Tuesday, September 20, 2011

गीत : म रुन सकिंन कैले

सबै आँसुहरु मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।

 
यौटै चन्द्रमा एकै समयमा
दुई कुनाबाट उहि धरतीको
हेर्दै टोलाउनु नियति यो हो कि
या त अभिसाप हो यो पिरतीको
दुख्ने मुटु पनि मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।

 
जुन मायाले घरै छोडाएर
ल्यायो अपरिचित संसार माझ
त्यहि मायाले घर सम्झाएर
डाकिरहेको छ पल पल आज
पोल्ने मनै पनि मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।
*******

यो गीत केहि महिना अगाडिनै लेख्न सुरु गरेको या लेखिसकेको हुनुपर्छ मैले तर लेखेर कहाँ थन्क्याएको थिएँ थाहा भएन । यसको स्थाई मात्र मैले फोनको नोटमा राखेको रहेछु ।

त्यो देखेपछि एकै समयमा धर्तीको दुई कुनाबाट यौटै चन्द्रमा हेर्दै छुट्टिनुको गुनासो गर्दै गरेको कुरा यौटा अन्तरामा लेखेको थिएं र मायाले नै परदेश हिंडाएको र मायाले नै घर बोलाएको कुरा अर्को अन्तरामा लेखेको थिएँ भन्ने स्पस्ट सम्झना भयो ।

अनेक खोजेँ; सेलफोनकै नोटहरुको कुनाकानी, कम्प्युटरको कुनाकानी देखि लेख्दै कोठाको कुनाकानीमा छोड्दै गर्ने कागजका टुक्राटाक्री समेतमा खोजें तर अहँ भेटिएन । एकपल्ट पुरा लेखिसकेको कुरालाई फेरि लेख्नु पर्दा साह्रै गाह्रो लाग्छ मलाई त्यसैले लेख्नको सट्टा खोज्नमै लागें म दोहोर्याई तेहेर्याई माथि उल्लेखित कुनाहरुमै तर अन्तत फेला पर्यो किचनको कुनामा कच्याककुचुक परेर केहि अँश च्यातिएर रहेको अवस्थामा ।

१०० डलरको नोट फेला पार्दा पनि म सायद त्यति खुसी हुन्न होला । जति यो आफैंले २/४ हरफ कोरेको कागजको टुक्रा फेला पार्दा भएँ । टुक्रामा स्थाईका दुबै हरफका अघिल्ला एक डेढ शब्दहरुमात्र बाँकिथिए भने अन्तराका प्रत्येक हरफका पछिल्तिरका एकदुई अक्षर थिएनन् । तर मैले खोजेको कुरा प्रयाप्त थियो त्याँहा । मैले त्यसलाई टिपेर त्यसको फोटो पनि खिचेको थिएँ ब्लगमा राख्छु भनेर तर त्यसमा लेखिएका मेरा आफ्नै अक्षर त्यसले किचनको फोहोर सफा गरेको दाग ईत्यादिले गर्दा ब्लगमा राख्न मन भएन ।

जे होस् - यौटा गीतले हराउँदै भेटिएर मलाई ब्लगमा जोडिने यो मौका दिएको छ ।

धन्यवाद त्यो कागजको टुक्रालाई !

1 comment:

Jotare Dhaiba said...

हराएको रचना भेट्नुको खुसी रुपियाँ पैसासँग तुलना हुन्न, सही अनुभूति बाँड्नुभयो ।

रुन नसक्नुको पीडा कति कहालीलाग्दो हुन्छ, म पनि बुझ्छु कि जस्तो लाग्छ । यो गीतको खडेरीमय भावले त्यही पाटोलाई हल्लायो । झन् रुँदा कति रसिक भाव जन्माउनुहुन्थ्यो होला । कारुणिक छ गीत । रेकर्डमा सुन्दा अझ सार्थक हुनेथ्यो ।