निक्कैदिन अगाडी फेसबुकको झ्यालमा यो गजलको मतला टाँगेको थिएँ । त्यसपछि भने बिर्षेझैं गरेछु यसलाई निक्कै दिनसम्म । हिँजो आएथ्यो सम्झनामा त्यही दुई हरफ मतला साथमा पुरा गर्ने उर्जा लिएर त्यसैले पुरा गरेर ल्याएको छु । ब्लगमा हिँजै राख्ने मूड थियो तर यो गजल पुरा गरेको चिर्कटो लुकिदिएर खोज्दा खोज्दा आज फेला पर्यो ।
न झुल्किएर घामझैं छरिन सकेँ ।
न औंशीको त्यो रातमै दरिन सकें ।
सिकौरे हातको म भट्टीको गिलास ,
न त रित्तो हुन न त भरिन सकेँ ।
मात जिन्दगीको फेरी लाग्यो यस्तरी ,
न ठम्ठम् हिंड्न न धरमरिन सकेँ ।
लछेप्रै थिएँ म रुझुञ्जेल झरीमा ,
ओतिएर पनि खै त तरिन सकेँ ?
ओस कस्तो उठेछ लौ यो जिन्दगीमा ,
आगो ताप्दा पनि कहाँ खरिन सकेँ ?
हो चेप्टिएर यस्तै मनोदशामा म ,
रहस्यमा ज्यूँनुको लहरिन सकेँ ।
आफ्नो लेखाई प्रतिको टिप्पणीले कति धेरै बल मिल्छ भन्ने अर्को उदाहरण आज पनि महसुस गरेँ मैले । पाँच शेर लेखेर निराशाकै भूमरीमा रोकेको मेरो यस गजल-नौकालाई अर्को एक शेर(मकता)थपेर लगभग किनारामा पुर्याएको महसुस गरेको छु आज । यसको लागी ब्लगमा प्रतिक्रिया लेख्नुहुने सबैसँग आभारी छँदैछु अझ धेरै आभारी फेसबूकमा कुराकानी गर्दागर्दै अलि नीरस भयो कि ? भनेर पहिलो टिप्पणी दिनुहुने मित्र रमा गौतम , गजल ग्रुपमा सँधैझैं बाटो देखाउनुहुने दीपक खड्का र बासु श्रेष्ठसँग छु । थप कुरा म पनि प्रतिक्रियामै बोलुँला ।
12 comments:
गजल पढेर मनन गर्दा निकै मर्मश्पर्शी लाग्यो ।
आखिर केही न केही त अवश्य गरिएको छ, यति निराशावादी हुनु जरुरी छैन ।
सुन्दर गजल!
मात जिन्दगीको फेरी लाग्यो यस्तरी ,
न ठम्ठम् हिंड्न न धरमरिन सकेँ ।
गजल राम्रो छ।
मलाइ यो हरफ चै एकदमै मन पर्यो
"सिकौरे हातको म भट्टीको गिलास ,
न त रित्तो हुन न त भरिन सकेँ ।"
मिठो गजल दीपकजी! राम्रो लाग्यो।
"मात जिन्दगीको फेरी लाग्यो यस्तरी ,
न ठम्ठम् हिंड्न न धरमरिन सकेँ ।"
मलाई पनि यही सेरले झ्वाम्मै छोयो । जिन्दगीको गर्नु र मर्नु भावदशालाई यसभन्दा राम्रो चित्रण कहाँ पो सम्भव होला र ? लुकेर बसेको गाडधन पाइए जस्तो लाग्यो । बढी नै भनेँ कि क्या हो ? :) तर मन मरेपछि त भन्न पाइयो नि !
बरू एउटा कुरा, 'सिकौरे हात' भन्दा बुझिन त बुझिन्छ तर चलनचल्तीको प्रयोगसँग कुम मिलाएर यसले स्वर नदेला कि भन्ने लाग्यो । यस्तै 'लछेप्रै भएँ' ले ठेट नेपालीको प्रयोगमा तपाईँको झुकाव ठम्याएँ मैले । राम्रो कुरा ।
त्वरीत शेर, त्वरीत काफीया
तर शुरु देखी अन्त सम्म ठेट नेपाली शब्द प्रयुक्त मिठो गजल ।
यतिका लामो जिन्दगीको यात्रालाई पाँचै शेरमा बताउनू भएछ गजल मार्फत । चित्त बुझ्दो छ दिपक जी ।
वाह ..!! शब्द र संयोजन साँच्चिकै राम्रो छ | पढ्दा सारै गज्जब लाग्छ ... भाब जे भए नि माफ ...
सुन्दर गज़ल जडितजी,
यहि मौका छोपेर एउटा सेर मैले पनि जमाए है त !
न डुबें न उत्रें ,जीवन यो सागरमा
वा लहर संगसंगै, न लहरिन सकेँ ।
दीपक जी;
गजल पढेर मनमनै औधी खुशीलाग्यो।
नेपाली ठेट शब्दका प्रयोगनै गजलका
प्रमुख बिशेषताहुन। लछेप्रै जस्ता शब्दले
मिठास भरिएकाछन।
हार्दिक धन्यवाद ! साथै आभार ! सबैलाई प्रतिक्रियाले झक्झक्याई दिनुभएकोमा ।
आकारजी , निराशावादमा झ्याम्मै नडुबेपनि लेख्दा यस्तै लेखिने गर्छु सायद म । यसलाई धाईबाजीको 'अल्झिने भो .... नसकिने भो' शिर्षकको पोष्टले बोलेकै कुरा मैले नि बोल्नुपर्ने हुन्छ सायद बोल्नै पर्दा ।
धाईबाजी , 'सिकौरे..' भएको शेरलाई शुरुमा यसरी लेखेको थिएँ -
पिउँदै गर्दाको म रक्सीको गिलास ,
न रित्तो हुन सकेँ न भरिनँ सकेँ ।
पछि लाग्यो पिउँदै गर्दाको गिलास पियक्कडको हातको हो भने भरिन पनि सक्छ र तुरुन्त रित्तिन पनि सक्छ सहजै । मलाई त भरेर पिउँन पनि नसक्ने आधा भरेको सिनित्तै रित्याउन पनि नसक्ने हात चाहिएको हो भनेर 'सिकौरे' लेखेँ । यसलाई सिकारु भनेर लेखिसकेपछि गाउँमा सिकारु नभनेर सिकौरे भनेको सम्झना भएर सिकौरे नै गरेको हुँ ।
कृष्णजी , कस्तो सुखद संयोग तपाईंको प्रतिक्रिया , थप शेर सहित पाउँदै गर्दा म पनि यता त्यही काफियामा गजलको निराशा अलिकति त ढाकछोप गर्नैपर्यो भनेर थप शेर लेख्न तालुको कपालको रौं गन्दै थिएँ ।
अन्त्यमा पुन धन्यवाद सबैलाई ।
Very nice !
keep it up Deepak ji .
Post a Comment