Sunday, November 09, 2008

म हाँसेको कुरा - भाग २

केहि अघि मैले म हाँसेको कुरा भाग १भनेर गन्थन लेखेको थिएँ र आज त्यसैको भाग २ ल्याएको छु । पहिलेझैं यो पल्ट पनि यो गन्थन पढ्दा तपाईंको समय नष्ट गर्ने रहेछु भने क्षमा दिनुहोला भन्छु है ।


मलाई त याद छैन तर आमाले भन्नुहुन्थ्यो म सानो छँदा बारीमा रोपेको काँक्रा , फर्सी टुसाएर दुईपातको भएको देखें भने पुरुक्क उखेलेर घरमा ल्याएर आमालाई देखाउँदै ' आमा ई हेल्नु त हाम्लो फल्सी फलेछ । ' भन्थेँ रे । पछि यो कुरा सुन्दा मलाई अनौठो लाग्थ्यो । सायद मलाई सेतो , पहेँलो र हलुका हरियो मिसिएको टुसाले र त्यसमाथी टप्पक्क परेको दुईपातले लोभ्याउँथ्यो त्यो बेलामा र अन्जानमै बिगार गर्न पुग्थेँ म तर अलि ठुलो भएर म साँच्चै किसान भएको थिएँ । मलाई लसुन , प्याज , खुर्सानी ईत्यादी रोप्न र फलाउन ज्यादै जाँगर चल्थ्यो भलै त्यति राम्रो कृषि उत्पादक बनिनँ म र पनि अन्नबाली , नगदे बाली लगाउने देखि लिएर हाँस , कुखुरा पाल्ने , खरायो पाल्ने जस्ता कामहरु गर्नु मेरो बाध्यता र रहर दुबै थियो ।

छेउ छेउमा हाल् बिचमा गन्धैले मर्छ

एकदिन म किसान नै छँदा ( भन्नाले खेती किसानी गरेर घरमा बसेको बेला ) दशैंको बेलातिर पसाएर फूल खेल्दै गरेको धानलाई पतेरा ( धानमा लाग्ने किरा खासमा हामी पँधेरा भन्थ्यौं ) बाट जोगाउनको लागी एक प्रकारको धुलो औषधी ( विषादी ) यौटा थाङ्नोमा बाँधेर बिहानको शीत छँदै धानबारी भित्रसम्म पसेर सानो लौरोको ट्याक ट्याक कुट्दै छर्दैथिएँ । त्यसैबेला छिमेकमा एकजना भेना ( भेना भन्थें म ) आईपुगे र सोधे , ' ओ ए दीपके के गडेको ? ' उनको बोली लट्याङ्ग्रो परेको थियो । मैले निक्कै याद गरेको थिएँ उनले बोल्दा यौटै अक्षरलाई पनि एक ठाउँमा एक तरिकाले र अर्को ठाउँमा अर्को तरिकाले उच्चारण गर्थे ।

' धानमा दबाई हालेको हौ भेना ।' जवाफ दिएं मैले ।

' ठुक्क ! मडा , टैले त ढान सबै बिगाडिस् नि , टेस्टो शीतमा पनि ढानबाडीमा पस्नुहुन्छ ? ' उनले मलाई गाली गरे ।
आफुभन्दा जेठापाका मान्छे , कुरा सुन्यो भने केहि त सिक्न सकिन्छ भन्ने लाग्थ्यो मलाई त्यसैले सोधेँ , ' हो र भेना ? कसरी हाल्ने त दबाई ?'

' भिट्र पस्नै पर्डैन नि , ठेउ ठेउमा हान् न , बिटमा कन्डैले मड्छ । ' उनले ' छेउ छेउमा हाल् न बिचमा गन्धैले मर्छ भनेका थिए । ' उनको अगाडी त म हाँस्न सकिँन जिस्क्याए जस्तो हुने तर यो कुरा सम्झँदा भने अझैपनि हाँसो लाग्छ ।

म कसैको फोटोकपि कि कोही मेरो फोटोकपि ?

