Saturday, June 20, 2009

लघुकथा : कामना

गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।

बुहारी भन्दैथि'न् , 'अब त यो पैसोले घरमा टिन् ठोक्नु पर्छ बुढा । सप्पैका टिनका छाना भैसके ।'

'ठोकुम्ला न । अलिकति बारी पनि जोड्न पर्ला भनेर सम्जे'थेँ मैले त ।' ठुलै भाग्यशाली चिठ्ठा हातपरेको रवाफ थियो सन्तमानको ।

त्यतिञ्जेल सुखमानको करेसामै उक्लिसकेका थिए उनिहरु । छिमेकी बिजुवा बाले थपे , 'यत्रो बिधी पैसो पा'असि जे जे गरे नि भो नि अब । बाह्र वर्षमा त खोलो पनि फिर्छ भनेको ठ्याक्कै पुग्यो सन्तमान भाइ तिमीलाई ।'

'सन्तमानलाई के को गाड्धन मिलेछ त ?' बुझ्ने मन भयो सुखमानलाई तर सोध्न सकेन उसले । उनिहरु दाजुभाइको पानी बाराबार भएको अझै बोलचाल छैन ।

हातको स्याउला अझै हातमै लिएर मुर्ति जस्तै ठिङ्ग उभिएको सुखमानलाई देखेर सन्तमानले उभिएरै भन्यो , ' ए दाजै , सरकारले ३ लाख रुप्पे दिया छ हाम्लाई क्षेतिपुर्ति......... '

सन्तमानले बताईसक्न नभ्याउँदै बुहारीले भनिन् , 'के सुनाउंउछौ नि बुढा ईन्लाई ? उ बेला हाम्रो छोरा मर्दा खुशी हुनेलाई । उन्का छोरा पनि तेई लडाईँमा गा'छन् । हाम्रो छोरा मर्दा चैं खुशी हुने असतीहरु ।'

उनिहरु फटाफट उसको करेसो कटेर उकालिए । सुखमानलाई भन्को छुटेझैं भयो । हातको स्याउला फ्यात्त फालेर उ बस्तुको किलो समाएर घाँसहाल्न तेर्स्याएको ढाटमा बस्यो । उसको भाइ सन्तमानका तिनभाई छोराहरु । ति मध्ये माईलो लडाईंमा परेर मरेको बेला उसले सम्झाएथ्यो , 'ए नरोउ अब । रोएर मरेको मान्छे फर्कँदैन । तिमरका त अरु दुईभाइ ज्युँदै छन् । मेरो यौटै भ'को नि लडाईंमै गा'छ । मरेको त मरिगो बाँचेकाको मुख हेरेर मन बुझाओ ।'

त्यसैबेला चर्केकि थिन् उसकि बुहारी , '......तिम्रा छोरा नि मरेको दिन था'पाउँछौ ?... '

'अझै टेक लिरा'रान् त्यति कुरामा । मैले खुशी भ'र त भनेको थिँन् ।', खुईय! काढ्यो उसले ।

'...यो पैसोले घरमा टिन् ठोक्नु पर्छ... ' बुहारीकै कुरा उसको कानमा फेरी आएर पस्यो । उसले आफ्नो छानो सम्झ्यो । बर्खामास झरीमा सुत्दा ओच्छ्यानमा चुहेको पानी थाप्न भाँडा राखेको सम्झ्यो ।

'थुक्क ! कस्तो जुनी हो दैब मेरो यस्तो । एउटा भ'को छोरो पनि ख्वै कता के खोरमा हो कि शिबिरमा हो राख्या छन् रे । कैले सम्मन् राख्दा हुन् ? छोडीदिए पनि त यो बुढेशकालमा घरमा मलाई काम सघाउँदो हो ? बस्तुको थलोमा यत्रो खाल्डो परेको छ म बुढो एक्लै पुर्न सक्दिँन । छोरो भएर मात्र पनि के गर्ने ? बरु यसै घर थिएन उसै घर थिएन मरेकै भए पैसो त आउने रहेछ ।'

'हैन के भन्छौ ए काजीका बाउ ? तिमीलाई छोरोभन्दा पैसो ठुलो हुने भो अब ?' श्रीमतीको तिखो आवाजले झसङ्ग भयो सुखमान । उसले पुलुक्क हेर्यो काजीकि आमा नजिकै दाउरा झिक्दै थिईन् ।

'हत्तेरिका ! मैले सारै पो बोलेछु कि क्या हो ? थुक्क ! त मलाई , कस्तो कामना गरेको हुँला मैले यस्तो ? गरीब गुरुबा भएपछि यो माया ममता भन्ने कुराको पनि केहि भेल्लु नहुने रहेछ ।' यसपटक भने उसले होसियार भएर मनमनै भन्यो ।

12 comments:

आकार said...

