Tuesday, December 23, 2008

कथा : थप्पडी

घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ । के म आफुमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागी केहि गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज आफ्नै घरमा आएर सोचमग्न भएँ । सम्झनामा अघि सरेर अर्चला आई । उ पनि त उस्तै छे । त्यसदिन उसलाई मैले सबैकुरा खोलेर भन्दा कस्सेर एक मुक्का हानेकी थिई उसले मलाई पछिल्तिरबाट ढाडमा । झण्डै हुरुक्कै भएको थिएँ तर सम्हालिएँ । कृष्णहरी बरालको त्यो बेला भर्खर भर्खरै पढेको गजल याद आएथ्यो - '..........पिरतीमा त अहो ! चिप्लेर लड्दा पनि.........' त्यै भएर होला सहनु मात्र हैन उ तिर फर्केर मुस्कुराएँ बरु । कानमा ' ऐले मारीदिन्छु अनि ' गुञ्जँदैथियो । ढाडमा मुक्काको प्रहार र कानमा उसको आवाजको प्रवेश सँगसँगै भएर हो क्यार कानको जालीनै रनन हुँदै छिरेको थियो उसको त्यो आवाज ।

' बरु मारीदे यार , ढुक्कै पनि हुन्छ त्यसैपनि तँ बिना मर्छु जस्तो लाग्छ मलाई । ' मुक्काको प्रहार उ तिर दृष्टि फ्याँकुञ्जेलमा गायब भै सकेको थियो ' छु मन्तर ' भएझैं ।

' आफैं काल खोजेर हिँड्नेलाई मैले के मार्नुपर्छ ? जे सुकै गर्नु , जाँ सुकै जानु.............. म चैं गएं ।' केहिकुरा भन्न खोजेर नसकेजस्तै म सँग भएको उसैको सानो डायरी उठाएर मेरो कोठाबाट निस्कीई उ । उ सँगको मेरो सम्बन्ध मैले तँ सम्बोधन गर्ने उसले तपाईँ सम्बोधन गर्ने भएपनि हामी साथी थियौं एकै छिमेकका । एक अर्कालाई मनपराउंथ्यौं । म उसलाई बिहे गर्न चाहन्थेँ । उसले खुलेर स्पस्ट केहि भनेकी थिईन तर समर्थन थियो । म जस्तो बसेको थिएँ त्यस्तै अवस्थामा बसेर मेरो कोठाबाट बरण्डा , भर्याङ्ग , आँगन हुँदै क्रमश पर पर जाँदै गरेको उसको चाल पछ्याउने प्रयत्न गर्दैथिएँ । आँगनको एक कुनाबाट आमाको आवाज सुनेँ , ' खै ? हाम्रो कान्छा जाँदैन रे आज ? '

मेरो छाति ढक्क फुल्यो । मेरी एक्ली बुढि आमालाई कतै उसले सबै कुरा भनिदिने त हैन । म झ्यालतिर लम्किएर कापबाट चिहाउन थालेँ । आमा करेसोमा चिचिला लाग्दै गरेको काँक्राको 'झ्याल'मा पटासीले बाँधेर गँगटो झुण्ड्याउनु हुँदैथियो । गाउँका कुनै केटाकेटीले ल्याईदिएको हुनुपर्छ त्यो गँगटो - अह्राईएको त मलाई नै थियो पहिले तर मैले टेरिनं । गँगटो झुण्ड्याएर काँक्राको चिचिलो अडिएला भन्ने पत्यार लाग्दैन मलाई । उ आमा भएतिरै नजिकै पुगी र भनि , ' खै के लेख्नुहुँदैछ अहिले त्यो सकाएर एकछिन पछि जानुहुन्छ रे । म गएँ है आमा ? ' उ फटाफट आँगन कटेर ओझेल परी ।