मँशिरे चतुर्दशी अर्थात् बाला चतुर्दशीमा गाउँबाट सतबीउ पलबीउ छर्न सतासी धाम अथवा अर्जुनधारा जाने गर्थें र हामी केटाहरु पनि जान्थ्यौं रमाईलोको लागी । रातभरी धाममा किर्तन भजन , नाचगान गरेर बस्दा रमाइलो पनि हुन्थ्यो । सतासी धाम पछि पछि गएर निक्कै बद्नाम भएको थियो । जाँड रक्सीको ब्यापार , सेवन र मारकाटले । त्यसपछि सबै अर्जुनधारा जाने गर्थें । एकपल्ट ( साल याद भएन ) हामी चार पाँचजना केटाहरु गएका थियौं । मन्दिर परिसरमा , किर्तन गर्नलाई बनाई एको विषेश स्थलमा भएको भक्तजनको घुईँचो छिचोलेर आधारात तिर हामी बाहिर निस्कियौं , मन्दिर परिसरभन्दा बाहिर गएर चुरोट तान्न लागेका थियौं हामी ।

एकातिर मन्दिरहरु अनि स सानो पोखरी र पोखरीको अर्को छेउतिर सुपारीका रुखहरु रहेको छ त्याँहा हामी सुपारीको रुखतिर गयौं । त्याँहा ३ जना स्थानिय किशोरहरु झ्यास पराल भेला गरेर आगो बालेर बसेका थिए । चुरोट तानिसकेर तिनै फुच्चेहरुसँग एकछिन बस्ने विचारले हामी त्यतै लाग्यौं । मैले साथीहरुलाई ल यि फुच्चेहरुको दिमाग चाटुँ भनेको थिएँ पहिल्यै त्यसैले उनिहरुको छेउमा पुग्दा मैले यौटालाई , ' ओई बिर्खे ? तँ के गर्दैछस् हँ यहाँ ? सुत्नुपर्दैन घर गएर ? ' अलि हपारेझैं भनें ।

मैलिएर काति भएको सेति शर्ट र निलो पाइन्ट अनि हवाई चप्पल लगाएको उसले स्कूलको युनिफर्म लगाएको हो भन्ने बुझ्न गाह्रो थिएन । उमेरले नौ दश वर्षको लाग्ने त्यो फुच्चेले ङिच्च दाँत देखाउँदै अझ दुईहात पनि जोड्दै भन्यो , ' नमस्ते दीपक दाई , कैले आउनु भ'को ? '

म सँग हुने साथीहरु एकैचोटी डल्लो परिपरि हाँस्न थाले । मैले पनि थाम्नै सकिनँ हाँसो । कहाँको फुच्चेको दिमाग चाट्न गएको म , उल्टै नमस्ते दीपक दाई भनेर उसैले पो मेरो दिमाग चाट्न लागेको हो कि जस्तो । उसले मलाई चिन्दैन म चाँही उसलाई चिनेझैं गरेर , बरु नाम बिर्षेछु तेरो भनेर फुच्चेसँग रमाइलो गर्न मैले आफ्नो दिमागमा बनाएको प्लान एकैतालमा चौपट भयो । त्यसैले नयाँ सिर्जित परिस्थिती अनुशार उसलाई सोधें , ' कसरी चिनिस् तैंले मलाई ? मैले त विर्षिस होला पो भनेको । '

' चिनिहाल्छु नि तपाईंलाई , आज म तपाईँहेर्को घरमा मोई लिन ग'को थें , तपाईँको बुबाले दिनुभएन । '

तिनिहरुले बालेको झ्यासको धुनि ताप्दै केहिबेर कुरा गर्दा थाहा भयो । उसको गाउँमा दीपक भन्ने कोही केटा रहेछ ,काठ्माण्डौमा पढ्ने , उ हेर्दा म झैं देखिन्थ्यो क्यारे र अझ गजबको कुरा त त्यो फुच्चेको नाम पनि विर्ख नै रहेछ । पछि मैले म तेरो दीपक सञ्जेल ( उसले मेरो थर सञ्जेल भनेको थियो ।) होइन भन्दा पनि पत्याएको थिएन उसले ।

हाम्रो खाडीले पनि पश्चिमतिर पानी पार्छ ?

