त्यसै पनि मलाई सुत्न भनेपछि झर्को लाग्छ । सुत्न मात्र कहाँ हो र ? मलाई त खान पनि झर्को लाग्छ । कैलेकाँहि सोच्छु यो खान र सुत्न नपर्ने भए कति आनन्द हुन्थ्यो होला ? खै किन सोच्छु यस्तो वाहियात कुरा ? तर सोच्छु कैलेकाहिँ ।
अझै पनि खान लाग्दा आमाको त्यहि प्रश्नवाचक चिन्ह भएको अनुहार सम्झना हुन्छ , 'के चैं बित्दो छ हँ भाइ तेरो ? कहिले त अलि सुबिस्ताले खाने गर ।'
'छैन केहि बित्दो पनि । सुबिस्ताले खाने भनेको चैं कसरी हो ? जसरी पनि खानु हो हैन र ? ' आमाकै शब्दमा म जहिले पनि सासले गाँस टिपेर उठ्ने गर्थें । अझै त्यसै गर्छु सायद तर खान्छु खान चैं । खानै छोड्ने गरेर देउता हुन त अलि सक्दिनँ । जे होस् म सुत्न झर्को लाग्ने कुरा गर्दैथिएँ । साँच्चै सुत्न झर्को लाग्छ मलाई त्यसमाथी पनि 'त्यसै त कुन कानमा सुन' भएको छ आजभोली । ठेक्का पाएको छु जाग्रम बस्ने । जस्तो कि म माघ महिनाको अन्त्यतिर सात आठ वर्ष अगाडीको समयमा गाउँमा छु आजभोली र हरेक रात श्री स्वस्थानी ब्रत कथाको समापनको खुशीमा जाग्रम बस्ने गर्छु । ब्रतालुहरु फल प्राप्त गर्न जाग्रम बस्नै पर्ने ति दिनहरुमा फलको आशा बिना नै हामी नाचेर गाएर , केहि नपाए रातभरी स्वस्थानी कथा वाचेर बस्दाको रमाईलो दाँजेर हेर्छु तर म त एक्लै धुम्धुम्ती कम्प्युटरको अगाडी ब्लगर साथी कृष्ण थापाको ब्लगर कविताले ठ्याक्क बयान गरेको मान्छे जस्तै भएको हुँदो रहेछु ।
घरीघरी यस्तो लाग्छ मैले तिन वर्ष जति अगाडी देखि टेण्डर हालेको रहेछु जाग्रम बस्नलाई र भाग्यले यतिबेला टेण्डर परेको छ मलाई जाग्रम बस्नलाई । यो एउटा पाटो हो जाग्रमको ।
यादहोला एकदिन मैले भनेको थिएँ - 'सुत्दा मलाई हात धेरै भएर कहाँ राखुँ कहाँ राखुँ हुन्छ त्यसैले आज राती त मैले हात गोजीमा राखेर ढुक्कसँग सुतेँ ।' त्यसदिन तिमीलाई मैले चुट्किला सुनाएको थिईनँ पक्कै न त साँच्चै त्यसरात मैले गोजीमा हात राखेर सुतेकै थिएँ । यो त यौटा बहाना मात्र थियो तिमीलाई हँसाउने र तिमी हाँस्दा तिम्रो गालामा उठेको पेन्सिलको चुच्चो जस्तो थुम्को हेर्ने ।
हाँस्दा गालामा खाल्डो पर्ने र गालाको खाल्डो मनपराउने कति भाग्यमानीहरु होलान यो दुनियाँमा तर हाँस्दा गालामा थुम्को उठ्ने भाग्यमानी तिमी एउटै होलाउ र गालाको खाल्डो हैन डिल मनपराउने अर्को भाग्यमानी चैं म हुँ । कति भाग्यमानी थियौं त हामी । साँच्चै दुर्लभ ।
...तिमी नहुँदा पनि त खै रोकिएन समय
कसरी भनुँ मेरो मात्र आफ्नो थे'न समय
ठिकै गरेछु भुलेर हिसाब किताब राख्न
सजिलै भा'छ आज काट्न जेनतेन समय....
