Sunday, November 16, 2008

कविता : सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !



सुन्दा छौं
ठुलै डाँको छाड्यो रे
कर्णालीले
काठ्माण्डुमा
आजकल त
काठ्माण्डौका मान्छेले
खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे
ए हजुर !
हाम्ले कैले देखम्ला
नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?
अझ भाउन्न छुटुञ्जेल देखेको
यो कर्णाली
नक्सामा कस्तो देखिँदो हो ?
कठै ! भेँडी गोठ गा'कि मेरी छोरीले
किताबमा हाम्लाई
कर्णालीको नक्सा देखाउँदि हो त
हो हजुर यो जुनी हामी
पसिनानै डङ्डङ्ती गन्हाएपनि
गुनासो गर्ने थिनम
कर्णाली दख्खिनै
बग्यो भनेर
सुन्दा छौं
काठ्माण्डौका
चिया पसलमा आजकल
कर्णालीकै बात मार्दाछन् रे
ए ! हजुर
चिया पसलको बातले
बग्ने कर्णालीलाई छेक्न कहाँ सक्लाउ र
अफसोस् यति हो कि
कर्णालीले हाम्रो तिर्खा धरी मेट्न सकेन
त्यसैले हजुर
कर्म बादुरको लास हिँजो
छोरीचेलीले उठाउनु पर्यो
काठ्माण्डुमा आएर
आँसु खसाएर कर्णालीले
'के तपाईँसँग कर्णालीको नक्सा छ ?' भनि सोध्दा
नढाँटी भन्नुस् त हजुर
क कस्ले छातीभित्र
कर्णालीको नक्सा खोज्नुभयो ?

1 comment:

Aakar said...

कर्णाली को हालत सँधै यस्तै छ ।
यहाँ मुख्य कुरा के परेको हो भने, पहाड दुख्दा तराइ बोल्दैन, तराइ जल्दा पहाड निभाउँदैन । यहाँ कर्णालीलाई दुख्दा काठमाडौँलाई दुख्दैन ।