यत्ति सारो कामना त अलि नगर्लान है ! जोसुकै र जस्तो स्थिति भएपनि, माया मा यसो नगर्लान ।

एउटा कुरा सोचौँ न, हाम्रो घर मा चोर-डाका पस्यो भने हामीले भेट्यौँ भने थला बस्ने गरि पिट्छौँ हामीलाई दया माया नै नलाग्ने गरि । अनि फेरी तेल्लाई हाम्रो माया त लाग्दैन, उसलाई हाम्रो माया लाग्ने भए लुट्न आउँदैनथियो । तर उसको घरपरिवार मा त उसको माया ममता मा कमि आउँदैन नि, उसलाई आफ्ना छोराछोरी निकै प्यारा लाग्छन्, उसले अरुको हत्या गरेको भएपनि, उ घरमा परिवार मा प्यारो नै हुन्छ, माया धेरै गर्छ, हो उ आफ्नो परिवारलाई हानी पुर्‍याउन सक्दैन ।

अत: दिपकजी तपाईँ को कथा पढिसक्दा कताकति अलि अमिल्दो लाग्यो है । गरिबी को खिल्ली उडाएको जस्तो भान पर्‍यो, यो लाइन ले 'गरीब गुरुबा भएपछि यो माया ममता भन्ने कुराको पनि केहि भेल्लु नहुने रहेछ ।'यस्तो पनि हुन्छ र ? हुन त कथा हो तर पनि मलाई अलि चित्त बुझेन है,यो कामना चाँहि ।

wordflows said...

अन्तिम तीन आनुछेदले चै मन दाम्मै छोयो। सोच्न कर लगायो
के साचिकै भन्लान् त येस्तो कुरा
"छोरो भएर मात्र पनि के गर्ने? बरु यसै घर थिएन उसै घर थिएन मरेकै भए पैसो त आउने रहेछ ।"
पैसा को लागि।

बिमल गिरी said...

दिपक जी,
मिठो र चोटिलो यो कथाले
सबैको मुटु नछोला भन्न सकिन्न।
मलाई हुरुक्कै बनायो। मार्मिक कथा
पस्कनु भएकोमा धन्यवाद।

Jotare Dhaiba said...

मलाई चाहिँ यस कथाले वास्तविकताको झल्को नै दियो । गाउँघरतिर रिसको झोँकमा, विशेषत: बाउले छोराको नाना भाँती तालले आजित भएर 'बरू मरेकै भए पनि हुन्थ्यो' भन्न सक्छन् । आमाले पनि बरू गर्भमै तुहेको भए हुने यो पिउसे भनेको मैले कताकति सुनेको छु । यस बोलीमा माया बनिमिट्यान्न पारेको जस्तो लाग्दैन । अब कुरो रह्यो पैसाको, पैसाको लागि चाहिँ यस्तो बोली बोल्थे कि बोल्ने थिएनन् भन्नेमा चाहिँ मेरो मनमा प्रश्‍नचिन्ह छँदैछ । तर गुमिसकेको छोरा रोइकराइ गरेर आउँदैन, बिस्तारी वियोगको घाउको खाटोमा मलम लाग्दै जान्छ अनि सनतानको नाममा पाएको पैसामा दङ्ग पर्नुपर्ने विवशता भने हरेकजसो जिल्लामा पछिल्लो समय भइरहेको जिउँदो कथा हो ।
त्यस कथाले यस कथामा मजाले हातेमालो गरेको छ । मार्मिक छ कथा । वास्तविकताको कुनो धेरै हदसम्म चियाएको छ ।

Sujan Sharma said...

एकदमै समसामयिक र यथार्थबादी कथा रहेछ । यो हाम्रो कथा मात्र होइन व्यथा नै हो ।
निक्कै चित्त बुझ्यो।

Dilip Acharya said...

कथा सर्रर पढ्दा कता कता मेरो मनमा पनि आकारजीको जस्तै बिचार आयो । फेरी सबै साथीहरुको कमेण्ट पनि पढ्दै जाँदा भने धाइबाजीको कमेण्टले झट्का हान्यो ।

मन पल पल बदलिने र कुनै कुनै बेलामा क्षणीक आबेसमा वा कुनै सोछमा रहँदा मनमा जे सुकै सोछ पनि आउन सक्छ ।

कथाको पात्रले अन्तीममा मनमनै गमेको सोचले पनि सो कुरा दर्शाउँछ ।

मार्मिक तर रोचक कथा ।

सिकारु said...