हो त, यसैगरी त्यही दुर्लभ भाग्यमानी म लोप भएको छु अचेल । तेस्रो जन्मको परिकल्पना तिमीलाई फुर्ती लगाए जस्तो सजिलो पनि छैन र मरिसकेको हुँदा दोश्रो जन्ममा फर्कन नै पनि भनेजस्तो सजिलो त कहाँ होला र ? लेखेछु भने 'तेस्रो जन्म' तिम्रो हातमा दिनेछु पढ्नलाई जहाँ तिम्रो बाक्लो उपस्थिती रहनेछ । जाग्रमको यो पाटो यत्ति नै - यो पनि केवल तिम्रो लागी । कुनैदिन तिमी यो बाटो भएर हिँड्दा सम्झना रहोस भन्नाका खातिर । आँखिर भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो ।
**************************
बाघको मुख खाए पनि रातै नखाए पनि रातै भनेजस्तो हामी ब्लगरहरु यसै ब्यस्त उसै ब्यस्त । केहि गर्नु परे नि ब्यस्त केहि नगर्नु परे नि ब्यस्त । कम्प्युटरको सामुन्ने पर्नुमात्र पर्छ हामी ब्यस्त । हामी भित्रको म त्यस्तै हुँ । सँधै केहि न केहि गर्नु हुन्छ चाहे गरुँ या नगरुँ ।
पछिल्लो समयमा म धर्ती छोडेर माथी आकाश आकाशतिर भौंतारिन थालेको छु । हो यहि नै जाग्रम बस्नुको अर्को पाटो हो । रुचि मलाई खगोलमा पहिले देखि नै हो त्यसो त तर रुचि छ भन्दैमा खगोल सम्बन्धी ठुलै बिटो जानकारी भने होइन मसँग तर पनि यु ट्युबको साथमा धर्ती छोडेर रात रातभरी म तारालोकमा विचरण गर्ने गरेको छु । भन्नलाई यसलाई अर्को पाटो भने पनि पहिलो पाटोसँगै केहि हद सम्म सरोकार राखेको छ यसले त्यता नजाउँ अहिले ।
ब्लगमा हामीहरु माझ अहिलेसम्म हल्ला नचलेको तर सम्भवत हामीले सुनेको विषय २०१२ डिसेम्बर २१ को बारेमा निक्कै कौतुहलता लिएर खोजी गरेँ मैले । ब्लगमा यसको परिचर्चाले बिस्तारै प्रवेश पाउला म भने कुरा कोट्याईरहन चाहन्छु यहाँ । यसबारेमा गहिरिएर भन्न पनि चाहन्न म अहिले । कौतुहलताका साथ मैले प्रत्यक्ष भेट्ने साथीहरुसँग कुरा गर्दा उनिहरुले मलाई पृथ्वीको विनाश हुन्छ भनेर डराएको भने । कतिले वाहियात कुराको पछि लाग्ने भने । मलाई भने कौतुहलता अझै रहेकै छ । के हामी पृथ्वीको विनाश देख्ने अभागीहरु हौं त ? के हामी नै ति भाग्यमानी मान्छे हुन पाउँछौं त पृथ्वीको अन्त्य भएको आँखैले देख्ने ?
मैले यहाँ विस्तारमा भन्नै पर्दैन सायद - Mayan क्यालेण्डर , प्लानेट X , North and South pole Shift , Solar Strom , i chang ईत्यादि ईत्यादिका कुराले बजार तातेको छ । विश्वास गर्ने नगर्ने अधिकार हामीमा छ तर चासो राख्नु पर्ने कुरा हो यो ।
यो हुँदैन भन्नेमा जति छु म , हुन सक्ला भन्नेमा पनि त्यति नै छु । एक हिसाबले म मा निक्कै रोमांचकता छाएको छ कि म सम्भवत पृथ्वीमा मानव सभ्यताको अन्तिम अध्यायमा उभिएको छु । यसरी सोच्दा मैले स्कूलमा पढेको विजय मल्लको अन्तिम भोज कथा सम्झेँ । म पात्र भएर कथाकार भोज छोडेर भोकै दगुरेको भविश्यको कुनै दिनमा आफ्नैं आँखाले देखेको जस्तो पनि महसुस गरेँ र सम्झेँ कता दगुरेका थिए होलान् कथाकार विजय मल्ल ? कस्को मायाले ? के को आशाले ? जव पृथ्वी नै नष्ट हुँदैछ भने ?