'ल नानी ल । ' आमाले पानीकल चलाउनुभयो , पानीकलको फेदका नट बल्टु खुकुलिएर हावा रोक्नलाई कपडा राखेर हुनेसम्म कसेको थिएँ मैले त्यसदिन पनि बिहानै तर हालत उस्तै थियो , आमाले चलाउँदा स्वाँ स्वाँ गरेर वासरले माथी खिच्नुपर्ने पानी तलैबाट आधा चुहिंदैथियो । आमाले पानीकल पनि अझै ठिक पारिदिएन भनेर गुनासो युक्त गन्थन शुरु गर्नुहुन्छ भन्ने अनुमान लाउँदैथिएँ म तर त्यसो गर्नुभएन बरु हात धोईसकेर पिँढितिर बढ्दै भन्नुभयो , ' हैन के लेख्दो हो यो सँधै ? केटाकेटी पढाउने मान्छे भ'र पढाउन नगई नगई एल्ले लेखेको कल्ले पढिदेला ? तेत्रो रामाएन उ बेलै लेखे हामीले ईस्कुलको मुख देख्न पा'भए हामी नि पढ्न सक्थिउँ होला त्यो रामाएन । '

यो पल्ट पिँढी , भर्याङ्ग , बरण्डा हुँदै म तर्फ आईरहेको आमाको चालमा थियो मेरो ध्यान त्यसैले केहि नगरी बसिरहेको म आमा कोठामा आइपुगुञ्जेलसम्म लेख्दै गरेझैं भएँ । ढोकाको चौकोषको आढ लिएर टाउको भित्र पर्ने गरी उभिएर आमाले भन्नुभयो , ' हैन किन ढिलो गर्छस् हँ कान्छा ? आज केटाकेटीलाई पढाईस् भने त भोली तैंले लेखेको पढ्लान् तिन्ले नत्र तैंले जे लेखेनि कस्ले पढ्ला बाबै ? '

' म गईहालेँ आमा अब । ' आमा आफ्नै धन्दामा जुट्नुभयो । म निक्कैबेर त्यतीकै घोरीएर बसेँ । मनमा अनेकौं सोचाईका लहरहरु उर्लिरहेका थिए ।

' जा कान्छा जा , जानेको बुझेको सिका केटाकेटीहरुलाई । किन अल्छि गर्छस् ? ' ढोका सामुबाट फेरी आमाको आवाज सुनेपछि म जस्तो अवस्थामा थिएँ त्यस्तै निस्किएँ । यौटा जिन्स पाईण्ट , हाफ बाहुलाको ठाडो धर्का भएको शर्ट । खुट्टामा हरियो हवाई चप्पल । सँधै बाहिर कतै हिंड्दा साथलिने गरेको रँग खुईलिएको हिरो साईकललाई पनि त्यसदिन घरै छाडीदिएँ ।

उद्विग्नताले घेरीएको भएपनि मेरो हिँडाईको रफ्तार सँधै जस्तै थियो त्यसदिन। फटाफट म मूलबाटोमा निस्किसकेको रहेछु । मूलबाटोमा पुगेपछि भने मलाई दोधार मात्र हैन चौधार नै भएको थियो कता जाने भनेर । पहिलो मनले स्कूलमै गएर बिद्यार्थीहरुसँग समय बिता भन्दैथियो । दोश्रोमनले बजारतिर गएर एकदुई कप चिया घुट्क्याएर आईज भन्दैथियो । तेस्रोमन खोलाको डिलमा सँधै एकान्त प्राप्त गर्ने ईच्छा हुँदा जानेगरेको स्थानमा जा भन्दैथियो भने चौथो मन घरै फर्केर घर छोड्ने तयारीमा जुट भन्दैथियो । हैन कतिवटा हुन्छन् हँ मान्छेको मनहरु ? मन अलपत्र थियो । पाईलाहरु भने खुरुखुरु स्कूलतिरै बढिरहेका थिए । स्कूल परिसरमा म पुग्दा एकप्रकारको चकमन्नता थियो त्याँहा । क्लास सुरु भै सकेकोले चउर खाली थियो । मैले पहिलो घण्टी पढाउने कक्षाकोठाबाट खल्याङ्गमल्याङ्ग आवाज आईरहेको सुनें । मैले स्कूल छाडीसकेको र मेरो ठाउँमा पढाउनलाई अरु कोही नभेटीएको अवस्थामा हल्ला त हुने नै भयो । म सोझै मेरै कक्षातर्फ गएँ । ढोकाको सम्मुख पुगेर देखेँ अर्चला आफ्नो कक्षा छोडेर मेरो कक्षा सम्हाल्न उपस्थित थिई त्याँहा । ढोका सामु मलाई देख्ने एकदुई जना बिद्यार्थीहरु कराउन लागे , ' उ दीपक सर आउनु भयो । '

