Wednesday, November 26, 2008

गजल : फिर्ता दिनु थियो

म सँग तिम्रो सम्झनाको यही नै एउटा 'चिनु' थियो ।
नासो सम्झेर त्यहीपनि तिमीलाई फिर्ता दिनु थियो ।

एकोहोरो मेरो यो मोह तिमीमाथीको यस्तो लाग्दछ ,
धस्नु छुरी आफुमा हैन आफैं छुरीमा धसिनु थियो ।

यतिञ्जेल ठानेँ तिम्रै भक्ति प्राप्ति हो मेरो जिन्दगीको ,
सोचिरा'छु आज के त्यो मृगतृष्णामा बरालिनु थियो ।

सुन्दै सुनिँन कसैको मैले धोका होला तँलाई भन्थे ,
तिम्रो त साथैमा मुटु ताछ्ने बसिला अनि 'छिनु' थियो ।

राम्रै भएछ भन्ठानुँला भैदियो बेलैमा मोहभङ्ग ,
नत्र माटोमा गाडिएको फलाम जस्तै खिईनु थियो ।

गजल लेख्ने मूड आफैं नआई लेख्दिँन भनेको 'गजललाई त मेरो मूडको खाँचै नपर्ने रहेछ , आफैंले गजल कोर्ने मूड नबनाए सम्म' भनेर पनि बुझियो । हिँजो मबिजीले गजल सुस्तायो नि भनुञ्जेल सम्म अझै केहिदिन लेख्दिँन भन्दैथिएँ र आफुलाई अन्यत्रै ब्यस्त बनाउँदै थिएँ तर राती सुत्दा 'गजल सुस्तायो नि' भन्ने कुराले हिर्काईरहयो गिदीमा र निन्द्रा पर्नै दिएन त्यसैले हिँजै राती खेस्रा कोरेर अहिले अलि ताछतुछ गरेर ल्याएको छु ( उता गजल ग्रुपमा पनि लगेको छु । ) यौटा गजल - अभ्यासको कमि भएर हो वा लेख्न जान्न छाडेको हो , गाह्रो लाग्यो यस्लाई पुरा गर्न । मबिजीलाई हार्दिक धन्यवाद !

9 comments:

Luna said...

Man ! it is painful but beautiful!
i hope you will understand what i mean....

Basanta Gautam said...

राम्रो छ जडितजी!

अनि यो 'सम्झनाको चिनु' भनेर कुनै वस्तु विशेषलाई नभनेर 'सम्झना'लाई नै भनिएको होला, हैन? त्यसो हो भने "म सँग तिम्रो सम्झनाको यही नै एउटा 'चिनु' थियो" लाई "म सँग, तिम्रो सम्झना यही नै त एउटा 'चिनु' थियो" बनाऊँदा कसो होला?

बिमल गिरी said...

दीपक जी
नमस्कार,तपाइको फोटो हेर्दा
जवान हुनुहुन्छ तपाईंका श्रीजना
पड्दा,र तपाईंको शब्द सम्योजन
परिकल्पना हेर्दा प्रौढता झल्किन्छ
यी चिनु,छिनु,बसिला र ताछ्नु जस्ता
ठेट शब्दहरु पढ्न पाउदा मलाई पनि
आनन्द भयो। तपाईंका यी अन्तर मनका
कुन्ठाहरु र जीबनबिम्ब प्रस्तुत गीत गजल र
कथाहरु एत्र तत्र पढ्न पाइरहु। शुभकामना।

बेदनाथ पुलामी ( उमेश ) said...

-tapaiko shabd haru ma mithas 6 -dipak ji,
...lekhaaiko raphtar pni bejod ko 6
..tapaiko -फिर्ता दिनु थियो-prasng bas lekhnu bhaeko rahe6. aajha ramailo lagyo.

उजेली said...

यस्ता गहकिला शब्दका अगाडि आफ्नो शब्द फिक्का पो लाग्ने हो कि भनेर कमेन्ट गर्ने आँट गरिनँ दाइ मैले !!

दीपक जडित said...

लुनाजी , यो दुखाई नै हो सायद तर मनभित्र धेरै समय देखि काई परेर बसेको ( निस्किन नसकेको ) दुखाई हुनुपर्छ - वर्तमानको हैन । धन्यवाद तपाईंलाई ।

वसन्तजी , तपाईंले भन्नुभएको पनि ठिकै हो तुरुन्तै लगेर यो नासो फिर्ता गर्दैछु भन्ने खालको स्थिती नै पनि हैन र त्यस्तै स्थिती पनि हो अत यो सम्झना 'चिनु' भने नि 'चिनु' सम्झनाको भने नि त्यसले अर्थ लगाओस भन्ने अभिप्राय हो मेरो । धेरै धन्यवाद तपाईंलाई ।