हो त्यस्तै कल्पनामा हराउँदा मैले Hyperdoomption को कल्पना गरेको थिएँ । जस्लाई शुरुमा Hypodoomtion भनेर फेसबूकमा लेखेको थिएँ केहिदिन अघि मेरो फोटो ब्लगकि ब्लगर सुजनजीको Status मा । वहाँले Never take life seriously. Nobody gets out alive anyway लेख्नुभएको थियो । जतिबेला मैले वहाँको Status मा यो लेखिएको देखेँ त्यतिबेला म अन्तिम भोजका कथाकार भोज नखाई मेरो प्यारो धर्ती भन्दै भाग्दै गरेको देख्दै थिएँ । मेरो आँखा अगाडी मैले नौ कक्षामा पढ्दा देखेको विजय मल्ल मात्र एक्लै भाग्दै थिएनन् त्यस बखत । म बसेको सहरमा अनेक रँगका , अनेक आकार प्रकारका , अनेक जातका , अनेक थरीका मान्छेहरु भाग्दै थिए । म स्वयँ पनि भाग्दै थिएँ त्यसो त तर हामी भाग्नेहरु सबैलाई थाहा थियो । हामी कोहि बच्ने छैनौं भनेर । त्यो कोलाहलमय वातावरण पृथ्वीभरी थियो । सबैले त्यो महाप्रलयको पिँडा भोग्दैथियौं सामुहिक रुपमा । हो त्यही महाप्रलयको पिँडालाई मैले Hyperdoomption नाम दिएको हुँ । मसंग बाहेक यो शब्दले अहिलेसम्म अन्यत्र कतै उपस्थिती जनाउँदैन । अँग्रेजी शब्दकोषमा अहिलेसम्म समावेश नभएको यो शब्द मैले Doom लाई आधार बनाएर कल्पना गरेको हुँ । Doomsday भनेर पनि जानिने महाप्रलयको त्यसदिनको पिँडा जनाउन मैले कल्पना गरेको यो शब्दले अँग्रेजी भाषामा कुनै स्थान नपाउला त्यो अर्कै कुरा हो तर मेरो दिमागमा उपस्थिती राखिसकेको यो शब्द मलाई चै अस्तित्वमा भएझैं लाग्दैछ र सम्भवत हामी अभागी भनेपनि भाग्यमानी भनेपनि Hyperdoomption भोग्नेछौं जस्तै लाग्दैछ । मेरो हिसाबले यो शब्द अँग्रेजी शब्दकोषमा समावेश भए यसरी हुन्थ्यो होला - Hyperdoomption = A worldwide massive pain that every creature must have to face as the end of the planet earth . A megha pain of doomsday .