' दीपक सर हामीलाई पढाउन आउनु न । '

अनपेक्षित अवस्थामा मलाई देख्दाको खुशी मैले अर्चलाको मुहारमा देखेँ । मलाई देखेर उसले ल तपाईंको कक्षा सम्हाल्नुस् पनि भन्नु परेन मैले लु म आएँ पनि भन्नु परेन । उ आफ्नो कक्षा तर्फ लागि । अर्चलाको र मेरो पछि निश्चित रुपमा हुन गै रहेको दम्पतीको सम्बन्धबारेमा मैले सम्पुर्ण खोलेको भएरै होला उ हम्मेसी र जहाँतहीँ मसँग खुलेर बोल्दिनथिई पनि बरु शट्टामा आदरभाव प्रकट गर्दथि तर हामीले एकान्त पाएको बेला भने म उसलाई बोलेर जित्न कहाँ सक्थेँ र ? म मेरो कक्षाकोठामा पसेँ ।

' सर तपाईं तालिममा नजानुस् न बरु हेडसरलाई पठाउनुस् र तपाईं फेरी हेडसर हुनु । ' कक्षाकोठाको मध्यभागमा बसेको कसैले भन्यो । मैले हिँजैमात्र म छिट्टै यो स्कूललाई हाईस्कूल बनाउनको लागी तालिम लिन जाँदैछु केहि महिनाको लागी भनेर झूट बोलेको थिएँ बिद्यार्थीहरुसँग । त्यसो त मैले अर्चलालाई बाहेक अरुलाई सत्य कुरा बताउन पनि कहाँ सकेको थिएँ र ? भन्न पनि सक्दिंनथिएँ । समाजमा देखिएका बिसंगतीहरुको विरोधमा हिंड्दाहिंड्दै म क्रान्तीकारी भएको थिएँ । खुल्लमखुल्ला क्रान्तिकारी हुँ भनेर परिचय दिन नसक्ने त्यो अवस्थामा भित्रभित्रै संगठन बनाएर सक्रियताका साथ परिवर्तनको निँती डटेर लागेको थिएँ म । आफु र आफ्नो काम नै विर्षेर हरेक सामाजिक काममा तदारुकताका साथ लागिपर्ने भएकोले गाउँ समाजमा पनि उमेरले नखारिएको भएपनि विचारले खारिएको भनिन्थें म । यहि स्कूललाई पनि मैले साँझ बिहान घरमा केटाकेटीहरुलाई निशुल्क ट्युशन पढाउन सुरुगरेबाटै यहाँसम्म ल्याउन सफल भएको थिएँ । त्यसो त यसमा म एक्लैको नभएर सबै गाउँलेहरुको पनि योगदान थियो ।

' सायद म तिमीहरुलाई पढाउँछु । म तालिममा नजान पनि सक्छु । टुँगो लागीसकेको छैन । ' मैले घर छोडेर क्रान्तीमा होमिन जाने निर्णय गरिसकेको भएपनि यसरी नै जवाफ दिएँ ।

