व्यापक काटमार जस्ता साँस्कृतिक बिकृतिहरु ठीक नलागेकोले चाहिँ दशैंका विकृतिहरु प्रति कवितामा व्यङ्ग्य कोरिएको हुनसक्छ । तर पछिल्ला दशैंहरुले यस्ता जायज व्यङ्ग्य भन्दा अलि धेरै व्यङ्ग्य सहन थालेको छ । प्रहार नै सहन थालेको छ भनुँ न । व्यङ्ग्य र प्रहार दुबै उस्तै लाग्ने कुराहरु भएपनि त्यसमा टड्कारो फरक देखिन थालेको छ आजभोलीको दशैंमा ।

दशैंलाई हिन्दुहरुको मात्र चाड हो भनेर प्रहार गर्ने धेरैसाथीहरु फेसबुकमा भेटिन्छन् । हो दशैं हिन्दु धर्मावलम्बीहरुले नै मनाउने चाड हो तर वर्तमानको हाम्रो समाजमा हिन्दुवादी चाड भएको भनिएरै दशैंमा हिन्दुहरुले कटाक्ष खपिरहनु पर्ने कुरा कतिको युक्तिसंगत देखिन्छ? अझ क्षेत्री बाहूनहरुलाई दशैं चाड मनाउने भएकैले प्रहार गर्नु कति न्यायोचित हुनसक्छ? जबकि अहिन्दुहरुले पनि सामाजिक सद्भाव राख्दै दशैं मनाएको देखेको छु मैले र त्यो सर्वथा सुन्दर देखेको छु । जानीजानी वा नजानेरै लहै लहैमा यसरी यौटा संस्कृतिलाई ढलाउन प्रहार गर्ने फेसबुकका साथीहरुलाई सम्झाउँन त सायदै सकुँला म; किनभने उनिहरु भित्र दशैं पर्व तथा हिन्दु संस्कृति प्रति गहीरो पूर्वाग्रह भरिएको छ तर अनुरोध के गर्न चाहन्छु भने आफ्नै तथा आफ्नै वरिपरीका संस्कृतिमा भएका विकृतिहरुलाई सुधार हुने गरेर प्रहार गरौं । त्यसबाट सबैको भलो होला तर समूल संस्कृतिलाई नै नष्ट गर्न प्रहार नगरौं त्यसले कसैको भलो गर्दैन ।

दशैं सम्बन्धि यो ब्लगको खुराक लेखिरहँदा मैले फेरि अर्को यौटा फुच्चे दशैं कविता लेखेर फेसबुकमा टाँसिसकेको थिएँ ।

दशैं
वनावटी अभावका गतिला कथाहरु
फेसबुकका भित्तामा भित्ताहरुमा
अद्वितिय कविता रुप धारण गरी
फैलंदो छ फैलंदो छ ।

दशैं
सुँगुर, हाँस, खसी, च्याँग्रा, राँगा
केहि नछोड्ने मैखासुरको सेतो दाँत जस्तै
शान्ति प्रियभै फेसबुकको पर्खालमा
टासिंदो छ टासिंदो छ ।

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।


अन्त्यमा, दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना सबै दशैं मनाउने नमनाउने मेरा साथीहरुलाई !

3 comments:

Dilip Acharya said...

ममा सुन्दर कविता लेख्ने हुत्ति छैनन् त्यसैले यो पोस्ट पढेपछि मनमा आएको भाव यहि हो: कविता बाहेक करिब करिब मेरै मनको भावना लेख्नु भएको रहेछ ।

माथि नै लेखिसके, कविता सुन्दर छन् र ममा चार लाइनमा 'जादू' भर्ने कला छैन, नत्र भने दशैंको बारेमा लेख्न बसेको भए सायद मैले पनि तपाईँले जस्तै लेख्थे हुँला ।
तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरूमा बडा दशैँको शुभकामना !!!

Unknown said...

हार्दिक धन्यवादका साथ दिलीपजीलाई सपरिवारमा दशैंको मंगलमय शुभकामना !

बेद्नाथ पुलामी said...

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।
.....
हो हो ... दिपक दाइ यस्तै यस्तै विचित्र रहेछ यो दशैँ/ तिहार (पर्वहरु ) पनि !