सुजनजीले फेसबूकको Status मा किन त्यो लेख्नुभएको थियो मलाई थाहा भएन तर मेरो मनोदशालाई छोएको थियो वहाँको त्यस Status ले । लगभग एकवर्ष नै हुन लागेछ मैले यस्तै एउटा कथा जस्मा UFO र Outer Space को Alien being को कल्पनामा प्लट तयार पारेको थिएँ तर यथेष्ट जानकारी बटुल्न पर्ने देखेर लेख्दा लेख्दै रोकेको थिएँ र अझै फर्केर हेरेको रहेनछु । भोली कुनैदिन त्यो कथा लेख्न बसेछु भने भनौं न आँट आएछ भने कथाको शिर्षक पनि Hyperdoomption नै राख्ने विचार गरेको छु ।
त्यसैले त भनेको म सुत्न झर्को लाग्ने मान्छेलाई अहिले झन कानमा सुन भएको । यु ट्युबमा हेरि भ्याई नसक्ने गरेर भिडियोहरु अनि गूगलमा खोजी भ्याई नसक्ने गरेर साईटहरु छन् यसबारेमा । यहाँ देशको चिन्ता छ तिमी माया माया भन्छौ भनेजस्तै यहाँ पृथ्वीको चिन्ता छ हामी फलानो पार्टी र चिलानो दल , फलानो राज्य र ढिस्कानो प्रदेश भन्दै बसेका छौं । नासालाई पक्कै मलाई भन्दा धेरै थाहा छ । प्लानेट X को कुरा , सोलार स्ट्रोमको कुरा तर अमेरिका कानमा तेल हालेर अझै त्यही कानमा तेल हाल्नै मध्य पुर्वमा हतियार ओसारीरहेछ । पृथ्वीको आयू गन्नेहरुको काउण्ट डाउनमा हेर्ने हो भने अब १२७१ दिन २१ घण्टा १२ मिनेट (सेकेण्ड त के भनिरहनु) बाँकी छ अब हामीसँग समय । हामी Hyperdoomption लाई टार्न सक्दैनौं रे ल मानौं तर त्यतिञ्जेल हाम्रो छेउको अर्को प्राणीलाई प्रेम गर्न त सक्छौं नि । यि महाशक्ती राष्ट्रहरुले भन्लान् त कुनैदिन यस्तो कुरा ?
13 comments:
तपाईँको यो पोष्ट त मलाई अहिलेसम्म मैले पढेमध्येकै बेजोड लाग्यो ।
पृथ्वी धूलिसात् हुने निश्चितताले जन्माएको प्यार त होइन यसरी बेजोड लाग्नुको कारण ? :)
पहिलोपल्ट तपाईँकै ब्लग पढेर २०१२ डिसेम्बर २१ को चर्चाबारे थाहा पाएँ । अन्तिम भोज कथाको सन्दर्भ उप्काउनुभयो, मैले पनि त्यो कथा फ्ल्यासब्याकमा पुगेर पढेँ मनमनमा । तर त्यस कथामा त अणु वममा शक्तिशाली राष्ट्रको स्पर्धा चुलिएर एकैचोटि तिनलाई पड्काएर पृथ्वी ध्वस्त बनाउने प्रसङ्ग थियो क्यार, र त्यसैको पूर्वसन्धयामा आयोजित भोजमा कथाकार म पात्र टुप्लुक्क पुगेका थिए । तर अहिले त त्यस्तो होड चलेर पृथ्वी ध्वस्त पार्ने कुरा चलेको होइन ।
जे होस्, पृथ्वी विनष्ट हुने कुरामा (यदि भएछ भने) अभागी र भाग्यमानी हामी एउटै व्यक्ति हुनेछौँ भन्ने तपाईँको दुई धारको आकलन चित्तबुझ्दो र सन्तुलित छ । तर यस्तो हल्ला कैयन् पटक चलेको छ । यसै के भन्न सकिन्छ र ? विज्ञान पनि त फेल खान सक्छ । मरिएछ भने सामूहिक चिहानमा साथसाथ गइन्छ, त्यो पनि भयविहीन मराइ हुनजाला । मान्छेलाई एक्लै मर्ने कुराले पो बेसी मार्छ ।
अनि सारमा एकदिन मर्नै छ भने आपसमा मानवीय भाव बाँडौँ, माया गरौँ भन्ने यस लेखको निचोडलाई सलाम गर्छु म । मान्छेले यही मरेर जाने कुरा बिर्सिएकैले आजको यस्तो तानातानी, मारकाट, ढाँट, धोका र षड्यन्त्रको खेल चलेको छ । मानौँ अजम्बरी हुन् मान्छे ।
तपाईँको बेजोड लेख निराशाको कम्बम ओढेर आए पनि सकारात्मक न्यानोपन लिएर आएछ । निकै आभार !
"तिमी नहुँदा पनि त खै रोकिएन समय
कसरी भनूँ मेरो मात्र आफ्नो थे'न समय
ठिकै गरेछु भुलेर हिसाब किताब राख्न
सजिलै भा'छ आज काट्न जेनतेन समय...."