खासमा मलाई संगठनको माथिल्लो ईकाईबाट क्रान्तिकारी संगठनकै साँगठनिक जिम्मेवारी दिएर पहाडी जिल्लामा पठाउने तयारी भएको थियो र मैले स्विकार गरिसकेको थिएँ । देशभर लुकेर छिपेर सबैले काम गरिरहेको त्यो अवस्थामा कतिपय स्थानमा त क्रान्ती उत्कर्षमा पनि पुगेको थियो । त्यसैले पनि हरेक ठाउँमा नयाँ नयाँ ब्याक्तित्वहरुलाई नयाँ नयाँ क्षेत्रबाट लगेर सँगठनको जिम्मेवारी दिँदा त्यसको फलदायि प्रभाव कार्यकर्ताहरुमा पर्ने साथै परेको खण्डमा लड्नभिड्न पनि सजिलो हुने निचोडका साथ म दुर्गम पहाडी स्थानमा शिक्षककै रुपमा जाँदैथिएँ । घर छोड्ने दिन जति नजिकिँदैथियो म उति उति बिचलित हुँदैथिएँ । मैले एक्ली आमालाई घरमा छोड्नुपर्ने कुराले मलाई सबैभन्दा पहिले पिरोल्थ्यो भने आफ्नै जिन्दगीलाई जस्तै स्याहारेको यो स्कूलले पनि मलाई बाँधेर राख्न खोज्थ्यो र सँधैको भेटघाट र आत्मियताबाट प्रेममा फड्को मारेर बिहे गर्ने निश्चय गरिसकेको अर्चलालाई छोड्न पनि मलाई त्यती सजिलो होला जस्तो लागेको थिएन ।

त्यसदिन बिद्यार्थीहरुसँग अतिरिक्त कुराकानी गरेरै बिताएँ मैले । स्कूल सकिएपछि सँधै झैं म अर्चलासँगै घर फिर्दैथिएँ । उसले सोधि , ' तपाईँलाई लडेर , मरेर , मारेर परिवर्तन सम्भव छ जस्तो लाग्छ ? '

' परिवर्तन चारजनाले चाहेर मात्र हुन सक्दैन । परिवर्तनको आवश्यकता कति टड्कारो छ भनेर जति धेरैलाई बुझाउन सकियो र परिवर्तन तर्फ उन्मुख बनाउन सकियो त्यती चाँडो परिवर्तन हुन सक्छ भन्नेमा म विश्वास गर्छु । ' मैले सोझै उसको जवाफ दिईँन । उ केही नबोली शुरुशुरु हिँडीरहि । म पनि केही भन्नै सकिरहेको थिईँन । उसको भन्दा पहिले मेरो घर आउँथ्यो बाटोमा । मेरो घरनेर पुगेपछि उनले आँखाबाट झण्डै झण्डै आँसु चुहाउँलाझै गरेर भनि , ' जे मनलाग्छ गर्नुस् । म पर्खिन्छु तपाईँलाई । ' प्रकटमा मैले केहि भन्न सकिंन केवल आँखाले उनलाई आभार प्रकट गरेँ ।

त्यही रात हामीले त्यही स्कूलकै कार्यलयमा सानो छलफल राखेका थियौं । म कसरी जाने , गएर कस्लाई भेट्ने , कहाँ बस्ने र मैले स्कूलको शिक्षकको अलाबा अरु के के गर्नुपर्ने भन्ने कुराहरुको छलफल गर्दैगर्दा हामी सबै पक्राउ पर्यौं । हामी पक्राउ परेका नौ दशजना सबैलाई रातारात कुनै अज्ञात स्थानको कैदखानामा एकैठाउँ कोचेर थुनिएको थियो । भोलीपल्ट हामीमध्येमा सिताराम सर , म र चण्डिका मिस बाहेकका अरु सबैलाई कुनै कागजमा सहि गराएर छोडिएको थियो । राती हामीले सल्लाह पनि त्यस्तै गरेका थियौं । जेलभित्र सडेर क्रान्तीकारी हुँ भन्नुभन्दा त जुनसुकै हिसाबले पनि बाहिर निस्केर नै क्रान्तीलाई सहयोग पुर्याउन सकिन्छ भनेर सकेसम्म सकुशल रिहाईकै बाटो रोज्ने सल्लाह भएको थियो । अरु सबैलाई रिहाई गरिसकेपछि उनिहरुले मुख्य ठहर्याएका हामी तीनजनालाई दिउँसै आँखामा पट्टी बाँधेर त्याँहाबाट अन्यत्रै लगे । हामीलाई कुनै जँगलमा लगेर गोली ठोकेर मार्नेछन भन्ने कुरामा हामी लगभग निश्चित थियौं तर त्यसो गरेनन उनिहरुले बरु हामी तिनैजनालाई अलग अलग स्थानमा सरुवा गराएका रहेछन् ।

