Monday, November 17, 2008

गजल : तिम्रो नायक हुन नसक्दा

पछुतो थोर बहुत् बाँकी छ तिम्रो नायक हुन नसक्दा ।
प्रेमको के कुरा भो र नजरमै लायक हुन नसक्दा ।

नलेखेको हैन सयौं गीतमा तिमीलाई रचेर मैले ,
पाएनन् अर्थ मेरा शब्दहरुले गायक हुन नसक्दा ।

दुरी भुगोलको हिसाब नगरी भ्रम सँधै बाँचिएछ ,
सकेन मौलाउन हाम्रो प्रेमले पायक हुन नसक्दा ।

न हात नै मिल्यो समाउन खोज्दा साथ पनि टाढा टाढा ,
भयो कि यो सब एक अर्काको सहायक हुन नसक्दा ।

आफ्नो निमित्त त के कुरा भो र आज तिम्रै निमित्त पनि ,
सकिनछु आवाज उठाउन विधायक हुन नसक्दा ।

जलाएर मात्रै कहाँ हुँदोरहेछ र 'दीपक' मनमा ,
छरेर उज्यालो त्यो 'दीपक' सुखदायक हुन नसक्दा ।

मिती याद गरेको छैन मैले तर निक्कै भयो मैले गजल लेखेको छैन । पछिल्लो पटक मैले ' नियम बनाउँ भन्छन ' भन्ने गजल लेखेको थिएँ । आज पुराना ड्राफ्टहरु हेर्दै जाँदा ( ब्लगका ) मैले निक्कै अगाडी लेखेको गजल भेटेँ जुन चार शेर पहिले नै तयारी अवस्थामा थियो भने दुई थप शेरहरु आज पुरा गरेर तपाईँहरु समक्ष ल्याएको छु । म गजल नलेखि रहेको अवस्थामै हुँदा यो गजललाई पुरा गरेको हुँ तर आज यस्तो महसुस भै रहेछ कि म आजैबाट गजल नलेखिरहेको अवस्थालाई तोड्दैछु । वास्तवमै मैले केहि समयलाई गजलबाट टाढै रहने विचार गरेको थिएँ तर आज एक्कासी पुरानो गजललाई पुरा गर्ने निहुँ बनाएर लेखीछाडें । हेरौ अगाडी म गजलमा फर्कन पनि सक्छु ।

4 comments:

Prabesh said...

दीपक दाइ !! तपाईँ किन आफ्नो नामलाई प्राथमिकता दिनुहुन्छ गजलमा ?? त्यसो गर्दा गजलहरूको अन्तिम भाव लगभग उस्तै हुन गएर अलि खल्लो हुने हो कि ? तर यो चैँ राम्रो छ !!

Dilip Acharya said...

मेरो पनि धेरै आधा अधुरा गजलहरु पुरा हुन नसकेर 'शेर' वा मिस्रा मात्रै बनेर रहेका छन। तर तपाई निक्कै सहजताका साथ रसिलो गजल बनाउन सक्नुहुन्छ।

यसमा सबे शेरहरु रोचक र रसिला छन ।

मैले पहिला पनि तपाईको कुनै गजलको कमेण्ट गर्दा लेखेको छु, मलाई भने तपाईको गजलको मक्तामा 'तकल्लुस' को प्रयोग एकदमै सहज लाग्छ (जबरजस्ती घुसाएको महशुस हुन्न)।

Basanta said...

निकै सुमधुर गजल राख्नुभयो जडितजी!

थपिएका दुई भन्दा पूराना चार शेर धेरै दामी छन्। जडितजीलाई के लाग्छ कुन्नि, मलाई चाहिँ केहि दिनभित्रै पूरा गर्न सकिएन भने पछि आएर गजल/कविता पूरा गर्न मन लाग्दैन। शुरु गरेको समय र पछि पूरा गर्दाको समयको मनोदशा एउटै हुनै सक्दैन। मनोदशा एउटै नहुँदा भावको संप्रेषण पनि फरक हुनजान्छ जस्तो लाग्छ।

Yumesh Pulami said...

राम्रो गजल रहेछ दीपक जी -मलाई गजल निकै मन पर्छ -तर गजल लेख मा म त्यति निपूर्ण भने छुईन गजल पढ़न र सुन्नु नै मज्जा लाग्दछ ।