त्यसदिन म 'मन बाढी हो बाढी मन हैन' भन्ने कथा लेख्न बसेको थिएँ । असार बित्दो बेला भएपनि खडेरीले धर्तीमात्र हैन मान्छेकै आत्मा चर्काईसकेको थियो । पानी कैले पर्ला र खेतमा धानको गाभो टाँस्ने हो भनेर सारा गाउँ आकाश हेर्दो थियो । महङ्गो तेल किनेर पम्पसेटको पानीले धान रोपेको खेतपनि मानचित्रमा बिभिन्न राष्ट्र , अञ्चल , जिल्ला ईत्यादीको सिमाना कोरेझैं भएको थियो । दुख त मलाई पनि लाग्थ्यो पानी नपरेकोमा तर दुखि भएर केहि गर्न नसक्ने अवस्था थियो । त्यसैले म धेरै वर्षा भएर बाढीले पिरोलेको कथा लेख्न मस्त थिएँ । घरमा त्यसबेला आमा र म मात्रै थियौं । म आँगनमा भएको रबरको रुखको सिँयालमा मुढामा बसेर बेञ्चमा कपि राखेर लेख्दैथिएँ । आमा तरकारी केलाउँन मेरो छेउमा आउनुभयो र बेञ्चकै एकापट्टी बस्दै सोध्नुभयो , ' भाई यो मनसुन भनेको के हो ? '

लेख्दै गरेको कथाबाट ध्यान हटाएर एकछिन के भनेर सम्झाउने भन्ने सोचें र उल्टै सोधेँ , ' कहाँ सुन्नुभयो मनसुन भनेको ? '

' रेडियोमा सुनेको , बङ्लाको खाडीबाट मनसुन आउँदैछ रे अब पानी पर्छ रे । ' जवाफ दिनुभयो आमाले ।

' मनसुन भनेको यौटा पानी पर्ने प्रक्रिया हो । हाम्रो देशको पुर्वतिर बंगालको खाडी छ , त्यो मनसुन त्यहीँबाट उठेर आएर मात्र यता पानी पर्छ । ' ठ्याक्कै मनसुन भनेको के हो भन्ने सम्झाउन मलाई नै आएन र त्यसै टारेँ ।

आमा एकछिन चुपलाग्नुभयो । मेरो जवाफले चित्त बुझेन क्यार भनेर म आमाको अनुहारमै हेरिरहेको थिएँ ।

' त्यसो भए हाम्रो खाडीले पनि पच्छिमतिर पानी पार्दो हो नि ? ' आमाको जिज्ञासाले मरुञ्जेल हाँस उठ्यो मलाई । म सँगै आमापनि हाँस्न थाल्नुभयो ।

हाम्रो खाडी तिनचार जनाको खेतमा पर्नेगरी फैलेको चारपाँच बिगाहा जतिको पानीको दहलो थियो । हाँसो थामिएपछि मैले सम्झाएँ । बङ्गालको खाडी भनेको हाम्रो जस्तो खाडी हैन ठुलो समुन्द्र हो भनेर ।

6 comments:

Dilip Acharya said...

हा हा हा हा, आज बिहान बिहानै ब्लग चाहर्दै थिएं, तपाईको पोष्ट पढेर म पनि खुव हाँसे।

अनि त्यो तपाईको फोटिकपिको खोजी गर्नु भएन ?

तर तपाईको भाग १ को साईकलको कथा चाहि यो सबै भन्दा बेजोड छ, त्यो सम्झदाँ म अहिले पनि हाँस्छु ।

आकार said...

यो चाँहि साह्रै रमाइलो लाग्यो है !
तर पनि अरु माथि हाँस्नु मुर्खता ठहरिने हो कि ?

कैलाश said...

मलाई चाहि नि दीपकजी पहिलो भागमा निकै हाँस उठेको थियो। यो पल्ट पनि रमाइलो प्रसंगहरु रहेछन्। तर पनि पहिलाको जस्तो हासो चाहि उठेन। पढ्न चाहिँ मजै लाग्यो है।

बेदनाथ पुलामी ( उमेश ) said...

