Monday, November 24, 2008

लघुकथा : एकभारी दाउरा

सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । अरु अरु दाउरेहरुको ठुलो ठुलो र हेर्दै दन्दनी बल्ने चिर्पट जस्ता दाउराको अगाडी उसको दाउराले कहिले भनेजस्तो त के पसिना बगाए जतिको पनि दाम पाउंदैन थियो । सँधै उसको एकभारी दाउरा किन्न बजारमै दुईचार वटा घर र पसलहरु भएका भिमसिन काजी आउँथे र उसले साठीको मोल राखेको दाउराको भारी दलाली गर्दागर्दा तीस रुपिँया दाम दिएर लैजान्थे । साँझ ढलुञ्जेलसम्म पनि अरु कसैले नकिने पछि उ सँग ति लोभि भिमसिन काजीलाई बीसै रुपिँयामा भए नि दिनुको बिकल्प हुन्नथ्यो तर भिमसिन काजी जहिले नि म भित्र नि हरी छन् तेरो एकभारी दाउरा बीसै रुपिँयामा कहाँ लिन सक्छु र भन्दै तीस रुपिँया फालेर जान्थे ।

तीस रुपिँया हात परेपछि उ भोली बिहानलाई चिया र पाउरोटी खाने दश रुपियाँ छुट्याएर बाँकी दश रुपिँयाको चना चिउरा र दश रुपिँयाको रक्सी खाएर पल्टन्थ्यो त्यतै एउटा कुनामा । आफन्त नातागोता कोही थिएनन् उसका । कसैसँग उसको नाता सम्बन्ध थियो त भिमसिन काजीसँगै थियो यौटा दाउरे र ग्राहकको ।

आजपनि उसले एकभारी दाउरा ल्याएर बजारको एक छेउमा पछारेको मात्र के थियो कहिल्यै उसको दाउरा सोध्न नआउने मान्छेहरु आएर दाउराको दाम सोध्न लागे । उसले साबिककै दाम बतायो साठी रुपिँया । उनिहरुले सय रुपिँयाको नोट फाल्दै दाउरा उठाउन खोजे । एकछिन उ अलमल्ल पर्यो । यि मान्छेहरु आज बौलाएछन् क्यार भन्ने लाग्यो र तुरुन्तै उसले भन्यो , ' हुँदैन हुँदैन । म यो दाउरा भिमसिन काजीलाई मात्र बेच्छु सँधै उनले तीस रुपिँया दिन्छन् । त्यती भए पुग्छ मलाई । तपाईंहरुलाई त दुई सयमा नि दिन्न ।'

दाउरा उठाउँदै यौटाले भन्यो , ' अब भिमसिन काजी आउँदैनन् तिम्रो दाउरा किन्न , उनैलाई जलाउन किन्न लागेको तिम्रो दाउरा । ल खुरुक्क त्यो पैसा राख । '

उनिहरु दाउरा उठाएर हिँडे । उसलाई आज यौटा आफन्त गुमाएझैं लाग्यो । सोच्यो - भिमसिन बुढाले बाँचुञ्जेल लोभ गरेर उसलाई तीस रुपिँया मारेको सायद मरेपछि पनि पैसा चाहिन्छ भनेरै हो क्यार । उसले पनि जिन्दगी भरी तीस रुपिँयामा एक भारी दाउरा बेचेर आधापेट खाने त हो । आज एकदिन यो सय रुपिँया समातेर के गर्नु भोली देखि उसको दाउरा पनि कसैले किन्ला कि नकिन्ला बरु आजको आधापेट चना चिउरा त भिमसिन बुढाको मलामी गएपनि खान पाउँछु नि , भयो लिन्न म यो भिमसिन बुढाको मरिसकेपछिको पैसा । यस्तै सोचेर उ पनि उतै दगुर्यो र पैसा फिर्ता गरेर मलामीको हुलमा मिसियो ।

9 comments:

Dilip Acharya said...

धेरै पछि दिमागमा गहिरो छाप बस्ने खालको कथा पढन पाएँ।

कथाको समाप्ति पछि पनि पाठकलाई केहि सोच्न र कथाकै वृत्तमा डुब्न प्रेरित गर्ने प्रसंगले यो कथालाई निक्कै स्तरिय र रोचक बनाएको छ।

एकदमै मन पर्‍यो मलाई यो एकभारी दाउरा

yauTee Saathi said...

dada, it was a really nice piece. Ani, easy read pani, thank you. It reminded me of the stories from Mahendramala - good old memories.

बिमल गिरी said...

deepak ji,
Namaskar,Tapaiko creation aka bihanai padhna pauda atinai khushichhu.Atinai sundarchha.pragati ko lagishubhakamana.

Luna said...

माथि दिलिप जि ले भन्नु भए झै कथाको समाप्ती पछी सोची रहन वाध्य बनाउने यो कथा ले अहिले सम्म पनि मलाई सोच्न वाध्य बनाएको छ ।
बहु कोण बाट कथाले शन्देश दिन्छ ।
यस्तै गुणस्तरीय कथाहरु आउदो दिनमा पनि पढ्न पाइरहियोस ,शुभ कामना हिर्दय देखी नै ।

आकार said...

यो एउटा गरिब, निमुखा जनताको सही चित्रण हो ।

दीपक जडित said...

दिलीपजी , यौटीसाथी , बिमलजी , लुनाजी र आकारजी यहाँहरु सबैलाई मेरो एकभारी दाउराको कथा मनपराईदिनुभएकोमा हार्दिक धन्यवाद !
र यो कथा पढेर मौखिक प्रतिक्रिया दिनुहुने एकु बैनिलाई पनि धन्यवाद ।

यौटी साथी तपाईं पुर्वतिरकै हुनुहुँदोरहेछ भन्ने अनुमान लगाएँ ' दादा ' सम्बोधन देख्दा । खुशीलाग्यो , तपाईंलाई यौटी बैनि पो भनुँ कि क्या हो ?

J B said...

दीपक जडित जी ! तपाई को यो लघु कथा लेखकको नाम बिना नै कतै पढेको थिएँ एक दमै राम्रो लागेर लेखक खोज्दै जाँदा तपाई को नाम भेटियो ! निरंतरता दिनुहोला !

जे.बी.शेर्पा

दीपक जडित said...

जेबिजी , धन्यवाद यहाँलाई यस जानकारीको निमित्त साथै कथा मनपराउनुभएकोमा पनि धन्यवाद ! नाम बिनै राख्ने त्यो साईटको बारेमा थाहा पाउन पाए हुने थियो ।

जे.बी.शेर्पा said...

दीपक जी ! त्यों साईट हो www.sherpakyidug.org तर समस्या के छ भने user ID भएका जसले पनि आफै ले पोस्ट गर्न सक्छन ! तर जसले पोस्ट गरिदिएको भएपनि कमसेकम लेखक को नाम राखे राम्रो र इमानदारीपन देखिन्थ्यो !