कथा कथा नै भएपनि यथार्त झल्को लिएर आएको छ । आबेशमा आएको बेलामा मुखबाट यस्ता कुराहरु प्रशस्त मात्रामा चिप्लिएको पाइन्छ यो हैन की सन्तान प्रति माया नभएर हो । यस्ता बाक्य कहिले काहि बिबशता र बाध्यताको भुमरीबाट पनि उत्पन्न हुने हुदा सुखमानको तर्क पनि त्यसैको पाटो भन्न मन लग्यो मलाई त ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

यो ब्यथा हो, विवशता हो, अभावको निष्ठुरी भंगालोले छोप्दै ल्याएपछि माया र प्रेमलाइ गौण बनाउदै लान्छ र सबै सबै पखालेर मनलाइ ढुंगा बनाईदिन सक्छ भन्ने मनोविज्ञान हो यो ।हुन त जस्तै गरिबीमा पनि मान्छेले त्यस्तो निर्मोही बिचार किन लिन्थ्यो होला र? यहानेर गरिबीको अत्यासलाग्दो नियतिले भन्दाले पनि एकातिर सामाजिक इर्ष्या र हिनताबोध र अर्कोतिर अहमवादले काम गरेको देखियो, र यो हुनु त्यस्तो समाजमा घातक हुन्छ ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

यो ब्यथा हो, विवशता हो, अभावको निष्ठुरी भंगालोले छोप्दै ल्याएपछि माया र प्रेमलाइ गौण बनाउदै लान्छ र सबै सबै पखालेर मनलाइ ढुंगा बनाईदिन सक्छ भन्ने मनोविज्ञान हो यो ।हुन त जस्तै गरिबीमा पनि मान्छेले त्यस्तो निर्मोही बिचार किन लिन्थ्यो होला र? यहानेर गरिबीको अत्यासलाग्दो नियतिले भन्दाले पनि एकातिर सामाजिक इर्ष्या र हिनताबोध र अर्कोतिर अहमवादले काम गरेको देखियो, र यो हुनु त्यस्तो समाजमा घातक हुन्छ ।

Luna said...

गरी बि को ब्यथा --- मार्मिक कथा !
हिर्दय छोयो !

Milan said...

साँच्चै मार्मिक कथा रहेछ... यसले नेपाली समाजको बास्तबिकता बोकेको छ |

एउटा प्रश्न सोध्न मन लाग्यो... यो कथाको अन्त्यमा प्रयोग भएको "भेल्लु" शब्द कुनै नेपाली शब्द पो हो कि ? अंग्रेजी velue शब्द भए चाहिँ वाक्य अलिक अनौठो लाग्यो है..!

दीपक जडित said...

सबैभन्दा पहिले हार्दिक धन्यवाद सबैलाई प्रतिक्रियाको निम्ती ।

आकारजी , मेरो ठम्याईमा जब मान्छे असामान्य स्थितीबाट गुज्रन्छ तब अनेकओली हुन्छ , बोल्छ , गर्छ जुनकुरा सामान्य अवस्थामा हुनैनसक्ने जस्तो लाग्छ ।

क्षणभरको भावावेशमा ओकलेको कुरालाई यसकथाको पात्र सुखमानले नै पनि स्विकार गरेको छ आफैंलाई धिक्कारेर यद्दपि उसको अवस्था त्यस्तै नै हो । सुखमानको दयनिय आर्थिक स्थिती , उसको भाइको सन्तान गुमाएर एक कुम्लो पैसा प्राप्त गर्दाको स्थिती र उनिहरु दाजुभाइको पानी बाराबारको स्थिती भन्दा पनि ति नेपाली छोराहरु जो चाहे जुनसुकै प्रलोभनमा परेर होस् , चाहे जस्तोसुकै सपना देखेर होस् १२ वर्षे युद्धमा होमिएर आजको अवस्थामा पनि अन्यौल भविश्य लिएर क्यान्टोनमेण्टमा रहनुको स्थितीलाई खोतलेको र त्यसको प्रभाव (असर) मनोवैज्ञानिक ढँगले तिनीहरुको आफन्तमा कसरी परेको छ भन्ने कुरा लेखेको हुँ मैले खासमा र लघुआकारमा सकेर मैले यसकथालाई नै अन्याय गरेको छु कि भन्ने पनि भैरहेको छ मलाई ।

मिलनजी , सुखमानको मुखबाट मैले अँग्रेजी शब्द Value लाई नै निकालेको हुँ । जसरी गाउँघरतिर धेरै अँग्रेजी शब्दहरु जानेर नजानेर आफ्नै जिब्रोको चाल अनुशार बोल्ने गरिन्छ ।