Wednesday, September 28, 2011

दसैं गफ र कविता : दसैं आएको छ

आज घटस्थापना । दसैं आइसक्यो कि आउँदैछ त्यो कस्ले कति अवधिलाई दसैं भन्ने भन्नेमा भरपर्ला । जे भएता पनि हामी यतिखेर दसैंको संघारमा छौं । दसैं भित्र छौं भने पनि फरक नपर्ला र हामी एक प्रकार खुसीमा छौं ।

स्वभाविक रुपमा दसैंमा हामी खुसी हुने यौटा पक्ष मार हानिने परम्परा पनि हो । सानोमा यस्मा म पनि खुसी हुन्थें र अलि ठुलो भएर सामेल हुन्थें । परम्परागत यस्ता कुराहरु यो सही हो र यो गलत हो भन्ने लाग्नु एकातिर हुन्थ्यो मेरो लागी । समाजमा अथवा परिवारमा आफुले नचाहँदा नचाहँदै पनि यस्ता थुप्रै कार्यहरुमा सहभागी हुनुपर्ने हुन्छ । गलत लाग्दैमा विरोध भनेर तुरुन्त विरोध गर्ने या वहिस्कार गर्नेतिर लाग्ने हो भने त्यो समाज स्वस्थ्य भएर हुर्कंदैन पक्कै । त्यस्को उदाहरण आजको हाम्रै समाज; अझ पुरा देश नै छ । परम्परागत यस्ता गलत प्रथाहरु त्यागेर नयाँ कुराहरु ग्रहण गर्न कुनै पनि समाजले केहि पुस्ताहरु खर्चिनु पर्ने हुन्छ । मेरो हजुरबाको पालाको परम्परागत कट्टरता मेरो बुबाको पालामा केहि होलो खुकुलो भयो भने मेरो पालोमा र मेरा सन्ततीहरुको पालामा अझ धेरै होलो खुकुलो हुँदै जानेछ । हिँजो दसैंका दिनहरुमा बलि दिइने कार्यहरुमा म आफैं नै सहभागि हुने गरेको भएता पनि आज मलाई त्यसो गर्नु आवश्यक लाग्दैन । यो समयले गराएको वैचारिक परिवर्तन हो ।

दसैंमा मार हान्ने अर्थात पशुबलि दिइने परम्परालाई सहि हो कि गलत भनेर अनेकौं वहसहरु समेत हुने गर्छन् । निर्क्यौलका साथ कुनैपनि परम्पराका कुनैपनि कुरालाई तुरुन्त यो सही हो र यो गलत हो भन्नु बुद्धिमानि होइन र त्यसले तुरुन्त केहि फरक पनि पार्दैन भन्ने लाग्छ मलाई ।

फेरिपनि दसैंको संघारमा आँगन आँगनमा बलिको नाममा हुने पशुबधलाई निरुत्साहित गर्न पेश छ यो कविता -




दसैं आएको छ

लामो दापभित्र
धारिलो खुँडा
छट्पटाईरहेको छ
दाप नभएका
गरीबगुरुवा झैं
नाङ्गा खुकुरीहरु
उत्ताउलिएका छन्
ठुला मान्छेहरु
हँसिला छन्
केटाकेटीहरु
चुल्बुलिएका छन्
खोरमा
भर्खरै दाना खाएको
खसीलाई केहि पत्तो छैन
शान्त, चुपचाप
उ मस्त उघ्राईरहेको छ
हिँजोअस्ति जस्तै
आँगनको एकातिर
ठुलो खड्कुलामा
पानी उम्लिसकेको छ
खुँडा निस्कनेछ दापबाट
पूजिनेछन्
नाङ्गा खुकुरीहरु कर्दसमेत
काटमार चल्नेछ
सँधै शान्ति चाहनेहरुको
सर्वदा शान्त आँगनको एक कुनामा
बग्ने छ आलो रगत
तरपनि घर आफैं
केटाकेटी झैं
उज्यालिएको छ
हो त्यो घरमा
दसैं आएको छ ।


र अन्त्यमा मेरो ब्लगमा पाल्नुहुने सबै मित्रगणहरु लगायत धर्तीभरि छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई दसैंको हार्दिक शुभकामना !

7 comments:

Dilip Acharya said...

छलफल र बहसका बिषयहरू पक्कै पनि धेरै नै छन् । तर अहिलेलाई भने मेरो तर्फबाट पनि तपाईँको परिवार लगायत यो ब्लगका सम्पूर्ण पाठकहरूमा हार्दिक मङ्गलमय शुभकामना !

कैलाश said...

कुरो सही हो दीपकजी र अनि दिलिप जी। मेरो पनि यहाँहरु सबैलाई दशैँको शुभकामना।

Jotare Dhaiba said...

धर्मको नाममा हुने पशुबध निरुत्साहित गर्नैपर्छ । अन्य किसिमको पशुबधको कुरामा भने सम्बन्धित व्यक्तिले आफू जस्तै प्राणीप्रति कति समभाव राखेर व्यवहार गर्छ भन्ने हो ।

दशैंको शुभकामना ब्लगर जडितज्यू र ब्लगमा पाठकमा ।

प्रकाश समीर said...

तपाईंको यो बिचार प्रती पूर्ण सहमती जनाउँदै बस् यत्ती मात्र भनौँ -
"धनीको लागि मोज पर्ब बनेर,
गरिबको लागि बोझ पर्ब बनेर,
घुम्दै फिर्दै आइपुग्यो दसैं
पशु पंक्षिका लागि कोतपर्ब बनेर।"


यहाँलाई विजया दशमी २०६८ को मंगलमय हार्दिक शुभकामना !!

Basanta said...

कुनै पनि तर्कका लागि सूधा निर्बल पशुहरुको वध गर्नु गलत लाग्छ मलाई, अझ आफ्नो लोभी भुँडी भर्न देउता र कथित परम्पराका नाममा गरिने पशुबलि त झन् कुरुप र पाखण्ड लाग्छ मलाई!

तपाईँ र यो ब्लगका समस्त पाठकहरुलाई विजयादशमीको उपलक्षमा सुख, शान्ति र सफलताको हार्दिक मंगलमय शुभकामना!

Luna said...

मन छुने कविता लेख्नु भो दिपक जी .
अबका शिछित चेतनशील मान्छेले धर्मको नाममा हुने पशु बध प्रणालीलाई
अपनाउनु हुदैन ! यस्ता प्रणालीलाई निरुत्साहित गर्नु पर्छ !

दीपक जडित said...

हार्दिक धन्यवाद र आभार कैलाशजी, दिलीपजी, धाइबाजी, प्रकाश समीरजी, वसन्तजी र लुनाजी । यहाँहरु सबैलाई पनि मेरो तर्फबाट फेरि बडादशैंको मंगल कामना छ ।