यसले पनि दिल लुट्यो । जाग्राम नबस्नुहोला । एक दिन निदाउनै छ आखिर, अभ्यास गर्दै गरौँ यही चोलामा ।
मलाइ पनि धाइबाजीलाइ जस्तै भयो, यसपाली दीपकजीका शव्दहरुले राम्रैसंग दिल लुटे । गालामा पेन्सिलको चुच्चो पारेर हास्नेको सम्झनामा रचिएका निजि भावनाहरुको उपस्थितिले (यद्यपि प्रसंग अझै खुलेकै छैन, त्यो पनि कुनै दिन खुल्नेछ र पोखिनेछ ब्लगको भित्तामा आशा गरौँ) र सम्भावित प्रलय अनि त्यससंगै पलाएको जीवन प्रतिको नजानिँदो मोह वा मायाले सम्पूर्ण प्रस्तुति अत्यन्त मिठो र भावपूर्ण लाग्यो।
कहिले काही मलाइ गहिरो जीवनबोध भएझैं तपाईका गज़लका तरंगहरुले भित्र सम्म छोएर जाने गर्थे, आज यो सिंगो टासोले नै पटक पटक त्यस्तै लहर उमार्यो मभित्र ... अझ धेरै पोस्ट टास्ने रहर पलाए जस्तो, अझ धेरै रात जाग्राम हुने चाह बढे जस्तो अनौठो अनौठो सपनाहरुको माया लाग्न थाल्यो, अझ धेरै माया बाड्न वा अझ धेरै जिउन बाकि नै भए जस्तो केहि हुन थाल्यो ।
यो प्रलयको भविष्यवाणी सम्बन्धि चल्दृश्य सामाग्रीको धागो त मैले पहिले पनि फेसबुकमा देखेको हो, तर तपाइको यो टासोले भने अरु कुतुहलता बढायो, यता पनि अब टेन्डर पर्ला जस्तो छ ।
सबैभन्दा पहिला त मेरो धेरै दिन देखिको खुल्दुली मेटाईदिनु भयो, त्यसको लागि धन्यवाद। । म त तपाईलाई धेरै दिन देखि सोध्दै थिएँ, यो 'Hyperdoomption' भनेको के हो भनेर।
मलाई पनि सृष्टी यसरी एकै सासमा बिनाश होला जस्तो त लाग्दैन (तर भएछ भने पनि भएछ :)अब के नै लाग्छ र ।
तपाईको यो टाँसो पढेपछि मैले त्यतिबेला लेखेको कोटेशन झनै सहि लाग्यो:
"Never take life seriously. Nobody gets out alive anyway"
प्रलय भयो भने धाइबाजीले भने जस्तै 'सामूहिक चिहानमा साथसाथ'त, प्रलय नभएको खण्डमा पनि एक-एक गरी जानु त छँदैछ ।
अन्तमा तपाईको अन्तिम वाक्य एकदमै घत लाग्यो। महाशक्ती राष्ट्रहरुले भनुन नभनुन हामीहरुले एक आपसमा भाईचारा, आत्मियता अनी प्रेम बाँडन भने किन कन्जुस्याई गर्ने !
साह्रै मन प-यो जडितजीको गहन भावपूर्ण लेखाई!