मलाई त हास पनी उठ्यो र राम्रो पनी लाग्यो -"छेउ छेउमा हाल् बिचमा गन्धैले मर्छ" जहाँ शब्द ठेट लागे । ठ्याकई मिले जस्तो लाग्यो ।
तपाईको हासो शेयर गर्नु भएको मा धन्यबाद । है दीपक जी ।

जोतारे धाइबा said...

बाब्बा ऽऽ उधुम नै गर्नुभयो जडितजी ! हाँस्ने बहाना नपाइने आजको जस्तो तनावपूर्ण समयमा कति मीठो काउकुती लगाउनुभएको ! यसरी ब्लगको बयानले हलहली हँसाएको तपाइँकै बाहुलीबाट पहिलोचोटि भयो । भाग एक पनि निकै मन पर्‍यो । जीवनमा कति थरी मानिसहरू है ! कोही हँसाउने त कोही रुवाउने ।
प्रायजसो भुक्तभोगीले रुवाएको सम्झिराख्छन् र ओइलाएर बस्छन्, तपाईँसँग पनि रोएको र रुवाउने दु:खद् स्मृति पक्कै थियो । तर तपाईँले भने हँसाएको स्मृति पनि कति सुरक्षित राख्‍नुभएको रहेछ हाँसोको फोहोरा नै पस्किनुभयो । बडो पुन्य भयो हौ भावुकतामा पिरोलिनेहरूको लागि । तरकारी खेतीको प्रसङ्गले आफ्नो विगतमा लसुन र गोलभेंडा रोपेको सम्झिन पुगेँ ।
धेरैपछि इन्टरनेटको जालोमा बेरिन आइपुगेँ, माफी दिनुहोला है । लेखेर आफ्ना अनुभूति बाँड्नु त परकै कुरा, पढ्नबाट समेत वञ्चित भइयो । अब नियमित हुनेछु । नमस्कार साथै आभार ।

दीपक जडित said...

पहिले त सबैलाई आफ्नो हाँसेको , रोएको अथवा अनुभुति गरेको कुराहरु बाँडीलिन आईदिनुभएकोमा धन्यवाद , खासगरी हाँसेको कुरा भनेर आफ्ना संस्मरणहरु ( सानातिना नै घट्ना भएपनि मानसपटमा सजिब रहेका ) यसरी नै टाँस्दै जाने विचार गरेको छु । तपाईंहरुको प्रतिक्रिया पाउँदा यो पनि रमाईलो नै हुनेरहेछ भन्ने लागीसकेको छ ।

दिलीप जी , खै त्यो समयमा अलि अर्कै प्रकारको थिएँ क्यार - फोटोकपि खोजिँन हौ , अलिपछि खोज्नुपर्ने रहेछ भन्ने पनि लागेको थियो ।
अनि आकारजी , अरुको खिल्लि उडाउँदै हाँस्नु चैं मुर्खतानै हो पक्कै तर के गर्ने मान्छेको स्वभाव हो यो यौटा , मैले खिल्लि उडाएको भने हैन ।
कैलाशजी , अझै छन यस्ता सम्झन लायक घट्नाहरु हेरुँ पछि हँसाउन सक्छु कि ?
बेदनाथजीलाई पनि हँसाउन सकेछु खुशी लागेको छ र धाईवाजी , पक्कै आज पहिलो अभाव भनेको समय भएको छ र दोश्रो हाँसो खुशी भएको छ । बाँकी अभावहरु त गनिनभ्याई होलान् अहिले यि नै पहिलो र दोश्रोलाई सदुपयोग गरुँ अरु कुरा देखा जाएगा भन्ने लाग्छ है मलाई पनि । त्यसै कस्तो कस्तो प्रेसरमा भएजस्तो भएको छु म पनि । प्रतिक्रिया लेख्नधरी समय बटुलेर आउनु परेको छ । जीवन यस्तै होला क्यारे सकेसम्म फुर्सदमा भेट्दै हाँस्दै र माया गाँस्दै जाउँला न ।