झण्डै सातमहिना सम्म मैले त्यो अज्ञात स्थानको कोठरीमा कष्टपूर्ण समय बिताएपछि मलाई पनि अब आईन्दा यस्तो देशघाती कार्यमा सामेल भएर पक्राउ परेको खण्डमा सिधै गोली ठोकेर मारिनेछ भन्ने धम्की पूर्ण बकितम सुनाईएर र त्यस्तै लिखितममा सहिछाप गर्न लगाईएर छोडियो । त्यसबेला घर छोड्ने निर्णय गरेको मैले साँच्चै सातमहिना घर छोडेर नै फर्किएँ । मलाई कतैबाट आफन्त पर्ने नेपाल प्रहरीका कुनै हाकिमको सहारा लिईएर छुटाईएको थियो । सात महिना बन्दि जीवन बिताएर फर्कीएपछि म मा झन हौसला थपिएको थियो , परिवर्तन ल्याउनको लागी केहि योगदान गर्छु भनेर तर पुन मैले सँगठनमा सक्रिय भएर लागी पर्न पाईनँ । सँगठनका सदस्यहरु सँग सम्पर्क गर्न खोज्दा पनि मलाई केहि समयलाई त्यतिकै बस्ने सल्लाह दिएका थिए तर खासमा मलाई प्रहरीको मान्छेले रिहा गराएको भएर जिम्मेवारीबाट पन्साईएको हो भन्ने थाहा पाएको थिएँ मैले ।

समय परिवर्तन चाहनेहरुको पक्षमा ढल्कँदैथियो र धेरै भन्दा धेरै मान्छेहरुको समर्थन सँगठनलाई थियो त्यसैले पनि होला सँगठनमा मेरो आवश्यकता नखट्कीएको । सँगठनबाट बाहिर भएपनि पक्राउ परेपछि मेरो परिचय खुल्लारुममा नै क्रान्तिकारीमा परिणत भएको थियो । त्यो समयमा दलबाहिर परेका मान्छेहरुसँग मेरो सम्बन्ध राम्रो भएको थियो तर प्रतक्ष्य अप्रतक्ष्य म सँगठनकै हितमा हिँडेको थिएँ । कतै निन्दा कतै समर्थनको मझधारबाट क्रान्तिकारीहरु गुज्रिरहेको बेलामा अचानक देशको राजनीतिले अभुतपूर्व मोड लिएर औपचारिक रुपमा लामो द्वन्द बिश्राम भएर क्रान्तिकारी धार र सरकार चलाईरहेका तर समयले सत्ताबाट पन्साएका दलहरुमाझ सम्झौता भयो । सदियौं देखिको राजतन्त्र उन्मुलन भयो । सदियौं देखि देशले मागेको तर पटक पटक अनेक धोका र चालबाजीले हुननसकेको संविधान सभाको चुनाव हुने पक्कापक्की भयो । दलहरु संविधान सभामा पठाउनुपर्ने ठुलो संख्याको सभासदहरु जुटाउन युद्दस्तरमै लागीपरे । यतिठुलो संख्यामा उपयुक्त ब्याक्तित्व पाउनु दलहरुलाई सजिलो थिएन अत मनखुशी ब्याक्तिहरुलाई उम्मेद्वारी दिएर जनताको संविधान लेख्ने प्रतिनीधि बनाउन लागीपरे । त्यही अप्ठ्यारो अवस्थामा परेर मलाई पुरानै संगठनले सभासदको उम्मेद्वार छान्यो । म परिवर्तनको निंती यौटा लडाकु बन्न तयार भएको मान्छे बद्लिएको समयमा जनताको प्रतिनीधि नै बन्ने सौभाग्य पाउँदा म स्वभाविक रुपमा खुशी थिएँ । केही गर्न सक्छु म मेरो देशको निँती भन्ने आत्मविश्वासले भरिएको सोच जागेको थियो म भित्र ।