२०१२ डिसेम्बर २१ को बारेमा मैले पनि पहिलो पटक थाहा पाऊँदै छु। यो महाप्रलयको कुरामा भने अझै विश्वाश गर्न सकेको छैन मैले। लडाईँ-झगडा जति भईरहेपनि किन-किन मलाई त यो पृथ्वी र मानवजाति सधैं रहिरहन्छ जस्तो मात्रै लाग्छ। अब महाप्रलय भएनै पनि के गर्न सकिन्छ र? उत्तम औषधि शायद सुजनजीले स्टेटसमा राख्नुभएको Never take life seriously. Nobody gets out alive anyway नै हो। त्यो भाव राखेर जीवन जीऊन सके कुनै महाप्रलयले पनि केहि गर्न सक्दैन।
मलाई पनि संसारका यस्ता सबै 'अलौकिक' र रहश्यमय कुरामा चाख लाग्ने भएकोले यो २१ डिसेम्बरको बारेमा पहिला पनि एक दुईवटा आर्टीकल हेरेको थिएँ ।
सायद तपाईले पनि हेर्नु भएके होला, मैले पढेको एउटा आर्टिकलमा त त्यो भन्दा पहिला यहि २२ जुलाई २००९ मा पनि एउटा सुनामी आउने कुरा पनि छ।
अहिले भारतमा एकथरि ज्योतिषहरु पनि अर्को महिनामा ३० दिन भीत्र ३ वटा ग्रहण लाग्ने (एउटा खग्रास सुर्य ग्रहण सहित) भएकोले यसलाई पनि एकदमै अनिष्टको सूचकको रुपमा लिदैंछन।
यो संयोग महाभारत काल पछि अहिले मात्रै आएको भन्दै उनीहरु त्यसैले 'यदुकुल' को बिनाश गरेको र हालको ३ ग्रहणले पनि 'नराम्रो गर्ने' भन्दैछन।
अब आफ्नो व्यक्तिगत धारणा राख्ने हो भने यी सबै भविश्यवाणीहरु मलाई त्रिशुल बाबाका भविश्यवाणी भन्दा केहि फरक लाग्दैनन् ।
सृष्टीको पूर्ण बिनाश होला जस्तो मलाई पनि कहिल्यै लाग्दैन ।
त्यसै पनि मेरो फेवरेट कोषेशनमा मैले "living death is better than dead life"
भनेर राखेको छु, मरिएछ भने मरिएछ, बाँचेरै पनि के नै लछ्यारा छ र :)
२०१२ डिसेम्बर २ १ को दिन साच्चै हामी मोरेछ भने पनि मलाई त इत्ती पनि पिर लाग्दइन । अहिले मोरे नि मोर्नु नै छ - भरे मोरे नि मोर्नु नै छ - एक दिन मोरे नि मोर्नु नै छ । आखिर एक दिन यो धर्ती छोड्नु नै छ भने मोर्नुलाई के को पिर !
अब अध्यात्मिक कुरालाई हेर्ने हो भने मोरे पछी आत्मा उड्छ रे !
म त झन जहाँ जहाँ मन लाग्छ उतै उतै उड्ने थिए ! अहा ! त्यस्तो पो रमाइलो !
मोरे पछी त आफू आफू नै हुन पाईन्छ ------
ल यी महाशक्ती राष्ट्रहरुले भन्लान् अरे के हामी बिस्वास गर्छौं त यस्तो कुरा ? अहिले नै बिस्वास गर्नु पनि त भएन नि हैन |
खोइ २००१२-१२-२१ मा सबै मोर्छन् रे। हल्लै हल्लाम उभियेको सन्सारको कुरा गरेर पनि साध्ये लाग्छ र।
सर्वप्रथम यो वाहियात टाँसो त्रास फैलाउन नभएर चलेको चर्चा सुनाउन मात्र उल्लेख गरेको जानकारी गराउँछु । यसले कसैलाई चिन्तित तुल्याएमा क्षमा भन्दै यसैमा उल्लेख गरेको सुजनजीको कोटेशन मनन गर्नुहुन पनि अनुरोध गर्छु ।
धाइबाजी , मैले अन्तिम भोजलाई पृथ्वीको विनाशकै सन्दर्भमा मात्र जोडेको थिएँ कारण जे भए पनि विनाश उस्तै प्रकारको हुने भएकोले । वसन्तजी '..किन-किन मलाई त यो पृथ्वी र मानवजाति सधैं रहिरहन्छ जस्तो मात्रै लाग्छ..' मलाई चैं यो पृथ्वी पनि यौटा जीवन हो भन्ने लाग्छ त्यसैले यसको पनि मृत्यु निश्चित छ भन्ने कुरामा विश्वास लाग्छ भलै यो भनिएकै समयमा र भनिएकै जसरी होला नहोला । जसरी मृत्यु निश्चित भएर पनि अनिश्चित (कसरी भन्ने कुरामा) हुन्छ हाम्रो लागी त्यस्तै सम्झन्छु म चैं र दिलीपजीको 'सृष्टीको पूर्ण बिनाश होला जस्तो मलाई पनि कहिल्यै लाग्दैन ।' भन्नेकुरालाई पनि म सृष्टी भनेर केलाई हेर्ने हो त ? भन्नेमा फरक छु सायद । परब्रह्ममा पुगेर हामी कहाँबाट आयौं र कहाँ जाँदैछौं भनेर खोज्दा सृष्टी रहिरहन्छ परन्तु यसैको एक अँश पृथ्वी भने नष्ट हुन असम्भव छ भन्ने लाग्दैन मलाई ।
साथै प्रतिक्रिया लेख्नुहुने सबैलाई हार्दिक धन्यवाद !
