Thursday, December 04, 2008

कविता : समयसँग तिमी हामी

समय चक्र हैन साथी
जो घुमिरहोस् फन्फनी
दोहोर्याईरहोस् जिन्दगी
ॠतु जस्तै क्रमश क्रमश
फुक्लिउन र पलाउन दाँतहरु
दोहोरिएर फेरी फेरी
र हाँस्न पाईयोस् किच्च
आठ वर्षे बालहाँसो ।


छिप्पिएर कोदाले दाँत
कन्सिरी मिलाएर
चट्ट कपाल कोर्न थालेपछि
चोकमा एक दिन
ठड्याएथेँ समय किल्ला
टाँगेथें चाहनाको डोरी चौतर्फी
सजाएथेँ रहरका ध्वजा पताकाहरु
रँगिन कुखुरे वैँश जस्तै
उम्लिएर , छचल्किएर
पोखिएर उमंगले त्यो क्षण
लाग्थ्यो
च्याप्प समातेको छु मैले
भुर्र उडेर कहिल्यै नफर्किने यो समय ।


कसो कसो उछिट्टिएर
आफ्नै जिन्दगीसँग
बञ्चरोको निर्मम चोट मुढामाथी पर्दा
चोईटा भएर पर कतै एउटा छेस्को
लहलह घाँसमा अदृश्य भएझैं
टाढा झन टाढाबाट
सम्झिरहँदा त्यो चोकलाई आज
बुझेको छु
समय फर्कने छैन साथी
चक्र भएर त्यहीँ त्यसैगरी कहिल्यै ।


एकपटक आफैंलाई
अलग्ग झिकेर आफुबाट
फेरी खोजी गर्दा
आफु अर्कै हात परेजस्तो
हजार हजार देखभेट भएका
परिचित अपरिचित अनुहार छाडेर
देख्दै नदेखेको
चिनेर पनि नचिने जस्तो
नचिनेर पनि चिनेजस्तो
ठ्याक्कै तिम्रै अनुहार झैं
खै के के सम्झाउने रहेछ
खै के के बिर्षाउने रहेछ
कताकता निष्ठुरी यो समय ।


अझैपनि
शिर कुल्चेर तिम्रो हाम्रो
फड्कीरहेको यो समयले
छाडिरहनेछ त्यो र यो
ल्याईरहनेछ अर्कै र अर्कै
कहिल्यै भुईँमा नखस्ने गरी
कमानबाट छुटेको तिरझैं
यो समय
अघि बढिरहनेछ
घोचिरहनेछ रहरहरु
दुखाईरहनेछ चाहनाहरु
छेडिरहनेछ मुटुहरु
केवल बल्झिरहनेछौं हामी
सम्झनाका घाउहरुमा
सम्झनाकै चोटहरुमा
बटुल्दै समयले दिएको उपहारहरु
बल्झि नै रहनेछौं हामी
भुल्न भुल्न लागेका ति चोकहरुमा ।

7 comments:

Dilip Acharya said...

यसपालाको तपाईको कविता दिमगमा रम्ररि घुसेन हो!
माथी देखि तलसम्म पढ्दा पढ्दै बुझी सकेको जस्तो लागेको कुरा पनि बुझिन है मैले त । अरु साथिहरुलाई कस्तो लाग्छ कुनि मलाई त बसो क्लिष्ट भो !!!

Basanta Gautam said...

निकै दार्शनिक भाव पोत्नुभएको छ कवितामा। यस्तै हो, समयनै सबैभन्दा बलवान छ र निर्दयी पनि छ। हामीभने कल्पना र सम्झनाको दोसाँधमा बाँच्छौं।

राम्रो छ कविता।

बेदनाथ पुलामी ( उमेश ) said...

"समय चक्र हैन साथीजो घुमिरहोस् फन्फनीदोहोर्याईरहोस् "
सुरुवात त धेरै राम्रो गरी गर्नु भएको रहेछ अनि यो पहिलो हरफ ले निकै चित भुझायो । मलाई पनी -दिलीप जी ले भने जस्तै -

"माथी देखि तलसम्म पढ्दा पढ्दै बुझी सकेको जस्तो लागेको कुरा पनि बुझिन "
कतै साथी लाइ समय र कुनै घाटनाले त आघात परेको त होइन ! जी भए पनी तपाईको साहित्यिक यात्रा बडो रमाइलो र गजब को छ ।

Luna said...