उम्मेद्वार भएर भाषण कलामा खास निपुण नभएको मैले कतै केहि कुराको बारेमा बोल्नुपर्दा यथार्थवादी भएर सत्य कुरा सोझै बोल्ने हुँदा म झनै लोकप्रिय भएँ । जहाँ गएर जे बोल्दा पनि थप्पडीको स्वागत पाउँथे म । लाग्थ्यो थप्पडीमा ठुलो तागत लुकेको हुन्छ । थप्पडीले नै मलाई अझ बुलन्द भएर अगाडी बढ्ने तागत दिने गर्थ्यो । चुनावको परिणाम आयो । थप्पडीको आशिर्वादले म विजयि भएँ जनताको प्रतिनीधिको रुपमा जनताको संविधान लेख्नको निँती ।

सभासदमा विजयि भै सकेपछिको मेरो दैनिकी बदलियो । मनमा देशको निँती केहि गर्न सक्ने उच्व अठोट सगरमाथा भएर ठडिएको थियो । समय बित्दै गयो । हरेक पटक संविधान सभाको सभाहलमा पस्दा यौटा उत्साह लिएर पस्ने र निस्कँदा निराशा लिएर निस्कन थालेँ म । सभाहलमा सरकार कसरी बनाउने , क कस्ले शक्तिशाली कुर्शी पाउने ? कुन भाग कस्लाई दिने ? शक्तिभाग नपाए कस्ले के गर्ने ? ईत्यादी ईत्यादी नित्यकर्म चल्न थालेपछि म दिग्दार हुँदै गै रहेथेँ ।

शान्ती प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने वचन हरेक मानेगुनेका बडा नेताहरुबाट सुनिन्थ्यो तर भित्रभित्र तानातानको खिचोलोले भने छोडेको थिएन । सबैले शान्तीपूर्वक संविधान बनाउने अनेक सम्झौता गरे तर पालन कसैले नगरेर आज झन अन्यौलता र अराजकता बढेको छ देशभरी । आफुपनि जिम्मेवार सभासद भएको हैसियतले अनेक पटक आफुले नियम कानुन उलँघन नगर्ने तव अरुले पनि गर्दैनन भनेर सल्लाह दिँदा म हाईड्रोजन भरिएको बलुन जस्तै हावामा उडेँ । हिँजो उम्मेद्वार चाहिएको बेलामा हामीसँग जोश र जाँगरले भरिएका यस्ता यस्ता युवा ब्याक्तित्वहरु पनि छन भनेर अगाडी सारिन्थ्यो मलाई । हामीसँग दलितका समस्याहरुसँग परिचित उम्मेद्वारहरुको लामो फेहरिस्त छ भनेर म र मै जस्तालाई अघि सारिन्थ्यो । आज सभामा मैले बोलेको कसैले सुन्दैन । हरेक पक्षमा लब्धप्रतिष्ठित मानिएकाहरुकै हो मा हो मिलाउने र थप्पडी बजाउने भएका छौं म र म जस्तै नयाँ विचार , नयाँ जोश बोकेर आएका हामी युवाहरु । समय यहि क्रममा हिंड्यो भने यो समयले पनि देशलाई झन अँध्यारोतर्फ धकेल्ने खतरा म आँखै अगाडी देख्ने गर्छु तर आज सुवर्ण अवशरलाई आफ्नो मुठ्ठीमा कस्न सक्नेले किन त्यही खतरा देख्न सक्दैनन् ?