बिमलजी , खै हौ औसतमा हिसाब गरेर हेर्ने हो भने आधा जिन्दगी त बिताई सकियो अब प्रौढको लाममा छु भन्छु म त आफुलाई । धन्यवाद तपाईंलाई - तपाईंहरुको शुभेच्छाले लेखि नै रहनेछु ।

बेदनाथजी , धन्यवाद है - यो लेखाईको प्रसंग र लेखाई दुईतिर भएपनि प्रसंगबस लेखेको नै भन्नु पर्छ र अन्त्यमा उजेलीजी यसपाली अलि धेरै भन्नुभयो कि क्या हो ? प्रतिक्रियामा लेखिने शब्दहरु जस्तै घनघोर लेखेपनि( जस्ले नै लेखेपनि ) फिका कहाँ हुन्छ र त्यो त बरु उर्जा पो हुन्छ त ।

Luna said...

दिपक जि ! तपाईंको गजल अत्यन्तै शब्द मिलेका र मन छुने भएकोले मैले त्यसो भनेकी हुँ ।
पिडा बाट नै त्यो सुन्दर रचनाको उत्पत्ती भो ! यस् अर्थ मा ।
( मन को पिडा लाई यसरी सुन्दर शब्द मार्फत ब्यक्त गर्न सक्नु सुन्दर रचना हो । )

जोतारे धाइबा said...

मूडको कुरा पनि कहिलेकाहीँ त बुझिनसक्नु हुन्छ जडितजी । मूडबिना कनीकुथी लेख्दा उर्लिएको भाव निस्किँदैन अनि रचना नै बनावटी र खल्लो हुन्छ भनिन्छ । उता पर्खिएर बसिरह्यो भने त लामो समयसम्म 'हात लाग्यो शून्य'को अवस्था हुन्छ । कहिलेकाहीँ भने बेस्सरी तयार भएर लेख्‍न बस्यो, ज्यान जाला एक अक्षर फुट्दैन । के हो के ! मूडयुक्त अवसरमा कतिपयको कलम मिठासे ढङ्गमा सशक्त लेखाइ लिएर आउला । लेखिसकेपछिको हलुका मनस्थितिको त आह् ! कुरै नगरौँ । तर मूडको पर्खाइ भने सबैलाई अनि सधैँलाई लाभदायक होला भन्ने चाहिँ छैन है । यसै कारण, मूड नआएर केही नगर्नु भन्दा जे-जस्तो प्रतिफल मिल्छ, गरेरै छाड्ने सिद्धान्त उत्तम हुने देखिन्छ । तर सकारात्मक लाभका लागि । तपाईँको गजलसँगैको पादटिप्पणीले पनि यस्तै कुरा सिकायो मलाई । र गर्दै आएको पनि त्यही हो, त्यसमा झन् तपाईँको कुराले बल थप्यो ।

अभ्यासको कमी भएर वा लेख्‍न जान्न छाडेर एउटा गजल पूरा गर्न नसकेको हो कि भन्ने तपाईँको शङ्का 'मनको बाघ' मात्र हो कि ? कहिलेकाहीँ त्यस्तै हुन्छ, के हुन्छ कु्न्नि 'वाक्य' नै बस्छ । तपाईँ त धन्य हुनुहुन्छ जस्तो पो लाग्यो, लेख्‍न थाल्नुभएर पूरा गर्न मात्र गाह्रो लाग्यो । भावनात्मक नाताले यति खुलेर बोलेँ, अन्यथा नठान्नुहोला है ।

गजलमा यसरी 'बसिला' र 'छिनु' एकैसाथ आएको यसअघि कतै पढेको थिइनँ, भिन्नै मजा मिल्यो । काफियाले माग्दै र पर्खिँदैमा यसरी ठेट शब्द मुश्किलैले आउँछन् । तपाईँको प्राय: लेखाइ निक्खर नेपाली लबजतिर ढल्किएको पाउँदा यस मौलिकताको लागि सलाम भन्न मन लाग्छ । भावपक्ष हेर्ने हो भने, मोहभङ्ग भइसके पनि अझै मोहको जञ्जाल जेलिएकै देखिन्छ गजलभित्रको पात्रमा । घुर्कीपूर्ण गुनासोसँगै पर्खाइ पनि दैलोकै आडमा अझै टुलुटुलु बाँकी रहेजस्तो !
आखिर सम्बन्ध भन्ने चिज यस्तै रहेछ…।

दीपक जडित said...

लुनाजी , तपाईंले गलत भन्नुभयो भन्न खोजेको हैन मैले । यो त्यस्तै थियो अझ त्यसलाई सुन्दर भनिदिनुभएकोमा आभारी छु अझै ।

धाईवाजी , यो मूडको सवालमा मेरो मन छिचोलेर बोलिदिनुभयो - खुसी लाग्यो साथै धन्य धन्य छु तपाईंको प्रतिक्रियाको लागी ।