असाध्यै मन छोयो तपाईंका कबिताका भाब हरुले , छोएर मा त्र पुगे त हुन्थियो नि ! तपाईंकै जस्ताइ मेरो पनि मन दुख्यो ---त्यसैले तपाईंलाई भन्ने निहुमा आफ्नै दुखेको मनलाई पनि सम्झाउदै केही हरफ कोर्न पुगे , झिजो त मान्नु हुन्न ? केही थोरै डर पनि लागेको छ ! ( कमेन्ट लेख्नु पर्ने ठाउँ मा जानी नजानी हरफ कोरिदा --)
~~~~~~~~~~~~~~~~~~
बिचरा समयलाई के दोस दिन्छौ तिमी !
हेर त त्यो तरुणो समय ले जिस्क्याउदा
यती छिट्टै नै हरेश खाने ! दुख्ने !!
एक छि न् आफूलाई प्रिथक राखेर सोच त
तिम्रा इच्छा रहर हरु
तिमीले देख्ने छौ
समय भन्दा कती तरुणो छ
तिमी भित्र को मन समय भन्दा बलबान छ
फरक के भने नि ,
तिमीले खुब सिन्चित गर्नु पर्छ त्यो मनलाई
कहिले काही थोरै अरुले पनि --
यि अछ्यर का बूद हरुले
थोरै सिन्चित गरेका छैनन त तिम्रा मन ?
मन भन्दा तरुणो अरु के हुन सक्छ !
त्यसैले ,
तिम्रो मनलाई सधैं भरी तरुणोमा पारीणत गर
तिम्रो तरुणो मनले
अब ति बिगतका समय लाई भुलेर
बर्तमान को फ लामे फालिमा तिखारिएर
बाझो खेत लाई जोत्नु पर्छ
म र म जस्ता थुप्रै हातहरु
कुटो लिएर साथ दिने छन डल्ला सम्याउन
बुझ्यौ ? ---
अब त तिम्रो समय
झन तरुणो र जिम्मेबार हुँदै आ इरहेको छ
त्यसैले ,
दुखेर गुनासो नगर समय लाई कत्ती पनि
समय तिम्रै साथ मा छ एक्लो नसम्झ कत्ती पनि ।
~~~~~~~~~~~~~

www.silichung.blogspot.com said...

दीपक जी,
जुन तपाईंको शब्द सम्योजन
गर्ने अनौटो कला छ र ठेट
शब्दहरु प्रयोग। मलाई त तपाईंको
नयाँ नयाँ खुराकहरु पढ्न मन लागिरहन्छ।
यी कति मिठा र सान्दर्बिक शब्दहरु छन।
जस्तै'घोचीरहनेछ रहरहरु
दु:खाइरहने चाहनाहरु
छेडीरहने मुटुहरु।
दीपक जी यसरीनै मिठा शब्दहरु
पढ्न पाइरहु
शुभकामना।

बिमल गिरी said...

दीपक जी,
जुन तपाईंको शब्द सम्योजन
गर्ने अनौटो कला छ र ठेट
शब्दहरु प्रयोग। मलाई त तपाईंको
नयाँ नयाँ खुराकहरु पढ्न मन लागिरहन्छ।
यी कति मिठा र सान्दर्बिक शब्दहरु छन।
जस्तै'घोचीरहनेछ रहरहरु
दु:खाइरहने चाहनाहरु
छेडीरहने मुटुहरु।
दीपक जी यसरीनै मिठा शब्दहरु
पढ्न पाइरहु
शुभकामना।

दीपक जडित said...

सर्वप्रथम यो कवितामा प्रतिक्रिया गरिदिनुहुने सबैलाई धन्यवाद !

दिलीपजी , खासमा म अचेल जब सम्झन्छु आफुले बिताएको समय , फर्केर त्याँहा त्यसैगरी पुग्न मनलाग्छ तर जुन सम्भव छैन बस त्यती कुरा हो मैले यहाँ लेखेको । यसलाई पहिले लेख जस्तो पनि सँगै राखेर लेखेको थिएँ पछि त्यो लेख हटाएर कविता मात्रै राखेँ । कवितामा सौंदर्य भर्न गरेको वर्णन जटिल जस्तो लागेछ तपाईंलाई खासै त्यस्तो हुनु त नपर्ने हो र यहि कुरा वेदनाथजीलाई पनि अझ थप यस्ता मानसपटलमा टाँसिएर बसेका कुरा उप्काउँदै समय र जिन्दगीलाई बुझेअनुशार लेख्नु सँधैं आघातकै मात्र परिणाम हुँदैन है परोक्षमा कुनै आघातको अन्जान असर हुनु अलग्गै कुरा ।

लुनाजीलाई प्रतिक्रियामै अर्को सुन्दर कविता लेखिदिनुभएकोमा समेत धन्यवाद ! बिमलजी र वसन्तजीलाई पनि हार्दिक धन्यवाद !