म घरमा आएको थाहा पाएर म माथी भरोसा गरेर , परिवर्तनको आशा लिएर मलाई मत दिने गाउँलेहरु साथै एकाध स्थानिय पत्रकारले घेरिएँ म । सोधियो , ' के अब संविधान समयमा बन्ला त ? '

' के परिवर्तन यहि नाउँ मात्र कै हो त ? '

' तपाईंको सरकार छ , तपाईंले आफ्नो क्षेत्रमा विकाशका कस्ता योजनाहरु अगाडी सार्नुभएको छ त ?

' तपाईंहरु सरकारमा भएर पनि जँगली ब्यावहार छोड्न सक्नुहुन्न ? '

' तपाईंले नै हुर्काउनुभएको क्रान्तिकारी संगठनको गुण्डागर्दी कैले सम्म चल्ने हो त ? '
'..................'

'...........................'

प्रश्नको ओईरो लाग्यो । म यौटा सरकार पक्षकै सभासद भएर पनि मसँग कुनै प्रश्नको सटिक जवाफ थिएन ।
मैले भनेँ - ' यो ठुलो विडम्बना हो । यि सबकुरामा म यस्को त्यस्को गल्ती भन्दिंन । हामी सबैको गल्ती कमजोरी छ । आज मान्छेको आँखा नहेर्ने कुरा हेर्छ , मुख नबोल्ने कुरा बोल्छ , कान नसुन्ने कुरा सुन्छ , मश्तिष्क नअह्राउने कुरा अह्राउंछ , मन नसोच्ने कुरा सोच्छ , खुट्टा नहिंड्ने बाटो हिँड्छ , हात नगर्ने कर्म गर्छ तर मान्छे जानीजानी आफुलाई रोक्दैन । बिडम्बना यत्ति हो यो समयको । '

जम्मा भएका गाउँलेहरुले फेरी थप्पडी बजाए । यसपटक मलाई त्यो थप्पडीले उर्जा दिएन बरु गिज्याएको जस्तै महसुस भयो । ' उफ ! यो थप्पडी !! यता गाउँलेहरु बजाउँछन् । उता म बजाउँछु । कैलेसम्म हामी केवल थप्पडी मात्रै बजाईरहने हो ? '

देखेँ उता पत्रकारहरु यो जुम्से सभासदमा केहि दम छैनको भावमा ओठ लेब्र्याएर लुरुलुरु फर्कँदै थिए ।

12 comments:

आकार said...

निकै राम्रो लाग्यो, दिपक जी !

Luna said...

हाम्रो मुलुकमा भ इरहेको राजनीति अस्थिरता का कारण देश भक्त नेपालीहरुको मनमा पर्न गएको पिर ( अझ खास गरी जो देश को निमित्त क्रान्ति गरेका थिए , नयाँ नेपाल बनाउने सपना लिएर , उनिहरु आजको मुलुक को यो राजनीतिक परिस्थितीले कती सम्म निरासित भएर दुखिरहेका छन , त्यो उनिहरुको हिर्दय को घाऊ लाई )तपाइको कथाको 'म' पा त्र (दिपक सर )को मनोबाद मार्फत प्रस्ट बुझ्न् सकिन्छ ।
दिपक जि !
हिर्दय छोयो तपाईंको यो उत्कृष्ट कथाले ।
कथामा लेखिएका शब्द - हरफ हरु अत्यन्तै मिठास ला ग्दा छन ।
कथाको द्रिश्य कुनै सुन्दर उपन्यास को द्रिश्य झै अझ भनौ चलचित्र का द्रिश्य झै बडो सजिब लाग्छन ।
तपाईंको सा हित्य छाया मा सधैं यसरी नै मन बिसाउन पाउ । निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

बेदनाथ पुलामी ( उमेश ) said...

सुरुवात नै कति मिठो ...थाहै नपाई ....अंधर हुदै बाहर भैएछ ...
कति राम्रो सरल प्रस्तुति ..... मैले माने -दीपक जी त्यसै कहा 'जडित' हुनुभएको रहेछ र !

अनि लुना जी ले पनि सही नै भन्नु भएको छ ।

दीपक जडित said...