यस्तो मज्जाको पोष्ट पढ्न छुटाएको रहेछु ...
मैले नि इन्टरनेटमा खोजि गरि हेरें .. डिसेम्बर २१, २०१२ वा २०२१ मा के हुन्छ होला भनेर | तर सबै हल्ला खल्ला मात्रै | जस्तो कि उहिले असार २ गते भूइंचालो आउँछ र पृथ्वी भस्म हुन्छ , ५७ सालमा महाप्रलय आउँछ , कोनी कुन माछापुच्छ्रे तारा संग पृथ्वी ठोक्किन्छ ..आदि आदि ..भन्ने हाल्ला चले जस्तै !!! मेरो बिचारमा ति ति हल्ला चल्दा पहिले जे भएको थियो ... डिसेम्बर २१, २०१२ वा डिसेम्बर २१, २०२१ मा पनि त्यै हुन्छ ... अर्थात् केहि न केहि हुन्छ....नोथिंग
बरु डिसेम्बर २१, २०१२ मा यस्तो चाहिं हुन सक्छ
१. नेपालमा संबिधान सभाको आयु तेश्रो पटक बढाएको
२. जनतान्त्रिक तराई मुक्ति मोर्चा "बिच्छी" वा "माकुरा" समुहको जन्म भएको वा हुने वाला भएको
३. अमेरिका को बेरोजगारी दर २५ % नाघेको
४. डिसेम्बर २५ मा क्रिसमस पर्ने भएकोले धेरैले किनमेल र तयारी गरि रहेको
५. त्यो दिन शुक्रबार पर्ने भएकोले म कामबाट फर्केर मज्जाले बियर तानेर बसिरहेको ...
जे होस् Hyperdoomption भन्ने शब्द चाहिं गज्जबको लाग्यो है...!
ए कुरो यसो पो !म सोच्दै थिए के भनेको होला भनेर.. मलाई यो पढेर झन मर्न डर नलाग्ने गरायो। पहिले डर लाग्थ्यो म मर्दा कोही रोला कि नरोला ?! तर अब त्यो चिन्ता पनि रहेन.. पृथ्वी नै नरहे। ,के साच्चै हो र? !
:)
" Mayan क्यालेण्डर , प्लानेट X " आज भन्दा बर्ष दिन पहिले नै सुनेको थिए इंडियन च्यानेल बाट र पछि ब्लगमा पोस्ट गरौ की जस्तो लागेको थियो ... तर यो हल्लाको खेती ...को पछि लाग्नु निको मानिन |
दीपक जी र मित्र हरु को प्रतिक्रियाहरु निकै मज्जाले पढे .... अनि यस्तो लाग्यो ... आज भन्दा पहिले जति पनी हल्ला चले सब झूट रहे तर यो चाहि ... कालुको कथा जस्तो 'बाघ आयो ' बाघ आयो ... भनेर गाउलेलाइ झुक्याउदा एक दिन साचै बाघ आएर बाख्रा सिध्याए जस्तो त हुने होइन ?
जेहोस .... Never take life seriously. Nobody gets out alive anyway...........
mailae padna alik dhilo vayae pani nikai ramro 6 hai
Post a Comment