Tuesday, May 05, 2009

कविता : ति आमा , मेरी आमा

झाङ्गल र झुङ्गल
दिनभरी पाखोबारी खोस्रेर
साँझ एक हात झिक्राझाम्टा सहित
दैलोबाट भित्र छिरेकी ति आमा
टुसुक्कै नबसी भाँडो खरानी लगाएर
कहाँ निस्किईन होली कठै !

पानीधारा सुकेको जुगौं भै सक्यो
छोरीहरु पानी भर्न सक्दैनन्
कुच्चिएको हल्लुङ्गे गाग्री बोकेर
हाँफ र झाँफ गर्दै अँध्यारोमै
टाढाको पँधेरो पो पुगिन् कि ?

घरमा अन्नको गेडो पनि त बाँकी थिएन
छोराहरु एकछाक अन्न जोहो गर्न सक्दैनन्
बिट फुस्किएको डालो च्यापेर
अँध्यारैमा सुमुसुमु
ऐँचोपैँचो खोज्न गाउँतिर पो लागिन् कि ?

सन्ततीहरु आज
करेसाको डिलमा उक्लिएर
खै गर्दै
'ए ! आमा !' भन्न लाज मानिरहेछन्
आफु र आफुमै मस्त सन्ततीलाई
ति आमाको रत्ति फिक्री छैन
जतिसुकै बेला आमा घर फिरुन्
या नफिरुन्
चुल्हामा आगो जोर्न कसैलाई खाँचो छैन
अँध्यारो घरमा टुकी बाल्न कसैलाई फुर्सद छैन
सबैले देखेका छन्
भाँडो खरानी लागीसकेको छ
सबै ढुक्क छन्
केहि त पाक्ने छ
पर्वाह छैन
जे पाकोस् / जसरी पाकोस्

बरु आमा प्रति गुनासो गर्न
लामबद्द कुरीरहेछन् सन्ततीहरु
भन्नेछन् देख्नासाथ
यो भएन / उ भएन
यसो हुनुपर्थ्यो / त्यसो हुनुपर्थ्यो

मुहारको चमक हराईसकेकी
आँखाको पानी सुकिसकेकी
ति आमा
सुकेको त्यान्द्रो ओठमा
सँधै जस्तै मुस्कान च्यापेर
फिर्ने हुन् कि होईनन्
कस्ले गर्ने खै सोधखोज ?
कस्ले गर्ने खै चिन्ता ?
कस्ले गर्ने खै पिरोलो ?
ति आमाको , मेरी आमाको
आँखिर म पनि त
लामबद्ध छु त्यहीँ
आमालाई नै गुनासो गर्न ।

अस्ति हाम्रो माता तिर्थ औंशीको दिन लेख्न सुरु गरेको थिएँ खासमा यो कविता । आमाको बारेमा लेख्छु भन्ने सोच थियो तर के लेख्छु भन्ने थाहा थिएन । त्यसबेला सुरु गर्दा अहिलेको अन्तिम अनुच्छेदबाट सुरु भएको थियो तर पुरा नगरी छोडेको थिएँ । हिँजो फेरी अलि थपथाप पारेँ तर पुरा गर्न सकिँन । आजभोली कविता लेख्न निक्कै गाह्रो हुन थालेको छ मलाई । जे त पर्ला आज पुरा गर्छु भनेर जेनतेन पुरा गरेँ ति आमा , मेरी आमा को कविता ।

10 comments:

Dilip Acharya said...

मन छुने अति उत्कृष्ट रचना !

"राम्रो लेख्‍नु भएछ" मात्र भन्दा यो 'राम्रो'भित्र मेरो मनको पुरै भाव अट्दैन । मलाई त प्रशंसा गर्न पनि आएन ...साँच्चै !

Prabesh Poudel said...

मलाई पनि दिलीप दाइलाई जस्तै भयो !! प्रशंसा गर्ने शब्दकै अभाव भयो !!

wordflows said...

dherai ramro, heart touching

बिमल गिरी said...

दीपक जी, एक बहु प्रतिभाशाली ब्यक्तित्व
हुनुहुन्छ। उहाको कलम हरेक क्षेत्रमा बगिरहेछन
र बगिरहनेछन बिशाल महासागर झै। दीलिप जी र प्रबेस जीको
भनाइ प्रती म पनि पूर्ण सहमतिछु।

Sujan Sharma said...

दीपक जी लाइ साह्रै राम्रो अनि मिठो कविता को लागी धन्यबाद !

>Jotare Dhaiba< said...

कविता पढिरहँदा त्यस्तो चित्र सामुन्ने आयो, गुनासैगुनासोले ख्याउँटे भएको एउटा माकुरे आकृति (माकुरा, जो भर्खरै जन्मिएका सन्तानको जीवनञ्चारको लागि स्वयम् आहारा भएर त्यान्द्राकार अस्तित्वमा सीमित छ ।) दलानमा टक्क खाँबोमा अडेसा लगाएर क्षितिजतिर नियालिरहेछ ।
यस्तोमा के भनूँ, म खुसी भएँ कि दु:खी ?

Luna said...

सार्है नै मन छुने कबिता !
निरन्तर लेख्दै जानुहोस् दिपक जि ।

Milan said...

राम्रो कबिता ...कबिता देशको बारेमा होस ... वा तपाईंकै आमाको बारेमा होस...मलाई त फेरी एक पटक आफ्नै आमाको याद आयो....

दीपक जडित said...

प्रतिक्रियाको निमित्त सबैलाई हार्दिक धन्यवाद !
मिलनजी यो ति आमाको , मेरी आमाको परिकल्पना हो । यस्लाई मलाई जन्माउने आमाकै कविता ठान्नु भए नि हुन्छ । मलाई हुर्काउने ( मेरो देश ) आमाको कविता ठान्नु भए नि हुन्छ । धाईबाजीले देख्नुभएको ख्याउटे , माकुरे आकृति भएका सम्पुर्ण आमाको कविता भनम् क्यार ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

दीपकजीको यो अंतिम प्रतिक्रिया पनि मलाई त सुन्दर काव्यका पंक्ति जस्तै लागे, निकै मर्मस्पर्शी रचनाको लागि धन्यवाद जडितजीलाइ, यस्तै रचनाहरु पढ़न पाई रहौँ ।