धन्यवाद आकारजी , लुनाजी र बेदनाथजी , तपाईँहरुको यो प्रेरक टिप्पणीले मलाई अवश्य थप हौसला दिनेछ ।

कैलाश said...

मैले चाही मेरो बचन अनुरुप ताली बजाए है दीपकजी। कुरो प्रष्ट पारुँ न- यो ताली चाहीँ थप्पडीको मिठास र ओजको पक्षमा अनि आगामी दिनमा यस्ता र यीभन्दा नि खराट खराट कथाहरु पढ्ने लालचले बजाएको नि दीपकजी।

Dilip Acharya said...

बेजोड प्रस्तुती, दमदार व्यङ्य!! ।

बिमल गिरी said...

Deepak jee,
Kailas jee ka bhanai prati ma pani
sahamatichhu.Nirantarata ma kailei kami naaos hai.

दीपक जडित said...

अघिल्लो लहरमा झैं यस लहरमा पनि तिनजना क्रमश कैलाशजी , दिलीपजी र बिमलजीलाई हार्दिक धन्यवाद !

Basanta Gautam said...

ढिलो आईपुगेछु पढ्न। हाम्रो समयमाथि गतिलो ब्यंग्य कसेको छ।
कसरी गर्ने हो मलाई पनि थाहा छैन, तर प्रस्तुतिलाई अझै परिमार्जन गर्ने ठाऊँ थियो कि जस्तो पनि लाग्छ। कथामा घटनाक्रमहरुलाई छिटो-छिटो दौडाइएको छ र विगत केहि वर्षको हाम्रो इतिहासलाई एकै सासमा भन्ने कोशिश गरिएको छ। त्यसकारणले गर्दा पाठकले यसलाई कथा भन्दा पनि रिपोर्टिङको रुपमा लिईदिने सम्भावना बढी हुन्छ।

दीपक जडित said...

वसन्तजी हार्दिक धन्यवाद तपाईंको टिप्पणीलाई , यो कथा लेख्दा लेख्दै मैले संविधान सभाको चुनाव ताकालाई प्रस्ट्याउंने गरेर केहि सम्बाद लेखेको थिएं र त्यसलाई हटाएको थिएँ । अलिकति मनोवाद शैलीमा ढलेको भएर तपाईंले भन्नुभएको पनि ठिक हो जस्तो लाग्यो - पछि यस्लाई परिमार्जन गर्ने कोसिस गर्नेछु ।

Jotare Dhaiba said...

चित्त सारै बुझ्यो । कथा एकदमै पूर्ण कथा बनेको छ । तपाईँको कथा या त मैले त्यतिविघ्न पढेको थिइनँ, (केतकी फूलको माला, चार सौ बीस उत्सवबाहेक ) या त यति तिक्खर रचना थिएन । विषयवस्तुले पनि रचनाको महक दिन्छ । तपाईँमा कथाकारिताको खुबी पनि निकै लपेटिएर बसेको रहेछ । हुन त कथा सामाजिक यथार्थलाई नै टिपेर त्यसमा केही काल्पनिक रङ घोलेर बुनिएका हुन्छन् । तर यसलाई त यथार्थ नै भन्न मन लाग्यो । यो कथा पढेपछि हामीले भोगीचेती गरेर आएको तथा झेल्दै गरेको परिवेशले एकचोटि फेरि चाबुक लगायो । हिजोका ती आशाका मीठा लोलीहरू र आजको यो मनै ठहरै पार्ने कान चिरेको कटु स्थिति । एक दशकयताको नेपालको सटीक चिरफार कथामा भर्दै गर्दा कथाकारको आँखाको आँसु आँखैमा सुकेजस्तै यो पाठक पनि भिज्यो र सुक्यो । यति निराशामा पनि नडुब्नुपर्ने हो । तर निर्जन टापुको बासमा भक्कानो त छुटिहाल्छ ।

बेदनाथ पुलामी ( उमेश ) said...

Dipak ji -
I wish you all my friends Happy New Year 2009 may this year brings peace and joy to all of us

& Happy blogging.....